भर्खरै :

भक्तपुर नगरपालिकाको सातौँ नगरसभा सुरु

भक्तपुर, ७ असार । भक्तपुर नगरपालिकाको सातौँ नगरसभा आइतबारदेखि प्रारम्भ भएको छ । नगरसभाको समुद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सासद प्रेम सुवालले गर्नुभयो । कोभिड–१९ महामारीको कारण थोरै आमन्त्रित व्यक्तिको सहभागितामा सामाजिक दुरी कायम गर्दै ख्वप इन्जिनियरिङ कलेजको सभाकक्षमा कार्यक्रमको आयोजना गरिएको थियो ।
उद्घाटन समारोहमा सचिव सुवालले आम्दानीका स्रोतहरू जुटाएर जनताको सेवा गर्न सके नगरलाई आत्मनिर्भर बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।
देश आत्मनिर्भर नभएको हुँदा राज्य सञ्चालनमा अनेक समस्या आइरहेको उल्लेख गर्दै उहाँले जनताकै सल्लाहमा जनताको सहयोग र सहभागितामा जनताको सेवा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
जनताको सम्पत्तिमा रजाइँ गर्ने भ्रष्टाचारी र कमिसनखोरहरूलाई मृत्युदण्ड दिनुपर्ने आवश्यकता आँैल्याउँदै सचिव सुवालले अपराधी र ठुलठुला कर्पोरेटहरूको घेरामा देश सञ्चालन भइरहेसम्म सुशासन नहुने धारणा राख्नुभयो ।
देश र जनताको सेवा गर्ने नाममा दलगत र व्यक्तिगत स्वार्थको निम्ति काम गर्ने नेता, मन्त्री र सांसदहरूदेखि सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले जनतालाई भ्रममा पारेर झूटको खेती गर्न नहुने विचार राख्नुभयो ।
अमेरिकी सैनिक गठबन्धनसित सम्बन्धित एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “विदेशीले नेपाली नागरिकसँग बिहे गरेको १५ वर्षपछि मात्र अङ्गीकृत नेपाली नागरिकता दिनुपर्छ, आफ्नो देशको नागरिकता छोड्न कारबाही चलाएपछि नभई कारबाही टुङ्ग्याएपछि नेपाली नागरिकता दिने प्रक्रिया अघि बढाइनुपर्छ । नेपाल–भारत खुला सीमा बन्द गरी अनुमतिपत्रको व्यवस्था गर्नुपर्छ ।”
“देशभरि नै स–साना सहरहरूको विकास गर्नुपर्छ, उपत्यकामा जनसङ्ख्याकेन्द्रित गरेर उपसहरहरू विकास गरिए थप समस्या निम्तिन्छ, कृषि भूमि सकाएर माफिया पोस्ने काम गर्नुहुँदैन”, उहाँले भन्नुभयो । विदेशिनबाट रोक्न युवाहरूलाई कृषितर्फ उत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “विदेशबाट ग्यास ल्याएर होइन, आफ्नै देशको विद्युत्बाट रासायनिक मल कारखाना खोल्नुपर्छ ।”
भक्तपुर नगरको प्रवेशद्वार सफा, स्वच्छ र हराभरा राख्नुपर्ने, खेलाडीले पाएको पदकको आधारमा शैक्षिक योग्यता निर्धारण गर्नुपर्ने भन्दै सांसद सुवालले वन संरक्षण गरेर जलाधार क्षेत्र बनाउनुको सट्टा जङ्गलै विनास गरेर खेल मैदान बनाउने सरकारको योजना उचित नभएको तर्क राख्नुभयो । नदी किनारमा भइरहेको अतिक्रमित भूमिको संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट समाजवादउन्मुख भने तापनि पुँजीवादी बजेटसमेत नभएको सत्तारुढ दलकै सांसदहरूको भनाइ स्मरण गर्दै काम व्यवहारले देखाउनुपर्छ भन्नुभयो ।
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायको साथ र सहयोगको खाँचो औँल्याउँदै सांसद गोसाईले जनताको भावना कदर गर्नु प्रजातान्त्रिक अभ्यास हो, जनप्रतिनिधिहरू जनताको आलोचनाबाट डराउनु हुँदैन भन्नुभयो ।
प्रदेश सरकारले फजुल खर्च गर्ने काम गरिरहेको भन्दै उहाँले नेपाल भ्रष्टाचार, अनियमितता र कमिसनको कारण बदनाम भइरहेको बताउनुभयो ।
जातीय र सांस्कृतिक दमनमा सरकार अभ्यस्त भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “यो सरकार इतिहासकै विभेदकारी र पक्षपातपूर्ण सावित भइसकेको छ ।”
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नीति तथा कार्यक्रम र बजेट वास्तवमै नगरवासीको घर–घरमा पुग्ने खालको हुनुपर्ने आवश्यकता औँल्याउँदै नपाको नीति तथा कार्यक्रम प्रभावकारी र कार्यान्वयन गर्ने खालको छ भन्नुभयो ।
समग्र नगरको विकासमा केन्द्रित नपाको कार्यक्रममा शिशु स्याहार केन्द्र विस्तारदेखि विश्वविद्यालय स्थापनाको अवधारणा रहेको उल्लेख गर्दै उहाँले नपाले उदाहरणीय काम गरेर देशको विकासमा टेवा पु¥याइरहेको छ भन्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले निर्वाचन घोषणापत्रबमोजिम भनपाले काम गरिरहेको उल्लेख गर्दै भनपाका हरेक काम देशको निम्ति नमुना होस् भन्ने जनआकाङ्क्षा रहेको बताउनुभयो ।
नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले जनप्रतिनिधिको प्रतिबद्धताबमोजिम नीति तथा कार्यक्रम आएको विचार व्यक्त गर्दै भक्तपुर नेपालको नमुना नगर बनाउन असल अभ्यास भइरहेको बताउनुभयो ।
भनपाका नगर प्रमुख एवम् उद्घाटन समारोहका सभापति सुनिल प्रजापतिले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
नीतिभन्दा व्यक्तिगत पहुँचको आधारमा सङ्घ र प्रदेशको बजेट विनियोजन गर्ने, जनप्रतिनिधिलाई सिंहदरबार धाउन पर्ने सामन्ती संस्कारले निरन्तरता पाएकोमा चिन्ता व्यक्त गर्दै उहाँले स्थानीय तहमा जनप्रतिनिधि भइसकेको हुँदा निर्वाचन क्षेत्र विकास कोष खारेज गरी सीधै सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था गर्नुपर्छ भन्नुभयो ।
उपत्यकालाई सांस्कृतिक केन्द्रकै रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिंदै उहाँले पुनः निर्माण र जीर्णोद्धार कार्य ठेक्कामा दिन नहुने बताउनुभयो ।
समारोहमा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरसभाको आवश्यकताबारे चर्चा गर्नुभयो । भक्तपुर नगरपालिकाको फेसबुकमार्फत समारोहको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *