भर्खरै :

सिंहदरबार

तीर्थ श्रेष्ठ
कुनै गाउँको गोरेटो
कुनै पहाडको खुड्किलो भएर
अथवा कुनै नदीको बलौटे किनार भएर
तिमी सिंहदरबार पुग्न सक्दैनौ
त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला÷फराकिला
अलकत्रे सडक नै चाहिन्छ
अथवा दौरासुरवालमाथि ढाकाटोपीको
तडकभडक नै चाहिन्छ
सायद त्यसैले होला
सिंहरबार अचेल
गोरेटा र पँधेराका कुरा गर्दैन
सिंहदरबार जे सुकै भए पनि
खोक्रिएको पेटलाई पटुकीले बाँधेर
मैला भोटाहरूलाई
दौरासुरवालले छोपेर जानुपर्छ
त्यसैले त्यहाँ विकासका कुरा गर्दा
भोको पेट र नाँगो आङ छोप्नुपर्छ
मेरा बाजे भन्ने गर्थे
राणाले छोडेर गए पनि
सिंहदरबारमा अझै राणाको भूत जिउँदैछ
त्यसैले होला अचेल पनि त्यहाँ
जर्नेल साहेबको ढोका जस्तै
ज्यू, हजुर र स्वस्ति चल्छ ।
छातीमा देश दुखाए पनि नदुखाए पनि
के फरक पर्छ र ?
गाउँ जाने गोरेटो पहिरोले पुर्दैमा के हुन्छ र ?
सिंहदरबार जाने बाटामा
जहाँ जेसुकै भए पनि
चिप्ला र विदेशी कार सललल बग्छन् ।
हिजो सिंहदरबार त हो सिंहदरबार जलेको
त्यहाँ जनताका मान्छे बस्ने हुनाले
त्यो जल्दा हामी कतिका मुटु जले
हामी कतिका आँखा जले
तर खै मेरो गाउँ पहिरोले पुरेर
भग्नावशेष हुँदा सिंहदरबारको जल्यो रे ?
विचरा सिंहदरबार !
सिंगै नेपाल हेर्नुपर्छ उसलाई
मेरो एउटा गाउँको कुराले के नै पो हुन्छ र ?
सिंहदरबारको शरीरमा
चार खुट्टा भए पनि चार हात छैनन्
त्यसैले तिमी हामीलाई झैं सिंहदरबारलाई
सानातिना कुरा हेर्ने फुर्सद नै छैन
सिंहदरबारसम्म कुनै गोरेटो पुग्दैन
त्यसैले पहिरोले परिएको गाउँको
समाचारले सिंहदरबारलाई छुँदैन ।

साभारः तीर्थ श्रेष्ठका कविताहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *