भर्खरै :

नेपाल–भारतको खुला सिमाना र कोभिड–१९ को सन्त्रास

नेपाल–भारत सिमाना खुला गर्न हुने–नहुने बहस नयाँ होइन । विश्वव्यापी बन्दै गएको कोभिड–१९ भाइरसको सङ्क्रमणले यो आवश्यकतालाई अझ बल पु¥याएको छ । चीनको उहानमा कोभिड–१९ को सङ्क्रमणले हजारौँ मानिसको निधन भएको समाचारले भन्दा भारतको नयाँ दिल्लीमा भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको समाचारले नेपालीलाई झस्काएको छ । बिहीबारसम्म भारतमा यो भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ ।
कोभिड–१९ को सङ्क्रमण चीनको उहानमा डिसेम्बरको अन्तिमतिरबाट सुरु भएको थियो । तथापि, नेपालीलाई त्यत्तिबेला त्यत्ति चिन्तित बनाएको थिएन, जति अहिले भारतमा सङ्क्रमितको सङ्ख्या बढेको समाचारले बनाएको छ । प्रष्टतः यसको कारण नेपाल र भारतबीचको खुला सिमाना नै हो । खुला सिमाना हुनुले दुवै देशका नागरिकलाई केही फाइदा नभएको होइन । तर, खुला सिमानाले विशेष नेपाललाई फाइदाभन्दा बेफाइदा बढी भएको अनुभव सीमावर्ती क्षेत्रका नेपाली जनताले गरेका छन् ।
भारत संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देशमध्ये पर्छ । साथै, भारत संसारमै धेरै अपराधका घटना हुने देशमध्ये पर्छ । नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरू बिहार र उत्तर प्रदेश भारतकै सबभन्दा आर्थिक र सांस्कृतिकरूपमा पछाडि परेका राज्य मानिन्छ । त्यस अवस्थामा स्वभावतः भारतसँगको खुला सिमानाले नेपाल र नेपाली जनता बढी पीडित हुनुपरेको छ । भारतका अपराधी सजिलै नेपालमा आएर लुक्ने, नेपालमा हत्या–आतङ्ग फैलाउने, भारतबाट सजिलै मानिस आउन जानसक्ने, हातहतियारलगायत अन्य प्रतिकूल सामान पनि सहजै भित्याउन सकिने, विभिन्न सङ्क्रामक रोगका रोगीसमेत आवतजावत गर्न सक्ने, चेलीबेटी बेचबिखन र मानव तस्करी हुने आदि समस्या खुला सिमानाले निम्त्याउने गरेको छ । भारतसँगको खुला सिमानाकै कारण नेपालको भूमिमा अतिक्रमण हुने गरेको छ । भारतीय पक्षले नेपालका ७१ भन्दा बढी स्थानमा सिमाना अतिक्रमण गरेको छ ।
तर, नेपालमा केही मानिस भारतसँगको ‘रोटी र बेटीको नाता’ भएको भन्दै खुला सिमानाको प्रतिरक्षा गर्छन् । वास्तवमा खुला सिमानाले भारतसँग नेपालको सामाजिकरूपमा निकट सम्बन्धलाई प्रभावित बनाउने तर्क बेतुकको तर्क हो । खासमा दुई देशको सिमाना नियमित गर्दा नेपाल र भारतबीचको सम्बन्धलाई अझ व्यवस्थित र फराकिलो बनाउनेछ । सामाजिक सम्बन्धको नाममा सिमानाका दुवैतिरका जनताले भोगिरहेका समस्या समाधानले सम्बन्धलाई अझ बलियो बनाउनेछ ।
विडम्बना ! भारत सरकारले सिमानाबाट नेपाल भित्रिने तरकारी र अन्य उत्पादनको जाँच गराउनसमेत मानेको छैन । नेपाल सरकारले सिमानामा फलफूल र तरकारीजन्य उत्पादनमा क्वारेन्टाइन परीक्षण गर्न खोज्दा भारतीय व्यापारीको दबाबमा भारत सरकारले नेपालमाथि चर्को दबाब थोपरेको थियो । फलतः नेपाल सरकार आफ्नो निर्णयबाट पछि हट्नुपरेको थियो । आज पनि भारतबाट आउने रसायनिक विषादि प्रयोग गरिएका फलफूल र तरकारी उपभोग गर्न नेपाली जनता बाध्य छन् । भारतसँगको खुला सिमानाका कारण नेपाली जनता कोभिड–१९ को सङ्क्रमण पनि भोग्नुपर्ने हो कि भन्ने सन्त्रासमा छन् ।
नेपाल र भारतबीचको खुला सिमानाको व्यवस्था अन्त्य गरी सिमाना नियमित बनाउनेतिर दुवै देशका सरकारले तयारी गर्नुपर्छ । यसले दुवै देशको हित हुनेछ । भविष्यमा कुनै पनि बेला दुवै देशबाट फैलिन सक्ने प्राकृतिक र कृत्रिम प्रकोपको सामना गर्न यसले सहयोग गर्नेछ । तसर्थ खुला सिमाना नियमित बनाउने छलफल र बहसलाई पेचिलो बनाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *