भर्खरै :

कानुनले सम्पन्न व्यवहारमा विपन्न महिला

            जनसङ्ख्याको कुरा गर्ने हो भने महिलाले आधा आकाश ढाकेका छन् । हाल महिला हक अधिकारको निकै चर्चा हुने गरेको छ । संविधानले महिलालाई विभिन्न अधिकार दिएर सम्पन्न पारेको छ । यति हुँदाहँुदै पनि व्यवहारिक कुरा गर्ने हो भने महिलाहरू निकै पछाडि परेका छन् । हात्तीको देखाउने र खाने दाँत फरक भएजस्तै समाजमा महिलालाई गर्ने व्यवहार फरक हुने गरेको छ । महिलाहरू पछाडि पर्नुका  कारणहरूमध्ये सामाजिक रीतिथिति पनि एक हो छोरी भएर जन्मेदेखि यो गर्नुहुन्छ त्यो गर्नुहुँदैन भनेर अनेकौँ बन्धनहरूमा बाँधिने गरिन्छ । अरु त सामान्य कुरा मन खोलेर हाँसेमा छोरी मान्छेले ज्यादा हाँस्नुहुन्न भनि भनिन्छ । एउटी नारी जन्मजात कमजोर हुदिनन् । उनलाई कमजोर बनाउन अनेक प्रपञ्चहरू रचिएको हुन्छ । आफ्नै अभिभावकबाट नारीलाई कमजोर हुन सिकाइएको हुन्छ किनकि छोरी भनेपछि अरुको घर जाने जात भनी सोचिन्छ । यही तीतो यथार्थ हिजो पनि थियो आज पनि कायमै रहेको छ । छोरी जन्मनासाथ सुरु गरिने गलत शिक्षाका कारण पनि नेपाली नारीहरू अघि बढ्न सकिरहेका छैनन् ।  आफूलाई निकै आधुनिक भन्ने आमाहरूले पनि व्यवहारमा आफ्ना छोरीहरूलाई  यस्तै शिक्षा दिइरहेका छन् । बुढापाकाहरू भन्छन् अरुलाई परे कुरा आउँछ आफूलाई परे ज्वरो आउँछ । अभिभावकहरूले आफ्ना छोरीलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरा थोरै मात्रले सिकाएका होलान् – यो घर तिम्रो हो ।  यसै क्रममा महिलाले विभिन्न किसिमका भूमिका निर्वाह गरिरहेका छन् ।
            नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाको हकबारे यसरी चर्चा गरिएको छ । प्रत्येक महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक हुनेछ । हरेक महिलाहरूलाई सुरक्षित मातृत्व र प्रजननको स्वास्थ्यसम्बन्धी हक हुनेछ । महिलाका विरुद्धमा धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई  कानुनबमोजिम क्षतिपूर्ति  पाउने हक हुनेछ । तर, यति हुँदाहुँदै पनि देशमा धेरै छोरी चेलीहरू हिंसा र बलात्कारका सिकार भइरहेका छन् । उनीहरूले वर्षौदेखि न्याय पाउन सकेका छैन । महिलाहरू त दोस्रो दर्जाका नागरिकको रूपमा ठानिएको भान हुन्छ । हाल लकडाउनको समयमा त महिलाहरूमाथि घरेलु हिंसा बढेको कुराहरू विभिन्न सञ्चारमाध्यममा आइरहेको छ । जुनसुकै समयमा पनि महिलाहरू पीडित रहेका हुन्छन् । यो लकडाउनको समयमा पुरुषहरू काम छैन खायो, सुत्यो, बोर भयो  भनेर फेसबुकका वालहरूमा लेखिरहदा महिलाहरूलाई भने एकछिन फुर्सत हुँदैन । यो समयमा परिवारका सम्पूर्ण सदस्य दिनभरि घरमै हुने हुनाले उनीहरूको खानपानदेखि सरसफाइ सम्पूर्ण कुराहरूको जिम्मा महिलाहरूमै सिमित रहेको हुन्छ । दिनरात काममा व्यस्त रहेका महिलाहरूमाथि नै विभिन्न किसिमका घरेलु हिंसाहरू भइरहेका छन् । विभिन्न दिवस र उत्सव मनाइरहँदा महिलाका मुद्दाहरू घरका चुलाचौकामा सीमित रहने गरेका छन् । यसरी महिलाहरू दबिनुको पछाडि महिलाका पनि कतिपय कमी कमजोरीहरू देखिन्छन् । केही गार्‍हो सार्‍हो परे कि त्यसैलाई बहना बनाई आफ्नो लक्ष्यबाट धेरै महिला टाढा हुने गरेका छन् । जब एक महिलाले विवाह गर्छिन् तब उनका अगाडि नयाँ जिम्मेवारीहरू थपिन थाल्छन् । त्यसपछि उनले आफनो पढाइ छोडछिन् त्योसँगै आफ्ना रहर, चाहना र लक्ष्यलाई तिलाञ्जली दिने गर्छिन् । जीवनमा आइरहने यस्ता हलचलले महिलाहरूलाई मात्र होइन पुरुषहरूलाई पनि असर गरेको हुन्छ । तर, पुरुषहरू अगाडि बढिरहेका हुन्छन् यसको मुख्य कारण उनीहरू आफ्ना कुराहरू खुलेर राख्ने गर्दछन् । यदि यही कुरा महिलाहरूले गर्ने हो भने महिलाहरू पनि पुरुषसरह अगाडि बढ्न सक्दछन् । त्यसैले हरेक महिलाले आफ्ना जीवनका उतारचढावलाई सकारात्मकरूपमा लिई अगाडि बढे उनको  जीवनमा खुसीयाली छाउँछ । मानिसको सफलताको मुख्य भेउ उसको मनोबल नै हो । उच्च मनोबलसहित सकारात्मक सोचले अगाडि बढे परिवार समाजको उन्नति सुनिश्चित छ ।
            २१ औँ शताब्दीमा आएर महिलाहरूले केही साक्षर हुने मौका पाएका छन् । तर पनि उनीहरू अरुको घरमा जानुपर्ने, अरुले पाल्ने जात, अरुको सहारामा बस्नुपर्ने, बुबाको सम्पत्ति मेरो होइन, मैले पराइघर जानुपर्छ भन्ने सामाजिक विभेदहरूले महिलाको चेतनाको स्तर नै कमजोर बनाइदिन्छ अनि  ती महिलाहरू आफ्नो कर्तव्य, भाग्यमै यस्तै रहेछ भनी स्वीकार गरी बाँचिरहेका छन् । त्यसैले महिलाहरू आफ्नो अधिकारभन्दा आफ्नो कर्तव्यलाई सम्झी जीवन बिताइरहेका हुन्छन् । उनीहरू आफूमाथि भएका नराम्रा कुराहरूको विद्रोह गर्नसक्दैनन् । उनीहरूको मनस्थिति नै कमजोर हुन पुग्दछ । यो स्वाभाविक पनि हो  किनभने हाम्रो समाजले महिलाहरूलाई अधिकार होइन कर्तव्यमा बाँच्न सिकाएको छ । जब उनीहरूलाई आफ्नो अधिकारको लागि लड्न अघि सर्छन्  तब महिलाहरू समाजविरोधी हुन्छन् ।  यस्ता साहसी महिलाका विरुद्धमा गाउँ छिमेकमा विभिन्न नकारात्मक कुराहरू काटिन थाल्छन् । उनीहरूलाई घर भँडुवा, समाज भँडुवा भनी लाञ्छनाहरू लगाउन थाल्छन् । यति हुँदाहुँदै पनि केही साहसी महिला आर्थिक, सामाजिकरूपमा निकै अगाडि बढेर अन्य महिलाको लागि उदाहरण बन्न पुगेका छन् ।  तमाम बाधा अड्चनलाई पन्छाएर जुनसुकै परिस्थितिमा पनि अगाडि बढ्नुको विकल्प नरहेको कुरा महिला अधिकारकर्मीहरू बताउँछन् ।
            संविधानले महिलालाई सशक्त पार्न विभिन्न व्यवस्थाहरू गरेको छ । जस्तैः सरकारी कोटामा ३३ प्रतिशतको व्यवस्था, प्रजननको अधिकार, पैतृक सम्पतिमा अधिकार, हरेक उच्च पदहरू एकमा महिला हुनैपर्ने, विधवा विवाह, अन्तजातीय विवाह, आमाको नामबाट नागरिकता व्यवस्था इत्यादि । यस्ता व्यवस्थाहरू हुँदाहँुदै पनि धेरै महिलाहरू पीडित छन् । सामाजिकरूपमा मात्रै हैन आर्थिकरूपमा पनि महिलाहरूमाथि भेदभाव भएको छ । समान काम गरे पनि महिला भएकै हुनाले उनले पुरुषले भन्दा कम ज्याला पाउने गरेको देखिन्छ । महिलाहरूले जन्मेपछि मात्र होइन जन्मने क्रममै पनि भेदभाव भोग्नु परिरहेको छ । गर्भमा छोरी भएको थाहा हुनेबित्तिकै गर्भपतन गर्नेहरूको सङ्ख्या पनि बाक्लै देखिन्छ । छोरी जन्मेपछि पालनपोषणमात्र होइन विवाहमा दाइजो दिनुपर्ने प्रथाका कारण  यो कुप्रवृत्ति बढ्दै गएको देखिन्छ । पढेलेखेका मानिसहरू यस्ता कुराहरूलाई बढावा दिइरहेका छन् । पहिला लुकीछिपी गैरकानुनी रुपमा गर्भपतन गरिन्थ्यो । हाल यसले कानुनी मान्यता पाएसँगै छोरीको भु्रण हत्या गर्ने क्रम पनि बढेको देखिन्छ ।  महिलाको अवस्था सुधार गर्न भनि बनेका नियम कानुनले झनै महिलाहरू पीडित भएको भान हुन्छ । जस्तो विधवा विवाह गर्नेलाई सरकारले केही रकमको व्यवस्था गरेको छ कतिपय पुरुषहरूले एकलमहिलासँग विवाह गर्ने  र रकम लिने र केही समयपछि ती महिलालाई छोडी दिने कुरा समाचार बनिरहेका छन् । त्यसैले महिलाका लागि बनेका नियम कानुन महिलाको लागि ‘कागलाई बेल पाकेर हर्ष न विस्मात’ जस्तै भएको छ ।
            नारी र पुरुष एकै रथका दुई पाङग्रा  हुन् । कुनै एक पाङ्ग्रामा समस्या भयो भने रथ अघि बढन सक्दैन । यसै कुरालाई मनन गर्दै महिला र पुरुषलाई समान हक अधिकार दिनुपर्दछ । यसैक्रममा समानतासँगै समतामुखी विकासका नीति तथा कार्यक्रमको तर्जुमा हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *