भर्खरै :

सरकार ! के यही हो लकडाउन ?

            सरकारका कमी–कमजोरीले चालीस दिनभन्दा लामो समयदेखि नेपाली जनताले सहँदै आएको लकडाउनको परिणाम उल्टो हुने अवस्था बन्दै छ । कोभिड–१९ को महामारी रोकथाम गर्न सरकारले सुरुमा सबै नागरिकलाई ‘जहाँ छौ, त्यहीँ बस’, ‘समस्या परे सरकारले समाधान गर्छ’ भनेको थियो । तर, आफ्ना दैनिक आवश्यकता पूरा गर्न सरकारको भर पर्न नसकिने भएपछि लाखौँको सङ्ख्यामा मानिस काठमाडौँ उपत्यकाबाहिर गएका थिए । कति पैदल गए, पहुँचवालालाई सांसद र मन्त्रीहरूले गाडीको बन्दोबस्त गरे, कति आफ्नो गच्छेअनुसार जसोतसो काठमाडौँ उपत्यकाबाहिर गए । तर, पछिल्ला केही दिनयता उपत्यका बाहिरिएका ती मानिसहरू क्रमशः फर्किरहेका छन् । विगत केही दिनमा सयौँको सङ्ख्यामा यात्रुवाहक गाडी उपत्यका भित्रिरहेका छन् । यसरी सर्वसाधारण कहिले बाहिरिने र कहिले भित्रिने अवस्थाले कोभिड–१९ सङ्‍क्रमणको जोखिम अझ बढ्ने देखिन्छ । विशेषतः तराईका केही जिल्लाहरू कोभिड–१९ सङ्‍क्रमणका केन्द्र बन्ने सम्भावना बढ्दो छ । सङ्‍क्रमणको जोखिम अझ बढ्दो छ । यस्तो परिस्थितिमा आवतजावतको छुट दिँदा भाइरस नियन्त्रण र रोकथामभन्दा बाहिर जानसक्छ । त्यसको मूल्य सोचेभन्दा धेरै हुनसक्छ ।
            कोभिड–१९ भाइरसले कसैलाई काखा र कसैलाई पाखा गर्दैन । विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरू यो रोगको शिकार बनेका छन् । यो रोग सत्तानजिक, पहुँचवाला मानिसलाई नलाग्ने, अरूलाई लाग्ने होइन । तर, नेपालमा रोग नियन्त्रणको लागि लागू लकडाउनमा भने विभेद देखिँदै छ । सरकार र सुरक्षाकर्मी निकट व्यक्ति र संस्थालाई लकडाउन मान्न नपर्ने, अनि पहुँच नभएका मानिस भने आँगनमा निस्कँदा पनि कारबाहीको भागीदार बन्ने विभेदले अन्ततः लकडाउनप्रति जनताको आक्रोश र जनसन्तोष बढाउनेछ ।
            लकडाउनको समयावधि लम्ब्याउने तर कोभिड नियन्त्रणका अन्य कुनै कदम नचाल्ने हो भने लकडाउनको कुनै अर्थ हुनेछैन । मानिसको आवतजावतलाई पूर्ण नियन्त्रण पनि गर्न नसक्ने र भाइरसको व्यापक परीक्षण पनि नहुने हो भने लकडाउनले मात्र महामारी नियन्त्रणको कुनै अर्थ छैन । सरकारले परीक्षण व्यापक बनाएको छैन, बनाउन चाहिरहेको छैन । धेरै परीक्षण गर्दा सङ्‍क्रमितको सङ्ख्या धेरै बढ्ने हो कि भन्ने भयले सरकारलाई पिरोलेको देखिन्छ ।
            आर्थिक जीवन धुजाधुजा बनाएर जनता घरभित्र बसेको अवस्थामा शासक दलको घिनलाग्दो सत्ता खेल, प्रमुख प्रतिपक्ष दलको अकर्मण्यता, विपद्मा मौका छोप्ने भ्रष्टाचारी र कालाबजारीको चलखेल, बजारको उक्लिंदो मूल्य र यति सबै भोगिसकेर फेरि पनि कोभिड–१९ सङ्‍क्रमणको सम्भावनाले जनतालाई वाक्कदिक्क बनाएको छ । सर्वसाधारणले मात्र रोग सङ्‍क्रमणको पिर मानेर सबै त्याग्नुपर्ने अवस्थाले सरकारप्रतिको जनआक्रोश बढ्दो छ । महाव्याधिलाई पूर्णतः नियन्त्रण गर्न सिमाना बन्दमा कडाइ गर्न, जनताका दैनिक समस्या समाधान गर्न, अपुग स्वास्थ्य पूर्वाधारको विकास गर्न र जनतालाई यात्रा गर्न नपर्ने परिस्थिति निर्माणको निम्ति सिंहदरबार र बालुवाटारमा दिन–रात व्यस्तता हुनुपर्ने आजको परिस्थितिमा शासक दलका नेताहरूबीच आपसमा पदको झगडा गर्दै बस्नु अनैतिकता हो ।
            सरकार ! मानिसलाई घरमा थुनेरमात्र तिम्रो कर्तव्य पूरा हुँदैन । महामारी नियन्त्रणको निम्ति तिम्रो कुरा मानेर जनता झन्डै दुई महिनायता घरभित्र धैर्यपूर्वक बसेका छन् । तर, जनताको चाहना र भावनाको सम्मान गर्नु के तिम्रो दायित्व होइन ? सरकार आज पाइला – पाइलामा जनताको भावना बुझ्‍ने जिम्मेवारीमा चुकिरहेको छ । सरकारले काम गरिरहेको छ भनी जनता निर्धक्क सुत्‍ने अवस्थामा छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *