भर्खरै :

चढाइ गर्ने आँखाले –१

(मदन पुरस्कार गुठी श्रीदरबार टोल, ललितपुर नेपालद्वारा प्रकाशित कमल दीक्षितद्वारा सम्पादित ‘नेपाली’ त्रैमासिक (विसं २०३७ माघ, फागुन र चैत) भोट (तिब्बत) – नेपाल युद्ध विशेषाङ्कको रूपमा प्रकाशित गरिएको थियो । नेपालको इतिहासबारे आलोचनात्मक र गहन अध्ययनको निम्ति सो ऐतिहासिक अध्ययन पाठकलाई उपयोगी हुने देखिएकोले सो अङ्क धाराबाहीरूपमा साभार गरिएको छ–सम्पादक)
(श्री मोहनप्रसाद खनालले आफूले सम्पादन गरेको ‘नेपालमा भोट युद्धको तयारी’ भन्ने एउटा पुस्तक पुस्तकालयमा दिनुभएको छ । त्यसमा एक ठाउँमा त्यस पुस्तकको सारिएको एउटा प्रति मदन पुरस्कार पुस्तकालयमा पनि छ … इत्यादि लेखिएको छ । म. पु. पुस्तकालयमा रहेको लेखोट कापीमा सो पुस्तकका सबै कुरा छन् तर त्योभन्दा धेरै बढी अरू कुरा पनि त्यसमा छन् । त्यो सबै अर्काे प्रसङ्गमा भनिएला । अहिलेचाहिँ नेपालले भोटमाथि चढाइ गर्ने तयारी गरेको अर्काे एउटा प्रसङ्गमा केही लेख्नुपरेको छ ।
महाराज चन्द्रशमशेरका पालामा भोट (तिब्बत) र नेपालका बीचमा फेरि कचमच उठ्यो । ल्हासास्थित नेपाली ‘बकीली अड्डाको अनादर गरियो ।’ नेपाली व्यापारी केही लुटिए । लुटिएको हर्जाना दिन र माफी माग्न नेपालले माग ग¥यो । भोट सरकारले यसमा आनेकाने ग¥यो । कुरा बिगँ्रदै गएपछि अन्त्यमा नेपालले भोटमाथि जङ्गबहादुरले गरेझैँ आक्रमण गरी घुँडा टेकाउने सुर लियो । तर, यस बेलासम्म भोट जङ्गबहादुरको समयको जस्तो कमजोर थिएन । छालाको तोप (नेपाल म्युजियममा रहेको जस्तो) पड्काउने अवस्थाबाट भोट धेरै अगाडि बढिसकेको थियो । अङ्ग्रेजहरूसँग दोस्ती भइसकेको थियो । बेलायती र रसियन हातहतियार पनि धेरै जम्मा भइसकेका थिए । त्यसैले आक्रमण गर्नुभन्दा पहिले भोट सरकारको बलको पत्ता लाउनु जरुरी देखियो र नेपाल सरकारले त्यसतर्फ कोसिस ग¥यो । त्यसका दुईओटा प्रमाण म.पु. पुस्तकालयमा आइपुगेका छन् । एउटा जाहेरी कर्णेल गङ्गाबहादुर बस्नेतको छ । अर्काे कुनै अज्ञात व्यक्तिको छ । त्यो अज्ञात व्यक्तिको जाहेरी गङ्गाबहादुरको भन्दा जेठो बुझिन्छ ।पुस्तकालयमा पहिले आइपुगेको त्यो कर्णेल गङ्गाबहादुर बस्नेतको सचित्र जाहेरी छाप्न भनी भूमिका पनि लेखी राखिसकेपछि अलमल प¥यो । कुरो के भने त्यसैबेला भारत र चीनको युद्ध भयो । त्यस्तो सङ्क्रमणकालमा यस प्रकारको पुस्तक छाप्नु, प्रकाशित गर्नु उचित ठहरिएन र त्यो त्यसै थन्कियो । अनि बिर्सियो । झन्डै १५ वर्षपछि यो लेखोट फेरि सम्झियो अनि भेटियो । छापूँ भनेर लाग्दा त्यस्तै प्रकारको अर्काे ‘जाहेरी’ पनि फेला प¥यो । अनि दुवैलाई एकैसाथ राखी छाप्नु झन् राम्रोजस्तो लाग्यो । त्यसैले पहिले लेखिराखेको भूमिका र लेखोटलाई साविकबमोजिम रहन दिएर पछि फेला परेकोलाई परिशिष्ट जस्तो पारी प्रकाश गर्ने जमर्काे गरियो ।यो ‘परिशिष्ट’ बनाइको लेखोटचाहिँ नियमबद्ध जाहेरी नभएर यात्राका सिलसिलामा टिपिएका टिपोटको किताबजस्तो लाग्छ र विभिन्न समयमा विभिन्न हस्ताक्षरमा लेखिएको छ । तर, यी दुवै लेखोट ‘जाहेरी’ का धेरै कुरा मिल्छन् र दोस्रो पनि पहिलेकै जस्तो चढाइ गर्ने आँखाले हेरेर लेखिए जस्तो लाग्छ ।)
भूमिका
महाराजा चन्द्रशमशेरका पालामा नेपालले भोट (तिब्बत) माथि चढाइ गर्ने निधो गरेको इतिहासले बताएको कुरा हो । लडाइँको लागि धन–सञ्चय पनि भइसकेको, तर त्यस सङ्कल्पमा अङ्ग्रेजहरूले आशीर्वाद नदिएको हुँदा भग्नहृदय भएका चन्द्रशमशेरको चाँडै नै मृत्यु भयो भन्ने पनि इतिहास–वेत्ताहरूको भनाइ छ । भग्नहृदय भएको कुरा सत्य असत्य जे भए पनि चन्द्रशमशेरको मृत्युपछि भीमशमशेर महाराजले टुंडिखेलमा आमसभा गरेर –राष्ट्रिय सङ्कट दूर गरँे, भोटसँग हुन लागेको लडाइँ सुलह गरेँ भन्ने आशयको घोषणा गरे ¤ अनि त्यही खुसीयालीमा महाराजको जय मनाइयो, खेल तमाशाहरू भए– यो सत्य हो । यो समाचार १९८६ चैत ११ गते गोरखापत्रले छापेको छ । त्यसपछि चन्द्रशमशेरले लडाइँलाई भनी जम्मा गरेको पैसा अरूतिर नै सदुपयोग गरियो भनिन्छ । (“भोटतर्फबाट कुरा बिग्री लडाइँ खुल्नेसम्मको अवस्था पुगिसकेको थियो, त्यस्तो अवस्थामा पनि करिब १३ लाखको आम्र्स आम्युनिसन झिकाइबक्सी आफ्ना मुलुकको आँत झन् बलियो गराई धम्की देखाउनुपर्नेमा धम्की देखाई सम्झाउनुपर्नेमा सम्झाई आफ्नो देशको गौरव रक्षासाथ शान्ति स्थापना गरी नीतिको चातुर्य देखाई भोटलाई निहुँराई कलमको तरबारमात्र चलाई बक्सी नेपाल र भोट दुवैतर्फका हजारौँ प्राणीको रक्षा गरी बक्सियो ।”) (कमान्डरइनचीफ जुद्धशमशेरले गरेको श्री ३ भीमको अभिनन्दनबाट । गोरखापत्र १९८८ भदौ २२)
चन्द्रशमशेरले भोटमाथि चढाइँ गर्ने विचार किन गर्नुप¥यो ? यस विषयमा इतिहासमा केही पक्कापक्की भनिएको छैन । तर, हाम्रो ल्हासाको वकिल–भवनमा भोटेहरूले लुटपिट गरेको र ती लुटपिट गर्नेहरूमाथि ल्हासा सरकारले केही कारबाही नगरिदिनाले नेपाल सरकार र भोट सरकारबीच मनोमालिन्यको सूत्रपात भएको थियो । जे भएर भए पनि त्यो मनोमालिन्य चाँडै नै बढ्दै गयो अनि दुवै सरकार लडाइँको विचार गर्न लागे । (“यही १९८६ सालको भदौदेखि अर्थात् ८ महिना जति भयो भोटका २÷४ जना निर्बुद्धि अदूरदर्शी एकोहोरा राज कर्मचारीहरूका कुकृत्य कर्तुतले गर्दा लडाइँ नै गर्नुपर्ने आवश्यक भई नेपाल भोट दुवै सरकारलाई युद्धसम्बन्धी बन्दोबस्तका निम्ति लाखौँ रुपैयाँ खर्च गराई…”) (गोरखापत्र भाग २९ सङ्ख्या ४८) । भोट सरकार यस विषयमा कतिको चिन्तित थियो थाहा छैन तर नेपाल सरकार भोट विजय गर्ने र त्यहाँको अधिकारी हुने सूरमा थियो भन्ने देखिन्छ किनभने त्यस बेला लडाइँ भई नेपाल विजयी भएको भए नेपाल सरकार, जङ्गबहादुरका समयको अहद (सन्धि) ले दिएको सालाना दश हजार रुपैयाँको नजराना तथा सामान्य अरु सहुलियतहरू लिएर चुप लाग्ने थिएन, यो पक्का छ । चन्द्रशमशेरको कूटनीतिले यो लडाइँमा आफ्नो महत्वाकाङ्क्षाले ठुलो मौका पाउने देख्यो । त्यसै हुँदा चन्द्रशमेशर यसमा दत्तचित्त भई लागे । (तर, अङ्ग्रेजहरूले यसमा भोटको पक्ष लेलान् भन्ने उनले कल्पना गरेनन् । यहीँ उनको राजनीतिक बुद्धिले ठक्कर खायो, त्यो अर्काे कुरा हो ।)
चन्द्रशमशेर भित्र–बाहिर सबैतिर युद्धको तयारी गर्न लागे । भित्रको तयारीमा मुख्य कुरा थियो अर्थसञ्चय । त्यो उनले गरे । त्यो यो पुस्तकको विषय होइन । बाहिरको तयारी पनि हुनलाग्यो । त्यही तयारीको एक अंश हो यो ‘जाहेरी’ –भोटमाथिको युद्धकालीन जासुसी !
भोट सरकार युद्धको निम्ति कतिको तम्तयार थियो भन्ने बुझ्नलाई महाराजले कति कति खुफिया लगाएका थिए होलान्– ल्हासास्थित वकिलमार्फत पनि कति कति खैखबर मागियो, आयो होला, त्यो हामीलाई थाहा छैन । तर एक जना योग्य चरको जाहेरी फेला परेको छ त्यही नै यो ‘जाहेरी’ हो – कर्णेल गंगाबहादुर बस्नेत क्षेत्रीले महाराज चन्द्रलाई चढाएको ।
कर्णेल गङ्गाबहादुर बस्नेत क्षेत्री, कर्णेल वीरबहादुर बस्नेत क्षेत्रीका जेठा छोरा हुन् । उनको जन्म संवत् १९३२ सालतिर भएको थियो । यी सानै उमेरमा फौजी नोकरीमा भर्ना भए र चाँडै नै आफ्नो योग्यताले माथि पुग्दै गए । यिनको बुद्धि खूब तेज थियो, लुकेका पेचिला कुराहरू पनि बुझ्थे । महाराज चन्द्रका साथ बेलायत पनि गएका यिनी बिछट्ट सिपालु थिए । त्यसै हुँदा चन्द्रशमशेरका पालामा धेरैतिरका दौडाहामा यी खटिएका थिए । सफल दौडाहामा यिनको गणना भएको थियो । नेपाल राज्यको कुनाकाप्चासम्म पुगेकोले देशको भौगोलिक ज्ञान यिनलाई प्रशस्त थियो । त्यसै हुँदा सामरिक महत्वका स्थानहरूबारेको यिनको विवेचना पनि गहन हुन्थ्यो ।
यस्ता यी गङ्गाबहादुरलाई चन्द्रशमशेरले आफ्नो भोटमाथिको सामरिक चर छान्नु ‘योग्यम् योग्याय’ भएको थियो । गङ्गाबहादुरको छनोट अर्काे किसिमले पनि महत्वपूर्ण थियो । यिनी कहिल्यै पनि ल्हासा –वकिलीमा गएका थिएनन् न यिनको भोट–यात्राको नै (भोट–यात्रा यिनको अवश्य भएको हुनैपर्छ नत्र यस्तो सम्पूर्ण रिपोर्ट तयार हुनु असम्भव छ) कुनै सूचना कतै गरिएको थियो । नेपाल, काठमाडौँबाट यिनी दुई पटक गोसाइँकुण्डतिर मात्र गएको बुझिन्छ । उनका नजिकैका इष्टमित्रहरूलाई पनि त्यतिसम्म मात्र थाहा छ । त्यसभन्दा माथि यिनी कतै गएका कसैलाई ज्ञान छैन । यसबाट कति छद्म तरिकाले यिनले यात्रा गरे होलान् भन्ने अन्दाज लगाउन सकिन्छ । यति गुप्त ढङ्गले काम गर्न सक्नेका हिसाबले पनि गङ्गाबहादुरको छनोट उपयुक्त भएको देखिन्छ । यो ‘जाहेरी’ लेख्नमा गङ्गाबहादुरलाई उनका भाइ मे.क.लालबहादुर र पं. रमानाथ तथा नरनाथबाट पनि मद्दत मिलेको कुरा उनले स्वीकार गरेका छन् । साथै, यंगहजब्यान्ड मिसनमा जाने गोरखाली सुबिदार सुरवीर विष्ट क्षेत्रीबाट पनि यिनले धेरै कुरा बुझेको चाल पाइन्छ । यी चारै जना १५ वर्षभन्दा बढी ल्हासा, भोटमा रहेका हुनाले यिनीहरूबाट सोधपुछ गरिनु स्वाभाविकै हो । तर, यति सोधपुछ गरेको भरमा यस्तो जाहेरी लेखिन सक्दैन । यसको लागि लेख्नेलाई ती ती ठाउँको राम्रो ज्ञान हुनु जरुरी छ । यस ‘जाहेरी’ का केही वाक्यहरू पढे त्यो स्पष्ट हुन्छ । जस्तो ः “भोटले एक पल्टनमा हजार जवानका दरले तयार गरेका छौँ भन्छन् तापनि ५०० जवानभन्दा बढी छैनन् ।”
“पोताला लामाज्यूलाई दिएको १ समेत २ आइसकेको थियो । पछि आउँदै छ भन्थे । जम्मा २० लुइसगन र ८ तोप ल्याउने पूरा नियत थियो ल्याए होलान् ।”
“बृटिसको मिसनमा चिया… उसिना चामल, आलुको भुजुरी, खुर्सानी, सुठो गहुँको आटा लगेका थिए । घ्यू मासु आटाबाट खूब तागत दिँदो रहेछ भन्थे ।”
हुन त ‘जाहेरी’ को आखिरी दफाबाट गङ्गाबहादुरले आफू नै भोट गएको भन्ने कुरा लेखेको बुझिँदैन तर माथि बयान भएकाबाट उनी गएका थिएनन् भन्न मिल्दैन ।
त्यो जे भए पनि, यो ‘जाहेरी’ को महत्व अर्कै छ । त्यो के भने हिजोआज पनि ठुला ठुला राष्ट्रका बीच एक अर्काको भेद गुप्तचरद्वारा पत्ता लगाउने जुन कोसिस ज्यूज्यान लाएर गरिन्छ त्यही उच्चकोटीको सामरिक चर–पद्धतिको एउटा नमुना यो ‘जाहेरी’ हो । त्यस्तो योग्यता देशको लागि मरिमेट्ने खालका चर पनि नेपालले जन्माएको रहेछ भन्ने पनि यो ‘जाहेरी’ ले हामीलाई बताउँछ ।
नेपाल र भोटको युद्ध भएन । चन्द्रशमशेरको मृत्युपछि नै भीमशमशेरले सुलह गरिहाले । चन्द्रशमशेरको त्यति चाँडै मृत्यु नभएको र भोट–नेपाल युद्ध भइहालेको भए यो ‘जाहेरी’ को गुरुत्व बुझिने थियो होला । तर त्यसो भएन ।
यति सबै भनेर यो ‘जाहेरी’ लाई नै ‘यत्परो नास्ति’ राम्रो भन्न खोजेको होइन । न त महाराज चन्द्रले नै यो ‘जाहेरी’ लाई मात्र आफ्नो ‘गाइड’ या आधारस्तम्भ बनाएका थिए भन्न खोजेको हो । माथि नै भनिसकियो– यो जाहेरी त एउटा नमुनासम्म मात्र हो । यस्ता कति जाहेरी कति स्रोतबाट महाराजकहाँ पुगेको थियो होलान् । (अर्काे यस्तो एउटा त यसै जाहेरीको अन्त्यमा दिइएको छ भनेर माथि नै भनियो ।–सं.) ती सबैको यथासम्भव विवेचना, विश्लेषण गरी महाराजले आफ्नो कर्तव्य र गन्तव्य ठीक गर्थे होलान् । ती अरू जाहेरीहरू कहाँकहाँ होलान् । खोजे सरकारी पुरातत्व सङ्ग्रहालयमा पनि केही पाइनुपर्छ । यसै जाहेरीमा पनि त्यस्तो केहीँ त “… जैसीकोठामा छ” भनिएको छ होला । तर, यो एउटा चाहिँ किन हो महाराजको निजी सङ्ग्रह रहेछ । यसलाई महाराजले ‘प्रात्ेट’ अध्ययन गरेको बुझिन्छ । नत्र यो ‘जाहेरी’ चन्द्रशमशेरको कान्छी बडामहारानीको ढुकुटी, श्रीदरबारबाट निस्कने थिएन । हुनसक्तछ, अरु जाहेरीहरूको सत्यमा या गुरुत्व जाँच्ने एउटा कसी यो भएको थियो होला । हाम्रो ल्हासाको वकिल अड्डाले पनि जाहेरी पठायो होला, त्यही सरकारी जाहेरीको पनि सत्यता जाँच्ने औजार यो जाहेरी भएन होला भन्न सकिँदैन ।
यो ‘जाहेरी’ को विशेषता के छ भने यसमा कुनै खास विषयको मात्र लामो सविस्तार वर्णन छैन । महल–महल छुट्याएर कच गरी यसमा सबै विषयमा दृष्टि पु¥याइएको छ । त्यसो हुँदा यो ‘जाहेरी’ सङ्क्षिप्त रिपोर्टजस्तो भएको छ र त्यसैबाट माथि भनिएका अरु जाहेरीहरू जाँच्ने आधार बनाइएको थियो होला भन्ने कुरालाई पुष्टि मिल्दछ । एक एक विषयमा भिन्नै भिन्नै थरीले भिन्नाभिन्नै पठाएका जाहेरीहरूमा सङ्क्षिप्त रूपको सबै विषयको जाहेरीबाट ‘चेक’ गरिनु हुनसक्ने कुरा पनि हो ।
यो ‘जाहेरी’ को अर्काे विशेषता हो । यसका पुस्तककर्ताको सामरिक कौशलको ज्ञान । ‘अब चढाउका विषयमा’ भन्ने परिच्छेद राम्ररी पढे यो कुरा स्पष्ट हुन्छ । पुराना किसिमको तोप र बन्दुकको लडाइँको चढाउ र बचाउ दुवै पक्षको यी व्यक्तिले राम्ररी अध्ययन गरेका रहेछन् भन्ने त्यसबाट बुझिन्छ । नत्र त्यति दृष्टि पु¥याई त्यति गहिरो तौरबाट लेखिन सक्दैनथ्यो । त्यस परिच्छेदमा उल्लेख भएका ‘विकट’ हरू त्यस ताकाका युद्धमा अवश्य पनि बिकटै हुने खालका छन् ।
भोटउपर नेपालले चढाइ नगरेको र भोट–नेपाल युद्ध नभएको हुनाले यो ‘जाहेरी’ को सामरिक महत्वका चीजहरू बेमहत्वको भएको र यसको सबै बयान इतिहास भइसकेकोले रमाइलोको लागि मात्र पढिने कुरा हुन गएको छ । तर त्यसरी रमाइलोको लागि पढ्दा पनि यसमा धेरै जान्नु सुन्नुपर्ने महत्वका कुराहरू फेला पर्दछन् । यसबाट सामाजिक शास्त्रमा विद्यार्थीहरूले धेरै कुरा बुझ्न सक्दछन् । समुद्रपारका विदेशीहरूले छपाएका केही दर्जन किताबबाहेक भोट विषयमा धेरै केही लेखिएको छैन भने पनि हुन्छ । अझ, नेपालीले लेखेको त यही सर्वप्रथम हो जस्तो लाग्छ । (अहिले त त्यस्तो किताब पनि धेरै नै निस्किसके ।–सं.) त्यसैले पश्चिम जातिहरूभन्दा बढ्ता भोटेहरूको मन बुझ्नसक्ने नेपाली एक जनाले उनीहरूबारे आफ्ना मनमा लागेका कुरा धक फुकाएर लेखेको हुँदा यस किताबले त्यसबेलाको भोट विषयमा एकदमै नयाँ दृष्टिकोण प्रस्तुत गर्नेछ, त्यसमा शङ्का छैन । भोटको धार्मिक, राजनीतिक (या धर्मसँग मिसिएको राजनीतिक ?), आर्थिक, सामाजिक, भौगोलिक तथा ऐतिहासिक स्थितिको विचित्रताको यसमा नौलो प्रकारको विवेचना गरिएको छ ।
सबभन्दा नयाँ कुरा त त्यो बेलाको भोट सरकारको राजनीतिक दाउपेचको चित्रण नै छ । भोट सरकारले उनीहरूमाथि रजाइँ या थिचोमिचो गर्ने चीन र नेपाल दुवैलाई त्यताबाट हटाई आफूले सोझै भारतका अङ्ग्रेजहरूसँग र रसियाको बोल्शेभिक सरकारसँग सोझै सम्पर्क राखी ‘स्वच्छन्द’ हुन चाहने ‘नियत’ राखेका थिए । यो केवल भोट सरकारको नियत थिएन । यो ‘नियत’ गुप्तरूपले अङ्ग्रेजहरूले भोटमा उमारेका थिए । किनभने, अङ्ग्रेजको यंगहजव्यान्ड मिसन भोटमा सफल भएपछि उनीहरूले त्यहाँ प्रभुत्व जमाउने चीन र नेपाल दुवै थरीलाई धपाई आफू त्यहाँ ‘स्वच्छन्द’ हुन खोजेका थिए । बोल्शेभिक रसियनसँग भोट सोझै सम्पर्क गराइदिने भन्ने त केटाकेटीलाई देखाउने ‘पापा’ मात्र थियो । अङ्ग्रेजहरूको कूटनीतिमा पूरापूर छकिने भोट सरकार कति सुधो थियो त्यो कुनै पश्चिमा भोट–विशेषज्ञले हामीलाई बताएनन् । त्यो कुरा यो ‘जाहेरी’ को पहिलो दफा केलाएर हेरे देखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *