सन् १८९३ मा निजी क्षेत्रबाट सञ्चालित फिलाडेल्फिया एन्ड रिडिङ रेलरोड र द नेशनल कोर्डेज कम्पनी (Philadelphia and Reading Railroad and the National Cordage Company) नामका आर्थिक कारोबारमा प्रभावशाली कहलिएका दुई सबभन्दा ठुला कम्पनीको टाट पल्टाइका कारण संरा अमेरिकामा अपार वित्तीय सङ्कट आइपरेको थियो । शेयर बजारमा एक प्रकारको पहिरो गयो । आर्थिक कारोबार र हिसाब किताबसँग प्रत्यक्ष र परोक्ष सरोकार राख्ने सम्पूर्ण निकायहरू वित्तीय पक्षघातबाट थला परे । यसले संरा अमेरिकाको धेरै क्षेत्रमा गम्भीर प्रभाव पा¥यो । धेरैले रोजगार गुमाए, दैनिक जीवनमा हातमुख जोड्नसमेत कठिन भयो । त्यो आर्थिक सङ्कटलाई अहिले पनि सन् १८९३ को विपत्ति (The Panic of 1893) नामले संरा अमेरिकामा स्मरण गरिन्छ । सन् १८९० मा विलियम म्याकिन्ले (William McKinley) को कर प्रणाली ज्यादै विवादास्पद रह्यो । यसको कारण उनी अलोकप्रिय गभर्नरको रूपमा चिनिए । सामानको मूल्यवृद्धिले गर्दा उपभोक्ताहरूको दैनिक जीवन कष्टकर बन्यो । तैपनि सन् १८९१ मा उनलाई ओहाइओको गभर्नर बन्न फेरि पनि जनताले मत दिए ।

राष्ट्रपति विलिमय म्याकिन्ले
सन् १८९३ बाट सुुरु भएको यो आर्थिक सङ्कट १८९७ मा समाप्त भयो । सो क्रममा राजनीतिक क्षेत्रमा अस्वाभाविक उथलपुथल भयो । यसले १८९६ को राष्ट्रपति चुनावको पुनर्गठनको अवस्था सिर्जना गर्न बाटो चौडा पा¥यो । राजनीतिमा आउनुपूर्व कानुन व्यवसायी र चलचित्र क्षेत्रमा रमाउन मनपराउने विलियम म्याकिन्ले रिपब्लिकन पार्टीको तर्फबाट सन् १८९७ को राष्ट्रपति चुनावमा उम्मेदवार थिए । सोही सालको ४ मेको दिन राष्ट्रपतिको कार्यभार सम्हाली रिपब्लिकन पार्टीको नेतृत्व गर्ने जिम्मेवारी लिए । संरा अमेरिकाको अर्थतन्त्रको सुधारलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका विलियम म्याकिन्लेले प्रचलित मुलुकको करे प्रणालीमा फेरबदल अपरिहार्य ठाने ।
सन् १८९८ को स्पेन–अमेरिका युद्धमा स्पेनको नराम्रो हारसँगै फिलिपिन्समाथि उनको ध्यान गयो । विस्तारै साम्राज्यवादको रूप धारण गर्दै संरा अमेरिका अगाडि बढ्यो । सन् १८९८ देखि १९०० सम्ममा हवाइ, ग्वाम, फिलिपिन्स्, प्रिटोरिका र समाओजस्ता टापु र क्षेत्रहरूमाथि आक्रमण गरी आफ्नो कब्जा जमाउन सफल भएसँगै अन्तर्राष्ट्रिय जगतमा संरा अमेरिका शक्ति राष्ट्रको रूपमा देखाप¥यो । यसैकारण अमेरिकी समाजमा विलियम म्याकिन्लेको लोकप्रियता उक्लिँदै गयो । राष्ट्रपतिलाई अझ बढी शक्तिशाली बनाउनुपर्छ भन्ने उनको अभिव्यक्तिले सबैको ध्यान आकर्षित ग¥यो । उनले संरा अमेरिकी राष्ट्रपतिको हैसियतलाई आधुनिकताको नयाँ आकार दिन सफल भए । सन् १८९३ को विपत्ति(The Panic of 1893) ले धुजाधुजा पारिसकेको अमेरिकी अर्थतन्त्रलाई त्राण र प्राण दिई रक्षा गर्न उनले सुरक्षात्मक सीमा शुल्क (protective tariff) लागू गरे । विदेशबाट आयातीत वस्तुहरूमा ३४ प्रतिशतदेखि झन्डै ५० प्रतिशतसम्म करको दर वृद्धि गरियो र स्वदेशी उद्योगको विकास र वस्तुहरूको उत्पादनमा महत्व दिइयो । जर्जर संरा अमेरिकी आर्थिक अवस्था बिस्तारै तङ्ग्रिन थाल्यो । सबल नेतृत्व र सफल कार्य कुशलताका कारण मुलुकभरि बढ्दै गएको लोकप्रियताले उनको महत्व बढायो ।

अराजकतावादी हत्यारा नियोन
सन् १९०१ को दोस्रोपल्टको राष्ट्रपति निर्वाचनमा पनि संरा अमेरिकाको राष्ट्र प्रमुखको महत्वपूर्ण पदमा विजय हासिल गर्न विलियम म्याकिन्लेलाई कठीन भएन । आफ्नो अघिल्लो राष्ट्रपतीय कार्यकालमा कडाइका साथ व्यवहारमा लागू गरिएको सुरक्षात्मक सीमा शुल्क नामको अर्थनीतिलाई उनले थप लम्ब्याउन चाहेनन् । पारस्परिक व्यापार सम्झौतामार्फत घरेलु उत्पादनमा कुनै अप्ठेरो नपर्ने गरी उनले स्वतन्त्र व्यापार कारोबारलाई प्राथमिकतामा राखी अन्य मुलुकमा उत्पादित वस्तुहरूमा कर घटाउने निर्णय गरे । तर, उनी यस नयाँ अर्थनीतिलाई सार्वजनिक गर्न कुनै एक महत्वपूर्ण समारोहको पर्खाइमा थिए ।
सार्वजनिक समारोहमा उपस्थित भई भेटघाट मन पराउने म्याकिन्लेलाई राष्ट्रपतिको कार्यालयमा विद्यमान सुरक्षा प्रबन्ध पर्याप्त नभएकोले त्यसमा सुधारको आवश्यक भएको विषयमा सुरक्षा व्यवस्थापनमा राम्रो दख्खल भएका आफ्नै विश्वासपात्र सेक्रेटरी जर्ज वी.कोर्टत्यालिउ (George B. Cortelyou) को सुझावलाई स्वीकार्न उनी अनिच्छुक थिए । न्युयोर्क सहरस्थित बफालो (Buffalo) भन्ने ठाउँमा मानिसहरूको ठुलो जमघटका साथ सभा सम्मेलन र साङ्गीतिक समारोह गर्नसकिने Temple of Music (साङ्गीतक मन्दिर) नामको भव्य एवम् सुन्दर विशाल भवन पाम अमेरिकन व्यापार मेला (Pam American Exposition) सञ्चालनको लागि निर्माण गरिएको थियो । सो न्युयोर्कको बफालोमा रङ्गीन द टेम्पल अफ् म्युजिकमा आयोजित समारोहमा विलियम म्याकिन्ले आफ्नो नयाँ आर्थिक नीतिको उद्घोष गर्ने कार्यक्रमको समय तालिका तय हुनुअगावै जर्ज वी.कोर्टत्यालिउले कमजोर सुरक्षा अवस्थाको कारण देखाई राष्ट्रपतिको प्रमुख आतिथ्यमा हुन गइरहेको उक्त कार्यक्रमको समय तालिकालाई पर सार्न दुई पल्टसम्म प्रयास गरेका थिए । हरेकपल्ट राष्ट्रपति विलियम म्याकिन्लेको हस्तक्षेपकै कारण उक्त कार्यक्रमको समय तालिकामा जर्ज वी.कोर्टत्यालिउको जोरजुलुम भए पनि कुनै हेरफेर गरिएन । संरा अमेरिका–स्पेन युद्ध समाप्त भएको लामो समय नबित्दै आयोजना गरिएको उक्त व्यापार मेलाको मूल उद्देश्य युरोपेली मुलुकहरूको परम्परा, संस्कृति र विविध क्षेत्रमा गरेको उपलब्धिहरूमाथि प्रकाश पार्नु र उत्तर तथा दक्षिण अमेरिका एवम् मध्य अमेरिकी मुलुकहरूसँगका आपसी हित र पारस्परिक मित्रतालाई जोड दिनु थियो ।
सन् १९०१, सेप्टेम्बर ६ को मितिलाई नै पाम अमेरिकी व्यापार मेलाको शुभ साइतको दिन तय गरियो । संरा अमेरिकाको दोस्रो पटक राष्ट्रपति कार्यकाल सम्हालेको ६ महिनापछि न्युयोर्कको बफालोस्थित टेम्पल अफ् म्युजिक नामको सानदार हलमा राष्ट्रपतिको स्वागतार्थ लामबद्ध भई उभिरहेका शुभचिन्तक र प्रशंसकहरूसित हात मिलाउँदै आतिथ्यलाई स्वीकार्दै विलियम म्याकिन्ले त्यो दिन अघि बढ्दै थिए । राष्ट्रपति विलियम म्याकिन्लेको नयाँ अर्थ नीतिका कारण जागिर गुमाएका लियोन कोजोल्गोस Leon Czolgosz नामका एक अमेरिकी राष्ट्रपतिप्रति रुष्ट थिए । यसले उनलाई अराजकतावादी बन्न बाध्य पा¥यो । उनी राष्ट्रपतिको स्वागतार्थ लाममा अनुशासित भई उभिरहेका थिए । लियोन कोजोल्गोससित हात मिलाउन नजिक पुग्नेबित्तिकै आफ्नो दाहिने हातमा लुकाई रुमालले बेरिराखेको पिस्तोलले हानेको दुई गोलीले राष्ट्रपति विलियम म्याकिन्ले भुइँमा बजारिए ।
लियोन कोजोल्गोसको पहिलो गोली राष्ट्रपतिको लुगाको टाँकमा ठोकिएको कारण खासै भौतिक क्षति नभए पनि दोस्रो गोली पेटबाट छिर्दै शरीरको विभिन्न भित्री भागहरूमा गहिरो चोट लाग्यो । लियोनलाई कुनै पनि प्रकारको साङ्घातिक प्रहार नगर्न घाइते राष्ट्रपतिले सङ्केत गर्दै थिए र पनि उनीमाथि नराम्रो प्रहार गरियो । विनाविलम्ब कुनै शल्यक्रियाको लागि राष्ट्रपति विलियम म्याकिन्लेलाई अस्पताल कुदाइयो । सुरुमा स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी शल्यक्रियामा संलग्न चिकित्सकहरूले दिइरहेका थिए । गोलीको अचानक प्रहारबाट शरीरका गहिरा घाउहरूमा रक्तसञ्चार अवरुद्ध भई तन्तु कुहिन थालेको थियो । शरीरबाट गोली निकाल्न नसक्नाले औषधोपचार जटिलता बन्दै गयो, अन्त्यमा लगभग आठ दिनको औषधोपचारपछि अर्थात् सेप्टेम्बर १३ का दिन अस्पतालमै उनको दुःखद देहावसान भएको घोषणा गरियो । यसरी सन् १८४३ जनवरी २९ का दिन जन्मिएका संरा अमेरिकाका २५ औं राष्ट्रपति विलियम म्याकिन्लेको राजनीतिक जीवनलीला अकल्पनीय ढङ्गले सन् १९०१, सप्टेम्बर ६ का दिन सदाका लागि समाप्त भयो ।

भव्य सङ्गीतको मन्दिर
उच्च पदमा बहाली छँदै हत्या गरिने उनी संरा अमरिकी तेस्रो राष्ट्रपति थिए । बन्दुक राजनीतिका कारण सन् १८६५ मा हत्या गरिएका पहिलो राष्ट्रपति अब्राहम लिङ्कन थिए भने सन् १८८१ मा राजनीतिक हत्याको सिलसिलामा मारिने दोस्रो राष्ट्रपति जेम्स ए. गार्फिल्ड थिए । विगतका यस्ता अप्रिय घटनालाई राम्ररी बुझेका राष्ट्रपति विलियम म्याकिन्लेले पनि सुरक्षा निकायको आफ्नो पेशामा राम्रो मानिएकाहरूको व्यवसायिक सुझावलाई खासै चासो दिएको थिएनन् । जनमानससँगको आफ्नो भेटको क्रममा सुरक्षा अधिकृतहरूको बीचमा हुने उपस्थिति नरुचाउने विलियम म्याकिन्लेको अव्यावहारिक इच्छाले अन्ततोगत्वा भयानक परिणाम निम्त्यिो । नितान्त छट्टु व्यापारी वर्तमान संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि विज्ञानको विज्ञ बनेर विख्यात अमेरिकी चिकित्सकहरूसमेत तीनछक्क हुने गरी यही सन् २०२० मे २१ का दिन मलेरिया रोगविरुद्ध सेवन गर्ने हाइड्रोक्सिक्लोरोक्यूइन (hydroxychloroquine) नामको औषधि कोरोना–१९ बाट बच्न रामवाण भएकोले आफू दुई हप्तादेखि त्यसको नित्य सेवनमा लागिरहेको सन्देश पत्रकारहरूलाई दिएका थिए । उक्त सन्देशले मुलुकमा व्यापकता पायो, तर परिणाम धेरै नकारात्मक देखियो र अमेरिकी जनताका लागि घातक सावित भयो । सायद यस्ता सन्की आनीबानी र उच्चताभासबाट ग्रष्ट हुने स्वभाव केही उच्चपदस्थ अमेरिकी राजनीतिज्ञहरूको विशेषता हुनसक्छ ।
अदालतमा उपस्थित हुँदा आफ्नो बयानमा लियोन कोजोल्गोसले यसअघि नै राष्ट्रपतिसँग नजिकिने अवसर पाएको भए त्यतिबेलै यो अप्रत्यासित घटना भइसक्ने थियो । अदालतको फैसला अनुसार अन्त्यमा उनलाई हत्याको अभियोगमा दोषी ठह¥याई विद्युतीय कुर्सीमा बसाली करेन्ट लगाई मृत्युदण्ड दिइयो ।
२०७७ । ०३ । ०५
Leave a Reply