भर्खरै :

भारतीय दबाबमा सीमा नाका खोल्नु आत्मघाती

सरकारले साउन ६ गतेबाट बन्दाबन्दी (लकडाउन) अन्त्य ग¥यो । यद्यपि, असफल प्रयोग बनेको सवारीको जोरबिजोर प्रणाली र सरकारी कार्यालय दुई सिफ्ट सञ्चालन भन्नेमात्रै हटेको अनुभव हुन्छ । भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान र अन्तरजिल्लाको लामो दुरीका सार्वजनिक बसहरू सञ्चालन भएपछि ‘लकडाउन अन्त्य’का नयाँ प्रभावहरू देखापर्नेछन् । लकडाउन अन्त्य घोषणा गरेपनि सरकारले विद्यालय कहिलेदेखि सञ्चालन गर्ने हो भन्न सकेको छैन । निजी विद्यालय मालिकहरूलाई फकाउनको लागि मात्रै भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न सक्ने अनुमति दिएको छ । भदौ १ पछि पनि खुला नगरिने भनिएका धेरै क्षेत्र छन् । शैक्षिक संस्था, भेला, प्रदर्शन, सिनेमा हल, सैलुन, पार्लर र जिमखानालगायत धेरै मान्छेहरू जम्मा हुने धार्मिक स्थललगायत माथिको प्रतिबन्ध हटेको छैन । सरकारले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भनेको छैन । केही सञ्चारमाध्यमहरूमा ‘सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिकबाहेक अरूलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै रहने’ भनी आएको समाचारले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय सीमा खुला हुने हो कि भन्ने संशय सिर्जना गरेको छ ।
‘लकडाउन’ कायम नै राख्दा मनोवैज्ञानिक त्रास कायम रहेकोले लकडाउन अन्त्य गरेको सरकारी स्पष्टिकरण छ । कोभिड – १९ सङ्क्रमणको त्रास हटाउन सरकारले लकडाउन अन्त्य गर्दा स्वास्थ्य सतर्कता हराउने हो कि भन्ने चिन्ता थपिएको छ । सामान्य नागरिकले चिन्तामुक्त सामान्य जीवन फर्किएको अवस्था बुझेमा असामान्य परिस्थिति नआउला भन्न सकिन्न । अझै पनि फुक्का भएर हिँड्ने बेला आएको छैन । काममै फर्कँदा पनि धेरै अपरिचितहरूको संसर्गमा जानुपर्दा अहिले झन् कोभिड–१९ सङ्क्रमणको जोखिम बढेको छ । यो जोखिममा पनि दैनिक जिविका चलाउन बाध्य भएर नै मानिस बाहिर आएका छन् । अपरिचित व्यक्तिहरूसँग व्यवहार गर्दा कसरी जोगिने भन्ने विषय नै आजको मुख्य चासोको विषय हो । शारीरिक दूरी कायम गर्ने र सरसफाइमा हरेक व्यक्ति व्यक्तिले नै आत्मानुशासन पालना गरेर जोखिम न्यूनीकरण गर्न सकिएला भन्ने आवाज उठेको छ । जरुर पनि कोरोना सङ्क्रमण न्यूनीकरणको लागि नागरिकको आत्मानुशासन एउटा पक्ष हो । यद्यपि, कोरोना सङ्क्रमण रोकथामको लागि सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । सरकार जवाफदेही र उसको काम प्रभावकारी नहुँदा व्यापक नेपाली जनताको मनमा कोरोना सङ्क्रमणको आतङ्कले बास गरेकै देखिन्छ ।
भदौ १ बाट लामो दूरीका सार्वजनिक सवारी र आन्तरिक हवाइ उडानमात्र होइन अन्तर्राष्ट्रिय उडानसमेत सञ्चालन भएपछि नेपाल – भारतबीचको सीमा नाका पनि खुलाउन दबाब बढ्नेछ । दबाबको अगाडि झुकेर नेपाल भारतबीचको खुला सीमा नाकालाई लकडाउन अगाडिको साविक अवस्थामा पु¥याउने हो भने नेपालभित्र नेपाली जनताले कोरोना सङ्क्रमण रोकथामको लागि जतिसुकै आत्मानुशासन पालना गरेपनि उक्त प्रयास निरर्थक हुने पक्का छ ।
नेपाल भारतबीच खुला सीमाको कारण को मान्छेले कुन बेला कुन नाकाबाट दुई देशको सीमा वारपार ग¥यो भन्ने कुनै अभिलेख हुँदैन । कोरोना सङ्क्रमण रोकथामको लागि दुवै देशले सीमा नाका पूर्णरूपमा बन्द गरेका थिए । एक अर्को देशको सीमामा जम्मा भएका आफ्ना नागरिकलाई भित्याउने र क्वारेन्टिनमा राख्ने काम पनि भयो । लकडाउन खुकुलो गर्दै गएसँगै सीमा नाकाबाट आ–आफ्ना नागरिक स्वदेश प्रवेशमा सहज बनाइएको छ । हिजोआज भारतबाट नेपाल प्रवेश गरेका नेपालीलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था नगर्दा थप सङ्क्रमणको जोखिम बढिरहेको छ । विदेशबाट आएका नागरिकलाई क्वारेन्टिनमा राखी स्वास्थ्य परीक्षण गरेर मात्र समाजमा घुलमिल हुन दिनुपर्ने दायित्वबाट सरकार पन्छिएको छ । विदेशबाट आएका व्यक्तिप्रति सरकार गम्भीर नबन्दा नेपालमा पनि समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको आशङ्का बढेको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको अनुमानकै आधारमा प्रदेश २ को वीरगन्ज र राजविराजलगायत स्थानमा निषेधाज्ञा जारी गरिएको छ । कोभिड – १९ सङ्क्रमण सङ्ख्या तीव्र गतिमा बढिरहेको वीरगन्जमा सङ्क्रमितहरूको मृत्यु पनि भइरहेको छ । त्यहाँ भारतीयहरूलाई सहज प्रवेश दिइएन भनी सीमा क्षेत्रका जनतालाई भारतीय सञ्चारमाध्यमहरू भड्काउँदै छन् । वीरगन्जबाट रक्सौलमा सामान किन्न रोक लगायो भनी नेपालविरुद्ध अफवाह फैलाउँदै छन् । त्यसैले लकडाउन अन्त्य भयो भनेपनि वा नेपालभित्र आवतजावत सहज बनाएपनि सीमा नाकामा विशेष सचेत हुनैपर्छ । सीमा नाकामा होशियारी अपनाउनैपर्छ ।
नेपाल–भारतको सीमा नाकाबाट आवातजावतमा रोक लगाइएपछि भारतीय सीमा क्षेत्रका व्यापारी र मजदुरहरूलाई बढी नोक्सानी भएको छ । नेपाली सीमा क्षेत्रका बजारमा भारतीय ग्राहक आउनेभन्दा कैयौँ गुना धेरै नेपाली ग्राहकहरू भारतीय सीमा क्षेत्रका बजारमा जान्छन् । भारतीय सीमा क्षेत्रका बजारहरू नेपाली ग्राहककै आधारमा चलेका थिए । नेपाली ग्राहक रोकिएपछि सीमाका भारतीय बजार सुनसान बनेका छन् । नेपालीभन्दा थुप्रै भारतीयहरू सीमा वारपार मजदुरी गर्छन् । खुला सीमाबाट भारतीयहरूले नै ज्यादा फाइदा पाइरहेका छन् । सीमा बन्द हुँदा भारतीय व्यापारीहरू आकूलब्याकूल भएका छन्, छटपटिएका छन् । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणको सम्भावनालाई बेवास्ता गरेर उनीहरू नेपालले जबरजस्ती सीमा नाका बन्द गरेको हल्ला गरिरहेका छन् । भारतीय सरकारले चीनको सहारामा नेपालले भारतीयहरूको आवतजावत रोकेको भ्रम फैलाइरहेको छ । कोभिड – १९ सङ्क्रमण रोकथाम र महामारीको कारण उत्पन्न दैनिक जिविकोपार्जनका समस्या समाधानको लागि आफ्नो सरकारलाई जिम्मेदार बनाउनुभन्दा पनि भारतीयहरू नेपाल र नेपालीविरुद्ध घृणा जगाउन उद्यत छन् । इतिहासजत्तिकै पुरानो जनसम्बन्धलाई बिथोल्न फासीवादी मोदी पक्षीय भारतीयहरूले विभिन्न बहानामा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गराइरहेका छन् ।
भारतको बिहार जोडिएका नेपालको प्रदेश १ र २ का सीमा नाकामा तैनाथ सुरक्षाकर्मीमाथि दैनिकजसो आक्रमण भइरहेको छ । शनिबार मात्रै पनि रौतहटस्थित परोहा नगरपालिका – ८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भयो । भारतको पूर्वी चम्पारण कवैया पञ्चायत – ६ खर्सलाहाका सीमादेवी कुशवाहाले हँसिया प्रहार गरी नेपाली सशस्त्र प्रहरीका एक जवानलाई घाइते पारेकी छन् । झडपलाई नियन्त्रणमा लिन नेपाली सशस्त्र प्रहरीले हवाई फायर गर्नुपरेको थियो । नेपाल भारतबीचको सीमामा शान्तिसुरक्षा सुदृढ बनाउन सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डिआइजी कृष्णभक्त ब्रम्हचार्य समेत घटनास्थल पुगेका थिए । झापादेखि पर्सा – चितवनसम्मै सिमानामा भइरहेका झडपमा शनिबार पहिलो पटक भारतीय महिलाहरू अगाडि आएका हुन् । पहिला सीमा क्षेत्रमा बस्ने भारतीयहरूमा नेपाल र नेपालीहरूप्रति आक्रोश र घृणा थिएन । आज भारतीय फासीवादी र विस्तारवादी शासकहरूले जबरजस्ती सीमा क्षेत्रका जनतालाई नेपालविरुद्ध हमला गर्न पठाइरहेका छन् । आज सीमामा खटिएका नेपाली सुरक्षाकर्मीलाई हमला गर्न आउने सीमा क्षेत्रका महिलाहरू सामान्य भारतीय नागरिक होइनन् । ती नागरिकहरू आफ्नो व्यक्तिगत आवश्यकताले मात्र नेपाल प्रवेश गर्न लागेका पक्कै होइनन् । तिनीहरूको पछाडि भारतीय सशस्त्र सुरक्षा फौज एसएसबी छ । एसएसबीको भरोसा र इशाराविना तिनीहरूले दशगजा नाघेका होइनन् । किनभने, चैतदेखि आजसम्म सीमामा तस्कर, किसान वा महिलाहरूसँगको झडप रोक्न वा भारतीयहरूलाई सम्झाउन कहिल्यै पनि एसएसबी अगाडि आएको छैन । बरु घटनालाई बल्झाउन खोजिरहेको छ । जेठ ३१ गते सर्लाहीमा सशस्त्रको हतियार खोस्न आउँदा मारिएका भारतीयलाई खेतमा काम गरिरहेको किसानलाई मारेको भनी दुस्प्रचार गरे भारतीय सञ्चारमाध्यमले । लकडाउनलगत्तै बिहारसँग जोडिएका सिमानामै बरोबर झडप हुनुले भारतीय शासकहरूको योजनाबद्ध हमलाहरू त होइनन् भन्ने प्रश्न उठाएको छ ।
सिमानामा दैनिकजसो भारतीय पक्षबाट थिचोमिचो भइरहेको बेलामा नेपाली शासकहरू सत्ताको झगडामा अलमलिएका छन् । सीमाको रक्षा गर्न र कोरोना रोकथामको लागि सीमाबाट विदेशीहरूको प्रवेश रोक्न नेपाली सुरक्षाकर्मीहरूलाई उच्च मनोबलका साथ डटेर लाग्न प्रेरित गर्नुपर्ने सरकार आफै कुहिराको काग बनिरहेको छ । त्यसैले शनिबार नै विश्व शान्तिको मुहान गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट दक्षिण कालीदह सीमा नाकामा खटिएका सशस्त्र र जनपथ प्रहरी भन्दै थिए, “पहिल्यैदेखि हेप्दै आएको हो । अहिले पनि उनीहरूले पठाएको व्यक्तिलाई हामीले भित्याउनैपर्ने जस्तो गर्छन् ।
सीमा नाकामा सुरक्षाकर्मी बढाउनुपर्छ ।” सीमा नाकाको शान्तिसुरक्षा र कोभिड – १९ सङ्क्रमण रोकथामको लागि सरकार जिम्मेवार भई एकचित्तले अगाडि बढ्नुपर्छ । सीमा नाकामा जनशक्ति बढाइनुपर्छ । महामारी रोकथामकै नाममा सही दशगजाको समानान्तर तैनाथ गरिएका सशस्त्र प्रहरी बलको स्थायी ब्यारेक बनाइनुपर्छ । सीमा नाका बन्द गर्ने कामलाई कडा र व्यवस्थित बनाउनुपर्छ । आज भारतमा दैनिक पचासौँ हजार कोभिड–१९ सङ्क्रमित फेला परिरहेको बेलामा भारतीय दबाबमा सीमा नाका खोल्न हतार गर्नु आत्मघाती हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *