भर्खरै :

इरानमाथि नाकाबन्दीको घातक परिणाम

            कोभिड–१९ ले संसारभरको जनजीवन प्रभावित बनाएको छ । तर, संरा अमेरिकाजस्ता केही देश भने यो प्राणघातक महाव्याधिबाट अझ बढी प्रभावित बनेको छ । त्यसको मूल कारण भने सरकारहरूको धेरै पछिसम्मको विचार गर्नसक्‍ने क्षमताको अभाव हो ।
            संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महामारी रोकथाम र नियन्त्रणको लागि आवश्यक कदम चाल्न अग्रसर भएनन् । त्यसकारण त्यहाँ कोरोना भाइरसका बिरामी र मर्नेको सङ्ख्या संसारकै सबभन्दा बढी छ । अहिलेसम्म १४ लाख १० हजारभन्दा बढी अमेरिकीहरू कोभिड–१९ भाइरसबाट सङ्‍क्रमित भएका छन् भने ८४ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ ।
            कोभिड–१९ को महामारीबाट सबभन्दा बढी प्रभावित अर्को देश हो–इरान । आधिकारिक तथ्याङ्कअनुसार त्यहाँ हालसम्म ११ लाख २७ हजार ७२५ भन्दा बढी मानिस यो भाइरसबाट सङ्‍क्रमित भएका छन् भने ६ हजार ७ सयभन्दा बढी मानिसको निधन भइसकेको छ । इरानकै र विदेशका विज्ञहरूले मर्ने र सङ्‍क्रमितको सङ्ख्या अहिले सार्वजनिक सङ्ख्याभन्दा धेरै भएको वास्तविकता निःसङ्कोच भनिरहेका छन् ।
            ट्रम्प सरकार आफूले अहिलेको विपत्तिको व्यवस्थापन भद्रगोल तरिकाले गरेको स्वीकार्न तयार छैन । त्यस्तै इरानमा कोरोना भाइरसको कारण मर्नेको सङ्ख्या बढ्नुको कारण इरान सरकारको अक्षमता र भ्रष्टाचार भएको अमेरिकाको बुझाइ छ । निःसन्देह इरानी नेतृत्वले यो आपत्कालीन जनस्वास्थ्य सङ्कट व्यवस्थापनमा केही कमी कमजोरी गरेको छ । सुरुमा इरान सरकारले पनि भाइरसको खतरालाई न्यूनाङ्कन गरेको थियो । साथै, देशको सिमाना बन्द गर्न ढिलाइ गरेको थियो । तर, इरानको भयावह अवस्थाको निम्ति यी कारणमात्र दोषी भने छैनन् ।
            ट्रम्प सरकारले दुई वर्षअघि संयुक्त विस्तृत कार्य योजनाबाट हात झिकेर इरानमाथि थप दबाब बढाउने रणनीति अङ्गीकार गरे यता इरानले थप कडा आर्थिक नाकाबन्दी सामना गर्दै आएको छ । त्यसले उसको व्यापार क्षमतामा र्‍हास ल्याएको छ । ट्रम्प सरकारले थोपरेको आर्थिक नाकाबन्दीले इरानको तेल निर्यातमा सङ्कुचन ल्यायो । त्यसले उसको अर्थतन्त्रमा गहिरो असर पार्‍यो । अन्तर्राष्ट्रिय बैङ्किङ प्रणालीबाट इरानलाई अलग बनायो । फलतः आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउन इरानले स्वास्थ्य पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रमा पैसा गर्न सकेन ।
            इरानमा कोभिड–१९ महाव्याधिले निम्त्याएको विपत्तिको निम्ति संरा अमेरिकी नाकाबन्दीले निकै ठूलो भूमिका खेलिरहेको छ । त्यसकारण अहिले संरा अमेरिकाले इरानमा मात्र होइन, संसारभर थोपरेको नाकाबन्दीको वैधता र प्रभावकारितामाथि प्रश्न उठिरहेको छ ।
            एसियादेखि युरोपसम्मका राजनीतिक नेता, कूटनीतिज्ञ, रक्षा अधिकारी, विज्ञ, नागरिक सङ्गठन र अभियन्ताहरू ट्रम्प सरकारलाई इरानमाथिको नाकाबन्दी खुकुलो बनाउन आह्वान गरिरहेका छन् । यसले इरानलाई कोरोना भाइरसविरुद्ध लड्न मद्दत पुग्ने उनीहरूको भनाइ छ । जसले लाखौँ मानिसको ज्यान जोगिन सम्भव हुनेछ ।
            इरान सरकारले कोभिड–१९ का बिरामीको उपचार गर्न अत्यावश्यक चिकित्सकीय सामग्री पाउन समस्या भएकोले इरानमाथिको नाकाबन्दी खारेज गर्न माग गरेको छ । इरानी विदेशमन्त्री जाभेद जरिफले आफ्नो एउटा ट्वीटमा ‘मध्य फेब्रुअरीबाट इरानमा कोरोना भाइरस फैलिन थालेपछि नाकाबन्दी नहटाएकोले संरा अमेरिकी नाकाबन्दी अब ‘आर्थिक आतङ्कवाद’ बाट ‘चिकित्सकीय आतङ्कवाद’ मा पुगेको लेखे । उनले अन्तर्राष्ट्रिय समुदायलाई ‘अवैध र अनैतिक नाकाबन्दी’ को पालना गरेर ‘युद्ध अपराध’ लाई सहयोग गर्ने काम छोड्नुपर्ने बताए ।
            संरा अमेरिकाभित्रै पनि इरानमाथिको नाकाबन्दी फिर्ता हुनुपर्ने माग व्यापक बन्दै गएको छ । राष्ट्रपति पदका लागि डेमोक्रेटिक दलका पहिलेका उम्मेदवार एलिजावेथ वारेन र बर्ने स्यान्डरसहित नौ जना संरा अमेरिकी नेताहरूले ट्रम्प सरकारलाई खुला पत्रमार्फत कोभिड–१९ को अवधिमा इरानमाथिको नाकाबन्दी फिर्ता गर्न माग गरेका छन् । द न्यु योर्क टाइम्स पत्रिकाले सम्पादकीय नै छापेर इरानमाथिको नाकाबन्दी खुकुलो बनाउनुपर्ने मत व्यक्त गरेको थियो ।
            तर, संरा अमेरिकाभित्र अर्कोतिर अहिलेको आपत्कालीन समयमा नाकाबन्दीलाई निरन्तरमात्र होइन, बरु अझ कडाइ गर्नुपर्ने मागसमेत भएका छन् । प्रजातन्त्र रक्षा फाउन्डेसन (एफडीडी)  अमेरिकी प्रतिष्ठान (एइआई) को नेतृत्वमा रहेका वाशिङ्टनका दक्षिणपन्थी बुद्धिजीवीहरूले ट्रम्प सरकारलाई इरानमाथिको नाकाबन्दी महाव्याधिको समयमा अझ कडाइ गर्न आह्वान गरेका थिए । द वाल स्ट्रिट जर्नलले सम्पादकीय नै प्रकाशित गरेर ‘इरानमाथि नाकाबन्दी हटाउने यो उपयुक्त समय नभएको’ मत व्यक्त गर्‍यो । अमेरिकाका प्रतिष्ठित सञ्चार प्रतिष्ठानहरू जस्तै फोरेन पोलिसी र ब्लुमवर्गले पनि यस्तै विभिन्न समाचार र विचार प्रकाशित गरेका छन् ।
            ट्रम्प सरकारले यतिबेला दक्षिणपन्थी व्यक्ति र संस्थाहरूले गरेको आग्रहलाई नै स्वीकार्दै महामारीको समयमा नै इरानमाथि ‘अधिकतम दबाब’ दिइरहेको छ । कोभिड–१९ को प्रतिरोधको लागि विश्व बैङ्कबाट ५ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोग लिन खोज्दा वाशिङ्टनले रोकेन मात्र, बरु नाकाबन्दीलाई अझ पेचिलो बनायो । इरानविरुद्ध सशस्त्र बल प्रयोग गरी हमला गर्नसक्‍ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने संरा अमेरिकी काङ्ग्रेसको प्रस्तावलाई ट्रम्पले भिटो प्रयोग गरी बेकामको बनाइदियो ।
            विश्वव्यापी महामारीको समयमा इरानमाथि दबाब बढाएर ट्रम्पले मध्यपूर्वका आफ्ना सहयोगीहरू साउदी अरब र इजरायललाई खुसी बनाउन खोजेका छन् । अरू बेलाभन्दा महाव्याधिको समयमा इरानमाथिको नाकाबन्दीले अझ बढी दबाब दिने ट्रम्पको बुझाइ छ । यतिबेला इरानलाई पेल्न सके ऊ बाध्य भएर कमजोर अवस्थामा वार्तामा आउने ट्रम्पको सोचाइ छ । आफ्नो शत्रुविरुद्ध कठिन समयमा बढी दबाब दिन सके ट्रम्पलाई आफ्नो समर्थकको घेरा फराकिलो बनाउन सकिन्छ । त्यसले अति राष्ट्रवादलाई बलियो बनाउन सकिन्छ र त्यसो गरे आगामी नोभेम्बरमा हुने निर्वाचनमा पुनः निर्वाचित सम्भावना बढाउने ट्रम्पको सोचाइ हो ।
            तर, संरा अमेरिकी राष्ट्रपति आफ्नो राजनीतिक आवश्यकता र चाहना पूरा गर्न आफ्ना निर्णयमा आनका तान तलमाथि पार्न पनि निपुण मानिन्छन् । अहिलेको बढ्दो आर्थिक, राजनीतिक र कूटनीतिक दबाब पनि इरानले सहजै झेल्न सके ट्रम्पले इरानमाथिको नाकाबन्दी खुकुलो बनाउने निर्णय पनि गर्नसक्छन् । तर, शान्तितर्फको त्यो बाटोले आफ्नो राजनीतिक भविष्य सुनिश्चित हुनेमा उनी ढुक्क हुनुपर्नेछ । उनले अहिलेको कोरोना महाव्याधिको कारण इरानमा भइरहेको मानवीय सङ्कटलाई नै आफूले निर्णय बदल्नुको मूल कारण बनाइदिन सक्छन् । यसप्रकार उनले आफूले चाहेको परिणाम अधिकतम दबाबको नीतिबाट हासिल हुन नसकेको कुरालाई छोपेर ‘इरान समस्या’ समाधान गर्न आफू सफल भएको प्रचारबाजी गर्नसक्छन् ।
            संरा अमेरिकी राष्ट्रपति ट्रम्पले यी दुई मार्गमध्ये कुन बाटो छान्ने हुन्, त्यसको पूर्वानुमान गर्न सकिन्न । यदि ट्रम्पले वासिङ्टन र मध्यपूर्वका युद्धपिपासुका सल्लाह मान्ने क्रम चालू राखे आगामी महिनामा संरा अमेरिका र इरानबीच सैनिक तनाव बढ्ने सम्भावना हुनेछ । त्यस्तो अवस्थाले अहिले नै द्वन्द्वग्रस्त क्षेत्रलाई अझ ध्वस्तमात्र बनाउने छैन बरु इरानमा कोरोना भाइरसको सङ्कट अझ उचाइमा पुर्‍याउनेछ ।
            तर, ट्रम्पले त्यो बाटो परिवर्तन गरेर कोभिड–१९ लाई ‘मानवीय कूटनीति’ को प्रस्थानबिन्दुको रूपमा उपयोग गर्नसक्छन् ।
            त्यसको निम्ति पहिलो चरणमा उनले इरानका वित्तीय संस्थामाथिको नाकाबन्दी हटाउनुपर्छ र तेलबाट हुने आम्दानीको केही भाग भए पनि कमाउन दिनुपर्छ । त्यसले इरानलाई कोभिड–१९ का बिरामीको उपचारको लागि आवश्यक चिकित्सकीय सामग्री र औषधि खरिद गर्नसक्‍ने बनाउनेछ ।
            त्यसपछि उनले संरा अमेरिकामा बसेका इरानीलाई इरानमा रहेका आफ्ना परिवारको नाममा पैसा पठाउने बाटो खोलिदिनुपर्छ । त्यसले गरिबीको दलदलमा फसेको इरानी समाजको आर्थिक स्तर उकास्न केही मद्दत गर्नेछ । प्रकारान्तरले त्यसले पनि कोभिड–१९ विरुद्ध इरानको लडाइँलाई मद्दत गर्नेछ ।
            अर्को चरणमा ट्रम्पले दुवै देशबीच आ–आफ्नो देशका कैदीको आदानप्रदान गर्नसक्छन् । त्यसले महाव्याधिको समयमा हजारौँ परिवारलाई आफ्नो प्रियजनको विषयमा चिन्ता मान्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।
            अनि ‘कोभिड–१९ मानवीय कूटनीतिक योजना’ अन्तर्गत ट्रम्पले अमेरिकी र इरानी जनताबीचको सम्बन्ध सामान्यकरण गर्न मार्गप्रशस्त गर्नसक्छन् । दुवै देशका निजी क्षेत्र र व्यक्तिलाई सामान्य अवस्थामा जस्तो सम्बन्ध विकास गर्न दिनुपर्छ । ट्रम्पले धेरै क्षेत्रमा अमेरिका–इरान साझेदारीको प्रवद्र्धन गर्नसक्छन् । विशेषतः चिकित्सकीय अनुसन्धान र विकास निर्माण त्यस्तो साझेदारीका क्षेत्र हुनसक्छन् ।
            यी सबै कदमले दुई देशका सरकारलाई वार्तामा बस्ने अवस्था बनाउनेछ । यसले उनीहरूलाई युद्धको बाटोमा नभई शान्तिको बाटोमा जान उत्साहित गर्नेछ ।
            यो शताब्दीमा संसारले सामना गरेको सबभन्दा गम्भीर जनस्वास्थ्य चुनौती नोबेल कोरोना भाइरसको महाव्याधि हो । महामारीले इरानमाथि संरा अमेरिकी अमानवीय र अन्यायपूर्ण नाकाबन्दीलाई अझ बढी घातक बनाएको छ । ट्रम्प सरकारले अब आफ्नो बाटो बदल्नुपर्छ र इरानमाथिका नाकाबन्दी ढिलै भए पनि फिर्ता लिनुपर्छ । अब पनि ढिला भए त्यसले लाखौँ मानिसको जीवन लिनसक्‍नेछ ।
स्रोत : अल जजिरा
नेपाली अनुवाद : नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *