भर्खरै :

कसरी सामना गर्ने कोरोना भाइरस महामारी

 
अंशु
सन् २०१९को अन्त्यतिरवाट शुरु भएको कोरोना भाइरसको रोग (कोभिड–१९) हालसम्ममा संसारभर महामारीकोरुपमा फैलिसकेको छ। संसारभरी कोरोना भाइरसको संक्रमणको सामाचारसँगै सन् २००८ पछि विश्व अर्थतन्त्रमा यो तहको निराशाको बादल पहिलोचोटि छाएको छ। संसारको अहिलेको बिकासलाई मध्यनजर गर्दा यस्तोसम्मको महामारी कल्पना पनि नगरेको हुँदा यसको असर कति हुन सक्छ भन्न अहिले गा¥हो देखिएको छ।
अहिलेसम्मका सबै महामारीहरुमध्य सबै भन्दा नजिकको दाँज्न सकिने महामारी सन् १९१८को स्पेनिस फ्लु (स्पेनको पत्रिकामा यसको बारे पहिलो चोटि छापिएकोले स्पेनिस फ्लु भनिएको) हो। यस्तो अवस्थामा हामीले पहिलेका महामारीहरुवाट के शिक्षा लिन सकिन्छ त? यसबारे पनि अहिले विचार गर्नु आवश्यक छ।
सन् १९१८ को महामारी साँचो अर्थमा धेरै असर पारेको महामारी मध्य एक हो। यसमा करिब २ करोड मानिसहरुको मृत्यु भएको आँकडा छ तर यो त्यति मात्र नभएर ५ करोड भन्दा बढि हुन सक्ने अनुमान गरीएको छ। भाइरसकै कारण २–३% मानिस मरेको भए पनि न्युमोनिया र अरु स्वास्थ्यमा परेका असरहरुका कारण धेरै मरेको थियो। पहिलो विश्व युद्धका कारण करिब ९० लाख मान्छे मरेको सो समयमा यो महामारीका कारण संसारमा धेरै असर पारेको थियो। कैयौं चरणमा फैलिएको सो महामारीका कारण करीब १ हप्ताको समयमा धेरै मृत्यु भएको थियो । महामारी शुरू भएको करीब १ बर्ष पछि अन्तिम चरणमा सन् १९१९ मा यो प्रकोपको कारण करोडौंको संख्यामा मान्छेहरु मरिसकेको थियो। युद्ध पछिको समय सबै सेना आफ्नो आफ्नो देश फर्किदा रोगसंगै लिएर गएको कारण संसारभरी नै यसले असर पारेको थियो। युद्धको समयमा संचारमा लगाएको प्रतिबन्ध कायम नै रहेको तथा पारदर्शिता नभएको, धेरैजसो देशहरु शान्ति पछिको समयलाई ब्यबस्थापन गर्न्तिर लागेको, देशहरुबिच समन्वय गर्ने कुनै अन्तर्रा्ष्ट्रिय अंग नभएको सो समयमा जनता पनि युद्धपछि कमजोर हुनाले धेरै असर परेको हो। सो महामारीमा निधन हुने धेरै जनसंख्या १५ देखि ४० बर्ष समुहको हुँदा यसले बिभिन्न क्षेत्रमा धेरै नराम्रो असर पारेको थियो। त्यतिमात्र नभई सो फ्लुको संक्रमणका कारण बाँचेका युवा तथा बालबालिकामा शारिरीक तथा मानसिक कमजोरी हुँदा धेरै पछिसम्म पनि यसले संसारको अन्य क्षेत्र लगायत अर्थतन्त्रमा ठुलो असर पारेको थियो।
शहरी जनसंख्यामा यसको असर धेरै भएको थियो। हालैको अध्ययनले के देखाएको छ भने प्रदुषित शहरहरुमा यसको असर बढि भएको देखिनुवाट वायु प्रदुषण र न्युमोनियाबिच यसको स्पष्ट सम्बन्ध रहेको पुष्टि भएको छ।
अर्थतन्त्रमा असर
फ्लुको संक्रमणको समाचारसँगै अर्थतन्त्रमा यसको असर परेको थियो। संरा अमेरिकाको न्युयोर्क र फिलाडेल्फियाका धेरै जनता संक्रमित भएर पुरै शहर बन्द गर्नुपरेको थियो। हाल इटालि लगायतका देशहरुमा सबै प्रकारका गतिबिधि बन्द गरिए झैं सो समयमा धेरै शहरहरु बन्द गरिएको थियो। तत्काललाई बन्द भएका कारण अर्थतन्त्र परेको असरभन्दा पनि काम गर्न सक्ने जनशक्तिको कमि र त्यसको कारण ज्यालामा बृद्धि हुँदा धेरै क्षेत्रमा यसको असर रह्यो। हुनतः इतिहासविदहरु र अर्थशास्त्रीहरु प्रथम विश्वयुद्ध र स्पेनिस फ्लुको असरलाई छुट्टयाएर अध्ययन गर्न नसकिने तर्क राख्दछन् तर यसको प्रभाव भने धेरै पछाडिसम्म रहेको देखिन्छ। फ्लुको बेला र सो पछि जन्मेकाहरु ठुलो भएपछि शिक्षा राम्ररी हासिल गर्न नसकेको, शीपहरु सिक्न नसकेको तथा आयु समेत छोटो भएको कारण निम्नस्तरको जिवन निर्वाह गर्नु परेको थियो। यो महामारीका कारण संसारभरको अर्थतन्त्रमा धेरै पछिसम्म पनि असर परेको थियो।
के शिक्षा लिने त?
सबैभन्दा महत्वपुर्ण शिक्षा भनेको यस्ता महामारीलाई समयमै रोकथाम गर्नु नै हो। यसको लागि रोग फैलिन नदिन मानिसहरुको आवतजावतलाई नै नियन्त्रण गर्ने हो। सन् १९१८मा सो रोग नियन्त्रण नहुनुको मुख्य कारण एकैचोटी धेरैलाई यो रोग लाग्नु हो। मानिसको आवतजावत समय मै रोक्न नसक्दा संसारभर छोटो समयमा नै यो रोग पुग्यो। सो समयमा अहिलेको जस्तो संसारमा धेरै मान्छे एकैचोटि आवतजावत गर्दैनथ्यो तर पनि एक बर्ष भित्र नै धेरै ठाउँमा फैलिएको थियो। धेरैलाई छोटो समयमा रोगको संसर्गमा आउनुको कारण त्यो समयका सरकारहरुले यसलाई रोकथाम गर्न पुग्दो पहल नगर्नु हो। प्रमुख कारण त सेनाहरु देश देशमा रोग फैलिएको थाहा हुँदाहुदै फर्किन दिनाले धेरैलाई असर पारेको र धेरैको ज्यान लियो। अहिले पनि कोरोनाको संक्रमणका कारण धेरैलाई असर परेको थाहा भएपछि पनि एक देश वा क्षेत्रवाट अर्कोमा जान दिईनुले संसारभरी कोरोनाभाईरस पुगेको हो। मानिस मानिसबीच हुने कुनै किसिमको सम्पर्कलाई टुटाउन सकिएमा रोकथाम गर्न सकिने उदाहरण सो समयमा संरा अमेरिकामा पहिले नै सम्पर्क टुटाएका शहरहरुमा कम असर भएको र सो कुरा पछि अबलम्बन गरेका शहरहरुमा धेरै रहेको तथ्यांकले देखाएको छ।
दोस्रो महत्वपुर्ण शिक्षा भनेको सुचनालाई नलुकाईकन समयमै आदानप्रदान गर्ने। सुचना लुकाउने तथा रोगको सत्यतथ्य सो समयमा एउटा देशले अर्को देशलाई नदिँदा कसरी सर्छ र कस्तोसम्म असर पर्न सक्छ भन्ने विवरण नहुँदा सरकारहरुले समयमा रोकथामका उपाय पहिल्याउन सकेन र भयावह असर परेको थियो।
तेस्रो र मह्त्वपुर्ण शिक्षा भनेको हुनसक्ने सबैभन्दा खराब परिस्थितिको लागि तयारी गर्ने। जुनसकै महामारीले मानवीय क्षति त गर्छ नै तर अर्थन्त्रमा पनि उतिकै असर पर्छ जसको प्रभाव धेरै पछिसम्म पनि रहिरहन्छ। महामारी माग र पुर्ति चक्रमा ठुलो झट्का हो। जसरी रोगले चाँडो असर गर्छ, अर्थतन्त्रलाई पनि छोटो समयमै तहसनहस बनाउन्छ। १४ दिन देखि महिना, दुई महिनासम्मको लकडाउन र आईसोलेसनमा बस्नु पर्दाको श्रमशक्तिमा परेको असरका अर्ततन्त्रमा ठुलो क्षति पुग्ने कुरा आफ्नो ठाउँमा छ, पुरा देश नै लकडाउन हुँदा आर्थिक मन्दी आउनु स्वभाविक कुरा हो। यसको कारण सबैभन्दा बढि मार दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु र कम तलबमा वाच्नु पर्ने बाध्यता भएका कर्मचारीलाई  हुन्छ। यसको लागि सरकारले आगामी दिनहरुमा ल्याईने कार्यक्रमहरुमा छुट्टै व्यबस्था गर्नु अति आवश्यक छ। एकदिनको विरामी बिदालाई नै कम्पनिको लागि आर्थिक भार सम्झिने निजी कम्पनिहरुले आफ्ना कर्मचारीहरुलाई रोगको असर नसकिँदै वा निको हुने बित्तिकै काममा बोलाउँदा पुनः महामारी हुन सक्ने तर्फ पनि सचेत हुनुपर्दछ। यस्तो परिस्थिति नआवोस् भनेर सरकारले समयमै ध्यान दिनु आवश्यक छ। जसरी स्पेनिस फ्लुको समयमा प्रदुषित शहरहरुका जनतामा धेरै असर परेको थियो अहिले पनि श्वासप्रश्वासका रोग, मुटु रोग, डाइविटिज र प्रेसर लगायतका दीर्घरोग भएका विरामीहरुलाई यसको धेरै असर हुन सक्ने भएकोले यस्ता बिरामी बढि ध्यान दिन आवश्यक छ। साथसाथै यो महामारी पछि पनि श्वासप्रश्वासका बिरामीहरु झन खतरामा हुने हुँदा पछि पनि प्रदुषण नियन्त्रण गर्न तर्फ सजग हुनुपर्छ। यसका साथै अहिलेको प्रकोपको बेला वा पछि जन्मेका सन्तानहरुमा यसको असर के हुन सक्छबारेमा पनि अध्ययन गरिनु पर्ने कुरा स्पेनिस फ्लुको इतिहासवाट पनि हामीले सिक्नु जरुरी छ। हामी समाचारहरुले दिएको मृत्यदरलाई मात्र होईन, रोगलाई जितेका र यो समयका जनतामा परेको शारिरीक तथा मानसिक असरवारेमा पछि अध्ययन गरेर नराम्रा असरहरुलाई कसरी कम गर्ने वारेमा समेत अध्ययन गरेर पछिको पुस्तालाई कसरी सुरक्षित बनाएर अघि बढ्ने बारेमा ध्यान दिनुपर्ने कुरा पनि सन् १९१८ को महामारीबाट सिक्न जरुरी छ।
महामारीको समय वा सो पछि गर्नु पर्ने कुरावारे अहिले नै ध्यान दिन सकिए पछि यसका असरलाई न्युन बनाउन सकिन्छ तर हाल हाम्रो देशमा संसारभर फैलिसकेको महामारीको असर देखिन थालेको बेला तत्काल भने सामाजिक दुरीलाई बढाउने अर्थात लकडाउन र आईसोलेसनका नियम पालन गरेर सबैजना अनुशासनमा बस्नु नै महामारीलाई फैलिन नदिने उत्तम उपाय हो। यसको लागि सबैले आ–आफ्नो भुमिका पुर्णरुपमा निभाउन सकियो भने रोकथाम गर्न सकिन्छ भन्ने उदाहरण चीनले दिईसकेको छ। चीनका जनताले कठोर अनुशासन र सामाजिक दायित्वलाई सबैजसोले निर्वाह गर्दागर्दै पनि पुनः रोग दोहोरिएका उदाहरणहरु भएकोले यो रोगलाई सामान्यरुपमा लिनु सबैको लागि महाभूल हुन सक्छ त्यसैले सबै सचेत भएर अनावश्यकरुपमा बाहिर निस्कनु आफ्नो मात्र नभई सारा परिवार, समुदाय मात्र नभई शहर, गाउँभरिका जनतालाई खतरा हुन सक्ने कुरा बुझेर घरमै बस्नु नै सबेभन्दा ऊत्तम उपाय हो।
सन्दर्भसामाग्री: Chris Colvin ,Eoin McLaughlin, Coronavirus and Spanish flu: economic lessons to learn from the last truly global pandemic, March 11, 2020, theconversation.com
UN newscsis.org
ourworldindata.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *