भर्खरै :

लक डाउनमा कसले के गर्ने ?

-विकल प्रजापति
कोरोना भाइरस अर्थात् कोभिड– १९ एसिया, युरोप, अमेरिका हुँदै विश्वव्यापी महामारी बन्दै छ । आइतबार दिउँसोसम्ममा विश्वका १९९ देशमा ६,७२,०६८ व्यक्तिहरू सङ्क्रमित हुनुका साथै ३१,१९१ जनाको मृत्यु तथा १,४३,८७० जना निको भएका छन् । सबभन्दा पहिले जनवरी १० मा चीनमा मात्र देखापरेको यो रोग २ महिना २० दिनभित्र विश्वका १९९ देशमा पुगिसकेको छ । आजको दिनमा पुग्दा एसिया महादेशमा भन्दा विकसित मानिएका युरोप र अमेरिकामा बढी जोखिममा परिरहेको निम्न तथ्याङ्कबाट देखिन्छ ।
विश्वमा कोभिड–१९ को औषधि पत्ता लागिनसकेको अवस्थामा सोसियल डिस्टायन्स अर्थात् सामाजिक दूरी कायम राख्नु, बाहिरबाट आएकालाई क्वारेन्टिनमा राख्नु, लक्षण देखिएकालाई आईसोलेसनमा राख्दा प्रभावकारी हुने विशेषज्ञ र डाक्टरहरूले औँल्याइरहेका छन् । त्यसको लागि विश्वका अधिकांश देशहरूमा लक डाउन घोषणा गरेको अवस्थामा पहिलो पटक भएकोले होला समाजले सहजै स्वीकार गर्न सकिएको छैन । मानव समाजलाई पुनः भयङ्कर विनाशबाट जोगाउन अप्रिय तर अनिवार्य कदमको रूपमा कफर््यु लगाउनुपर्ने आवाज उठिरहेको छ । भूकम्पमा घरबाहिर हुरिनुपर्ने र लक डाउनमा घरभित्रै थुनिनु पर्ने भन्दै विश्वले उकुसमुकुस महसुस गर्दै छ ।
नेपाल सरकारले लक डाउन घोषणा गरेकोमा प्रशंसा नै गरेको भए पनि दैनिक उपभोग्य वस्तु, औषधि, मास्क, उपचारस्थल, क्वारेन्टिन, आइसोलेसन र स्वास्थ्यकर्मीको सुरक्षाको साधन पीपीईसमेतको व्यवस्थामा ध्यान पुगेको छैन । कतिपय दुर्गम र सुगम क्षेत्रका स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सो व्यवस्थामा जुटेको खबर सुखद् पक्ष हो । भक्तपुर नगरपालिकाले सुरुमा पर्चा वितरण, माइकिङ, साबुन पानीले हात धुने व्यवस्था र पछिल्लो समयमा साबुन, मास्क वितरण, बजार र सडकमा क्लोरिन छर्कने, तरकारी बजार व्यवस्थापनजस्ता गतिविधि गर्नु सराहनीय छ । लक डाउन र सोसियल डिस्टायन्सलाई प्रभावकारी बनाउन केन्द्रीय र प्रदेश सरकारको मात्र होइन स्थानीय सरकार, सुरक्षा निकाय, सङ्घसंस्था, शिक्षण संस्था, बुद्धिजीवी, पत्रकार, शिक्षक, लेखक, कलाकारले आ–आफ्नो क्षेत्रमा खेलिने सानातिना भूमिकाले समाजमा दीर्घकालीन असर पर्नसक्ने देखिन्छ । लक डाउनको समयमा के गर्नहुन्न भन्ने विषयमा चिकित्सकहरूले भनिरहेको बेला यो लेखाइमा लक डाउनलाई अवसरको रूपमा फेर्न कसले के गर्नुपर्ला भन्ने विषयमा चर्चा गरेको छु । पाठकहरूबाट रचनात्मक सुझावको अपेक्षा छ ।
बुद्धिजीवी, लेखक तथा सर्वसाधारणले के गर्न सक्छन् ?
विश्वमा सङ्क्रमित र मृतक सङ्ख्या दिन प्रतिदिन वृद्धि भइरहेको अवस्थामा सरकारले एक हप्ताको लक डाउन आवश्यकताअनुसार पछि थपिने सम्भावना छ । हामी प्रत्येक नागरिकले अरू समयमा गर्न नभ्याएका र सम्भव नभएका अधुरा रहेका कार्यहरू यो मौकामा गर्नु बुद्धिमानी हुनेछ । व्यक्तिगतरूपमा आफ्नो रुचिअनुसारका पुस्तक पढ्ने, आफूले जीवनमा भोगेका, आफूलाई लागेका कुरा लेख्ने, लेखकहरूले नयाँ तथा अधुरा कथा, कविता, गीत, गजल, उपन्यास, नाटक लेख्ने, चित्र कोर्ने, पहिले लेखिसकेका रचना परिमार्जन र अन्तिम रूप दिने काम यो मौकामा गर्न सकिन्छ ।
सर्वसाधारणले पनि घरसँगैको बारी, बगैँचामा काम गर्ने, कौसी खेती, गमला खेती गर्ने, घरका भित्ताहरूमा रङरोगन गर्ने, आफैँले गर्न सकिने सामान्य मर्मत सम्भारका कार्य गर्ने, परिवारसँग रमाइलो गरी समय बिताउने, छोराछोरीलाई पढ्न सिकाउने, राम्रो लेखाइ सिकाउने, कागज कपडाको हस्तकला सिक्ने सिकाउने, साधन भएकाले लुगा सिउन सिक्ने सिकाउने, मन लागेका तर समयका कारण हेर्न नभ्याएका प्रगतिशील तथा ज्ञानवद्र्धक फिल्म परिवारसँगै हेर्न सकिन्छ ।
बुद्धिजीवीले भविष्यमा गर्नुपर्ने विषयमा अध्ययन अनुसन्धानमूलक कार्य घरैमा गर्ने, सङ्गीतकारले यही मौकामा नयाँ गीतमा सङ्गीत कम्पोज गर्ने, कलेज विद्यालयका प्राचार्य, प्रधानाध्यापक, शिक्षक, जिम्मेवार पदाधिकारीहरूले भावी योजनाबारे टिपोट बनाउने, इन्टरनेटमा भिडियो कन्फरेन्समार्फत समूहमा छलफल र प्रारम्भिक निस्कर्ष निकाल्ने, आफ्ना विद्यार्थीको हालचाल बुझ्ने, सम्भव हुने काममा विद्यार्थीलाई उत्साहित गर्ने, सुझावहरू कार्यान्वयन गर्ने गराउने, कानुन व्यवसायीले आफ्ना पक्षका मुद्दाको विस्तृत चिरफार र अध्ययन गर्ने, नजीरको अध्ययन र वर्गीकरण गर्ने, अदालत, अर्धन्यायिक निकायमा सुधारका विषयहरू खोतल्ने, विद्यार्थीले पाठ्यपुस्तकको अधुरा अध्ययन पूरा गर्ने, नोट तयार गर्ने र आफ्ना अधुरा शोध रचना पूरा गर्ने, इन्जिनियरले कुनै महŒवपूर्ण योजनाको नक्साङ्कन गर्ने, कुनै क्षेत्रको सहरी योजनाको खाका तयार गर्ने अवसर बनाउन सकिन्छ ।
स्थानीय सरकारले के–के गर्न सक्छ ?
लक डाउनको समयमा स्थानीय जनतासँगको सामाजिक सम्बन्ध जीवन्त बनाउन स्थानीय सरकारको भूमिका अत्यन्त प्रभावकारी र महŒवपूर्ण बनाउन सकिन्छ । लक डाउनमा सबभन्दा बढी बालबालिकाहरूको समयको सदुपयोगमा ध्यान दिनुपर्ने देखिन्छ ।
विद्यालय कलेजमा पढ्ने विद्यार्थीलाई सक्रिय राख्न आकर्षक पुरस्कार योजनासहित चित्रकला, कविता, कथा, गीत लेखन प्रतियोगिता घोषणा गर्न सकिन्छ । चरणबद्धरूपमा कुनै विषय दिएर वा नदिई अनलाइन वा पत्रपत्रिकामार्फत कार्यक्रम घोषणा गरेर विभिन्न चरणमा अनलाइनबाटै चित्र वा रचना बुझाउने, विज्ञमार्फत सुझाव दिन लगाउने, लक डाउन अवधि लम्बिएमा सोही अवधिमा नतिजा प्रकाशन गर्ने र लक डाउन नयाँ वर्षसम्ममा टुङ्गिएमा नयाँ वर्षपछि नतिजा प्रकाशन र बाँकी कार्यक्रम गर्न सकिन्छ । साना विद्यार्थीलाई लक्षित गरी अनलाइनमै शिक्षण कार्यक्रम गर्न सकिन्छ ।
स्थानीय बुद्धिजीवी र शिक्षक समुदायसँग अनलाइन र पत्रपत्रिकामार्फत पाठ्यक्रम, पाठ्यपुस्तक वा स्थानीय पाठ्यक्रम, शैक्षिक सुधारलगायत विषयमा सुझाव सङ्कलन गर्न सकिन्छ ।
लेखक कलाकारहरूलाई उत्प्रेरित गरी भक्तपुरको इतिहास, कला संस्कृति, सम्पदा, सरसफाइ, विगतदेखिको शैक्षिक अभियान, सांस्कृतिक अभियान, किसान आन्दोलन, भक्तपुर काण्डजस्ता राजनीतिक योगदान र भूमिका र अन्य सामाजिक, आर्थिक विषयमा योजनाबद्ध र विस्तृत कार्यक्रम घोषणा गरी विषय छनोट, अवधारणा प्रस्तुत, समूह विभाजन, थप सुझाव र सहयोग राशीसमेत घोषणा गरी उत्कृष्ट उपन्यास, नाटक, पटकथा, कथा, कविता, गीत तयार गर्न गराउन सकिन्छ । गीत सङ्गीतको सन्दर्भमा छुट्टै समय तालिका बनाएर गीत रचना, सङ्गीत कम्पोज, गीत रेकर्ड र छायाङ्कनसमेत गर्ने कार्यक्रम दिन सकिएमा सङ्कटको समयलाई अवसरको रूपमा परिणत गर्न सकिनेमा दुविधा नहोला ।
यसरी स्थानीय सरकारले आफ्नो जिल्ला, नगर र गाउँको इतिहास, सम्पदा, संस्कृति र गौरवलाई चिनाउने केही गीत, केही उपन्यास, केही नाटक, केही कथासङ्ग्रह, केही कवितासङ्ग्रह, केही छोटो चलचित्र, केही कहानी यो अवसरमा तयार भए सार्थक हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *