भर्खरै :

गाउँका सिपालु महिला

  • श्रावण १८, २०७७
  • आर के श्रेष्ठ
  • समाचार

कमला मगर एक गृहिणी महिला हुन् । उनको परिवारमा श्रीमान् र साढे दुई वर्षकी छोरी छन् । घरको रोपाइँ सकिएलगत्तै उनी टेलर गर्न थालेकी छिन् । बेलैमा सिकेको सीपको सदुपयोग हुँदा र टेलर चलाएर घरमा नुन तेल खर्च जुटाउन सकेकोमा कमला आफूलाई गर्वानुभूति महसुस भएको बताउँछिन् । उनको श्रीमान् मौसमी तरकारी खेती गर्छन्  । समय मिलाएर उनले श्रीमान्को काममा पनि सहयोग गर्छिन् ।
सानी छोरी नजिकै झोलुङ्गोमा सुतिरहेको देखिन्थ्यो । कमला कपडा मिलाउँदै आइरन दल्दै थिइन् । साथमा दुईवटा टेलर मेसिन रहेको छ । श्रीमान् बाढीपहिरोले बिगारेको सिँचाइ कुलो बनाउन र मुहान मर्मत गर्न गएको उनले जानकारी गराइन् ।
इच्छाकामना गाउँपालिका –७, भालुमारास्थित उनको गाउँमा तामाङ, मगर, गुरुङ, चेपाङलगायतका मानिसहरूको बसोबास रहेको छ । मानिसहरू सानोतिनो लोभलालचमा फसेको देख्दा कमलालाई दुःख लाग्छ । उनको श्रीमान् नेमकिपामा लाग्दा उनलाई खुसी लागेको छ । पार्टीले इमानदार, सेवाको भाव र सङ्घर्षशील बन्न सिकाएको छ । गाउँमा टाठा बाठा भन्नेहरू नै शक्ति, पद र व्यक्तिगत स्वार्थमा फसेको उनको बुझाइ छ । पहिलेभन्दा अहिले मानिसहरू बाठोजस्तो बने तापनि लोभी र स्वार्थी हुँदै गएको कुरा उनको मनमा परेको छ । राजनीतिक र सामाजिक ज्ञान सिक्नु, र बुझ्नु पर्दछ । तर, गाउँका धेरै महिलाहरू घरभित्रै सीमित रहन परेको कमलाको बुझाइ छ ।
कमलाले मानिसहरूलाई गाउँमै सेवा दिने गरी बजारमा भन्दा सस्तो महिलाहरूको कपडा सिलाउँदै आएकी छिन् । सीपमूलक कार्यक्रमहरूले गाउँका महिलाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने उनको विचार छ ।
त्यस्तै, सो गाउँकै निमाविमा पढाउने मेनुका थापा मगरको बन्दाबन्दीको समय धारायसी काम र चार वर्षको छोरोको रेखदेखमै बितिरहेको छ । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसबाट कमर्स विषयमा स्नातक तह उत्तीर्ण गरेकी उनले नेक्राविसङ्घमा आबद्ध रहेर विद्यार्थी राजनीति र समाजलाई बुझेको र त्यहाँबाट सिकेका कुरा विद्यार्थीमाझ सिकाउने र बुझाउने काम पनि गरेकी छिन् ।
मेनुकाको पाँच वर्षअघि विवाह भएको थियो । श्रीमान्को घर बर्दिया जिल्ला भए पनि उनी चितवनमै रहँदै आएकी छिन् । उनले दुई वर्ष अघिदेखि पढाउन थालेकी हुन् । विद्यालयमा शिक्षक, कर्मचारी भर्ती हुँदा राजनैतिक शक्ति र बलको प्रयोग हुने कुरा आफू स्वयम्ले भोग्नुपरेको उनी सुनाउँछिन् । उनले आफूले त्यस्ता फोहोरी राजनीतिको विरोध गर्दे आए पनि राजनैतिक आड भरोसामा विद्यालयमा शिक्षक कर्मचारीहरूलाई बिदा मिलाउने गरेको पनि उनको तीतो भोगाइ रहेको छ ।
बन्दाबन्दीमा विद्यार्थीहरू घरमै पनि स्वअध्ययन गर्नुपर्ने हो । तर, गाउँका प्रायः विद्यार्थीहरू घरको काम गर्न र खेल्नमा नै बढी ध्यान दिएको मेनुकाको बुझाइ छ । इच्छाकामना गाउँपालिकाले टोलटोलमा विद्यार्थीलाई जम्मा गराएर दैनिक केही समय पढाउने भनिएतापनि त्यसरी पढाउन सम्भव नभएको उनको भनाइ छ । अहिले घर – घरमै पुगेर गृहकार्य दिने र चेक गर्ने गरेको उनले बताइन् ।
आफूले नेक्राविसङ्घमा आबद्ध रहेर सिकेको बुझेको राजनीति, समाजमा अहिले देखिएको र भइरहेको राजनीतिभन्दा पृथक भएको उनको बुझाइ छ । नयाँ पुस्तालाई इमानदारिता र देशभक्त बनाउन विद्यालयमा सबल, सक्षम र इमानदार शिक्षक हुनुपर्ने उनको विचार छ । त्यसैले आफूले सकभर विद्यार्थीलाई सक्षम र समाजसेवा गर्न प्रेरित गर्दै देशको योग्य नागरिक बनाउन दृढ भएर लागेको उनी बताउँछिन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *