भर्खरै :

ललितपुर महानगर प्रमुख महर्जनको ध्यानाकर्षण

ललितपुर महानगर प्रमुख महर्जनको ध्यानाकर्षण

ललितपुर, १४ वैशाख । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ, जिल्ला समिति भक्तपुरले मजदुरको सामग्रीमा कर लगाउने व्यवस्थाको खारेज गर्न माग राख्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विष्णुराम दुमरुले एक ध्यानाकर्षण पत्र शुक्रबार बुझाउनुभयो ।
उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, “नेपाल क्रान्तिकारी डकर्मी सङ्घ देशमा बढ्दो आर्थिक मन्दीका कारण डकर्मीहरूको रोजीरोटीको निर्माण पेसा सङ्कटमा परिरहेको छ । यसको एउटा कारण विदेशी (भारतीय) कामदारहरू कार्य अनुमतिबिना नेपाल प्रवेश गर्नु हो । यस्तो सङ्कटको अवस्थामा ललितपुर महानगरपालिकाले आफ्नो नगर क्षेत्रमा हुने निर्माण कार्यको लागि मजदुरको ढलानसम्बन्धी फर्माका काठ ढुवानीसमेतमा कवाडीसरह कर उठाएकोमा यो सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । दैनिक रोजीरोटीमा लागेका मजदुरहरूलाई महानगरपालिकाको यो करले मर्माहत पारेको हुँदा मजदुरको सामग्रीमा कर लगाउने व्यवस्था खारेज गर्न गराउन अनुरोध गर्दछौँ ।”
उक्त ध्यानाकर्षण पत्र बुझिलिई महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आइन्दा त्यो कर नलिन आफ्नो मातहतका कर्मचारीलाई आदेश दिँदै उक्त व्यहोराको सूचना सार्वजनिक गर्नसमेत निर्देशन दिनुभएको थियो ।
विष्णुराम दुमरुको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलमा विक्रम कासिछ्वा, रमेश दुमरु, गणेशभक्त कोजु, सूर्यनारायण फाँजु, विष्णुप्रसाद त्वानाबासु, कवीन्द्र डंगोल र सीताराम दुवाल रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *