भर्खरै :

बाइस हात र विरासत

 चिन्मय
सङ्कीर्णता चाहे जस्तोसुकै होस्, खतरनाक हुन्छ ।
रोमनहरूविरुद्धको इसाई सङ्कीर्णताले कुनै बेला विश्वकै सबैभन्दा ठूलो अलेक्जेन्ड्रियाको पुस्तकालय जलाएको थियो । कतिपय आयोनियाली र रोमेली विद्वान एवं दार्शनिकहरूका रचना खरानी बने । ती ज्ञान फेरि पत्ता लगाउन मानव जातिलाई अर्को जुग लाग्यो । त्यसैगरी बौद्ध धर्मप्रतिको हिन्दूहरूको सङ्कीर्णताले नालन्दाको पुस्तकालय महिनौँसम्म जलेको थियो । कति रचना सदाका लागि जले भने कति अमूल्य ग्रन्थहरू अनेक देशमा गई फिर्ता ल्याउन राहुल साङ्कृत्यायनजस्ता विद्वानले जीवन होम्नुप¥यो ।
यस्तै कहानी भक्तपुरको छ । भक्तपुर उपत्यकाको पुरानो, सभ्य र सबैभन्दा सम्पन्न राज्य थियो कुनै बेला । तर, आक्रमणकारी बङ्गाली सुल्तान शमसुद्दिनको सङ्कीर्णताको आगोमा भक्तपुरको बहुमूल्य पुस्तकालय पनि भष्म भयो । पुस्तकालय सँगसँगै कैयन् पुस्ता लगाएर संगाली राखेको ज्ञानविज्ञान र चिन्तनका साधन पनि खरानी भए । जेहोस्, यसले पुस्तक र पठनसँग भक्तपुरको पुरानो हिमचिम भने स्वाभाविकरूपमा पुष्टि गर्छ । त्यो पुस्तकालय थियो, विज्ञानको ज्ञान थियो । यहाँ अनेक सम्पदा बने र बन्यो सुन्दर नगरी भक्तपुर । आज हामीसँग त्यसको कथा छ र धरोहरको रूपमा त्यस पुस्तकालयजनित ज्ञानका कृतिहरू छन् ।
भक्तपुरको पुरानो विरासत वा पुर्खाले कोरेको बाटो पछ्याउँदै भक्तपुरका एघार जना युवाले नयाँ पाइला चाले । काठमाडाँैको भृकुटीमण्डपभन्दा यताउता चलमलाउन नसकेको गजराज पुस्तक प्रदर्शनीलाई यी कर्मठ युवाले साहसिला हत्केलाले तानेर भक्तपुरसम्म ल्याए फागुन २, ३ र ४ गते । तानेर किन पनि भने यसको यात्रा निकै चुनौतीपूर्ण रह्यो । प्रदर्शनीभन्दा पहिलेको एक महिना र प्रदर्शनी अवधि दुवै कष्टकर रहे ।
सुरुमा काठमाडाँैका पुस्तक प्रकाशकहरूले मुन्टो बटारे, हात बाने, अनुहार बङ्ग्याए र निधार खुम्च्याए । भक्तपुरमाथि भर लागेन । किनभने आजसम्म नजिकैको पाटनले समेत पुस्तक प्रदर्शनी आयोजना गर्ने ह्याउ जुटाउन सकेको छैन । भक्तपुरमा पाठकै कति होलान् र ? प्रकाशकहरूको गम्भीर प्रश्न थियो यो । तर, ती एघार जनामा विश्वास थियो आफ्नो बिरासतमा र मनमा थियो गौरवपूर्ण विरासतलाई जसरी हुन्छ पुनः स्थापित गर्ने द¥हो अठोट ।
जागिरबाट समय काटेर एघार युवा पटकपटक काठमाडाँै धाए, अनेक प्रकाशकलाई विश्वास दिलाए । साथीभाइ एवम् बुद्धिजीवीसँग रचनात्मक सरसल्लाह मागे । हरेक दिनजसो भेटघाटमा जुटिरहे । गाउँ एवम् नगरका केही गरौँ भन्ने क्याम्पसका भाइबहिनीलाई कार्यक्रम व्यवस्थापनमा सरिक हुन मनाए । यी भ्याइ–नभ्याइबीच तयारी अवधि पनि भ्याइयो । कष्टमा सुख पनि लुकेको हुन्छ । यसरी आयो, फागुन २ गते । भक्तपुरका एघार युवाको अठोटमा अठोट मिलाउन, पुस्तकप्रेमी दर्शकहरूको घुइँचो थियो । युवाहरूको साहसलाई स¥घाउन वरिष्ठ राजनीतिज्ञ एवम् नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ स्वयम् कार्यक्रमको उद्घाटन सभामा आउनुभएको थियो ।
हरेक दिन बिहान बेलुका आयोजना गरिएका विभिन्न विषयका छलफल, साहित्यिक कार्यक्रम र प्रतियोगिताहरूले पुस्तक प्रदर्शनीमा स्थानीय जनता, विद्यार्थी, लेखक, पत्रकार, सामाजिक कार्यकर्ता र नेतालाई सहभागी गराउने अवसर जुटायो । जनसहभागिताको अनुकरणीय नमुना देखाइरहेको भक्तपुर नगरपालिकामा हुन गइरहेको भक्तपुर महोत्सवको विषयमा नगर प्रमुख सुनिल प्रजापतिसँग छलफलमा सरोकार राख्नेहरूले धक फुकाएर प्रश्न गरे । प्रश्नमाथि छेकबार लगाउन उद्यत देशको सरकार र यो छलफल ठीकविपरीत परम्परा हुन् । सङ्कीर्णता र पारदर्शिताका अलग उदाहरण हुन् ।

नेपाल सरकार पुस्तकविरोधी हुँदै छ, सङ्कीर्ण बन्दै छ । विदेशबाट नौलो ज्ञान बोकी आउने किताबमाथि भारी कर थोपरेर जनतालाई युगीन चेतनाको प्रतापबाट टाढा राख्दै छ, अज्ञानको अँध्यारोतर्फ धकेल्दै छ । बौद्धिक समुदायबाट स्तुतिगानको अपेक्षा गर्दै छ । सङ्कीर्णहरू ज्ञानलाई निषेध गर्छन्, चाहे ती धार्मिक हुन्, राजनीतिक हुन् वा बौद्धिक नै किन नहुन् । तर, समाजको बयलगाडा जहिल्यै सङ्कीर्णताको उल्टो दिशातर्फ लम्कन्छ । इतिहासका उदात्त चेतनाबाट प्रेरणा लिन्छ । साथ दिन कोही नआए पनि एक्लै हिँड्छ ।

साहित्यिक कार्यक्रममा कवि, कथाकार, गजलकार र गायक–गायिकाले समयको गम्भीर धुन गाए । देशमा व्याप्त भ्रष्टाचारको उछितो काढे, एमसीसी सम्झौताको विरोधमा नारा लगाए र जनताका ऐया–आत्थु सुनाए ।
एक दर्जन प्रकाशकहरूका लागि पुस्तक प्रदर्शनी जति पुरानो थियो, त्यतिकै नयाँ थियो भक्तपुरमा पुस्तक प्रदर्शनी गर्नु । राजधानीको भृकुटीमण्डपमा बिरलै देखिने स्कूले विद्यार्थी यहाँ छिनछिनमा देखापर्थे । किताब ओर्काइफर्काइ हेर्थे । नामै भए पनि पढ्थे । कोही एउटा कुनो च्यापेर केही थान कथा र कविता पढ्थे । खल्तीको पैसाले पुगेको खण्डमा मनले खाएको किताब किनी पनि हाल्थे । विद्यालय छुट्टी भएपछि घर पुग्थे र प्रदर्शनी स्थलमा आएर साँझसम्म बस्थे । स्कूल र क्याम्पसले समेत विद्यार्थी पठाएका थिए, पुस्तकालयका लागि केही थान पुस्तक मगाएका थिए । सरकारी दलका नेता–कार्यकर्ताले पुस्तकलाई अवहेलना गरिरहेको समयमा नेमकिपाका नेता–कार्यकर्ताहरू हरेक दिनजसो यहाँ देखिनु आफैँमा उत्साहपूर्ण दृश्य थियो । केही प्रकाशकले टिप्पणीकारसँग भने, “भक्तपुर फेरिँदै छ”, “भक्तपुरले प्रगति गर्दै छ”, “यहाँ पठन संस्कृति बढेको रहेछ ।”
कार्यक्रमको समापन खण्डका सभापति एवम् आयोजक समूहका अध्यक्षले मन खिन्न पारेर अपेक्षा गरिएका केही थान व्यक्ति, खासगरी बौद्धिक कर्ममै लागेका शिक्षक, बुद्धिजीवी प्रदर्शनीमा नआएको दुखेसो पोखे । नआउनेमा दुईखाले मानिस हुनसक्छन् । एक, यो प्रदर्शनी साँघुरो वा अपुग ठान्ने अघोर पठितहरू । दोस्रो, इनर्सियाका पीडितहरू । ब्रह्माण्डका हरेक वस्तुमा जस्तै मान्छेको मनमा पनि इनर्सिया नामको केही हुन्छ । इनर्सिया अर्थात् आफू जहाँ छ त्यहाँबाट टसको मस नगर्ने प्रवृत्ति । एकखाले मानसिक सङ्कीर्णता । सन्तोषम् परम् सुखम्को निरस र उच्चाटलाग्दो जपना नै त्यस कोटिका मान्छेको विपना र सपना हुन्छ । प्रकारान्तरले तिनीहरू आफ्ना सन्ततिप्रति पनि गैरजिम्मेवार हुन्छन् । तिनका छोराछोरी वा नातिनातिना पुस्तामा भए पनि यो इनर्सिया तोडिने कल्पना भने गर्न सकिन्छ ।
नेपाल सरकार पुस्तकविरोधी हुँदै छ, सङ्कीर्ण बन्दै छ । विदेशबाट नौलो ज्ञान बोकी आउने किताबमाथि भारी कर थोपरेर जनतालाई युगीन चेतनाको प्रतापबाट टाढा राख्दै छ, अज्ञानको अँध्यारोतर्फ धकेल्दै छ । बौद्धिक समुदायबाट स्तुतिगानको अपेक्षा गर्दै छ । सङ्कीर्णहरू ज्ञानलाई निषेध गर्छन्, चाहे ती धार्मिक हुन्, राजनीतिक हुन् वा बौद्धिक नै किन नहुन् । तर, समाजको बयलगाडा जहिल्यै सङ्कीर्णताको उल्टो दिशातर्फ लम्कन्छ । इतिहासका उदात्त चेतनाबाट प्रेरणा लिन्छ । साथ दिन कोही नआए पनि एक्लै हिँड्छ । हृदयमा यस्तै ज्योति बोकेर अघि बढेका भक्तपुरका एघार युवाका बाइस हातले फागुनको पहिलो साता बाउबाजेको भव्य विरासतको दियालो बाल्ने प्रयत्न गरे । यो प्रयत्नको दियालो आफ्नो नाम ‘आरम्भ नेपाल’ को भावभूमिमा सल्केको छ र हरेक वर्ष यसरी नै बलिरहनेछ भनी कामना गर्नु अनुचित नहोला । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *