भर्खरै :

काठमाडौँ उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्ने

काठमाडौँ उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्ने

काठमाडौँ, १२ वैशाख । “काठमाडौँ उपत्यकाको भाषा, संस्कृति, रहनसहन र सभ्यता विश्वकै उत्कृष्ट रहेको हुँदा आफैँमा जीवन्त सङ्ग्रहालय रहेको र यसलाई देशकै सांस्कृतिक राजधानी बनाउनुपर्ने आवश्यकता छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार काठमाडौँमा आयोजित संस्कृतिकर्मीहरूको भेलामा बताउनुभएको हो ।
नेपालमा सांस्कृतिक अतिक्रमण भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “भाषा र संस्कृति रहेन भने हाम्रो परिचय समाप्त हुन्छ ।”
प्रमुख प्रजापतिले पुर्खाले नासोको रूपमा छोडेको मूर्त तथा अमूर्त सम्पदाहरू संरक्षण गरी पुनःनिर्माण गर्न नयाँ पुस्ता सक्षम हुनुपर्नेमा जोड दिँदै सम्पदा पुनःनिर्माणमा विदेशी सहयोगले मौलिकता गुम्ने खतरा औँल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले सांस्कृतिक पुनर्जागरण ल्याउने प्रयास गरिरहेको चर्चा गर्दै मौलिक गुँला बाजाको प्रबद्र्धन तथा बाजाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरेको प्रस्ट पार्नुभयो ।
गुँला बाजा व्यवस्थापन समिति काठमाडौँमा अध्यक्ष अमिरमान शाक्यले सांस्कृतिक सम्बन्ध विस्तारको लागि भक्तपुर नगरपालिकाले गरेको प्रयास सकारात्मक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नपाको आयोजनामा यही वैशाख २२ गते हुने खुला गुँला बाजा प्रतियोगिताबारे जानकारी दिनुभयो ।
सांस्कृतिक गुरुहरू डा. पुष्परत्न शाक्य, देवचन्द्र बज्राचार्य, त्रिरत्न मानन्धरलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा गुँला बाजा प्रतियोगितालाई उत्सवकै रूपमा मनाउनुपर्ने र देशभरिकै गुँलाबाजाकर्मीहरूलाई सहभागी गराउने वातावरण बनाउन सुझाव दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *