भर्खरै :

गाईजात्रामा भजन, नाचगान र घिन्ताङघिसी प्रदर्शन नगरौँ

भक्तपुर नगरपालिकाले यस वर्षको गाईजात्रामा कुनै पनि घिन्ताङघिसी, परम्परागत नाचगान एवम् आधुनिक विधाका सांस्कृतिक प्रदर्शनीहरू नगर्न भक्तपुरवासीमा हार्दिक अनुरोध गरेको छ । गाईजात्रा पर्व अवलोकन गर्न उपत्यकाका सहर, गाउँ र नजिकका बासिन्दाहरू आउने तथा भक्तपुर नगरका सबैजसो ठाउँमा सांस्कृतिक गतिविधि हुने हुँदा विश्वमै फैलिरहेको कोरोना भाइरस समुदायमा सङ्क्रमण फैलिने सम्भावना भएकोले भक्तपुर नगरपालिकाले भक्तपुरवासीमा घिन्ताङघिसी र नाचगान प्रदर्शन नगर्न आग्रह गरेको हो । भक्तपुर नगरपालिकाको उक्त निर्णय या आग्रह लागू गर्न वडा–वडामा सरोकारवालाहरूको भेटघाट भइरहेको छ । वडा कार्यालयको आमन्त्रणामा मृतक परिवारका सदस्य, डाफाभजन, सांस्कृतिक टोली र पूर्वजनप्रतिनिधिहरूको भेलामा कोरोना भाइरसको सङ्क्रमण रोक्न या फैलिन नदिन वडा–वडामा घिन्ताङघिसी नल्याउन, नाचगानको प्रदर्शन नगर्न र भजन नल्याउने निर्णय भएको खबर जानकारीमा आएको छ ।
कोरोना भाइरस प्रकोपको रूपमा समुदायमा फैलिएमा कोरोना पीडितहरूको स्वास्थ्य सेवा सामग्री र राख्ने ठाउँको अभावले चाहेर पनि उपचार गर्ने स्थिति हुँदैन । उपचार गर्न नपाएरै मृतकको सङ्ख्या बढ्ने सम्भावना भएकोले सर्वसाधारण जनता समयमै सचेत हुनु आवश्यक छ । सुरुका दिनमा भन्दा हाल कोरोना भाइरस पीडित र मृतकहरूको सङ्ख्या बढिरहेकोले पनि सतर्कताको आवश्यकता छ । भक्तपुरको सन्दर्भमा कोरोना भाइरस समुदायमा फैलिँदैन, फैलिए पनि मर्दैन भनी बेवास्ता भएमा नसोचेझैँ कोरोना भाइरस फैलिन सक्छ । रोग फैलिएमा वडाको चोक, गल्ली, सडकमात्र होइन भक्तपुर नगर या भक्तपुर जिल्ला नै लकडाउन गर्नुपर्ने स्थिति आउनसक्छ ।
जात्रामा स्वाभाविकरूपमा भीड हुन्छ । जात्राका दर्शालुहरू कहाँ को को आउँछन् भन्ने कुरा यकिन हुँदैन । जो कोही व्यक्ति समुदाय या भीडभित्र छिर्ने हुँदा कसले कसलाई रोग सार्छ भन्ने थाहा हुँदैन । जात्रा, भजन, नाचगान र घिन्ताङघिसीमा चाहेर पनि कसैले आग्रह गरे पनि सामाजिक दुरी कायम गर्न सकिँदैन । सबैसँग मास्क हुँदैन । सबैले स्यानिटाइजर लगाएको हुँदैन । यस्तो स्थितिमा कुनै एक सङ्क्रमित व्यक्ति समुदायमा भिजेर त्यो रोग सार्न सकिन्छ । यसको विकल्प भनेको यो वर्ष घिन्ताङघिसी नल्याउनु हो, नाचगान र भजन नल्याउनु नै हो । रोग फैलिनुअघि नै हामीले बुद्धि पु¥याउनुपर्छ ।
टोलटोलबाट ल्याइने विभिन्न देवी देवताका मूर्तिहरूको नगर परिक्रमा पनि विना बाजागाजा सञ्चालन गरिनुपर्छ । लाकोलाछेँबाट ल्याउने परालको ‘भैल द्यो’ पनि प्रतीकस्वरूप ल्याएर औपचारिकतामा सीमित गरिनुपर्छ । मृतक परिवारका घरबाट ल्याउने ‘साँचा’ र ‘ताहामचा’ या मृतकको प्रतिमा नगर परिक्रमा गराउने तर त्योसँगै भजन, नाचगान र घिन्ताङघिसीको प्रदर्शन नगर्ने र नगराउनेतर्फ हामी सचेत हुनुपर्छ । गाईजात्रा अवलोकन गर्ने दर्शकहरू पनि सकेसम्म सामाजिक दुरीमा बस्ने, मास्क राख्ने, बरोबर साबुन पानीले हात धुने र मनोरञ्जन गर्नुपर्छ भनी अनावश्यकरूपमा घुमफिर गर्न नहुनेतर्फ हामी सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *