भर्खरै :

उहानबाट आएका कोही पनि कोरोना भाइरस सङ्क्रमित छैनन् – स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ७ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महेन्द्रप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनका लागि तयार गरिएको स्थानमा राखिएका सबै नेपालीमा ‘नोभेल कोरोना भाइरस २०१९’ नकारात्मक देखिएको जानकारी गराउनुभयो ।
नेपालबाट अध्ययन तथा व्यवसायका क्रममा चीनको हुबेई प्रान्तका उहानलगायत विभिन्न शहरमा रहेका १७५ जना नेपाली नागरिकलाई उद्धार गरी यही फागुन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै प्रारम्भिक परीक्षणपश्चात् प्राधिकरणको तालिम केन्द्रमा पु¥याइएको थियो ।
फागुन ४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्राविधिकहरूले क्वारेन्टाइन स्थलमा नै पुगी १७५ जनाको नाक र घाँटी भित्रको स्वावको नमुना सङ्कलन गरी प्रयोगशालामा ल्याएर परीक्षण गरिएको थियो । यो परीक्षण फागुन ४, ५ र ६ गतेसम्म सघन रुपमा गरिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रयोगशालाबाट फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार सबैको नमुना परीक्षण गर्दा कुनै पनि नमूनामा नोभेल कोरोना भाइरस–२०१९ (कोभिड–१९) नभेटिएको मन्त्रालयले जानकारी गराएको छ । त्यहाँ रहेका सबै नेपाली नागरिक स्वस्थ्य रहेकाले कुनै पनि सङ्क्रमणबाट त्रसित हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । अब क्वारेन्टाइनमा बसेको १४ औँ दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटी भित्रको स्वावको नमुना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ल्याएर परीक्षण हुनेछ ।
चीनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) ले विश्वलाई नै प्रभावित पारेको छ । चीनबाहेक विश्वका २५ देशमा यसको प्रभाव देखिएको छ । विश्व स्वास्थ्य सङ्कठनले कोरोना भाइरस रोगले विश्वव्यापी पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै गत माघ १६ गते ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेको छ तर अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा कुनै पनि प्रतिबन्ध सिफारिस गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *