भर्खरै :

लेनिन कथा – १९ अक्टोबर क्रान्तिको उत्कर्ष

            (विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
            प्रसिद्ध सोभियत लेखिका मरीया प्रिलेजायेभाको यो पुस्तकले बडो सरल, आत्मीयतापूर्ण र भावोत्तेजक शैलीमा लेखिएका स–साना कहानीहरूमार्फत क्रान्तिकारी नेता र व्यक्तिको रूपमा लेनिनको सर्वाङ्गीण र जीवन्त चित्र प्रस्तुत गर्दछ ।
            अघिल्लो अङ्कमा हामीहरूले लेनिन स्वदेश फर्किदा रुसी जनतामा देखिएको उत्साह साथै आमाको सम्झनामा उनको भावुक भावको बारेमा सविस्तार पढ्यौँ ।)
क्रान्तिको सुरुआत
            सेर्दोभोल्स्काया सडकदेखि स्मोल्नी करिब दस किलोमिटर टाढा थियो । ट्राम कतै देखिएको थिएन । मानिसहरू आ–आफ्ना घरमा लुकिबसेका थिए । चुक घोप्टाएजस्तो अँध्यारो रात थियो । एउटा हातले अर्को हात नभेटाउने अन्धकार थियो । पाइला बेला–बेला हिलोमा पर्थे । बतासले बेला–बेला अनुहारमा थप्पडाउँथ्यो ।
            भ्लादीमिर इल्यीच छाती तन्काउँदै र टाउको निहुराउँदै बतास आएतिर लम्किरहेका थिए ।
            “रोक्नुस्, रोक्नुस् !” एइनो राहियो जोड–जोडले चिच्याए । अघिल्तिरबाट ट्राम आइरहेको थियो । नजिकै त्यसको बिसौनी थियो । ट्राम रोकियो, उनीहरू दौडेर त्यसमा चढे । त्यो लगभग खाली थियो र डिपोमा फर्किरहेको थियो । ठीकै भयो, कम्तीमा आधा बाटो हिँड्नु त परेन ।
            लेनिनले अँध्यारोमा शरदको निरस रात नियालिरहेका थिए । सशस्त्र सिपाहीहरूले भरिएको एउटा ट्रक नजिकै आयो र ट्रामलाई उछिन्यो । दोस्रो ट्रक पनि आयो । र त्यही प्रक्रिया दोहोरियो । “आज पुँजीपतिहरूलाई धुलो चटाइनेछ,” कसैले भन्यो ।
            “ट्राम डिपो जाँदै छ, सबै ओर्लिनुस्,” खलाँसीको आवाज सुनियो । लेनिन र राहिया फेरि सुनसान र अँध्यारो सडकमा हिँडे । युन्कर (सैनिक विद्यालयमा प्रारम्भिक तालिम लिएका जारका सेना) हरू बाटामा भेटिने डर थियो ।
            त्यसै बेला इँटा बिछ्याइएको बाटोमा घोडाको टकटक सुनियो । अघिल्तिरबाट दुईजना युन्कर घोडा चढेर आइरहेका थिए । एउटाले जोडले लगाम तान्यो । घोडा हिन्हिनाउँदै पछिल्ला खुट्टाले उभियो ।
            “तेरो अनुमतिपत्र खै !” युन्करले राहियासँग सोध्यो ।
            राहियाको बुढो साथीमाथि युन्करहरूले कुनै चासो दिएनन् । बुढाबाट केको खतरा ? पट्टी बाँधिएको गाला हातले छोपेर बुढा मान्छे छोटा पाइला चाल्दै अगाडि बढे ।
            “कस्तो अनुमतिपत्र ?” नबुझेजस्तो बहाना बनाउँदै राहियाले सोधे । यताउताका कुरा गर्दै उनी लेनिनलाई बाटो काट्ने समय दिन चाहन्थे ।
            “अनुमतिपत्र कहाँ पाइन्छ मलाई के थाहा ? किन चाहियो र ? त्यसै पनि हेर्नुस् म नाथे मजदुर न हुँ ।”  एक युन्करले गाली गर्दै कोर्रा उठायो । “साला, बहाना बनाउँछस् ?” “छोड्दे भो,” अर्कोले उसलाई रोक्यो । दुवै घोडाचढी आफ्नो बाटो लागे । राहिया पनि लेनिन गएतिर दौडिए । “धन्यवाद,” राहियाले भेटाइसकेपछि लेनिनले भने ।
            स्मोल्नीअगाडिको विशाल मैदान । यसको माझैमा एउटा सडक थियो । त्यहाँ कताकति रूख र झाडीहरू उम्रिएका थिए । मैदान मानिसको घुइँचोले कोलाहलमय थियो । ठाउँ–ठाउँमा आगो दन्किरहेको थियो, लप्का उठिरहेका थिए । सिपाहीहरू वरिपरि उभिएर आगो तापिरहेका थिए । पालैपालो ट्रकहरू स्मोल्नी पुगिरहेका थिए । ती ट्रकबाट हतियारधारी नाविक र मजदुरहरू ओर्लिरहेका थिए, स्मोल्नीमा जम्मा भइरहेका थिए ।
            मैदानमा सैनिकहरूलाई पङ्क्तिबद्ध हुने आदेश दिइयो । जताततै भीड र कोलाहल थियो । स्मोल्नीनजिकै तोपहरू राखिएका थिए । प्रवेशद्वारमा पहरेदारहरू उभिएका थिए । स्मोल्नीको लामो भवनका तीनै तलाका झ्यालहरू उज्यालोले झकिझकाउ थिए । तेज प्रकाशले जग्मागाइरहेको स्मोल्नी र उत्तेजनाले धपधपाउँदा आँखा भएका मानिसहरूको यो दृश्य निकै शानदार थियो ।
            लेनिनको मुटुको ढुकढुकी बढिरहेको थियो । आखिर त्यो दिन, त्यो पल पनि आयो । यसैको लागि उनले आजसम्म सङ्घर्ष गरेका थिए ।
            लेनिन र राहियालाई स्मोल्नीमा पस्न दिइयो । लेनिनको ओभरकोटका टाँक खुल्लै थिए । हात खल्तीमा थिए । र, नक्कली कपाल उनले भुलिसकेका थिए । लामा पाइला चाल्दै गर्दा उनले मानिस र हातहतियारका बाक्साले भरिभराउ गल्लीहरू पार गरे । उनी सिधै तेस्रो तलामा रहेको सैनिक क्रान्तिकारी समितिको कोठातर्फ लम्किए ।
            समितिका सबै सदस्य त्यहाँ उपस्थित थिए । पछिल्लो बार्‍ह घन्टादेखि त्यहाँ बैठक चलिरहेको थियो । क्रान्तिलाई कार्यरूप दिने सवालमा छलफल भइरहेको थियो ।
            बीच–बीचमा बारम्बार लालगार्ड, सैनिक दलहरू र कलकारखानाका सन्देशवाहकहरू आइरहन्थे ।
            लेनिन कोठामा प्रवेश गरे । उनले टोपी खोले, सँगै नक्कली कपाल पनि झिके । यसको अब कुनै आवश्यकता थिएन ।
            सैनिक क्रान्तिकारी समितिका दुब्लापातला अध्यक्ष निकोलाइ इल्यीच पोद्भोइस्की लेनिनतर्फ लम्किए । अनिँदोले गर्दा उनका आँखा सुन्निएका थिए ।
            “भ्लादीमिर इल्यीच !” लेनिनको आगमनले उनी निकै हर्षित थिए । लेनिनसँगै जोश र जाँगर पनि जुर्मुराएझैँ देखिन्थ्यो । पोद्भोइस्की लेनिनले के भन्लान् भनी अधीर भई पर्खिरहेका थिए ।
            “ढिलो गर्नु भनेको काललाई निम्त्याउनु हो !” लेनिनले छिटो–छिटो तर दृढतापूर्वक भने । “हामीले तारघर, टेलिफोन एक्सचेन्ज, रेल स्टेशन र पुलपुलेसामाथि कब्जा गर्नु छ । अहिल्यै, यही रात ।”
            सैनिक क्रान्तिकारी समितिका मुख्यालय क्रान्तिको मुख्यालय थियो । भर्खरै लेनिन आएको यस स्थानमा सन्देशवाहकहरू दौडिँदै आए । “लेनिन आउनुभएको छ !” स्मोल्नीभरि बिजुलीजस्तै यो खबर फैलियो । सन्देशवाहकहरूलाई आदेश दिइयो । सैनिक क्रान्तिकारी समितिको आदेश थियो – तारघर, टेलिफोन एक्सचेन्ज, रेल स्टेशन, पुलपुलेसा र सबै सरकारी कार्यालयहरू कब्जा गरियोस् ।
            “लालगार्ड, सावधान !” स्मोल्नीअगाडिको मैदान गुञ्जियो । आगो दन्किरहेको थियो । सशस्त्र मजदुरहरूले भरिएका ट्रकहरू अक्टोबरको रातमा हुत्तिँदै हराइरहेका थिए । सिपाही र नाविक दल पनि सैनिक क्रान्तिकारी समितिको आदेश पूरा गर्न निस्किरहेका थिए ।
            २४ अक्टोबर । ग्रिगोरी क्यालेन्डरअनुसार ०७ नोभेम्बर । रातमा सशस्त्र मजदुरहरू र क्रान्तिकारी सैनिक दलहरूले रूसको राजधानी पेत्रोग्रादलाई आफ्नो कब्जामा लिए ।
(त्यस दिनको) महान् अक्टोबर क्रान्ति सम्पन्न भयो ।
शीतल दरबारमाथि कब्जा
            अस्थायी सरकारले आफ्ना हित्तचित्त मिल्नेहरूसँगै शीतल दरबारमा डेरा जमाई बसेको थियो । शीतल दरबारको अग्रभाग नेभा नदीतर्फ फर्केको थियो र पछिल्लो भाग विशाल दरबार चोकतर्फ । शीतल दरबार सेता खम्बाहरू र मूर्तिहरूले सजिएको थियो । ढोकाका चौकस र पल्लाहरूमा ठुलठुला मूर्ति र कलश कुँदिएका थिए । शिखरमा पखेटा फैलाएको एकदम ठुलो र सुनौलो चील बनाइएको थियो । पहिले यस दरबारमा जारहरू बस्थे ।
            लेनिनले सैनिक क्रान्तिकारी समितिका अध्यक्ष पोद्भोइस्कीसँग भने : “पेत्रोग्राद हाम्रो अधिकारमा छ । तर, शीतल दरबारमाथि अझै कब्जा हुन सकेको छैन । त्यसमा पनि यथाशीघ्र कब्जा गरी अस्थायी सरकारलाई गिरफ्तार गर्नु छ ।”
            २५ अक्टोबर । अक्टोबर क्रान्तिको पहिलो बिहानी । रूसी नागरिकहरूले लेनिनको अपिल पढे, “रूसी जनताको नाममा !”  त्यसमा लेनिनले लेखेका थिए, ‘अस्थायी सरकारलाई अपदस्थ गरी सोभियतहरूले सत्ता आफ्नो हातमा लिएका छन् । क्रान्ति विजयी भएको छ ।’
            वास्तवमा भएको यस्तै थियो । अस्थायी सरकारको हातमा सत्ता थिएन । तर, त्यसका मन्त्रीहरूले आफैलाई शीतल दरबारमा बन्दी बनाएका थिए ।
            “यो कुरा साँचो हो ?” लेनिनले कडा शैलीमा पोदभोइस्कीसँग सोधे । “नआत्तिनुस्, शीतल दरबार आज हाम्रो हुनेछ,” सैनिक क्रान्तिकारी समितिका अध्यक्षले जवाफ दिए । लालगार्ड दलहरू र क्रान्तिकारी दस्ताहरूलाई शीतल दरबार घेर्न आदेश दिइयो । मजदुरहरू र सैनिकहरूले शीतल दरबार आसपासका सडक र नाकाहरूमा अधिकार जमाए ।
            शीतल दरबारलाई चारैतिरबाट घेरियो । मुख्य–मुख्य ठाउँहरूमा तोप लगाइयो । डु·ाहरूले बिस्तारै नेभामा प्रवेश गरी शीतल दरबारअगाडि ल·र हाले । नेभामा राखिएको युद्धपोत ‘एब्रोरा’ का तोपहरू पनि शीतल दरबारतर्फ सोझ्याइयो । नाकाबन्दी पूरा भयो । यो २५ अक्टुबर १९१७ को रातको घटना हो । ग्रिगोरी क्यालेन्डरमा ७ नोभेम्बरको रात ।
            मानिसहरूले १९०५ को ‘आइतबारे हत्याकाण्ड’ झलझली सम्झेका थिए । त्यसदिन यही दरबारअगाडिको विशाल र भव्य प्रा·णमा पिटर्सवर्गका कलकारखानाका हजारौँ मजदुरहरू शान्तिपूर्ण रूपमा एउटा हातमा देवताका मूर्ति लिएर एकत्रित भएका थिए । उनीहरू ‘पितातुल्य’ जारसँग सहायताको प्रार्थना गर्न, रोटीको भिख माग्न आएका थिए । तर, बदलामा उनीहरूले गोलीको वर्षा सामना गर्नुपरेको थियो । त्यस आइतबार शीतल दरबारअगाडि हजारौँ निहत्था र निरीह मजदुरहरूको रगत बगेको थियो । त्यसैले यो पटक, १९१७ को अक्टोबरमा मजदुरहरू यहाँ देवताका मूर्तिहरू लिएर आएका थिएनन् । शीतल दरबार, अब हेर् हाम्रो तागत ! कमिसार र सैनिक क्रान्तिकारी समितिका सदस्यहरूले कार र घोडाहरूमा बसेर मोर्चाहरूको निरीक्षण गरिरहेका थिए ।
          “कामरेड, धैर्य गर्नुस् ! अलिकति तागत अझै बढाउनुस् । कामरेड लेनिनले क्रान्तिको नेतृत्व गरिरहनु भएको छ ।”
            “लेनिन !” मजदुर र सैनिकहरूको मोर्चाबन्दी गुञ्जियो ।
            शीतल दरबारको घेराउको काममा के कति प्रगति भइरहेको छ भनी स्मोल्नीमा लेनिनलाई लगातार रिपोर्ट पुगिरहेको थियो । उनी कलम हातमा लिएर नक्सामाथि झुकेका थिए । यी ठाउँहरूमा फलाना–फलाना दल तैनाथ छन्, फलानो दल यहाँ छ… यहाँ जवानहरूको सङ्ख्या बढाउनुपर्छ । क्रोनश्ताइतबाट नाविक आए । युद्धपोत ‘एब्रोरा’ तयार छ… ।
            “कामरेडहरू, बेला यही हो । हमला सुरु गर्नुस्,” लेनिनले आदेश दिए ।
            साँझ चिसो थियो । हावा चलिरहेको थियो । घरका ढोकाहरू बन्द भइसकेका थिए । प्रकाशरहित झ्यालहरू अपरिचितजस्ता देखिन्थे । सडकमा ठाउँ–ठाउँमा आगो दन्किरहेको थियो । हावामा कडा धुवाँ मिसिएको थियो । शीतल दरबारवरिपरिको घेरा कसिँदै थियो ।
            उता दरबारभित्र पनि मानिसहरू हात बाँधेर बसिरहेका थिएनन् । उनीहरूले पनि लडाइँको तयारी गरिरहेका थिए । युन्कर र अफिसरहरूले दाउराका तगारा ठड्याएर दरबार पस्ने सबै बाटा बन्द गरेका थिए । तगाराहरूको बीचमा मेसिन गन तैनाथ थिए । शीतल दरबारको वरपर अप्रत्याशित नीरवता छाइरहेको थियो । स्मोल्नीबाट सैनिक क्रान्तिकारी समितिलाई पुनः लेनिनको सन्देश आयो । “अबेला गर्नु ठीक हुँदैन । शीतल दरबारमाथि तुरुन्त हमला सुरु गर्नुस् ।”
            रातको सुनसान अँध्यारो थियो । एकाएक नेभामाथिको आकाश तोपहरूको गर्जनले गुञ्जायमान भयो । हावा थर्कियो ।
            ‘एब्रोरा’ तोपहरूले हमला सुरु भएको सड्ढेत मात्र दिएका थिए । समुद्रका विकराल छालहरू जस्तै लालगार्ड र सैनिकहरू शीतल दरबारतर्फ लम्के । नजिकैका सडकहरूबाट तोप र गोलीहरू वर्षिन थाले । मेसिन गनहरूबाट गोलीको वर्षा सुरु भयो । दरबारनजिक ठड्याइएका दाउराका तगारा पल्टाउँदै हतियारयुक्त गाडी गड्किँदै दरबारको प्रा·णतर्फ गयो । हतियार फालेर युन्करहरू दरबारभित्र पसे ।
            “वाह ! मजदुर क्रान्ति जिन्दावाद !” युन्कर र अफिसरहरूलाई पछ्याइरहेका लालगार्ड र सैनिकहरू चिच्याए ।
            लाल सेनाका दलहरू दरबारभित्र दाखिल भए । पहिलोपटक दरबारको भित्री बनावट देखेर सबैका आँखा तिर्मिराएका थिए । सयौँ कोठाहरू र हल, झल्लर, मखमल, रेशम, तस्वीरहरू, मूर्तिहरू, महँगा फर्निचर, ठुलठुला ऐना… । कुनै लालगार्डले हतियारले सुनौलो फ्रेममा राखिएको दर्पण फुटाल्यो । झन्झनाउँदै काँचका टुक्राहरू जमिनमा छितरिए ।
            “पागल भयौ कि क्या हो ?” साथीहरूले उसलाई हप्काए ।
            “आजदेखि यो जारको होइन, हाम्रो हो । जनताको सम्पत्ति हो ।” बन्दुकहरू सोझ्याउँदै लालगार्ड र सैनिकहरू अगाडि बढ्दै गए । तिनीहरूको नेतृत्व अन्तोनोभ ओभ्सेयन्को, एरेमेयभ, पोद्भोइस्की आदिले गरिरहेका थिए । निला पोशाक लगाएका दरबारका नोकरहरू डरले अताल्लिएका थिए । अस्थायी सरकारका सबै मन्त्रीहरूले आफूलाई एउटा हलमा बन्द गरेका थिए । युन्करहरूले त्यस हललाई सुरक्षा दिइरहेका थिए ।
            “युन्करहरू, अफिसरहरू, हतियार फ्याँक ! मन्त्रीज्यूहरू, तपाईँहरू गिरफ्तार हुनुभएको छ !”
            रात छिप्पिसकेको थियो । तर, स्मोल्नीका सबै झ्यालहरू तेज प्रकाशले जगमगाइरहेका थिए । सिँढी, गल्ली र कोठाहरूमा मानिसहरूको घुइँचो लागेको थियो । सबैजना निकै उत्तेजित थिए र व्याकुल भई शीतल दरबारको समाचार पर्खिरहेका थिए ।               जोड–जोडले बुट बजाउँदै सैनिक क्रान्तिकारी समितिका अध्यक्ष पोद्भोइस्की कोठामा प्रवेश गरे । अक्टोबर महिनाको चिसो र बतासले उनको मुहार कटकटिएजस्तो देखिन्थ्यो । “कामरेड लेनिन ! शीतल दरबार कब्जा गरिएको छ,” सैनिकी पारामा सलाम ठोक्दै उनले भने । लेनिन जुरुक्क उठे र पोद्भोइस्कीलाई च्याप्प समातेर अङ्गालो हाले ।
अनुवाद : माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *