भर्खरै :

मस्कोका चिट्ठी – ७

परिशिष्ट – III
गाउँलेहरूका लागि
            मित्रहरू, पश्चिमका धेरै विदेश भ्रमणपछि म आफ्नो देशमा फर्केको छु । मैले तपाईंहरूलाई भन्नैपर्ने के छ भने सायद तपाईँहरूमध्ये धेरैलाई यो कति सत्य हो भनी जानकारी छैन होला । पश्चिममा यति धेरै दुःख होला भनेर मैले कहिल्यै सोचेको थिइनँ । मानिसहरू खुसी छैनन् । उनीहरूले विलासी जीवनलाई धेरै अगाडि बढाएका छन् भन्ने कुरामा कुनै शङ्का छैन र सबै किसिमका विलासीका सामग्रीहरू सिर्जना गरिएका छन् । गहिरो अशान्ति छ, गहिरो दुःखले सबैतिर अँठ्याएको छ ।
            मैले यो सबै मेरो देशको बारेमा गर्व गर्दै व्यक्त गरिरहेको छु भनी नसोचिदिनु होला । वास्तवमा युरोपप्रति मेरो गहिरो श्रद्धाभाव छ । पश्चिमका मानिसहरूले आफ्नो कामप्रति देखाएको उत्तरदायित्व र यसको महत्वलाई इमानदारीका साथ स्वीकार पनि गर्दछु । स्वीकार नगर्नु गलत पनि हो भन्दछु । उसले मानवका लागि धेरै सम्पत्ति उपार्जन गरेको छ, शक्तिको बाटो फराकिलो बनाएको छ । तर, यी सब प्राप्तिका लागि उनीहरूले दुःख, पतन र पापको बाटो अवलम्बन गरेका छन् । यसका परिणामहरू हामी बिस्तारै देख्न थालेका छौँ ।
            त्यहाँ मैले धेरै महान् दार्शनिकसँग गफ गरेको छु । उनीहरू पनि चिन्तित छन् । गहन अध्ययन, गहिरो ज्ञान, ठुलो शक्ति भए पनि किन शान्ति र खुसी छैन ? उनीहरू त्रसित छन् किनभने विनासको नाङ्गो नाच जुनसुकै बेला पनि हुनसक्छ । उनीहरूको निष्कर्ष के हो भन्ने मलाई जानकारी छैन । उनीहरूले पनि सायद यसको मुख्य कारण थाहा पाउन सकेका छैनन् होला अथवा विभिन्न मानिसहरूले आ–आफ्नो मानसिकताको आधारमा भन्नाभिन्नै कारण इङ्गित गरेका छन् । यसबारे मैले पनि थोरै विचार गरेको छु । म निश्चित्त छैन कि मैले विचार गरेको कुरा सम्पूर्ण सही छ कि छैन । तर, मुख्य कारण के हो भन्ने कुरा मैले केही हदसम्म पहिल्याइसकेको छु भन्ने कुरामा म विश्वस्त छु । पश्चिमीहरूले उत्पादन गरेका सम्पत्ति एजेन्सीरूपी शक्तिशाली मानव निर्मित यन्त्रहरूबाट सम्भव भएको हो । सम्पत्तिको स्रोत नै यन्त्र हो । यन्त्रका स्रोत हजारौँ मानिसहरू हुन् । यस्ता सम्पत्तिको संरक्षणका लागि ठुला–ठुला संरचनाका सहरहरू निर्माण गरिएका छन् । सहरमा पेटहरू लगातार बढिरहेका छन् । यिनका परिधिहरू फराकिला हुँदै छन् । साना–साना धेरै गाउँहरूलाई निल्दै न्युयोर्क र लण्डनजस्ता ठुला–ठुला सहर भीमकाय बन्दै छन् । तर, यस्ता सहरका धेरैजसो मानिसहरू एक अर्कामा सम्बन्धित छैनन् । धेरै टाढा नजाऔँ हामी नजिकको सहर कलकत्तामा छिमेकीहरू आफ्ना दुःख–सुख एक अर्कामा बाँड्दैनन् । हामी एक अर्काको नामसमेत जान्दैनौँ ।
            मानवीय प्रवृत्तिको प्राकृतिक नियम सामाजिकता हो । मानव वृत्तमै कसैले समाजको सही शरण प्राप्त गर्दछ । म पारस्परिक सहयोगको फाइदाको बारेमा बोल्दिनँ । जो हरतरहले छिमेकीसँग सम्बन्धित हुन्छ र उसको सम्बन्धले संसारलाई गाँजेको हुन्छ, यसैको महानतामा खुसी छाउँछ । प्रयोगशालाको जस्तो सम्बन्ध नभएमा वास्तवमै हामीले सन्तुष्टि प्राप्त गर्नसक्छौँ । न यो सुविधाको सम्बन्धले प्राप्त हुन्छ न पेशाको । तर, यो सन्तुष्टि त यस्तो मित्रतामा हुन्छ जहाँ हामी निहित स्वार्थभन्दा माथि उठेका हुन्छौँ । त्यहाँ मानिस हरेक कुराबाट वञ्चित हुनसक्छ तर उसको आत्मामा बृहत् सन्तुष्टि हुन्छ ।
            विदेशमा खुसी केमा निहित छ भनी धेरै मानिसहरूले सोधेका थिए । मानिस खुसी तबमात्र हुन्छ जहाँ उसका सम्बन्धहरूसँग वास्तविक सम्बन्ध हुन्छ त्यो नै खुला सत्य हो जुन सबैले महसुस गर्नसक्छन् । तर, यो आज दोहोर्‍याउन आवश्यक छ किनभने यस्तो सम्बन्धलाई बेवास्ता गर्दा पनि मानिस उसको व्यवसायिक सम्बन्धबाट प्रशस्त दोहोर्‍याउन सक्छ । तर, यो सम्भ्यताको परिपूर्णता भने होइन । मानिसले धेरै नाफा कमाउला र धेरै शक्ति हासिल गर्ला । यसरी प्राप्त यान्त्रिक शक्तिले संसार जित्न सफल भइन्छ । पूरा फौजलाई नै अधीनमा राखेर दासत्वमा परिणत गर्न पनि सकिन्छ । यो सब मानिसको घमण्ड हो । यसमा अरु पनि फाइदाहरू छन् जसले जिन्दगी सरल बनाउँछ । मानिसहरूले सम्पत्ति थुपारेका छन् । मान्छेलाई अन्तिम लक्ष्य हासिल गर्न सजिलो छ र उसले यस्तो नसोचिकन बस्न पनि सक्दैन । मानिसले गहन सम्पत्ति गुमाइसकेको छ त्यो मानवीय सम्बन्ध हो ।
            मानिसलाई यस्तो मित्रको आवश्यकता छ स जसले सुख र दुःख आफूजस्तै सोचेर बाँड्छ जसको साथले प्रफुल्लित हुन्छ स जसको मातापितालाई आफ्नै सम्झन्छ र छोरा छोरीलाई पनि आफ्नै सरह व्यवहार गर्दछ । यस्तो अवस्थामा मानिसले मित्रवृत्तमा मानवता महसुस गर्नसक्छ ।
            दानवीय सम्पत्तिलाई मानवले आफ्नो शक्ति महसुस गरेको कुरा सत्य हो । सम्पत्ति पनि मूल्यवान कुरा हो । यसलाई म घृणा गर्दिनँ । तर, शक्तिको फैलावटले मानिसका सम्बन्धहरू साँघुरिँदै जान्छन् । यस्तो अवस्थामा सम्पत्ति मानिसका लागि मृत्युको कारण बन्नसक्छ । यो धन प्रयोग गरी हतियार गैरकानुनीरूपमा खरिद गरिन्छ अनि आफ्नै विनासको षड्यन्त्रका लागि प्रयोग हुन्छ । अनगिन्ती झूठको उत्पादनका लागि पनि प्रयोग हुन्छ । यसबाट निर्दयिता झाँगिन्छ र पछि विषवृक्षको बिजारोपण हुन्छ । यो पक्कै हुन्छ जब मान्छेले मानवतालाई उपयोगी वस्तुको रूपमा सोच्दछ, लाखौँ मानिसलाई आफ्नो विलासी जीवनको लागि औजारको रूपमा मात्र प्रयोग गर्दछ, उसले मानिसलाई मानव होइन यन्त्रको भावले हेर्दछ ।
            यहाँ हाम्रा धान चामलका मिलहरू छन् । त्यहाँको सन्थालहरु (एक भारतीय जाति) केटाकेटीहरू मिलका पाङ्ग्राहरूलाई राक्षसको रूपमा हेर्दछन् । के धनी मानिसहरूले उनीहरूलाई मानवको रूपमा हेर्दछन् ? के उनीहरूको दुःख र सुखलाई महत्व दिन्छन् ? उनीहरूको दैनिक पोखिएको रगत पसिनाबाट जबरजस्ती फाइदा उठाउँछन् । त्यसबाट उनीहरूलाई धन र आनन्द दिलाउँछ । तर, मानिसको सबभन्दा ठूलो सम्पत्ति भनेको मानवता हो भन्ने भावना देखिंदैन । दया माया पारस्परिक सहयोगको बारेमा कुनै
 कुरा बाँकी रहेन । उनीहरूलाई जेसुकै होस् । यसको कसले विचार गर्दछ ? कुनै बेला यहाँ ठुलो र सानो, मालिक र दास, विद्वान र मूर्ख, धनी र गरीबको भेद थिएन । तर, हरेकका आँखामा दुःख र सुखमात्र ख्याल गरिन्थ्यो । पारस्परिकता र सहकार्यले सामूहिकताको सही बाटो निर्माण गरेको थियो । उनीहरू हरेक दिन विभिन्न उद्देश्यका साथ भेला हुन्छन् । गाउँको मन्दिरमा भेट भएर त्यहाँ जान्ने बुझ्नेका कुरा सुन्दथे । स–साना केटाकेटीहरू पनि वार्तालापको आनन्द उठाउँथे । बाटो, पुल, हरेक सार्वजनिक वस्तुहरू ठुला, साना, विद्वान अशिक्षित सबका लागि खुला हुन्थे ।
            म यस्तो ग्रामीण अवस्थाको बारेमा बोल्दै छु, जहाँ त्यो गाउँ नै सबैथोक हुन्थ्यो । मैले सहरलाई बेवास्ता गरेको होइन । तर, यो सहायक थियो, मुख्य थिएन । अनगिन्ती विद्वानहरू थिए । धनी र सम्मानितहरू गाउँमै बस्दथे । आफ्नो जन्मभूमिलाई आफ्नै र आफँै बनाउँथे । सायद उनीहरूले पूरा जीवनभर शाही घरानामा काम गरेका थिए होलान् । आफ्ना सबै धन गाउँमै ल्याएको हुनुपर्छ । ठुला विद्यालय या शिक्षालयहरू यही धन प्रयोग गरी निर्माण गरिन्थ्यो । ग्रामीण पाहुनागृह, नाट्यशाला र चाडपर्वहरूमा गाउँलेहरूको मन र मस्तिष्कको संयोग हुन्थ्यो । गाउँको लागि धुकधुकिन्थ्यो किनभने त्यहाँ सही सामाजिक बन्धन थियो । सामाजिक मानिसहरूले गाउँमै शरण पाए र त्यो नै सबैथोक हो । करोडपति पैसाको पोकामै टाँसिएर बस्दछ र उसको हिसाब खाताभन्दा उसको महत्वको वस्तुको के हुन्छ र ? ऊसँग कोही सम्बन्ध राख्न चाहँदैन । ऊ त पैसाको घेराभित्र घेरिएको हुन्छ । उसको अरू मानिसहरूसँग कहाँ सम्बन्ध हुन्छ र ?
            वर्तमानसँग तुलना गर्दा हामीसँग धेरै कुराको अभाव थियो । अहिले हामी धाराको पानी खान्छौँ जुन पानीमा कमैमात्र किटाणु सङ्क्रमित हुन्छन् । हामीसँग चिकित्सक, अस्पताल र अरू ज्ञान विज्ञानका साधनहरू छन् । यी सबैलाई म कम आकलन गर्दिनँ । तर, त्योभन्दा पनि ठुलो धन हामीसँग थियो त्यो हो आफन्तप्रतिको अपनत्व । योभन्दा मूल्यवान कुरा केही छैन । जहाँ यसको अभाव हुन्छ त्यहाँ शान्ति र खुसी केही बाँकी रहन्न ।
            पूरै युरोपमा मानिस मानिसबीचको सम्बन्ध सतहीमात्र हुन्छ । यसको गहिरो जरा छैन । सबैले ‘म महान हुनुपर्छ, मैले सुख पाउनैपर्छ, मलाई सबैले चिन्नुपर्छ र मैले कमाउनैपर्छ भन्दछन् । धन सम्पत्तिको मापन गरी मानिस आफ्नो मनलाई आनन्दित बनाउँछन् । मैले कहीँ पनि यस्तो व्यक्तिगत शक्तिको पुजारी मानिसलाई देखेको छैन । जब च्याम्पियन बक्सर बाहिरिन्छ उसले आफ्नो मुठीमा हान्छ । जब त्यहीँ बक्सर बाहिर गल्लीमा हिँडेको हुन्छ । मानिसको भीडले उसलाई पछ्याएको हुन्छ । यस्तै यस्तै हल्लाहरू गल्लीमा, सिनेमाको भूमिका आदि ठाउँमा फैलिन्छ । यस्ताहरू करारभित्र गम्भीर भएर बसेका बेला भेदचाहिँ एक झलक देख्न बेचैन हुन्छ । हाम्रो देशमा जब हामी ठुला मगज भएकासँग बोल्छौँ । हामी उसको खुट्टाको धुलो लिन्छौँ । यदि महात्मा गान्धी आउनुभयो भने पूरै देश उत्तेजित भएर पागल हुन्छ । उहाँसँग न सम्पत्ति छ न शारीरिक कौशल नै । तर, उहाँसँग हृदय र आध्यात्मिक शक्ति छ । जहाँसम्म मलाई जानकारी छ उहाँले आफ्नो मुठ्ठी प्रयोग गर्न सक्नुहुन्न । यद्यपि उहाँले मानव सम्बन्धहरूलाई बुझ्नुभएको छ । उहाँले आफूलाई कहिल्यै हामीभन्दा अलग राख्नुभएन । उहाँ हाम्रो आफ्नो हुनुहुन्छ र हामी उहाँको कुरा त्यही नै हो । यसबाहेक हामी केही बुझ्दैनौँ त्यहाँ धेरै मानिसहरू शिक्षित छन्, धेरै अध्ययनशील र उहाँभन्दा धनी । तर, हाम्रो देशले उहाँलाई केका लागि पूजा गर्छ भने उहाँमा समर्पणको महानता छ ।
            के यो मामुली कुरा हो ? यसबाट हामी थाहा पाउँछौँ कि हाम्रो देशले के चाहन्छ । विद्वता होइन, धनसम्पत्ति पनि होइन मात्र मानव अध्यात्मको सम्पत्ति । तर, समय बितेसँगै कुरा परिवर्तन भएको छ । मैले गाउँमा लामो समय बिताएको छु । म चाप्लुसीका कुनै कुरा गर्न चाहन्न । गाउँको चित्र जुन अहिले देखेको छु पूरै कुरुप छ । विभिन्न प्रकारका इष्र्या, घृणा, धोखेबाजी एकअर्कामा देखिन्छ । गाउँलेहरू एक अर्कामा शत्रुता पैदा गरी झूठो मुद्धा लगाएर एकअर्काको विनाश गर्दछन् । नीचताको जरा कतिसम्म छ भन्ने कुरा मैले आफैँ महसुस गरेको छु । सहरमा केही फाइदाहरू छन् जुन गाउँबाट लोप भएका छन् । गाउँको जुन महानता थियो त्यसको आज विनाश भएको छ ।
            यस्तै यस्तै नमीठो अनुभव लिएर म तपाईं गाउँवासीसम्म आइपुगेको छु । पहिले तपाईंहरू सामाजिक बन्धनले एकताबद्ध हुनुभएको थियो । अचेल विभक्त भएर एक अर्कालाई लगातार चोट पुर्‍याउँदै हुनुहुन्छ । तपाईँहरूको शक्तिले फेरि सहकार्य पैदा गर्नुपर्छ । बाहिरी सहयोगको आशा नगर्नुहोस् । आफैँभित्रको शक्तिको महसुस गरेर उक्त शक्तिको उजागर गर्न हामी सहयोग गर्छौँ । सिङ्गो देशले तपाईंको ताकतको माग गरेको छ । यदि जग हल्लियो भने माथिल्लो तलाको गारोमा ठुलो धाजा फाट्छ । सामाजिक संरचनाको संरक्षण गर्न सकिन्न जसले यसलाई प्लास्टर गरोस् ।
            कामदार बन्नुहोस् दास होइन । हाम्रो मित्र हुनुहोस् र अनि हाम्रा प्रयासहरू सफल हुनेछन् । ग्रामीण क्षेत्रको सामाजिक जीवन स्वस्थ र तन्दुरुस्त होस् । यहाँका मनहरू सङ्गीत, काव्य, उत्सव, खुसी, शिक्षा आदिको समर्पण र सेवाले सबैको मन जागरुक होस् । तपाईंहरूको गरिबी, कमजोरी, स्वअपमान र हीनताबोध आदिले हिन्दुस्तानको छाती थिचेको छ । अरु सबै देशहरू अघि बढिरहेको बेला हामी भने अनभिज्ञता र शिक्षाको अभावले स्थिर छौँ । हामीले हाम्रो शक्ति र स्रोतलाई समेटेमा यी सबै चिजहरू निस्तेज भएर जानेछन् । जनताको शक्तिलाई एकीकरण गर्नु नै हाम्रो श्री निकेतनको कर्म हो ।
अनुवाद : भानु हुमागाईं   

Leave a Reply

Your email address will not be published. Required fields are marked *