भर्खरै :

अनलाइन शिक्षाबारे छलफल गरौँ

            कोरोनाको कहरले आज संसारका सम्पूर्ण विद्यार्थी र शिक्षकशिक्षिकाहरू लकडाउनमा छन् । लकडाउन कहिलेसम्म लम्बिने हो, यकिन गर्न गार्‍हो अवस्था छ । लकडाउन खोलिएको अवस्थामा पनि विद्यालय, कलेज र विश्वविद्यालयहरू सञ्‍चालन गर्न अझै समय लाग्ने देखिन्छ । यही सन्दर्भमा संसारभरि अनलाइन शिक्षाबारे घनिभूतरूपमा छलफल चलिरहेको छ, ‘अनलाइन शिक्षा’ आज संसारका धेरै देशहरूको लागि ‘हट टपिक’ भएको छ । मोबाइल इन्टरनेटको युगमा आज अनलाइन शिक्षासम्बन्धी धेरै प्रभावकारी कदमहरू चालिएका छन् तर युरोप र अमेरिकाजस्ता विकसित भनिएका देशहरूमा अनलाइन शिक्षा परम्परागत विद्यालय शिक्षाको विकल्प बन्न सकेको छैन, ठूलो सङ्ख्यामा विद्यार्थीहरूको सहभागितामा अनलाइन कक्षा सञ्‍चालनको उदाहरण थोरैमात्र भेटिन्छ ।
            ई–सिकाइ, दूर शिक्षा वा अनलाइन सिकाइ भन्नाले सूचना तथा सञ्‍चार प्रविधिको प्रयोगबाट विषयवस्तुलाई विद्यार्थीमाझ प्रभावकारीरूपमा पुर्‍याउने र विद्यार्थीले छिटो सिक्‍न सक्ने विधि हो । ई–सिकाइमा ‘ई’ को अर्थ इलेक्ट्रोनिक वा विद्युतीय माध्यमबाट वा डिजिटल माध्यमबाट सिक्ने र सिकाउने विधि हो ।
            ई–सिकाइ संरा अमेरिकाबाट सुरु भएको हो र सन् १९९८ पछि विश्वव्यापीरूपमा ई–सिकाइ प्रणाली फैलिएको पाइन्छ । आज अनलाइन शिक्षा एउटा महत्वपूर्ण शिक्षा प्रणालीको रूपमा स्थापित भएको छ ।
            चीनको शिक्षामन्त्रालयको २०१९ को तथ्याङ्कअनुसार चीनमा सबै तहमा गरी जम्मा २७ करोड विद्यार्थी र दुई करोड शिक्षक–शिक्षिकाहरू छन् । लकडाउनको अवधिमा अधिकांश चिनियाँ विद्यार्थी र शिक्षक–शिक्षिकाहरू डेढ-दुई महिना पूर्णतःअनलाइन शिक्षामा सहभागी भए र ‘विद्यालय बन्द, कक्षा चालू’ नाम दिइएको सो चिनियाँ अभियानले विश्वमा व्यापक विद्यार्थी र शिक्षक–शिक्षिका सम्मिलित अनलाइन शिक्षाको उदाहरण स्थापित गरेको छ ।
            कोभिड– १९ को महामारीलाई रोक्‍नको लागि अन्य देशहरूमा जस्तै नेपाल सरकारले एसईईलगायत सम्पूर्ण उच्च शिक्षा र विश्वविद्यालय तहका परीक्षाहरू स्थगित गरेको छ, सम्पूर्ण तहका पठनपाठन बन्द गरिएको छ तर अनिश्चित लकडाउनमा विद्यालय बन्द भएको बेला कक्षा कसरी सुचारु गर्ने विषयमा सरकारको कुनै नीति छैन । एकाध विश्वविद्यालयले अनलाइन कक्षाको निर्देशिका जारी गरे पनि कुनै तयारी देखिंदैन, औपचारिकतामा मात्र सीमित छ । एकाध विद्यालय र कलेजहरूले अनलाइन कक्षाको नाममा सूचना प्रविधिको माध्यमबाट कक्षाहरू सञ्‍चालन गरे पनि व्यापक सहभागिता र प्रभावकारिता नरहेको विज्ञहरूको विश्लेषण छ । जसरी चिनियाँ सरकारले लकडाउनको समयमा विद्यालय बन्द, कक्षा चालूको नीतिलाई व्यापक विद्यार्थी र शिक्षक–शिक्षिकाहरूको सहभागितामा सफलतापूर्वक चलाए, नेपालले पनि ढिलो गर्नहुन्न ।
            नेपाल सरकारले विज्ञहरूको सल्लाह र अन्तर्राष्ट्रिय अनुभवलाई समेटेर आधारभूतदेखि विश्वविद्यालय तहसम्म अनलाइन सिकाइ सञ्‍चालनको लागि तयारी गर्न आवश्यक छ । परम्परागत कक्षाको विधि, व्यवस्थापन र समयावधिलाई इन्टरनेटको माध्यमबाट एकतर्फीरूपमा प्रवाह गर्नु अनलाइन कक्षा हुनसक्छ तर त्यहाँ प्रभावकारी सिकाइ हुनसक्दैन । तसर्थ अनलाइन कक्षालाई प्रभावकारी बनाउन नीतिगत तहबाट नै व्यापक विद्यार्थी र शिक्षक–शिक्षिकाहरूको सहभागिता सुनिश्चित गर्नुपर्‍यो । त्यसपछि प्रभावकारी र निरन्तर सिकाइको लागि आवश्यक स्रोत र साधनहरूहरूको तीव्रगतिमा तयारी गर्नुपर्‍यो । आधारभूतदेखि विश्वविद्यालय तहसम्मको लागि आवश्यक अनलाइन शिक्षा प्रणालीको विकास गर्न ढिलो भइसकेको छ ।
            सूचना प्रविधिको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रहरूमा सम्पूर्ण रेडियो, टेलिभिजनहरू, इन्टरनेट सेवा प्रदायकहरू र सञ्‍चारमाध्यमका सम्पूर्ण साधनहरूको प्रयोगबाट शैक्षिक सामग्रीहरू विद्यार्थीसमक्ष पुर्‍याई लकडाउनको समयमा विद्यार्थीहरूको निरन्तर पठनपाठन र सिकाइलाई टुट्न नदिन र महामारीको कारण शैक्षिक क्षेत्रमा पर्ने अपूरणीय क्षतिलाई न्यून गर्न आवश्यक छ । यो महामारी र लकडाउनको समय परम्परागत पाठ्यक्रम, अनलाइन पाठ्यक्रम र देशलाई आत्मनिर्भर बनाउने खालका देशभक्तिपूर्ण पाठ्यक्रमलाई समायोजन गरी एउटा नयाँ प्याकेजको शिक्षा प्रणाली बनाउने अवसर पनि हो ।
            अनलाइन शिक्षाको लागि सूचना प्रविधि एउटा साधनमात्र हो, साध्य होइन । सबभन्दा पहिला अनलाइन शिक्षण सामग्रीहरू तयार गर्नु आवश्यक छ, ती अनलाइन शिक्षण सामग्रीहरू प्रविधिको प्रयोगबाट घरबाटै शिक्षक–शिक्षिकाले घरमा बसेका विद्यार्थीहरूसमक्ष पुर्‍याउनु र प्रविधिकै प्रयोगबाट विद्यार्थीहरूसँग अन्तरक्रिया र सिकाइ आदान–प्रदान गर्नु र गृहकार्यहरू आदान–प्रदान गर्नु अनलाइन शिक्षाको मूल मर्म हो । अनलाइन स्रोत साधनहरू विभिन्न तरिकाबाट अनलाइन शिक्षामा प्रयोग गर्न सकिन्छ – पहिलो प्रत्यक्ष प्रसारण, दोस्रो रेकर्डिङ प्रसारण र तेस्रो डिजिटल पुस्तक र पाठ्यसामग्रीहरू । विद्यालयको तह, विद्यालयको भौतिक तथा मानवीय संशाधनहरूको आधारमा विभिन्न तरिकाहरूको प्रयोगबाट अनलाइन कक्षा सञ्‍चालनको लागि सरकारले स्पष्ट कार्यक्रम बनाउनु आवश्यक छ ।
            अनलाइन शिक्षाको लागि सबैभन्दा महत्वपूर्ण पूर्वाधार भनेको इन्टरनेट नै हो । सरकारले सम्पूर्ण शिक्षक र विद्यार्थीहरूको लागि आवश्यक इन्टरनेटको व्यवस्था गर्नुपर्दछ । इन्टरनेट सेवा प्रदायकहरूले दिइरहेको इन्टरनेट सेवाको गुणस्तरलाई सरकारले नियमन गर्नुपर्छ ।
            अनलाइन शिक्षाको विकास र सम्पूर्ण विद्यार्थीहरूलाई अनलाइन शिक्षामा समाहित गर्नको लागि लक्षित विद्यार्थीहरूको तहअनुसारका उपयुक्त शिक्षण सामग्रीहरू तयार गर्नु आवश्यक छ । उपयुक्त शिक्षा सामग्रीविना अहिले भइरहेका साना आकारका अनलाइन कक्षा त सम्भव होला तर व्यापक सहभागितामूलक अनलाइन कक्षा र सिकाइ सम्भव छैन । उपयुक्त अनलाइन शिक्षण सामग्रीहरूको पूर्णरूपले तयारी गर्न दसकौँको तयारी र अनुभवको आवश्यकता हुन्छ । यो महामारी र लकडाउनको समय सरकार र विज्ञहरूको लागि ती सामग्रीहरूको विकास गर्ने अवसर हो ।
            विभिन्न तहका लागि उपयुक्त अनलाइन शैक्षिक सामग्रीहरू तयार गरी एउटा राष्ट्रिय स्तरको अत्याधुनिक डिजिटल पुस्तकालयको विकास गर्नसके अनलाइन शिक्षाको लागि महत्वपूर्ण पूर्वाधार हुनेछ ।
            देशको विकासको एउटा मानक शिक्षा हो र अर्को सूचना तथा सञ्‍चार प्रविधिको विकास पनि हो । अनलाइन शिक्षा र अनलाइन सामग्रीहरूको निर्माण र विकासले समग्र देश र जनताको जीवनस्तर उकास्न मद्दत गर्दछ । विकसित देशहरूको अनुभवले यही बताउँछ । व्यापकरूपमा अनलाइन शिक्षाको अभियान चलाउन सके एकातिर हाम्रो शिक्षा प्रणाली र शैक्षिक प्रविधिको समायोजन तीव्ररूपमा हुनेछ भने अर्कोतिर देशको शैक्षिक सुधारको लागि महत्वपूर्ण कदम हुनेछ । विद्यार्थीहरूको लागि नयाँ अनलाइन सिकाइका विधिहरूले ज्ञानको दायरा फराकिलो पार्नेछ, गुरुकेन्द्रित र एकतर्फी शिक्षण विधिको ठाउँका नयाँ शोधमूलक सिकाइ र स्वयं सिकाइमा मद्दत पुग्ने विश्वास गर्न सकिन्छ । शिक्षकशिक्षिका र शिक्षाविद्हरूले नयाँ अनलाइन पाठ्यक्रम र सिकाइ सामग्रीहरू विकास र अनुसन्धान एवं नयाँ शैक्षिक विधिको निर्माण र प्रयोग गर्नुपर्नेछ र कक्षाहरू एउटा कोठाबाट घरघरमा विकेन्द्रित हुनेछ । शिक्षण संस्थाको भौगोलिक अवस्थिति गौण हुनेछ । विद्यालय र कलेजहरूले आफ्ना भवन र कक्षा कोठाहरूका साथै शैक्षिक प्रविधि, आइसिटी पूर्वाधारहरू र प्रभावकारी शैक्षिक व्यवस्थापनमा जोड दिनुपर्नेछ । तसर्थ यो लकडाउनको समय र हामी नसोचेको महामारीले देशको समग्र शैक्षिक सुधार अवसर सृजना गरेको छ, नयाँ शिक्षण, व्यवस्थापन तथा सिकाइ विधिको विकास गरेको छ, शिक्षा व्यावस्थाका नयाँ आवश्यकताहरू उजागर गरेको छ । दूर शिक्षाले विद्यालय शिक्षाको अवधारणा र घर शिक्षाको नयाँ आयामलाई एकाकार गरेको छ ।
            अनलाइन सिकाइको लागि आवश्यक प्रविधि र शिक्षणको लागि आवश्यक स्रोत साधनहरूको ग्यारेन्टी गर्न नसक्नु नै नेपालको अनलाइन शिक्षाको सबैभन्दा ठूलो चुनौती हो । नेपालका अधिकांश पहाडी र हिमाली भेगहरूमा सरकारले प्रविधि पुर्‍याउन सकेको छैन । अहिले विद्यालयहरूले परम्परागत कक्षाका पाठ्यक्रमलाई नै अनलाइन माध्यमबाट प्रस्तुत गरेर अनलाइन शिक्षाको नाम दिइरहेका छन् । उनीहरूले शिक्षक–विद्यार्थी अन्तरक्रिया, विषयवस्तुमाथि विद्यार्थीको बुझाइमा कमी र कमजोर अध्यापन नतिजा आदि अनलाइन शिक्षाका आधारभूत मान्यताहरू बेवास्ता गरिरहेका छन् । फलतः विद्यार्थीहरूमा आत्मअनुशासनको कमी, स्वाध्ययन र स्वसिकाइको क्षमतामा कमी, शिक्षक–शिक्षिकाको प्रत्यक्ष निगरानी नहुने, अभिभावकले ध्यान दिन नसक्नु आदि कारणहरूले अनलाइन शिक्षा र स्वयं सिकाइ विधि सन्तोषजनक हुन सकेको छैन । अनलाइन शिक्षामा देखिएका यी समस्याहरूका कारण नयाँ आवश्यकताको जन्म भएका छन् र नयाँ लक्ष्यहरूको निर्धारण भएका छन् । कसरी प्रविधि र शिक्षालाई समायोजन गर्ने ? विद्यार्थीहरूलाई कसरी अनलाइन शिक्षण विधि र स्वतन्त्ररूपले सिक्‍न सक्ने बनाउने ? अनलाइन सिकाइका माध्यमबाट कसरी विद्यालय शिक्षा र घर शिक्षालाई अन्तरसम्बन्धित बनाउने ? यी केही प्रश्नहरूको जवाफ अनलाइन शिक्षाका नीति निर्माताहरूसँग हुनुपर्छ ।
            शोकलाई शक्तिमा बदलौँ, महामारीलाई अवसरमा बदलौँ । संसार अनलाइनमा गइसक्यो, अनलाइनको विकल्प छैन । अनलाइन शिक्षाबारे छलफल गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *