भर्खरै :

सक्वको म राजदास – ४३

 
राजदरबारमा महान् कविको अपमान
‘मिखाइलोभस्काया’ मा निर्वासित कवि पुश्कीनलाई फकाइफुलाई अब जार निकोलाई प्रथमले रुसमा आफ्नो शासनमा सुधार ल्याउनेछ, क्रान्तिको जरुरी छैन भनी जार निकोलाईको सेन्सरसीपमा उनलाई निर्वासनबाट मुक्ति दिलाएर राजधानी सेन्ट पिटर्सवर्गमा ल्याइयो । पुश्कीन पनि आफू अब स्वतन्त्र भएर जिउन पाउने आशामा जारको आदेशअनुसार सेन्ट पिटर्सवर्ग आए । तर, दुष्ट नियत भएको पुश्कीनको क्रूर शासनको वास्तविक योजना बुझ्न सकेनन् । पिटर्सवर्गमा बस्न आएपछि पुश्कीनलाई राज्यको स्वीकृति र पूर्व जानकारीविना राजधानीबाहिर जाने अनुमति दिइएन । एक निर्भिक निडर कविलाई परिबन्दमा फसाइयो । जार शासकले निर्वासनबाट मुक्ति दिने र देशको राज्य–व्यवस्थामा सुधार ल्याउने निहुँमा पुश्कीनका प्रत्येक कृति प्रकाशन गर्नुअघि जार निकोलाईलाई देखाउनुपर्ने गरियो ।
पुश्कीनलाई पिटर्सवर्ग आएपछि तिमी पूर्णरूपमा स्वतन्त्र हुनेछौ भनी भन्न त भनिएको थियो । उनको लेख र प्रकाशनमा आफूखुसी यात्रा गर्न, पढ्न, लेख्न, पत्रिका एवम् जर्नलहरू प्रकाशन गर्न र कुनै पनि प्रकारको सेन्सर हुनेछैन भनिएको थियो । तर, वास्तविकता ठीक उल्टो निस्कियो । रुसको राजधानी पिटर्सवर्ग आएर बसेको केही समयपछि जारशाहीका सैनिक प्रमुख काउन्टर बेन्केडोर्फले पुश्कीनलाई सुनाए कि पूर्व जानकारीविना अथवा पूर्व स्वीकृतिविना पुश्कीनले राजधानी सहर छाडेर यताउता जान पाउने छैनन् । कुनै पनि साहित्य सम्मेलनमा सहभागी भई आफ्ना रचनाहरू वाचन गर्न पाउनेछैनन् ।
सन् १८२६ मा निर्वासित जीवनबाट राजधानी पिटर्सवर्ग आउँदा पुश्कीन २७ वर्ष भइसकेका थिए । सन् १८२९ मा रुसका नतालिया गन्छ्यारोभासँग उनको विवाह सम्पन्न भयो । तर, विवाह हुनुपूर्व नातालियाले पुश्कीनलाई उनी र सरकारबीचको अस्पष्ट सम्बन्ध तोड्न सर्त राखेकी थिइन् । पुश्कीन र राज्य सरकारबीच एक अन्योन्याश्रित सम्बन्ध कायमै रहेको थियो । जारशासकले पुश्कीनलाई हरतरहले दुःख दिइरहेका थिए ताकि उनको साहित्य सृजना र गतिविधिले रुसका जनता जारशाहीविरुद्ध फेरि आन्दोलनमा नउत्रिऊन् ।
पुश्कीनलाई विवाहको उपहार भनी जारशासक निकोलाई प्रथमले पुश्कीनले लेखेको नाटक ‘बोरिस गोडुनोभ’ प्रकाशन गर्न स्वीकृित दिए । सन् १८३१ मा रुसमा प्रथम पटक ‘बोरीस गोडुनोभ’ प्रकाशित भयो । उक्त ड्रामा पुश्कीनले सन् १८२४–२५ मा आफू मिखाईलाभस्कायामा निर्वासनमा बसिरहँदा लेखेका थिए ।
विवाहको खुसीयालीमा प्रकाशन गर्न स्वीकृति दिए पनि त्यो प्रकाशित पुस्तक सर्वसाधारण जनताले पढ्न पाउने अधिकार थिएन । स–साना समूहमा गोप्यरूपमा निश्चित सर्कलका मानिसबीच मात्र पढ्न दिइएको थियो । अन्तमा, रुसमा ३० वर्षपछि सन् १८६६ मा मात्र ‘बोरीस गोडुनोभ’ सार्वजनिक भयो ।
चार वर्षसम्मको पर्खाइपछि आफ्नो उत्तरदायित्वमा पुश्कीनलाई ‘गोडुनोभ’ प्रकाशन गर्न स्वीकृति दिइएको थियो । त्यसपछि १८३० को मे ६ तारिखमा पुश्कीनको वैवाहिक सम्बन्ध आधिकारिकरूपमा स्वीकृत भएको थियो । यद्यपि, १८२९ मा नै उनको विवाह भइसकेको थियो ।
नतालिया गोन्छ्यारोभा सुन्दरी थिइन् । उनको सुन्दरतामा धेरै युवकहरू आकर्षित थिए, यहाँसम्म कि जार निकोलाई स्वयम् गान्छ्यारोभामाथि नजर राख्दथे ।
आफ्नो विवाहको उपहारस्वरूप पुश्कीनले आफ्नो बुबाबाट आधा सम्पत्ति पाएका थिए र रुसको केन्द्रीय भागमा रहेको उक्त सम्पत्तिको जोहो गर्न पुश्कीन किश्लेनेभो सहर गएका मात्र थिए, हैजाको महामारीमा परेर ३ महिना क्वारेन्टिनमा बस्नुपरेको थियो । तर, संयोगले उक्त तीन महिना पुश्कीनको लागि ‘बरदान’ साबित भयो । यस समयमा बोल्डिनोमा रहँदा पुश्कीनले कैयौँ उत्कृष्ट रचनाका साथै चार दुखान्त नाटकमध्ये ‘मोचार्ट एन्ड सालेरी’ पनि लेखेका थिए । ‘एभ्गेनी आनेगीन’ को अन्तिम भाग पनि सकाएका थिए ।
रुसका सर्वाधिक सुन्दरी भनी प्रख्यात नतालिया गन्छ्यारोभासँगको विवाह रुसको मस्को सहरमा सन् १८३१ को फेब्रुअरी १८ तारिखमा भएको थियो ।
विवाहपछि पुश्कीन दम्पत्ति सेन्ट पिटर्सवर्ग नजिक रहेको ‘जारस्कोए सेलो’ भन्ने एक सहरमा बसोबास गर्न गए । एकान्त सुन्दर‘जारस्कोए सेलो’ (जारको गाउँ) मा आफ्नो दाम्पत्य जीवन बिताउन गएका पुश्कीनले धेरै समय भने बिताउन पाएनन् ।
पिटर्सवर्गमा फैलिएको हैजाको महामारीले गर्दा जारको परिवार ‘जारस्कोए सेलो’ मा आश्रय लिन आएको कारण पुश्कीनलाई उक्त गाउँ–सहरबाट हटाइयो र अक्टोबर १८३१ मा आफ्नी श्रीमतीसाथ पुश्कीन पिटर्सवर्ग सहरभित्र एक अपार्टमेन्ट बहालमा लिएर बस्न गए ।
३० डिसेम्बर १८३३ जार निकोलसले नतालियामाथि गिद्धे नजर राख्दै पुश्कीनलाई ‘कामेर जुन्कर’ भन्ने एक सानो राजकीय पदवीले सुसज्जित गरे । जारको यस कार्यले पुश्कीनले आफू धेरै अपमानित र अवहेलित हुन पुगेको महसुस गरे । किनकी उनलाई थाहा थियो त्यो पद उनलाई सुहाउँदो थिएन र दरबारियाहरूले मात्र पाउने पदवी थियो त्यो । तर, जारले दिएको पदवी अस्वीकार गर्दा त्यसको नतिजा राम्रो नहुने निश्चित थाहा पाएर पुश्कीन उक्त पदवी लिन बाध्य भए । अब उनी आफ्नो श्रीमतीका साथ जारको दरबारमा हुने हरेक समारोहमा हरेक फेस्टिभल र डान्स प्रोग्राममा सहभागी हुन बाध्य भए । उक्त राजकीय समारोह, भोज भतेर र नृत्य (बाल नृत्य) मा उपस्थित हुन श्रीमतीलाई नयाँ–नयाँ, राम्रा–राम्रा, महँगा पोशाकहरू र गरगहना जोहो गर्नुपर्ने भयो जुन पुश्कीनको क्षमताभन्दा बाहिरको कुरो थियो । यसले गर्दा पुश्कीनलाई ठुलो आर्थिक समस्या उत्पन्न भयो र उनलाई ठुलो मानसिक दबाब प¥यो ।
राजदरबारमा हुने भोजभतेर र डान्स प्रोग्रामहरूमा पुश्कीनकी श्रीमतीमाथि दुव्र्यवहारहरू हुनथाले र उनीमाथि अपमानजनक प्रस्तावहरू आए । सन् १८३४ को मार्च महिनामा नतालियाको गर्भपतन हुनेसम्मका दुःखद घटना घटेको थियो । यस घटनाबाट पीडित पुश्कीनले सन् १८३४ जून २५ तारिखमा आफ्नो पदवीबाट राजीनामा दिए । तर, जार निकोलाईको सम्भावित क्रोधबाट बच्न पुश्कीनले आफ्नो राजीनामा फिर्ता लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *