भर्खरै :

अध्यक्ष का. रोहितको संस्मरणका केही पृष्ठ

            (नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को संस्मरणका केही पृष्ठ यहाँ प्रस्तुत छन् । विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका यी सङ्‍क्षिप्त संस्मरणात्मक लेखहरू हुन् –सं.)
प्रधानमन्त्री चाउ एन–लाइको सौहार्दपूर्ण व्यवहार
            सन् १९५९–६० मा म एसियाली अफ्रिकी युवा तथा विद्यार्थीहरूको स्वास्थ्य निवासमा थिएँ । पेइचिङको २० किलोमिटर उत्तरतिर पाताचु भन्ने ठाउँमा स्वास्थ्य निवास थियो । स्वास्थ्य निवास बसेको २–४ महिनापछि पेइचिङको पार्क र अन्य ऐतिहासिक सङ्ग्रहालयहरूमा घुमाउन लगियो । ५–६ महिनापछि अन्य सभा समारोहहरूमा समेत सहभागी गराइएँ ।
            त्यसबेला चीनमा एसियाली र अफ्रिकी ठूला र  साना देशका राष्ट्रपति र प्रधानमन्त्रीहरूको भ्रमण भइरहन्थ्यो । अतिथिहरूका स्वागत समारोह र रात्रिभोजहरूमा म पनि सहभागी हुन्थेँ । ती समारोहहरू धेरैजसो जनप्रतिनिधिसभा भवनमै हुन्थे । सयौँ सहभागी हुने ती समारोहहरूमा आ–आफ्नो स्थान नामसहित निश्चित टेबुलको बन्दोबस्त गरिएको हुन्थ्यो ।
            म बस्‍ने टेबुलमा सधैँ चीन–नेपाल मैत्री सङ्‍घका एक पाको चिनियाँ मित्र हुन्थे । साथै चिकित्सक र दोभाषे पनि हुन्थे । विदेशी पाहुना र चिनियाँ नेताहरूको औपचारिक भाषणपछि चिनियाँ प्रधानमन्त्री चाउ एन लाइ विभिन्न टेबुलमा पुगी सहभागीहरूसँग भलाकुसारी गर्नुहुन्थ्यो । म सधैँ नेपाली पोशाक भादगाउँले कालो टोपी लगाएको हुन्थेँ । प्रधानमन्त्री चाउ एन लाइ हरेक पटक हामी बसेको स्थानमा पुग्‍नुहुन्थ्यो, मेरो स्वास्थ्यबारे चिकित्सकहरूसँग सोध्‍नुहुन्थ्यो र दोभाषेले मलाई अनुवाद गर्थे । प्रधानमन्त्री चाउ–एन लाइले मेरो शीघ्र स्वास्थ्यलाभको कामनाका साथै घरबाट चिठ्ठीपत्र आउने नआउने विषय र माता–पिताबारे पनि सोधपुछ गर्नुहुन्थ्यो ।
            नेपालका प्रधानमन्त्री वीपी कोइरालाको स्वागत समारोहको दिन औपचारिक समारोहपछिको भेटघाटमा वीपी कोइरालालाई स्वास्थ्य निवासमा साथीहरूले भेटघाटका लागि आग्रह गर्दा उहाँले चाउ एन–लाइलाई आफू विद्यार्थीहरूसँग भेट्न चाहेको बताउनुभयो । चाउ–एन लाइले आफ्ना सहयोगीलाई कार्यक्रम मिलाउन भन्नुभयो ।
            अहिले ५९–६० वर्षपछि म प्र.म. चाउ एन–लाइको नेपाल र नेपाली जनताप्रतिको सद्भाव सम्झिरहन्छु । त्यसबेला म २० वर्षको थिएँ । स्वास्थ्य लाभपछि नेपाल फर्केँ । पछि समारोहहरूमा एउटै टेबुलमा बरोबर भेटघाट हुने पाको चिनियाँ मित्रलाई नेपालमा पहिलो राजदूतको रुपमा भेट भयो । उहाँले भन्नुभयो–“चिन्नु भयो ?” “अँ, मैले चिनेँ, महामहिमलाई हाम्रो देश नेपालमा स्वागत छ” – मैले भनेँ । “हामी पुराना मित्र हौँ” उहाँले भन्नुभयो । मैले भनेँ– “अवश्य, नेपाली र चिनियाँ जनता पुराना र असल मित्र हौँ ।”
            युवावस्थाको चिनियाँ बसाइ, चिनियाँ जनता र  नेताहरूको नेपालप्रतिको सौहार्दता र उहाँहरूको नेपाल भ्रमणहरूको सम्झना आज पनि मलाई ताजा लागिरहेको छ ।
चिनियाँ नापित मित्रसँग
            स्वास्थ्य निवासमा एक जना विद्यार्थीको कपाल काट्न एक घण्टाको पास दिइन्थ्यो । म कपाल काट्न ठीक समयमा पुग्दा नापित मित्र एकजना सेवाग्राहीलाई बिदा दिई चुरोट खाइरहेका थिए । चुरोट खाँदासम्म पुरानो चीनमा उनको स्थानबारे मैले सोधेँ – “क्रान्तिभन्दा पहिले तपाईं के गर्नुहुन्थ्यो ?”
“ म एक जमिनदार थिएँ,”– उनले जवाफ दिए ।
“तपाईंको खेतमा अब कसले काम गर्छ ?”
“सबै खेत किसानहरूलाई बाँडेँ ।”
“किन ?” मैले प्रश्न गरेँ ।
“भूमिसुधारमा, खेत जोत्ने किसानले पाउँछ”
“तपाईंले किन आफ्नो खेत जोत्नुभएन ?”
“म आफ्नो खेत जोत्न सक्दिनथेँ । मैले यही पेशा रोजेँ ।”
            उनीसँगको कुराकानी अनुसार आफ्नो नयाँ पेशाबाट उनी सन्तुष्ट थिए । सरकारबाट कर्मचारीसरह तलब पाउँथे ।
मन्दिर र विहारको बन्दोबस्त
            स्वास्थ्य निवासमा बस्दा समय–समयमा निवासबाट बिदा लिएर चीनका विभिन्न प्रान्तका मन्दिर र विहारहरूको भ्रमण गर्दा सबै ठाउँ साह्रै सफा देखिन्थे । धार्मिक दृष्टिकोणले आउने मानिसहरू सार्‍है कम देख्थेँ । तर घुम्न र बुझ्न आउने मानिसहरू बढी देखिन्थे ।
            त्यहाँ सेवा गर्ने पुजारी वा भिक्षुहरूसँगको कुराकानीमा २–४ वटा प्रश्न गरेँ । यो मन्दिर र विहारको निर्माण कसले गरेको ? यसको जग्गा वा गुठी के भयो ? अब यहाँको खर्च र मर्मत–सम्भार कसले गर्छ ? पुजारी वा भिक्षुको बन्दोबस्त कसरी हुन्छ ?
            यी सबै प्रश्नहरूको उत्तर सबैबाट एउटै किसिमको आउँथ्यो । यो प्राचीन मठमन्दिर र विहार हो । क्रान्तिपछि यसको पुनः निर्माण भएको हो । यस मन्दिरको पुनः निर्माण प्रधानमन्त्री चाउ एन–लाइको निर्देशनमा भएको थियो । यसको जग्गा भूमिसुधारको बेला जोताहा किसानहरूमा वितरण भयो । त्यसपछि सबै आवश्यक खर्च सरकारले गर्छ । पुजारी र भिक्षुहरूको बन्दोबस्त पनि  सरकारबाटै हुन्छ । चीनका यी सबै बन्दोबस्तहरू जस्तै नेपालका मठ मन्दिरहरूको बन्दोबस्त पनि सरकारबाट हुनुपर्ने हो । सङ्‍घ राज्यको बन्दोबस्त भइसकेको हुँदा मध्यमस्तरको मठमन्दिरको बन्दोबस्त प्रदेशको रेखदेखमा र स–साना मन्दिर वा स्मारकहरू क्षमताअनुसारको स्थानीय निकायलाई दिनु उचित हुन्छ । स्थानीय निकाय र प्रदेशले नसक्ने सबै मठ–मन्दिर र सांस्कृतिक धरोहरहरूको मर्मत सम्भार र पुनः निर्माण केन्द्रले बेहोर्नुपर्ने हुन्छ । तर भौगोलिक हिसाबले अहिलेसम्मको स्थिति हेर्दा केन्द्र वा पुरातत्वव विभाग र गुठीले २० प्रतिशतमात्र काम गर्न सकेको हुँदा स्थानीय निकाय र प्रदेशलाई समेत जिम्मा दिइनु व्यावहारिक हुने देखिन्छ ।
स्रोत :जनताको साहित्य, वर्ष ४६, अङ्क १२ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *