भर्खरै :

प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नेपालका नेताहरू राज्यकोषको अपव्यय गर्दै स–सानो उपचारको लागि समेत विदेश धाउने विषय धेरै अघिबाट आलोचित थियो । नेपालमै सम्भव हुने रोग उपचार गर्न विदेश जान नहुने नेपाली जनताको मत हुन्थ्यो । प्रम ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयलाई धेरैले प्रशंसा गरेका छन् । आफ्नै देशका चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधारप्रति भर परेर प्रधानमन्त्रीले देशभित्रै गरेको मिर्गौला प्रत्यारोपणले नेपालको चिकित्सा क्षेत्रलाई उत्साहित बनाएको छ । स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्दा हिजो उनले विदेशमा राज्य कोष उपयोग गरी गरेका महँगा उपचारलाई जनताले बिर्सेका छन् ।
तर, मिर्गौला प्रत्यारोपण अझ पनि सर्वसाधारण नेपाली जनताको लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै छ । अधिकांश नेपालीको निम्ति मिर्गौला दोस्रो पटक प्रत्यारोपण गर्नु भनेको निकै गा¥हो काम हो । ओली प्रधानमन्त्री भएकाले उनलाई यो सौभाग्य जुरेको छ । यस्तो सौभाग्य व्यापक नेपाली जनताको भागमा पनि पार्नु नै लोकतन्त्र र गणतन्त्रको मूलमर्म हो । जुत्ता लगाउनेलाई खुट्टामा कहाँ पोल्छ थाहा हुन्छ । दीर्घरोगी हुनुको पीडा कस्तो हुन्छ, ओली स्वयंले अनुभव गरेका छन् । त्यसकारण नेपालका विभिन्न रोगका दीर्घरोगीको उचित उपचारको बन्दोबस्त गर्नुको महत्र्व ओलीले बुझेको हुनुपर्छ । हुम्लाको एक जना नेपालीको निम्ति आफूले पाएको जस्तो उपचार पाउन कति सहज वा असहज छ भन्ने विषयमा ओली र सरकारले विचार गर्न जरूरी छ ।
नेपालका सात वटै प्रदेशमा कम्तीमा त्रिवि शिक्षण अस्पतालजस्ता अस्पताल बनाउन सरकारले तदारूकता देखाउन जरूरी छ । आज जिल्ला–जिल्लाका अस्पतालहरूको अवस्था निकै दयनीय छ । विशेषतः सरकारी अस्पतालहरू रोगको उपचार थलोभन्दा पनि सङ्क्रमणका केन्द्र बनेका छन् । सरकारी अस्पतालको दुरवस्थाको फाइदा निजी लगानीका अस्पतालले उठाइरहेका छन् । व्यापार गर्ने उद्देश्यले खोलिएका अस्पतालहरूमा मात्र सुविधासम्पन्नको उपचार हुने र सरकारी अस्पतालको भद्रगोलका कारण विपन्न र गरिब जनता उपचार नपाएरै मर्नुपर्ने अवस्था छ ।
प्रधानमन्त्रीजस्तै धेरै नेपालीहरू आजभोलि मिर्गौलाले काम नगर्ने समस्याबाट पिरोलिएका छन् । विशेषतः खाद्य पदार्थमा विषादि र मिसावटको कारण यस्ता दीर्घरोग नेपालको दीर्घकालीन समस्या बन्दै छ । प्रधानमन्त्रीलाई सञ्चो भएपछि कसरी यस्ता रोगको जरामा नै हल खोज्ने विषयमा विचार गर्नु उपयुक्त हुनेछ । त्रिवि शिक्षण अस्पतालजस्ता गैरनाफामुखी र सार्वजनिक हितप्रति उत्तरदायी अस्पतालको अझ बढी आवश्यकता छ । त्यस्ता अस्पतालमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने अरू पनि धेरै प्रतिष्ठानको आवश्यकता छ । विडम्बना ! आज शक्ति र पैसाको भरमा निजी क्षेत्रले नाफाको लागि मेडिकल कलेज र अस्पताल स्थापनाको स्वीकृति पाइरहेका छन् । तर, समुदाय र स्थानीय तहले जनताप्रतिको जिम्मेवारीबोधबाट त्यस्ता प्रतिष्ठान स्थापना गर्न खोज्दा सरकार र सरकारका मन्त्रीहरू नै अवरोध बनिरहेका छन् ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको विकासले नै देशको समग्र विकासमा टेवा पु¥याउने गर्छ । ती क्षेत्रमा सबैले होस्टेमा हाइँसे गरेमात्र देशको विकासले गति लिनसक्छ । सङ्कीर्णता र नाफामुखी प्रवृत्तिले विकासको गतिलाई उकास्न सक्दैन ।
प्रम ओलीले चाँडै कार्यक्षेत्रमा फर्की व्यापक जनताको हितमा सबै नागरिकले शिक्षा र स्वास्थ्यमा कुनै चिन्ता मान्न नपर्ने अवस्था बनाउने निर्णय गर्ने अपेक्षा गरौँ । शीघ्र स्वास्थ्यलाभको कामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *