भर्खरै :

लेनिन कथा – ९     पत्रिकादेखि पार्टीसम्म

-मरिया प्रिलेजायेभा
            (विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
            अघिल्ला अङ्कमा हामीले साइबेरिया निर्वासनमा लेनिन र क्रुप्सकायाका भोगाइबारे सविस्तार पढ्यौँ ।)
ज्वाला बन्ने फिलिङ्गो !
            साइबेरियाका खानीमा मान र धैर्यको खाँचो छ अपार
            व्यर्थ जाने छैन दुःखद सङ्‍घर्ष र तिम्रो उदात्त विचार
            यी पङ्क्तिहरू कवि पुश्किनले साइबेरियाको नेरचिन्स्कमा निर्वासित गरिएका र खानीमा काम गर्न बाध्य पारिएका डिसेम्बरवादीहरूलाई लक्षित गरी लेखेका थिए । यसको उत्तरमा डिसेम्बरवादी कवि ओदोएभ्स्कीले लेखे –
व्यर्थ हुने छैन अथक सङ्‍घर्ष हाम्रो
फिलिङ्गोबाट दनदनी दन्किनेछ आगो
            भ्लादीमिर इल्यीचले पत्रिकाको नाम ‘इस्क्रा’ (फिलिङ्गो) नै राख्ने निर्णय गरे ।
            शुशेन्स्कोयमा छँदै उनले यसको सम्पूर्ण योजना तयार पारेका थिए । अब त्यसलाई कार्यरूप दिनु थियो । साइबेरियाबाट फर्केपछि भ्लादीमिर इल्यीच पिस्कोभमा बस्न थाले एक्लै । क्रुप्स्कायाको निर्वासन अवधि अझै सकिएको थिएन । त्यसैले बाँकी समयलाई उफामै रोकिनुपर्‍यो । भ्लादीमिर इल्यीचलाई पिस्कोभमा बस्ने अनुमति दिइयो । त्यहाँ उनले इस्क्रा निकाल्ने तयारी सुरु गरे । उनी विभिन्न सहरको यात्रा गर्थे । ‘इस्क्रा’ मा काम गर्न साथीहरू खोज्थे । पत्रिकामा लेख लेख्ने लेखकहरू खोज्नु थियो । फेरि पत्रिकालाई गुप्तरूपमा वितरण गर्ने मानिसहरू पनि खोज्नुपथ्र्यो । इस्क्रालाई अरूलाई जस्तो पसल वा स्टलमा बेच्न सकिन्नथ्यो । कसैले यस्तो गरेमा ऊ तुरुन्तै जेलमा पर्नसक्थ्यो । पत्रिका निकाल्न पैसाको खाँचो पनि पर्छ । निकै दौडधुप गरेर भ्लादीमिर इल्यीचले इस्क्राको तयारी पूरा गरेरै छाडे तर एउटा प्रश्न बाँकी थियो । पत्रिका कहाँ छाप्ने ? रूसमा बसेर कोही किन जारको विरोधमा, जमिनदार र उद्योगपतिको विरोधमा, पुलिस अफिसरहरूको विरोधमा पत्रिका छाप्न तयार हुन्थ्यो र ? भ्लादीमिर इल्यीचले यस विषयमा पनि खूब सोच्नुपर्‍यो । उनले साथीहरूसँग पनि परामर्श गरे । अन्तमा त्यसलाई विदेशमा छाप्ने तय भयो । विदेशमा पनि यस्तो पत्रिका गुप्तरूपले मात्र निकाल्न सकिन्थ्यो । तर, त्यहाँ रूसी पुलिसका सुराकीहरू त्यतिविधि हुँदैनथे । भ्लादीमिर इल्यीचले जसोेतसो डाक्टरी प्रमाणपत्रको बन्दोबस्त गरे अनि उपचारको बहाना पारी विदेशतिर हानिए । जानुभन्दा पहिले उनले क्रुप्सकायासँग भेट गरे । क्रुप्सकायाको निर्वासन नौ महिनापछि सकिँदै थियो । अब उनी देशबाट टाढा जाँदै थिए । लामो समयका लागि ? हामीलाई थाहा छ, त्यो विदेशगमन लामै समयको लागि हुन गयो ।
            साँघुरा सडक, चुच्चे छत भएकाका घर । प्रोटेस्टेन्ट गिर्जाघरहरूको जर्मन सहर लाइप्जिगमा थुप्रै कलकारखाना, थोरै छापाखाना र हरेक किसिमका किताब पसलहरू थिए । त्यहाँ त्यस्तै पैँतीस वर्षका गेर्मन राउ नाउँका एक जर्मन बस्थे । सहर बाहिरको सानो गाउँमा उनको छापाखाना थियो । त्यहाँ मेसिनको नाममा खाली एउटा अलि ठूलो र धेरै पुरानो छपाइ मेसिन थियो । त्यसमा मजदुरहरूको खेलकुद पत्रिका, किसिम–किसिमका पोस्टर र पम्प्लेटहरू छापिन्थे । गेर्मन राउ एक सामाजिक–जनवादी थिए । एक दिन लाइप्जिगका सामाजिक–जनवादीहरूले उनलाई रूसबाट एकजना माक्र्सवादी आएका छन् भनी बताए । साथै के पनि बताए भने ती रूसी माक्र्सवादी आफ्नो पत्रिका निकाल्न चाहन्छन् र त्यसको पहिलो अङ्क लाइप्जिगमा छाप्ने निधो भएको छ । “रूसी साथीहरूलाई मद्दत गर्नुपर्छ,” लाइप्जिगका जनवादीहरूले गेर्मन राउसित भने ।
            लाइप्जिग आएका रूसी माक्र्सवादी भ्लादीमिर इल्यीच नै थिए । उनले सहरको एक छेउमा एउटा कोठा भाडामा थिए । उनी सबेरै उठ्थे, जताततै निस्तब्धता हुन्थ्यो । फेक्ट्रीका घन्टीसमेत बजेका हुन्नथे । कोठा निकै चिसो थियो । डिसेम्बरको महिना थियो । भ्लादीमिर इल्यीचले स्पिरिटको चुलोमा पानी उमाले, टिनको मगमा चिया बनाएर तात्तातै पिए र सदाझैँ घरबाट निस्किए । टाढा जानु थियो गेर्मन राउको छापाखानासम्म । त्यस्तै पाँच-छ किलोमिटरको बाटो हुँदो हो । घोडागाडी त्यहाँ जाँदैनथ्यो । त्यसैले हिँडेरै जानुपथ्र्यो । बाटोमा पैदल वा साइकलमा चढेका मजदुर र बजार जाने किसानका ठेला भेटिन्थे । सहरको सिमाना आयो । अगाडि हिउँले ढाकेका खेत थिए । पर, क्षितिजनजिकै जङ्गलको कालो छायाँ देखिन्थ्यो । सहरको छेउमा बसेको बस्तीमा बत्ती बल्दै थिए । गेर्मन राउको छापाखानाको झ्यालबाट लालटिनको उज्यालो देखिन्थ्यो । समग्र छापाखाना एउटा ठूलो कोठामा अटाएको थियो । कोठाको आधा हिस्सामा पुरानो छपाइ मेसिन थियो । कोठामा दुइटा कम्पोजिङ बक्स पनि थिए । फलामको मकलमा दाउरा सल्कँदै, पड्कँदै थियो । आगोका लप्काहरू काम्दै थिए । सँगैको भित्तामा तिनका छाया पनि काम्दै थिए ।
            “आज महत्ववपूर्ण दिन हो,” गेर्मन राउले जर्मन भाषामा भ्लादीमिर इल्यीचसँग भने । भ्लादीमिर इल्यीचले पनि टाउको हल्लाएर सहमति प्रकट गरे । साँच्चै आज महत्ववपूर्ण दिन थियो । अहिलेसम्म त तयारीमात्र भइरहेको थियो । तर, आज …..
            कम्पोजिटरले गह्रुङ्गो ब्लक उठाएर मेसिनमा चढाए । गेर्मन राउले हत्ता घुमाए । मेसिन गड्गडायो । सिलिन्डर घुम्न थाल्यो र पत्रिकाको पाना मेसिनबाहिर निस्कियो । यसरी ‘इस्क्रा’ को पहिलो अङ्क छापियो ।
भ्लादीमिर इल्यीचले एक प्रति उठाए । अहो ! यो समयको उनले कहिलेदेखि र कति उत्कण्ठापूर्वक प्रतीक्षा गरेका थिए !
            “अब हामीसँग आफ्नै पत्रिका छ, मजदुरहरूको क्रान्तिकारी पत्रिका छ ! लौ, उड हाम्रो पत्रिका, देशतिर जाऊ ! जगाऊ जनता, उभार तिनलाई क्रान्ति गर्न !”
            भ्लादीमिर इल्यीचले सबैलाई सुनाउँदै पत्रिकाको नाम पढे – ‘इस्क्रा’ । पत्रिकाको दायाँतिर माथिल्लो कुनामा छापिएको थियो :“ज्वाला बन्ने फिलिङ्गो ।”
 
लेनिन
            यात्रुवाहक गाडी केनिग्सवर्ग गइरहेको थियो । तेस्रो दर्जाको डब्बाको एक कुनामा झ्यालछेउ एक नौजवान बसेको थियो । म्युनिखमा रेल चढेको उसले बाटोभरि हाई काढिरहेको थियो । उसको खुट्टानजिकै एउटा ठूलो सुटकेस राखिएको थियो । गाडी केनिग्सवर्ग पुग्यो । केनिग्सवर्ग ढुङ्गाका किला, गिर्जाघर र खबटाले छाएका घरैघरको पुरानो सहर थियो । बाल्टिक सागरको किनारमा बसेको हुनाले यहाँ बन्दरगाह पनि थियो । बन्दरगाहमा दसौँको सङ्ख्यामा जहाज रोकिएका थिए । तिनमध्ये एकको नाम थियो ‘सेन्ट मार्गरिता’ ।
            म्युनिखदेखि आएको जर्मनेली युवकले यताउता हेर्‍यो र बन्दरगाहतिर नगई नजिकैको एक भट्टीमा घुस्यो । भट्टीमा एकदम भीड थियो । चारैतिर चुरोटको कडा धुवाँ फैलेको थियो । युवक एउटा खाली कुर्सीमा बस्यो र सुटकेसलाई टेबलमुनि घुसायो । वेटरसँग बियर र सितन मगाएर विस्तारै खानथाल्यो । मानौँ, उसलाई बसिबियाँलो गर्ने समय फालाफाल छ अथवा ऊ कसैको पर्खाइमा पो थियो कि ! हजुर, वास्तवमा ऊ ‘सेन्ट मार्गरिता’ जहाजको चालकको पर्खाइमा थियो । हुन त उसले आजसम्म त्यस जहाजीलाई देखेको थिएन । तैपनि, उसैलाई भेट्न ऊ म्युनिखदेखि आएको थियो । भट्टीमा कोही नयाँ मान्छे पस्यो कि म्युनिखदेखि आएको जर्मनेली युवक दायाँ हातले कपाल दाहिने कानतर्फ मुसार्दै क्वारक्वारती  हेथ्र्याे । यतातिर कसैको ध्यान तानिँदैनथ्यो किनकि कपाल मुसार्नु अस्वाभाविक थिएन । तर, यो एक इशारा थियो ।
            आखिरमा, जहाजी आइपुग्यो । समुद्री हावा र घामले गर्दा उसको अनुहार सुकेको थियो । ढोकामा उभिएरै उसले भट्टीमा बसेका सबै मान्छेमाथि नजर दौडायो र कपाल मुसारिरहेको मानिसतिर गयो । युवकको अघिल्तिर बसेर उसले खुट्टाले सुटकेस छाम्यो र भन्यो :
            “उफ, कति भयङ्कर बतास हो !”
            “हाम्रै बाटोतिर बहन्छ भने ठीकै छ,” म्युनिखदेखि आएको युवकले जवाफ दियो ।
            “ठीक भन्यौ साथी, हाम्रै बाटोतिर बहेको छ ।”
            यो पहिचान वाक्य थियो । तुरुन्तै दुवैबीच आत्मीयता पैदा भयो । दुवैको एउटै ध्येय थियो । यसकै लागि उनीहरू यहाँ भट्टीमा आएका थिए ।
            कुराकानी छिट्टै सकियो र दुवैजना भट्टीबाट बाहिरिए । अब सुटकेस जर्मनेलीको हातमा होइन, जहाजीको हातमा थियो । कसैले यस हेरफेरमा ध्यान दिएन । आखिर यसमा चासो दिनुपर्ने नै के थियो र ? दुईजना साथी हिँडिरहेका थिए, कुरा गरिरहेका थिए । यत्ति न हो । चौबाटोमा दुवै अलग भए । म्युनिखदेखि आएको जर्मनेली युवक स्टेशनतिर लाग्यो । सुटकेस लाग्यो ‘सेन्ट मार्गरिता’ चढेर बाल्टिक सागर हँदै स्वीडेनको राजधानी स्टकहोमतिर ।
            राति हुरी चल्यो । छालहरूले आकाश छुन थाले । तुफानले ‘सेन्ट मार्गरिता’ लाई घरि यता त घरि उता हल्लाउन थाल्यो । चुक घोप्टेजस्तो अँध्यारो व्याप्त थियो ।
            जहाज ६ घन्टा ढिलो गरी स्टकहोम पुग्यो । फिनिश जहाज ‘सुओमी’ सायद अघि नै हेल्सिङफोर्स जान छुटिसक्यो होला ।
            “समयमा पुग्‍न पाइनँ,” जहाजीलाई थकथकी लागिरहेको थियो ।
            उसले अचानक स्टकहोमको बन्दरगाहमा रोकिएर बाफ छोडिरहेको ‘सुओमी’ जहाज देख्यो । त्यो पनि तुफानले गर्दा रोकिनुपरेको हुनसक्थ्यो । अब जहाज अड्याउने ल·र निकाल्ने तयारी भइरहेको थियो ।
            “सुस्तरी बढाऊ !” कप्तानले आदेश दियो ।
            पतवारमुनिको पानी भुलभुल गर्नथाल्यो र जहाज हिँड्यो ।
            “सानो कप्तान सा’ब !” गह्रु·ो सुटकेस देखाउँदै जहाजी चिच्यायो, “केनिग्सवर्गदेखि हजुरकी काकीले पाहुर पठाउनुभा’छ ।”
            भारी सुटकेस बोकी दौडिनाले जहाजी स्वाँस्वाँ र फ्वाँफ्वाँ गरिरहेको थियो । उसलाई आफ्नो सारा कोसिस खेर गएझैँ लागेको थियो । ‘सुओमी’ किनारबाट छुटिसकेको थियो ।
            अहँ, कोसिस खेर गएन । चमत्कारै भयो । कप्तानले उसको चिच्याइ सुन्यो र … … …… … …
            “सुस्तरी पछाडि लैजाऊ !” ‘सुओमी’ मा फेरि आदेश सुनियो ।
            “रोक !”
            “सानो कप्तान सा’ब !” जहाजी न्वारानदेखिको बल निकालेर चिच्यायो । “हजुरकी काकीले बाक्लो स्वीटर पठाउनुभा’छ । सुट पनि छ ।”
            किनारमा उभिएका सबैजना गलल्ल हाँसे । ‘सुओमी’ पाहुर लिन फर्केकोमा सबैजना खुसी देखिन्थे । उपकप्तानले सुटकेस लियो । हात मिलाउँदै जहाजीलाई धन्यवाद दियो । र, “पाहुर” आफ्नो केभिनमा लुकायो ।
            सुटकेसको यात्रा जारी रह्यो ।
            जहाज हेल्सिङफोर्स पुग्दा मुसलधारे पानी परिरहेको थियो । उपकप्तानले वर्षादी ओढ्यो र सुटकेस बोकेर छिटो–छिटो पाइला चाल्दै घोडागाडीको बिसौनीतिर लाग्यो । ओहो ! सुटकेसमा पानी नपसोस् ! उपकप्तानले यताउता नजर दौडायो । तर, बिसौनीमा भेट्नुपर्ने मजदुरलाई कतै देख्न सकेन । जहाज केही घन्टा ढिलो पुगेको थियो । त्यसमाथि यो मुसलधारे पानी ! सडक सुनसान थियो । पिटर्सवर्गको त्यो मजदुर कुर्दाकुर्दै निदाउन त निदाएन ? के गर्ने होला ? त्यसैबेला एउटा घोडागाडी आएको देखियो । तर, त्यसमा पनि त्यो मजदुर थिएन । अचानक उपकप्तानले सामुन्नेको घरको पालीबाट एकजना व्यक्ति निस्केको र यताउता हेर्दै आफूतिर आइरहेको देख्यो । ऊ नै उपकप्तानले भेट्नुपर्ने मजदुर थियो ।
            “कस्तो अभागी दिन हो, उभिँदा–उभिँदा पाट्टिसकेँ ।” मजदुर बर्बरायो ।
            “तुफानले गर्दा ढिलो भयो । कहिले जानुहुन्छ ?”
            “आज ।”
            “ठीक छ । मैले छिट्टै सूचना पुर्‍याइदिउँला ।”
            मजदुरले सहमति जनाउँदै टाउको हल्लायो । सुटकेस उठायो, घोडागाडीमा चढ्यो र स्टेशनतर्फ लाग्यो ।
            केही घन्टापछि सुटकेस रेलगाडीमा पिटर्सवर्ग गइरहेको थियो ।
            रेल वसन्तकालीन बाँझा खेत, झरीले भिजेका गाउँ र निर्जन ग्रीष्मकालीन बगैँचाछेउ हुँदै दगुरिरहेको थियो । पिटर्सवर्गको मजदुरले यी ठाउँहरू राम्ररी चिनेको थियो । त्यसैले चुपचाप बसेको थियो । ऊ बेलोओस्त्रोभ आउने प्रतीक्षामा पत्रिका पढिरहेको थियो ।
            बेलोओस्त्रोभदेखि रूसको सीमा सुरु हुन्थ्यो । त्यहाँ भन्सारमा सधँै यात्रुहरूको चेकि· हुन्थ्यो ।
            भन्सारको मानिस रेलको डिब्बामा आयो ।
            “कृपया आफ्नो सुटकेस देखाउनुस् ।”
            पिटर्सवर्गको मजदुरले नहडबडाइकन आफ्नो सुटकेस खोल्यो ।
            एक जोर लुगा, पुरानो चारकुने बुट्टासितको कम्बल र मीठाइको डब्बा । यत्ति हो ।
            जाँचकीले सुटकेसको किनारमा औँला टकटक ठोक्यो । सन्देहजनक केही भेटिएन ।
            त्यसै दिन उक्त मजदुर पिटर्सवर्गमा थियो । भसिलेभ्स्की द्वीपमा एउटा ढु·े घरको सिँढी चढिरहेको थियो । दोस्रो तलाको ढोकामा तामाको पातामा लेखिएको थियो, “दाँतको डाक्टर ।”
            आगन्तुकले घन्टी बजायो । दुईचोटि बेसरी र एकचोटि सुस्तरी । यसको मतलब थियो – डराउनुपर्दैन, हाम्रै मान्छे हो ।
            दाँतको डाक्टरले ढोका खोल्यो ।
            “आउनुस्, तपाईँकै प्रतीक्षामा थियौँ ।”
            क्रान्तिकारीहरू गुप्त भेटघाट गर्न यहीँ जम्मा हुने गर्थे ।
            डाक्टरको कोठामा एउटी ठिटीले मजदुरलाई पर्खिरहेकी थिइन् ।
            “दिनुस्,” उनले भनिन् । त्यसपछि मजदुरको हातबाट सुटकेस लिइन् । बिचराले त्यो सुटकेस ल्याउन बाटोमा कम्ती दुःख झेलेको थिएन ! तुफान, झरी, भन्सारको जाँच …..
            ठिटीले सुटकेसबाट चारकुने बुट्टासहितको कम्बल र अन्य चीजबीज निकालिन् । लौ यो के हो ? आगन्तुकले विधि पुर्‍याएर सुटकेसको तल्लो भाग के दबाएको थियो । त्यो ढक्कनझैँ ह्वात्त खुल्यो । सुटकेसमा दुइटा खाना थिए । तल्लो खानामा खाँदेर राखेका पत्रिका थिए । केटीले पत्रिकाको एक प्रति निकालिन् । ‘इस्क्रा’ !
            त्यसो भए केनिग्सवर्ग, स्टकहोम, हेल्सिङफोर्स हुँदै यति कष्ट उठाएर गुप्त तवरले म्युनिखदेखि पिटर्सवर्गसम्म पुर्‍याइएको यस पत्रिकालाई पो हो !
            ठिटीले सुटकेसबाट ‘इस्क्रा’ निकाल्दै आफ्नो डिब्बामा राख्न थालिन् । सबै पत्रिका राखेपछि उनले डिब्बालाई फिताले बाँधिन् र पिटर्सवर्गमा सक्रिय रहेका मजदुर मण्डलीहरूमा बाँड्न निस्किहालिन् ।
            उनी ‘इस्क्रा’ की एजेन्ट थिइन् । ‘इस्क्रा’ का गुप्त एजेन्टहरू रूसका सबै ठूला सहरहरूमा छरिएका थिए ।
            ‘इस्क्रा’ ले मजदुर र किसानका आँखा खोल्थ्यो । तिनको वास्तविक जीवन के हो ? खुलस्त देखाउँथ्यो ।
            ‘इस्क्रा’ ले तिनलाई सिकाउँथ्यो – “जारशाहीविरुद्ध लड ! मालिकहरूविरुद्ध
लड !”
            ‘इस्क्रा’ तिनलाई पार्टी गठन गर्न र क्रान्ति गर्न आह्वान गथ्र्याे ।
            ‘इस्क्रा’ को प्रेरणाले रूसमा छिट्टै एक शक्तिशाली मजदुर आन्दोलन सुरु भयो । यस विराट आन्दोलनका नेता, मार्गदर्शक र ‘इस्क्रा’ का प्रधानसम्पादक भ्लादीमिर इल्यीच थिए ।
            रूसबाट मजदुरहरू र ‘इस्क्रा’ का एजेन्टहरूले पठाउने थुप्रै पत्र, लेख आदि भ्लादीमिर इल्यीचले पाउँथे । ती सबैजसो कुट भाषामा लेखिएका हुन्थे । तिनलाई उनले ‘इस्क्रा’ मा छाप्थे । मजदुरहरूका पत्रको जवाफ दिन्थे । ‘इस्क्रा’ को लागि लेख तयार गर्थे । साथमा राजनीतिक र क्रान्तिकारी सङ्‍घर्षको बारेमा किताब लेख्थे ।
            १९०१ को डिसेम्बरदेखि भ्लादीमिर इल्यीचले आफ्ना लेख र किताब लेनिनको नाममा छाप्न थाले ।
            यो महान नाम थियो । यस नामसँग सारा संसार छिट्टै परिचित हुँदै थियो ।
अनुवाद :माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *