भर्खरै :

गौतम बुद्धका मूल सिद्धान्त

            बुद्धका चार मूल सिद्धान्तहरूमध्ये तीन अस्वीकारात्मक र एक स्वीकारात्मकलाई पहिले जानेपछि पाठकलाई बुद्धका उपदेशहरू बुझ्‍नलाई सहज हुनेछ । ती चार सिद्धान्त यी हुन् :
१) ईश्वरलाई नमान्नु, अन्यथा ‘मनुष्य स्वयम् आफ्नो मालिक हो’ – यस सिद्धान्तको विरोध हुनेछ ।
२) आत्मालाई नित्य नमान्नु, अन्यथा नित्यलाई एकरस मान्दा त्यसको परिशुद्धि र मुक्तिका लागि गुन्जाइस रहने छैन ।
३) कुनै अन्यलाई स्वतः प्रमाण नमान्नु, अन्यथा बुद्धि र अनुभवको प्रामाणिकता हराउँदै जानेछ ।
४) जीवन–प्रवाहलाई यसै शरीरसम्म परिमित मान्नु, अन्यथा जीवन र त्यसका विचित्रताहरू कार्य–कारण नियमबाट उत्पन्न नभएर मात्र आकस्मिक घटनाहरू हुन जानेछन् ।
            बौद्ध धर्ममा चार कुराहरू सर्वमान्य छन् । यी चार कुराहरूमाथि हामी यहीँ अलग–अलग दृष्टिले विचार गर्छौँ ।
ईश्वरलाई नमान्नु
            ईश्वरवादीहरू भन्छन्– हरेक कार्यको कारण हुने भएकोले संसारको पनि कुनै कारण हुनुपर्छ र त्यो कारण ईश्वर हो– तर प्रश्न गर्न सकिन्छ– ईश्वर कुन प्रकारको हो ? के उपादान–कारण, जस्तै घडाको कारण माटो, कुण्डलको सुन ? यही ईश्वर–जगतको उपादान कारण हो भने जगत् ईश्वरको रूपान्तरण हो । अनि संसारमा जुन खराबी–राम्रोपन, सुख–दुःख, दया–क्रुरता देखिन्छ, त्यो सबै ईश्वरबाट र ईश्वरमा छ । त्यसो भए त ईश्वर सुखमयको अपेक्षा दुःखमय बढी छ, किनकि दुनियाँमा दुःखको बाहुल्य बढी छ । ईश्वर दयालुको अपेक्षा क्रूर बढी छ किनकि दुनियाँमा चारैतिर क्रूरताको राज्य छ । यदि वनस्पतिलाई जीवधारी नमान्ने हो भने पनि सूक्ष्मदर्शक यन्त्रले देखिने किटाणुहरूदेखि लिएर कीरा–फट्याङ्ग्रा, पक्षी, माछा, सर्प, छेपारा, स्याल, सिंह–बाघ, सभ्य–असभ्य मनुष्य– सबै एक–अर्काको जीवनका ग्राहक हुन् । ध्यान दिएर हेर्दा दृश्य–अदृश्य सम्पूर्ण जगत एक रोमाञ्‍चकारी युद्धक्षेत्र हो, जहाँ निर्बलहरू सबलका गाँस बनिरहेका छन् । पुनर्जन्मलाई नमान्ने धर्महरूले त यसलाई कुनै आनाकानी नगरिकनै स्वीकार गर्नुपर्नेछ । पुनर्जन्मवादीहरू भन्न सक्छन् कि सबै समस्या पूर्व जन्मका कर्मको फल हुन् तर यो पनि चिन्तनीय कुरा हो । राम्रा–नराम्रा कर्महरूको जवाफदेही जानकार व्यक्तिमात्र हुनसक्छ । पागल या नसामा बेहोस या अबोध बालकलाई अर्काको हत्याको दोषी ठहर्‍याउन सकिँदैन । आफ्ना असल–खराब कर्मका बारेमा थाहा नपाउने र अर्कोको हत्यामा आफू निर्भर हुने प्राणीहरू आफ्ना कर्मका जिम्मेदार हुन सक्दैनन् भन्ने कुरा कसले अस्वीकार गर्नसक्छ ? मानिसमा पनि बालक, पागल आदिलाई अलग गरिदिने हो भने दायित्व राख्नेहरूको सङ्ख्या अत्यन्त कम हुन जानेछ । यदि दुनियाँमा जवाफदेही मानिसहरूको सङ्ख्या डेढ अरब मान्ने हो भने फल भोग्नेहरू यति कहाँबाट आउने छन् जसको सङ्ख्या अपार छ । डेढ अरबभन्दा बढी त कछुवाहरू नै होलान् जो मानिसभन्दा बढी दीर्घजीवी छन् र किटाणुहरू तथा हात्ती, ह्वेल आदि विशालकारक जन्तुका बारेमा त केही भन्नु नै परेन ।
            उपादान–कारण हो भने निर्विकार कसरी हुनसक्छ ? यदि ईश्वरलाई निमित्त–कारण मान्ने हो भने अर्थात् ऊ जगत्लाई त्यसरी नै बनाउँछ जसरी कुमालले घैला, सुनारले कुण्डल, अनि प्रश्न खडा हुनेछ, के ऊ बिना कुनै उपादान–कारणले जगत्लाई बनाउँछ या उपादान–कारणबाट ? यदि बिनाउपादान–कारणबाट हो भने अभावबाट भावको उत्पत्ति मान्नुपर्नेछ र कार्य–कारणको सिद्धान्त नै समाप्त हुनेछ, अनि त्यसपछि जगत्लाई हेरेर त्यसको कारणले ईश्वरलाई मान्नुपर्ने आवश्यकता किन ? यदि इन्द्रजालझैँ उसले जगत्लाई बिनाकारण मायामय उत्पन्न गरेको हो भने प्रत्यक्ष नै मायामय हुँदा ईश्वर हुनुको अनुमान नै कुन सामग्रीको बलमा होला ? यदि उपादन– कारणबाट बन्छ भने कुमालेझैँ अलग रहेर बनाउँछ या त्यसमा व्याप्त भएर ? अलग रहँदा ऊ सर्वव्यापक रहनेछैन र सृष्टि गर्नको लागि उसले अरू सहायक र साधनहरूमाथि निर्भर हुनुपर्नेछ । विद्युतकणहरूभन्दा पनि सूक्ष्म नवकणहरू (Neutrons) सम्म पुग्न र त्यसको मिश्रणबाट क्रमशः स्थूलतर चीजहरू बनाउनको लागि सुनारले सनासोको प्रयोग गरेझैँ उसले कुनै हतियार प्रयोग गर्छ भने त्यसपछि ऊ सर्वशक्तिमान कसरी रहन्छ ? यदि उसलाई उपादान कारणमा सर्वव्यापक मान्ने हो भने पनि उपादन–कारणबिना उत्पादान गर्नमा अक्षम भएकोले सर्वशक्तिमान होइन । यस्तो अवस्थामा अपवित्रता, क्रूरता आदि खराबीको स्रोत हुनुको पनि ऊ दोषी हुनेछ ।          
            यसप्रकार ऊ न उपादान–कारण हुनसक्छ, न निमित्त कारण । जगत्को कुनै आदि कारण हुनैपर्छ, यो कुनै जरुरी छैन । यदि त्यसको कारण के ? भनेर सोध्दा जगत्को कुनै सूक्ष्मतम वस्तु या त्यसको विशेष शक्तिमाथि चर्चा गर्न दिँइदैन भने ईश्वरसम्म मात्र किन रोकिने ? ईश्वरको पनि अर्को कारण किन नमान्ने ? यसप्रकार ईश्वरलाई आदि कारण मान्नु युक्तिसङ्गत होइन । 
            कर्ता–धर्ता ईश्वर हुँदा, मनुष्य उसको हातको कठपुतली हो, त्यस्तो स्थितिमा कुनै असल–खराब कामका निम्ति मनुष्य जवाफदेही हुनसक्दैन । अनि दुनियाँमा उसलाई सताइनु के ईश्वरको दयालुताको द्योतक हो ?
            ईश्वर सृष्टिकर्ता हो, यो मान्नु पनि ठीक होइन । यदि सृष्टि अनादि हो भने त्यसलाई कुनै कर्ताको आवश्यकता छैन किनकि कर्ता हुनको लागि उसले कार्यभन्दा पहिले उपस्थित रहनुपर्छ । यही सृष्टि आदि हो भने करोड दुई करोड, अरब दुई अरब वर्ष होइन, अजेय अनन्त वर्षदेखि लिएर सृष्टि उत्पन्न भएको समयसम्म क्रियारहित ईश्वर हुनुको प्रमाण के ? क्रिया नै त उसको अस्तित्वमा प्रमाण हुनसक्छ ?
            ईश्वरलाई मान्ने हो भने, अगाडि भनिएझैँ मानिसलाई उसको अधीन मान्नुपर्ने हुन्छ, अनि मानिस स्वयम् आफ्नो स्वामी हो, आफूलाई जस्तो चाह्यो त्यस्तो बनाउन सक्छ– यो मान्न सकिँदैन । त्यसो हो भने मानिसले शुद्धि र मुक्तिका लागि प्रयत्न गर्ने गुन्जाइस कहाँ हुन्छ ? अनि त धर्मले देखाएका मार्ग र धर्म पनि निष्फल भए । ईश्वरलाई नमान्दा, मनुष्य जे जस्तो वर्तमान छ त्यो उसकै कर्मले हो र भविष्यमा जस्तो हुनेछ, त्यो पनि उसकै कर्मले हुनेछ । मनुष्यको काम गर्ने स्वतन्त्रता हुँदामात्र धर्मले देखाएका मार्गहरूमा धर्मको सार्थकता हुनसक्छ । ईश्वरवादीहरूद्वारा सहस्राब्दीयौँदेखि धर्मका निम्ति अशान्ति र रगतका धाराहरू बगाइँदै छन् तर पनि ईश्वरले किन फैसला गर्नसक्दैन ? वस्तुतः ईश्वर मनुष्यको मानसिक दृष्टि हो ।
आत्मालाई नित्य नमान्नु
            बौद्ध अनात्मालाई कसरी मान्छन् भन्ने कुरा यहाँ हामीले पहिले बुझ्नुपर्छ । बुद्धको समयमा ब्राह्मण, परिव्राजक तथा अरू मतका आचार्यहरू मान्दथे कि शरीरभित्र र शरीरभन्दा भिन्न एक नित्य चेतन शक्ति छ । यो शक्ति आउँदा शरीरमा उष्णता र ज्ञानपूर्वक चेष्टा देखिन थाल्छ । जब त्यो शक्ति शरीरलाई छोडेर कर्मानुसार शरीरान्तरमा गइदिन्छ, तब शरीर शीतल, चेष्टारहित भइदिन्छ । यसै नित्य चेतन शक्तिलाई उनीहरू आत्मा भन्थे ।
Semitic धर्महरूको पनि पुनर्जन्मलाई छोडेर त्यही मत हो । यिनका अतिरिक्त बुद्धको समयमा अरू पनि आचार्य थिए, उनीहरूको भनाइ थियो– शरीरभन्दा पृथक आत्मा भन्ने कुनै चीज छैन, शरीरमा भिन्न–भिन्न परिमाणमा मिश्रित रसहरूको कारण उष्णता र चेष्टा पैदा भइदिन्छ, रसहरूमा घटी–बढी हुँदा यस्तो हुन्छ । यसप्रकार आत्मा शरीरभन्दा भिन्न कुनै वस्तु होइन । एकातिर आत्मालाई नित्य कूटस्थ मान्ने र अर्कोतिर शरीरसँगै आत्माको विनाश हुन्छ भन्ने यी दुवै चरम कुराहरूलाई छोडेर बुद्धले मध्य मार्ग समाते । उनले भने– आत्मा कुनै नित्य कूटस्थ वस्तु होइन, बरु खास कारणहरूले स्कन्धहरू (भूत, मन) कै योगबाट उत्पन्न एक शक्ति हो जो अन्य बाह्य भूतहरूझैँ क्षण–क्षणमा उत्पन्न विलीन भइरहेको छ । चित्र क्षण–क्षण उत्पन्न हुँदा र विलीन हुँदा पनि चित्रको प्रवाह जबसम्म यस शरीरमा जारी रहन्छ, तबसम्म शरीर सजीव भनिन्छ । हाम्रो अध्यात्म परिवर्तन र शरीर परिवर्तनमा निकै समानता छ ।
            हाम्रो शरीर क्षण–क्षण बदलिरहेको छ । चालीस वर्षको ‘यो शरीर त्यही होइन जो पाँच वर्ष र बीस वर्षको अवस्थामा थियो र न साठी वर्ष पुग्दा उस्तै रहनेछ ।’ एक–एक अणु, जसबाट हाम्रो शरीर बनेको छ, त्यसले प्रतिक्षण आफ्नो स्थान नवोत्पन्नका लागि खाली गरिरहेको छ, यस्तो हुँदा पनि हर एक विगत शरीर–निर्माणात्मक परमाणुको उत्तराधिकारी कैयौँ कुराहरूमा सदृश हुन्छ । यद्यपि हाम्रो एक वर्ष उमेरको शरीर दर्सौं वर्षमा त्यस्तै रहँदैन र बीसौँ वर्षमा दसौँ वर्षको जस्तो पनि रहँदैन तर पनि सदृश परिवर्तनको कारण मोटामोटीरूपमा हामी शरीरलाई एकै भन्छौँ । यसप्रकार आत्मा पनि क्षण–क्षणमा बदलिरहन्छ तर सदृश परिवर्तनको कारण त्यसलाई एकै भनिन्छ, तपार्इँ आफ्नै जीवनलाई लिनुहोस् । दुई वर्ष पहिले टाढैबाट तपाईँलाई चुरोटको धुवाँ अप्रिय थियो र अब तपाईँ मज्जाले चुरोट पिउनुहुन्छ । दुई वर्ष पहिले चराहरूलाई आफैँ मारेर भ्याटभ्याट गर्दै गरेको हेर्नु तपाईँका लागि मानोरञ्जनको चीज थियो तर अब तपाईँ अरूद्वारा मारिएको चरालाई भ्याटभ्याट गरिएको देखेर स्वयम् छटपटाउन थाल्नुहुन्छ । यदि तपाईँमा आफ्नो मनमा झुकाव र तिनै प्रवृत्तिहरू लिपिबद्ध गर्ने बानी छ भने आफ्ना पछिल्ला दस वर्षका डायरीहरू पल्टाएर हेर्नुहोस्, त्यहाँ तपार्इँ कैयौँ यस्ता विचार पाउनु हुनेछ, जसलाई दस वर्षअघि तपाईँ आफ्नो भन्नुहुन्थ्यो तर दस वर्षपछि आज कसैले तपाईँकै शब्दमा तपाईँका पूर्वविचारलाई तपाईँका सामु राख्यो भने तपाईँ ठाडै अस्वीकार गर्नुहुनेछ कि यो मेरो विचार होइन, न मेरो आफ्नो विचार कहिल्यै यस्तो थियो ।’ वस्तुतः यस्तो अनुभवले तपाईँलाई बदलिदिएको छ ।
            तपाईँ भन्न सक्नुहुन्छ– मन बदलिन्छ, आत्मा बदलिँदैन । हाम्रो भनाइ हो, मनभन्दा पर आत्मा भन्ने कुनै चीज छैन । चित्त विज्ञान, आत्मा–एउटै चीज हो । जसरी आँखा, कान, नाक, जिब्रो र छाला जस्ता इन्द्रियहरूको हामी प्रत्यक्ष अनुभव गर्छौँ, त्यसरी मनको गर्दैनौँ । हामीले मनको सत्ता किन स्वीकार गर्नुपर्छ ? आँखाले अमिलो वस्तु देख्छ र जिब्रोबाट पानी चुहिन थाल्छ । नाकले दुर्गन्ध सुँघ्छ र हात नाक माथि पुग्छ । तपाईँ देख्नुहुन्छ, आँखा र जिब्रो एउटै होइनन्, न ती दुवै आपसमा टाँसिएका छन् । यसैले यी दुवैलाई मिलाउनको लागि एक तेस्रो इन्द्रिय चाहिन्छ त्यो मन हो, पाँचै इन्द्रियहरूले आ–आफ्नो ज्ञानलाई जहाँ पुर्‍याउँछौँ र जहाँबाट शरीरका भिन्न–भिन्न अ·हरूले गतिको अनुशासन पाउँछन्, त्यो मन हो । त्यसले नै ग्रहण, चिन्तन र निर्णय गर्छ । त्यसले ग्रहण आदि कसरी गर्छ ? फौजको कमान्डरझैँ अलग बसेर होइन, बरु पाँचवटा साना काँचका नलीहरूमा रातो, पहेँलो, हरियो, नीलो र कालो र· भरिएको होस् र तल एउटा ठूलो नलीमा पानी बगिरहेको होस् । पालैपालो माथिबाट रङ्गको धुलो ठूलो नलीमा हाल्दा जुन रङ्ग त्यही भइदिन्छ । यसप्रकारले जब आँखा कालो सर्पमाथि पर्छ, त्यसबेला हामीलाई सर्पको दर्शन हुन्छ । त्यसपछि यो ज्ञान तुरुन्तै मनमा पुग्छ । त्यस क्षणको मन, जो आफ्ना कारणभूत पुराना मनका अनुभवहरूको बीज आफूमा राख्छ, यस नयाँ ज्ञानरूपी धुलो खस्नाले तदाकार भएर भयको रङ्गमा रङ्गिन्छ । यदि एकैछिन मात्र सर्पलाई देखेर हामीले रोकिनु पर्दा पनि हल्लाएर छोडिएको पाङ्ग्राझैँ कैयौँ क्षणसम्म एक–एकपछि उत्पन्न हुने मन त्यस र·मा रङ्गिने छः यद्यपि द्वितीय क्षणसम्म देखा परिरह्यो र तपाईँतिर आउँदै पनि गर्‍यो भने क्षण–क्षणमा उत्पन्न हुने मनमा भयको सञ्‍चार बढ्दै जानेछ । जुन कुरा भयप्रद विषयहरूका बारेमा हुन्छ, त्यही प्रीतिप्रद तथा अरू विषयहरूका बारेमा पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
            उक्त कारणले नै आँखा आदि इन्द्रियहरूका अतिरिक्त हामीले तिनको संयोजक एक भित्री इन्द्रियलाई मान्नुपर्ने आवश्यकता पर्छ जसलाई मन भन्छौँ । यसभन्दा पर आत्माको के आवश्यकता ? मन त क्षणिक हो र यसले पुराना अनुभवहरूलाई स्मृतिको रूपमा कसरी राख्न सक्छ भनेर कसैले भन्यो भने हामी भन्ने छौँ – मन त क्षणिक हो, तर त्यो आफ्नो अनुभवका बीज या संस्कार पछिल्लो मनका लागि उत्तराधिकारमा छोडेर जान्छ र त्यहीँ स्मृतिको कारण हो । वस्तुतः संस्कारको छाप त क्षणिक वस्तुमा मात्र लाग्नसक्छ । आत्मालाई यदि कूटस्थ नित्य मान्ने हो भने त्यो अनन्त कालसम्म एकरस रहने किसिमको हुनेछ । अनि, सधैँको निम्ति एकरस रहने आत्मामाथि अनुभवको छाप कसरी पर्नसक्छ ? आत्मा कुनै जड पदार्थ होइन, जसका केवल बाह्य अवयवमाथि मात्र दाग लाग्नेछ । त्यो त चेतनमय छ, त्यसैले यस्तो अवस्थामा इन्द्रियजनित ज्ञान उसमा सर्वत्र प्रविष्ट भइदिनेछ । त्यसपछि त्यो राग, द्वेष, मोह आदि नाना प्रकारहरूमध्ये कुनै एक रूपको भइरहनेछ । अनि त्यसबेला त्यो आत्मा हुनसक्दैन जो छाप लाग्नुभन्दा पहिले थियो । अतएव त्यो एकरस पनि हुनसक्दैन । अनि आत्मा नित्य हो कसरी ? यदि एकैछिनको लागि मानी पनि दियौँ कि छाप लाग्यो भने त्यो अभौतिक संस्कार पनि नित्य आत्मामा लागेर अविचल भइदिनेछ । त्यसपछि फेरि शुद्धिमा मुक्तिको आशा कसरी गर्न सकिन्छ ?
            यदि कसैले भन्छ –कुनै नित्य आत्मा छैन भने मन क्षणिक भएकोले शरीर नष्ट भइसकेपछि असल–खराब कर्महरूको परिणाम कसरी होला ? यहाँ पहिले यो बुझौँ कि बौद्ध परिणामलाई कसरी मान्छन् ? उनीहरू यो मान्दैनन् कि हामीहरू जे जति असल–खराब काम गछौँ, त्यसलाई लेख्नको लागि ईश्वरले हाम्रो पछाडि द्रुत लेखक लगाइराखेका छन् । हामी असल या खराब जे जस्तो कायिक–वाचिक कर्म गर्छौँ, ती सबै कर्महरूको उद्‍गम हाम्रो मन हो । अतः द्वेषयुक्त काम गर्नको लागि मनले द्वेषयुक्त बन्नुपर्ने हुन्छ, रागयुक्त काम गर्नको लागि मनले रागयुक्त बन्नुपर्ने हुन्छ । मनको त्यस बनावटले, त्यस ध्वनिको गुञ्जन तबसम्म जारी रहन्छ, जबसम्म त्यो सकिँदैन या विरोधी ध्वनीसँग ठोकिएर नष्ट हुँदैन । मान्छे एकै दिनमा क्रूर बन्दैन । अपरेसन गर्ने डाक्टरले पनि बिस्तारै–बिस्तारै आफ्नो मनलाई कडा पार्नुपर्ने हुन्छ, र हत्याराको त के कुरा गर्नु ? जब कुनै असहाय निरपराध बालिकाले पिटाइ खाइरहेको देखेर दर्शकहरूको मन प्रभावित नभई रहन सक्दैन (यद्यपि त्यो अर्को दिशातिर–करुणातिर) भने स्वयम् पिट्नेको मन कडा नभएर कसरी रहनसक्छ ? हामी जे काम गर्छौँ, त्यसको असर तत्काल मनमा मर्छ । मन जति नै कडा हुँदै जान्छ, त्यति नै उसमा सूक्ष्म मानसिक चिन्तन र विकासको योग्यता कम हुँदै जान्छ ।
            असल–खराब मनोभाव धन र ऋणजस्तै हुन् । यदि धनको राशि बढी र ऋणको कम छ भने धनको पलडाभारी हुनेछ । यो हिसाब मनको क्षण–क्षणको बनावटमा स्वयम् भइरहन्छ । यहाँ हिसाबको टोटल महिनौँ, हप्तौँ र दिनौँपछि होइन, तुरून्ता–तुरून्तै भइरहन्छ । मनुष्य के हो, आफ्ना पछिल्ला असल–खराब अनुभवहरूको पूर्ण योग । अर्को क्षण उत्पन्न हुने मनले कैयौँ कुराहरू आफ्नो जनक मनबाट उत्तराधिकारमा प्राप्त गर्छ । यो उत्तराधिकारको सिलसिला हाम्रो बाल्यकालदेखि वृद्धावस्थासम्म रहन्छ– यो कुरा बुझ्‍न कुनै बाधा–अड्चन हुने छैन । तर, बुद्धको शिक्षाअनुसार यो सिलसिला जन्मभन्दा पहिले पनि थियो र मृत्युपछि पनि रहनेछ । आफ्ना पछिल्ला अनुभवले बनेको मनको उपमा, मृत्यु–क्षणमा जुनबेला ऊ यस शरीरलाई छोड्नको लागि तयार रहन्छ, त्यस तप्त लौह–धारबाट दिन सकिन्छ जो एक यस्तो नालीले सहाराले तल बग्दै आएको होस् र एक ढिस्कोनेर आएर रोकिन्छ । त्यस ढिस्कोको अर्कोतिर एक यस्तै अर्को नाली छ जसको आरम्भमा पर्याप्त चुम्बक–राशि छ, त्यस स्थितिमा यस धारलाई नालीमा हाल्नको लागि त्यो पक्कै सर्वत्र हुनेछ । यसप्रकार मृत्युको समयमा चित्त–प्रवाह आफ्नो संस्कार–राशिसँगै यस जीवनको डिलमा उभिरहन्छ । त्यो संस्कारराशि–रूपी चुम्बकले समान धर्म भएको समीपतम शरीरमा तानेर फेरि उसको त्यही पुरानो कारबाही सुरु गराइदिन्छ । यो क्रम तबसम्म जारी रहन्छ, जबसम्म तृष्णाको क्षयबाट यो सन्तति विशृङ्खलित भएर निर्वाणमा प्राप्त हुँदैन । यसप्रकार कर्म, कर्मफल र जन्मान्तर हुन्छ ।

बाँकी भोलिको अङ्कमा                    

स्रोत : बौद्ध दर्शन
अनुवाद : ललिजन रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *