भर्खरै :

१५२ औं गोर्की जन्म दिवस, गोर्कीसंग एकान्तवास

चिन्मय
पाठक साथी, बाहिर कोरोना भाइरसको भय–रस व्याप्त छ । अस्तिभर्खर पसलतिर के निस्केको थिएँ, प्रहरीको रौद्र रस सक्रिय भयो । त्यसपछि कोठाबाहिर पनि गएको छैन । साँझतिर घाम डुबेको आत्मीय दृश्य हेर्न तल नदीसम्मै लर्केजस्तो देखिने तोरीबारीतिर निस्कन्छु, त्यत्ति हो । धन्न, त्यतातिर प्रहरी जाँदैनन् ।
एकबारको जुनीमा के के देख्नु पर्ने हो ?! प्रहरी नै चक्काजाममा उत्रेपछि कसैको केही लाग्दो रहेनछ ! के गर्ने कसो गर्नेका बीच रनभुल्ल थिएँ । आँखा कोठाका निला भित्तामा गए । भित्तामा जनता भित्तेपात्रो झुण्डिएको छ । र, चैत १५ गते म्याक्सिम गोर्कीको जन्म दिन देखाएको छ । अनि के चाहियो, हठात पुस्तकका चाङबीच गोर्कीका रचना खोज्न थालेँ । अहिले मेरो टेबलमा गोर्कीका कथा, उपन्यास, नाटक र संस्मरणहरू छरिएका छन् ।
उसै त मेरो कोठा खेतको बीचमा छ । गफ गर्ने कोही छैन । त्यसैले गोर्की–गफ भए पनि गरुँ कि भन्ने धृष्टता गरेर यो एकालाप लेख्न बसेको छु ।
गोर्की भन्यो कि सम्झनाको छाँगोमा अनेक दृृश्य दर्कन थाल्छन् । गोर्की गोर्की नबन्दैदेखिका दृश्यहरू । फुच्चे गोर्की हुँदादेखिकै कथा । जारकालीन रूसका व्यथा । त्यस रूसको बारेमा गोर्कीले लेखेका छन् ः
“हिजो ठूलो झुटको दिन थियो ।… युगौँयुगदेखि मानिसले माकुराजस्तै यत्नपूर्वक धागो धागोमा एकदम चङ्ख भई सांसारिक जीवनको बलियो माकुरेजालो बुन्दै गयो । अनि झुट र लोभले यसको आँख्लाआँख्ला सिँचिरह्यो । मानिस आफ्ना सहोदर मानिसहरूको रगत र मासुले पालिइरह्यो । उत्पादनका साधनहरू मानिसको दमनका साधन थिए । यस मानवविरोधी झुटलाई निर्विकल्प, निर्विवाद सत्य सम्झिइन्थ्यो ।”

गोर्कीले आफै पढे । मावलमा पढे । होटलमा पढे । जहाजमा पढे । भाँडा माझ्दै पढे । जूनको ज्योतिमा पढे । भोल्गामा तैरिरहेको डुँगामा पढे । गाउँबस्ती र शहर चहार्दै पढे । उनी आफ्नो आसपास जुन भावनाको कमी देख्थे, त्यो भावना किताबको चमत्कारी संसारबाट परिपूर्ति गर्थे । यसरी उनको सौन्दर्यचेत हुर्किँदै गयो । उनले आफ्ना हजुरबुवाबाट समाज कति कठोर छ भनी सिके । हजुरआमाबाट समाज यति असल कसरी हुन सक्छ भनी सिके । भौतिक दीनहीनताले गरिब जनताको आत्मा पशुवत तुल्याएको देखे । समाजको पीँधमा फाट्टफुट्ट देखिने मानवीय भावना पनि सिके । समग्रमा गोर्कीले शोषितपीडित जनताबाट मह संगाले । यति नगरेको भए गोर्की ‘गोर्की’ बन्दैनथे । शोषित जनताको ढुकढुकी ठानिने ‘आमा’ जन्माउन सक्दैनथे ।

जारशाही रूसका मजदुर, किसान र दरिद्र सिपाहीहरू जार, जारका सैन्य जनरल, सामन्त र पुँजीपतिहरूको दोहोरो–तेहेरो शोषणबाट पिल्सिरहेका थिए । मरीमरी मालिकको सेवा ग¥यो, हात लाग्थ्यो शून्य । दिनभरि कलकारखानामा जोतियो, खान पनि नपुग्ने ज्याला पाइन्थ्यो । त्यसमाथि ‘पितातुल्य’ राजाले बेलाबेला करको भारी बढाइरहन्थे । खान पनि पुग्दैनथ्यो । रातरातभर रासनपानीका पसलअगाडि लाइनमा बस्यो, हात पथ्र्यो नाममात्रको रोटी । युद्धमा जानै पथ्र्यो । गयो, ज्यान फाल्नुपथ्र्यो वा रोगी र अंगभंग भई फर्किनुपथ्र्यो । युद्ध रूसी शासकहरूका लागि मेला वा चाडबाडजस्तै थियो । युद्धमा जितेको जमिन जर्नेल, कर्नेलको मौजा बन्थ्यो । उनीहरू मोजमस्ती गर्थे । यता किसानहरू भने छोराहरूले ज्यान फालेर देशमा थपेको धनीमानीका नयाँ मौजा फाँड्न र खनजोत गर्नमै आफ्ना कैयन पुस्ताको ढाड क्रुप्राउँथे ।
गोर्कीको बाल्यकाल यही समाजमा बितेको थियो । ढाँटछल, लोभलालच, पाखण्ड र त्यसले निम्त्याउने मनुष्यहीनताको रजाइँ चल्ने समाजमा । गोर्कीको सेरोफेरोमा भौतिक सरसाधनको मात्र अभाव थिएन, आत्माको सौन्दर्य पनि गायब थियो । गोर्कीले यो कुरा आफ्नो अनौठो बानीले गर्दा थाहा पाए । पढ्ने बानीले । उनले देशदेशावरका असल मानिसका बारेमा पढे । विज्ञान, इतिहास र युरोपेली समाज पढे । रूसी साहित्यको सागरमा चुर्लुम्म डुबे । राम्राराम्रा कथा, कविता र उपन्यास पढे । तर, गोर्कीको परिवेश पनि कुनै कथाभन्दा कम रोचक थिएन । त्यहाँ चोर, ठग, लोभीपापी, जँड्याहा, वेश्याजस्ता समाजको पीँधमा सर्वाधिक पेलान र चेपानमा पर्ने मानिसहरू थिए । गोर्की तिनका मनोदशासँग किशोर वयमै परिचित भए ।
गोर्कीले आफै पढे । मावलमा पढे । होटलमा पढे । जहाजमा पढे । भाँडा माझ्दै पढे । जूनको ज्योतिमा पढे । भोल्गामा तैरिरहेको डुँगामा पढे । गाउँबस्ती र शहर चहार्दै पढे । उनी आफ्नो आसपास जुन भावनाको कमी देख्थे, त्यो भावना किताबको चमत्कारी संसारबाट परिपूर्ति गर्थे । यसरी उनको सौन्दर्यचेत हुर्किँदै गयो । उनले आफ्ना हजुरबुवाबाट समाज कति कठोर छ भनी सिके । हजुरआमाबाट समाज यति असल कसरी हुन सक्छ भनी सिके । भौतिक दीनहीनताले गरिब जनताको आत्मा पशुवत तुल्याएको देखे । समाजको पीँधमा फाट्टफुट्ट देखिने मानवीय भावना पनि सिके । समग्रमा गोर्कीले शोषितपीडित जनताबाट मह संगाले । यति नगरेको भए गोर्की ‘गोर्की’ बन्दैनथे । शोषित जनताको ढुकढुकी ठानिने ‘आमा’ जन्माउन सक्दैनथे ।
गरिबगुरुवाहरूलाई कथा सुनाउँदा सुनाउँदै गोर्की गतिला कथावाचक भए । समयको लहरमा लहरिँदै उनी गुनिला कथा लेखक बन्न पुगे । उनका कथा प्रकाशित भए । उपन्यास निस्किए । यस्तैमा ‘आमा’ उपन्यास लेखिएको थियो । सन् १९०५ को सेरोफेरोमा । पाठक साथी, यो उपन्यास पढेको छैन नि, भनेर मलाई लज्जित नतुल्याउनुहोला ! कोरोनाको भय–रसमा वीर–रस घोल्न र मानव आत्माको उमंगकारी शक्ति महसुस गर्न गोर्कीको यही एउटा ‘लघुउपन्यास’ पनि पुगिसरी हुन्छ ! पसल खुलेको छैन भने पनि साथीहरूकहाँबाट कोरोनाको ‘दूत’ नसर्नेगरी पुस्तक ल्याएर पढ्दा घाटा नजाला ! पुस्तक पढेकै महानुभावले पनि फेरि दोहो¥याउँदा सुगन्धै आउला !
अँ, हामी कुरा गर्दै थियौँ ‘आमा’ उपन्यासको ! ‘आमा’ उपन्यास लेखिँदा रूस तनावपूर्ण स्थितिबाट गुज्रिरहेको थियो । रूसको निसासिँदो वातावरणबाट पार पाउन रूसी श्रमजीवी जनताले संघर्ष गर्ने निधो गरे । उनीहरू राजाकहाँ ‘राजा आऊ, हामीलाई बचाऊ’ मार्काको बिन्तीपत्र बुझाउन गए । ‘पिता’ ले उल्टो गोलाबारुदले स्वागत गरे । यसबाट मुर्मुरिएका गोर्कीका दुःखीजनहरू हडतालमा उत्रिए । घमासान संघर्ष भयो । सबैतिर । मजदुर र सैनिकहरू लडाइँमा आए । तर, विभिन्न कमीकमजोरीका कारण संघर्ष तुहियो । अर्को दिनदेखि जारको दमनकारी बुट बज्रिन सुरु भयो । आन्दोलनकारीहरूमाथि लुटपाट, मारकाट, जेल र साइबेरिया चलानजस्ता आततायी दमन चल्यो । क्रान्तिकारीहरू निरास र हतास थिए ।
‘आमा’ उपन्यास यस्तै उकुसमुकुस घडीमा छापिएको थियो । उपन्यासले एकाएक क्रान्तिकारीहरूमा उर्जा संचार गरेको थियो । संघर्षको विजयकथा सुनाएको थियो । दूर क्षितिजमा देखिने आशाको झुल्के घाम देखाएको थियो । लखतरान भई चौपारीमा सुस्ताएका क्रान्तिकारीहरूलाई उत्साहको लौरो थमाएको थियो । रूसी क्रान्तिकारीहरू ‘आमा’ को पथमा अघि लम्के र उनीहरूले अक्टोबर क्रान्तिको उज्यालो किरणले आफ्नो देशलाई सिँचे । बीस वर्षभित्रै समुन्नत समाजवादी रूसको निर्माण गरे । एउटा साहित्यिक कृतिमा कति शक्ति हुन सक्छ, ‘आमा’ उपन्यासले देखाइदियो । लेनिनले समेत यस उपन्यासको तारिफ गरेका छन् । उपन्यासको सन्देश र सामयिकीका हिसाबले ।
‘आमा’ उपन्यास रूसी मजदुर आमाको कथा हो । सामन्तवाद र पुँजीवादको निर्मम पर्खालले घेरिएको छ उनको जीवन । उनको शरीर त जिउँदो छ, तर आत्मा मरिसकेको छ । उनमा जीवनप्रति कुनै लगाव छैन । कुनै रहर, कुनै उल्लास छैन । लोग्नेलाई खाना बनाइदिनु छ । दिनभरि कारखानामा घोँटिनु छ । रातमा जँड्याहा लोग्नेको चुटाई खानु छ । छोराप्रतिको माया मात्र उनको एकमात्र सम्बल हुन्छ । छोरो पाभेल भूमिगत क्रान्तिकारी गतिविधिमा लाग्छ । अलिअलि गर्दै आमा उसका विचारहरूबाट प्रभावित हुँदै जान्छिन् । उनको मृत आत्मा फेरि ब्यूँतिन्छ । अब उनको आत्मालाई दुनियाँको कुनै शक्तिले दबाउन सक्दैन । उनी क्रान्तिकारी गतिविधिहरूमा ज्यान फालेर लाग्छिन् । यस्ता हजारौँ र लाखौँ आमाहरूका कारण पुँजीवाद मरेको थियो रूसमा । र, संसारमा समाजवादी झन्डा फहरिएको थियो । अझ रोमाञ्चक कुरा के छ भने गोर्कीले जुन आमालाई यस उपन्यासमार्फत शब्दमा उतारेका थिए, ती आमा क्रान्तिपछि पनि धेरै वर्षसम्म बाँचिरहिन् ।
पाठक साथीहरूसंग गोर्कीका एकाध अन्य पुस्तकबारे कुराकानी गर्न जाती नै हुन्थ्यो । तर, बिट मार्नुपर्ने बेला आइसकेको छ । एकालापले हजार शब्द नाघिसकेको छ । ‘आमा’ उपन्यासकै चर्चा किन ? यसको जवाफसहित बिदा लिनुपर्ला । हाम्रा साहित्यकारहरूले नलेखिदिएर मात्र हो । नत्र नेपाली शोषित पीडित जनताको कथा पनि सातसमुद्रपारिकी आमाको भन्दा फरक छैन । पुँजीवादी नेपालमा फैलिएको लोभलालच, ढाँटछल, आडम्बर र पाखण्डको जन्जालले जेलिएर अधिकांश नेपालीजन क्रान्तिबाट विमुख भइरहेका छन् । शासकहरू भ्रष्टाचार, सरकारी सम्पत्तिको लुटपाटमा घाँटीघाँटी डुबेका छन् । अविकास, अशिक्षा, गरिबी, बेरोजगारीले देश थिलथिलो छ । समाजवादी क्रान्तिबिना हाम्रा मूलभूत समस्या हल हुनेछैनन् ।
‘आमा’ उपन्यासमा आमा पेलागेया निलोभ्ना भन्छिन् ः
“जताततै प्रचुर मात्रामा खानेकुराहरू छन्, तैपनि म किन भोकै छु ? जताततै ज्ञानको भण्डार छ, मचाहिँ किन यति मूर्ख र अज्ञानी छु ?.. मानिसहरूले बिस्तारै आफ्नो यस जीवनप्रति असन्तुष्टी व्यक्त गर्न थालेका छन् । उनीहरूले आफूले केही नगरी हात बाँधेर बस्ने हो भने अन्यायले आफ्नो नामनिसान मेटिदिनेछ भनी बुझ्न थालेका छन् ।”
यही कोरोनालाई लिउँ । कोरोनाबाट समाजवादी चीन लगभग मुक्त भइसकेको छ र क्युबाले संसारभर औषधिसहित डाक्टर पठाउन थालेको छ । पुँजीवादी र साम्राज्यवादी संसारमा भने यस भाइरसले ठूलो अनिष्ट निम्त्याएको छ । बेलायतकी महारानी समेत महल छोडेर भाग्नुपरेको छ । अमेरिकामा झन् ठूलो महामारी फैलिने अनुमान गरिएको छ । तर, पुँजीवादी मुलुकहरूमा यसको उपचार सकसपूर्ण हुने निश्चित छ । किनभने पुँजीवादी मुलुकमा स्वास्थ्य सेवा र औषधी निकै महंगोमा किनबेच हुन्छ । कोरोनासँग जुध्न सकिने ज्ञान हुँदाहुँदै पनि टुलुटुलु मृत्यु पर्खिनुपर्छ । नाथे भाइरससंग डराएर कोठामा थुनिनुपरेको छ ।
पुँजीवाद र साम्राज्यवादको जातै जम्दार ! कालोबजारी, भोकमरी, महामारी, संकट, युद्ध, काटमार र लुटपाट यसका छायाँ हुन् । यस्तै हुँदै जाने हो भने पृथ्वीले मानव जातिको आउँदो पुस्ता नदेख्न के बेर ! तसर्थ, समाजवादी क्रान्तिको गाइड बुकको रूपमा ‘आमा’ उपन्यास पढ्न आवश्यक मात्र होइन, अनिवार्य छ । ‘आमा’ को बाटो नै जीवन संग्रामको बाटो हो । मानव जातिको मुक्तिपथ हो । क्रान्तिको गोरेटो हो ! 

Leave a Reply

Your email address will not be published. Required fields are marked *