भर्खरै :

लेनिन कथा – २४

मृत्युशय्यामा लेनिन
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाङ्की प्रस्तुत गर्ने गहकिलो एवम् प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मारिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्लो अङ्कमा हामीले क्रान्तिपश्चात्का सोभियत रुसका जटिल तर उत्साहवद्र्धक कदमहरूको बारेमा पढ्यौँ ।)
हमला
बारेन्त्स सागरको किनारमा, सन् १९१४ मा मुर्मान्स्क नामको एक नयाँ सहर बसालिएको थियो । यो सहरको उत्तरमा एक सानो तर महत्वपूर्ण बन्दरगाह थियो ।
सन् १९१८ को वसन्तको एक दिन । एकाबिहानै, समुद्रमाथिबाट कुहिरो पनि हटेको थिएन । कुहिरोबाट सैनिक जहाजको कालो आकृति प्रकट भयो । त्यसका तोपहरूले निशाना साँधिरहेका थिए । यो मुर्मान्स्क बन्दरगाहमा घुसेको बेलायती युद्धपोत थियो ।
त्यत्तिकै अप्रत्याशित ढङ्गले अर्को युद्धपोत पनि त्यसको छेउमा टुप्लुक्क आएर उभियो । यो फ्रान्सेली युद्धपोत थियो । त्यसको पछिपछि अमेरिकी युद्धपोत पनि बन्दरगाहमा प्रवेश ग¥यो ।
सोभियत रूसको धर्तीमा विदेशी सैनिक ओर्लिए ।
तिनलाई एटेन्टले पठाएको थियो । त्यसबेला ब्रिटेन, फ्रान्स र संयुक्त राज्य अमेरिकाको सैन्य गठबन्धनलाई एटेन्ट भनिन्थ्यो । यो गठबन्धन पुँजीपतिहरूको, बुर्जुआ सरकारहरूको गठबन्धन थियो । एटेन्टले रूसमा सोभियत सत्ता उल्टाउन चाहन्थ्यो । उसलाई अन्य देशका मजदुरहरूले पनि रूसीहरूको देखासिकी गरेर आ–आफ्ना देशमा क्रान्ति गर्छन् कि भन्ने डर थियो ।
गर्मीको मध्यतिर एटेन्टका युद्धपोतहरू श्वेत सागरमा प्रवेश गरे । यहाँ श्वेत सागरमा उत्तरी द्विना नदी मिसिन्थ्यो । नदीको मुहानबाट करिब पचास भेस्र्तको दुरीमा, युद्धपोत र जहाजहरूले खचाखच भरिएको यो विशाल नदी आसपास काठका फुटपाथ, दाउराका गोदाम र काठ मिल
(फर्निचर) भएको एउटा साँघुरो सहर बसेको थियो । नदीको पुछारले टुण्ड्रा सहर छुन्थ्यो । यो सहर हाम्रो सैनिक र व्यापारिक बन्दरगाह अर्खान्गेल्स्क थियो ।
एटेन्टले अर्खान्गेल्स्क सहर कब्जामा लियो । एटेन्टको हमलामा रूसी बुर्जुआ वर्गले खुसी मनायो । दुवैको एउटै सपना थियो – सोभियत सत्ता अपदस्थ गर्ने । अर्खान्गेल्स्कमा प्रतिक्रान्तिकारी विद्रोह सुरु भयो । असमान लडाइँमा सयौँ मजदुर, लाल सैनिक र सोभियत नाविकहरूले वीरगति प्राप्त गरे ।
अहिलेसम्म चुपचाप बसेका बुर्जुआ वर्ग र व्यापारीहरू फेरि सक्रिय भए । जारशाही अफिसरहरूले आफ्नो बर्दी फेरि भिरे । गिर्जाघरका घण्टीहरू जोड–जोडले बजाउन थालियो । धन्यवाद ज्ञापन गर्ने अनुष्ठान सुरु भए । उत्तरमा प्रतिक्रान्तिकारीले हमला सुरु गरेका थिए । प्रतिक्रान्तिकारीहरूको आगो सुदूर पूर्वमा पनि फैलिएको थियो । साइबेरिया र उराल हुँदै भोल्गा क्षेत्रसम्म पुगेको थियो । शत्रुका युद्धपोतले भ्लादिभोस्तोकको बन्दरगाहमा आफ्ना सैनिक उतारेका थिए ।
साइबेरियाका गाउँहरूमा कुलाक वा धनी किसानहरूको विद्रोह सुरु भएको थियो । गरिब किसानका समिति र कम्युनिस्टहरू तिनका निर्मम हमलाको तारो बनिरहेका थिए ।
दोन र कुबान क्षेत्रका सहर र गाउँहरूमा रगत बगिरहेको थियो । श्वेत गार्डका जनरलहरूले दोन र कुबानमाथि कब्जा गरेका थिए । उक्राइनमा जर्मनीको कब्जा थियो ।

सोभियत रूसको चारैतिर शत्रुको घेरा कसिँदै थियो ।
बिहानको समय थियो । सूर्य उदाइसकेको थिएन । क्षितिजमा अलिअलि उज्यालो देखिन थालेको थियो ।
लेनिन क्रेमलिनबाट निस्किए । जनकमिसार परिषद्का अध्यक्षको कार्यकक्ष केही कदमको दुरीमा थियो ।
गल्लीको पुछारमा रहेको ढोकामा एकजना पहरेदार उभिएको थियो ।
“नमस्ते,” लेनिनले पहरेदारलाई अभिवादन गरे ।
नियमसँग बाझिए पनि लेनिनले सधैँ पहरेदारहरूलाई नमस्ते गर्थे । पहरेदार लेनिनलाई देख्नासाथ सतर्क भई उभियो र आश्चर्य मान्दै सोच्न लाग्यो, “आखिर यिनी कतिखेर सुत्छन् ?”
अलि अघि मात्र, झिसमिसेमै जनकमिसार परिषद्का अध्यक्ष घर फर्किएका थिए । अहिले सूर्य अझै राम्रोसँग निस्किन नपाउँदै उनी पुनः काममा लागे ।
लेनिनको कक्षमा दुई झ्यालहरूबीच भित्तामा ठुलो नक्सा टाँगिएको थियो । लेनिनले हात पिठ्यूँपछाडि राख्दै अबेरसम्म त्यस नक्सामा मोर्चाका लाइनहरू हेरिरहे । उनलाई लडाइँ चलिरहेका सबै सहर र ठाउँहरूबारे थाहा थियो । उनी सबै कमान्डर र कमिसारहरूलाई पनि चिन्थे र उनीहरूको चरित्र, स्वभाव र योग्यता बुझ्ने कोसिस गर्थे । शत्रुहरूले सोभियत धर्तीमा आक्रमण गर्दा जनताबाट धेरै प्रतिभाशाली कमान्डर देखापरेका थिए । उदाहरणका लागि, भसिली तनोभिच चपायोभलाई नै लिउँ । उनी सच्चा जननायक थिए । उनको शौर्य र सैनिक सुझबुझका बारेमा कहानीहरू बनिसकेका थिए । त्यस्तै, क्लीम भोरोशिलोभको नाम देशका हरेक केटाकेटीको मुखमा झुन्डिएको थियो  ।
लेनिनले बडो आदर र विश्वासका साथ फ्रुँजेलाई सम्झे । डिसेम्बर, १९०५ मा बोल्शेभिक मिखाइल बसिलेभिच फ्रुँजेले मजदुरहरूको दलको नेतृत्व गरेका थिए । त्यो दल प्रेस्न्याका विद्रोही मजदुरहरूको सहायता गर्न तनोभो–भोज्नेसेन्स्कबाट मस्को आएको थियो । फ्रुँजे अहिले सबैभन्दा कठिन मोर्चाका कमान्डर थिए ।
लेनिनले मनमनै सबै मोर्चाको चक्कर लगाए, भोरोशिलोभ, बुद्योन्नी, लाजो, कोतोभ्स्की, श्चोर्स, तुरभचेभ्स्की, भ्ल्युखेर… । उत्तरी मोर्चा, दक्षिणी मोर्चा, पूर्वी मोर्चा… । पूर्वमा साइबेरिया, उराल र भोल्गा । पूर्वमा नै अन्नको मुख्य स्रोत पनि छ ।
एटेन्टको सहयोगले श्वेत गार्ड र कुलाकहरूले पूर्वका अन्न उत्पादक इलाकाहरू कब्जा गरेका थिए । यसरी मजदुर र किसानहरूको राज्यलाई एटेन्ट भोकै मार्न चाहन्थ्यो ।
“लालसेनाले पूर्वी मोर्चामा नै मुख्य प्रहार गर्नुपर्छ,” लेनिनले सोचे । “भोल्गा इलाका र साइबेरियाबाट श्वेत गार्डहरूलाई भगाउन र कुलाकहरूलाई कुल्चन अत्यावश्यक छ ।”
लेनिनले बसेर एकचोटि फेरि मोर्चाबाट आएका रिपोर्टहरू पढे । हिजोमात्र उनले झेर्जिन्स्की, स्वेर्दलोभ, चिचेरिन र अन्य सहयोगीहरूसँग अबेरसम्म बसेर मोर्चाको स्थितिको बारेमा विचार–विर्मश गरेका थिए । फैसला लिइसकिएको थियो । अब कमान्डरहरूलाई जवाफ पठाउन र आवश्यक आदेश दिन बाँकी थियो । छतपछाडिबाट आकाशमा गर्मीयामको झुल्के घामको लालीमा नदेखिउञ्जेल लेनिनले काम गरिरहे । लिदिया अलेक्सान्द्रोभ्ना आएर बाहिर मानिसहरू उनलाई भेट्न बसेका छन् नभन्दासम्म उनी रोकिएनन् । लेनिनले घडीमा नजर दौडाए । हो, भेट्ने मानिसहरू भनेकै समयमा आएका छन् ।
“पक्का सैनिक नै हुनुपर्छ,” उनले मनमनै सोचे । फेरि कागजहरू फाइलमा राखेर फोतिएभालाई दिँदै भने, “यिनलाई तुरून्तै पठाउनु होला ।”
उनले मुख मुसारे । मानौँ, सबै चिन्ता र झन्झटहरू सफा गरिरहेका छन् र उनी कति चिन्तित छन्, कति सशङ्कित छन् अरूले देख्नेछैनन् ।
सैनिकहरू कोठामा पसे । उनीहरू लालसेनाका कमान्डर थिए । लेनिनले तिनलाई राम्ररी चिन्थे । त्यसमध्ये एकजना भूतपूर्व जारशाही सेनाको जनरल पनि थियो ।
“हजुर भन्नुस्, हाम्रो हमलाको योजना के छ ?” लेनिनले भूतपूर्व जनरललाई सम्बोधन गर्दै सोधे ।
लेनिनले जारशाही जनरलसँग सैनिक मामिलामा परामर्श लिनु अनौठो थिएन । आखिर उनैले त यस्तो आदेश दिएका थिए – लालसेनामा सेवा गर्नु अत्यन्त सम्मानको कुरा हो र यो सम्मान अबदेखि गरिब, मजदुर, किसान, कामदारहरू र तिनका सन्तानलाई दिइन्छ । लालसेनामा अभिजात वर्ग र कुलाकका सन्तानलाई भर्ती नलिइयोस् । कम्युनिस्टहरूलाई नै लालसेनाको कमान्डर नियुक्त गरियोस् । तब अचानक यो जारशाही जनरल ¤ कहाँ मिल्छ ? तर, यो जनरलले लेनिनको उद्देश्य र लेनिनको काममा आस्था राख्थ्यो । अतः लेनिनले यस्तो जानकार र इमानदार सैनिक विशेषज्ञलाई लालसेनाको मद्दतका लागि बोलाउनु आश्चर्य थिएन । जनरलले लामो लौरोले नक्सामा देखाउँदै लेनिनलाई हमलाको योजना बतायो ।
लेनिनले जनरलको योजनालाई समर्थन गरे । किनकि हिजो, अस्ति र आज बिहान पनि साथीहरूसँग मिलेर र उनी एक्लैले पनि ठीक यस्तै योजना तयार गरेका थिए । यस बेला उनी आफ्ना विचार र निर्णयहरू कति सटिक थिए भनी जाँचिरहेका थिए ।
“हाम्रो यो अपरेसन शानदार साबित हुनुपर्छ ।” लौरो तल राख्दै जनरलले सन्तोषपूर्वक आफ्ना कुरा सकायो ।
“शानदार होस् नहोस्, यो महत्वको कुरा हैन” लेनिनले भने । “महत्वको कुरा हो, हाम्रो विजय… र तपाईँहरूको विचार के छ ?” यसपालि उनले कमान्डरहरूसँग सोधे ।
उनीहरूले अबेरसम्म योजनाका सम्पूर्ण पक्षहरूबारे आ–आफ्ना विचार सविस्तार बताइरहे । निर्णय सबैको एउटै थियो र अटल थियो ।
“साथीहरू, स्थिति ज्यादै गम्भीर छ ।” लेनिनले उनीहरूलाई बिदा गर्दै भने । “तर, लालसेनाले जित्नैपर्छ ।”
नीच हमला
लेनिन, क्रुप्सकाया र मरिया इल्यीनिच्ना भान्सा कोठामा खाजा खाइरहेका थिए । हुन त उनीहरूको क्रेमलिनको फ्ल्याटमा पनि भान्साकोठा थियो । तर, त्यहाँ उनीहरू कुनै पाहुना आउँदा मात्र सँगै हुन्थे र साथमा बसेर चिया पिउँदै कामकाजको कुराकानी हुन्थ्यो ।
शुक्रबारको दिन थियो । शुक्रबार केन्द्रीय समितिका सदस्य र जनकमिसारले मजदुरहरूको बैठकमा भाषण दिने मस्कोको नियम थियो । यो शुक्रबार लेनिनले कुन बैठकमा भाषण दिनुपर्ने हो मस्कोको पार्टी समितिले उनलाई पहिले नै बताएको थियो ।
अचानक पेत्रोग्रादबाट खबर आयो । जनकमिसार परिषद्को कार्यालयस्थित टेलिग्राफघरले रातदिन काम गथ्र्याे । त्यसैले सो खबर तुरून्तै लेनिनकहाँ पु¥याइयो ।
त्यसमा लेखिएको थियो – पेत्रोग्रादका चेका अध्यक्ष साथी उरित्स्कीको हत्या भएको छ । खबर पढेर भ्याउँदा–नभ्याउँदै मस्कोको पार्टी समितिबाट फोन आयो –
“साथी इल्यीच, हजुरले आजको भाषण स्थगित गर्नुपर्ला भन्ने मस्को समितिको सुझाव छ । खतरा छ । प्रतिक्रान्तिकारीहरूले आफ्नो नीचता देखाइरहेका छन् ।” “ओखलमा टाउको राखेपछि मुसलसँग किन डराउने ?” लेनिनले जवाफ दिए र फटाफट आफ्नो क्रेमलिन कक्षतर्फ लागे ।
उरित्स्कीको हत्या भएको थियो । यसअघि अर्का बोल्शेभिक कार्यकर्ता भोलोदास्र्की पनि मारिएका थिए ।
प्रतिक्रान्तिकारी तत्वहरू केन्द्रीय समिति र सरकारका सदस्यहरूलाई एक–एक गर्दै मार्न कस्सिएका थिए । तर, मजदुरहरूको सभामा लेनिन नजाने हुनै सक्दैनथ्यो ।
कार आयो । सधैँजस्तै ड्रात्र स्तेपात काजिमिरोभिच गीलले कारमा बसेर लेनिनको प्रतीक्षा गरिरहेका थिए । आज लेनिनले दुई ठाउँका मजदुर सभाहरूमा भाषण दिने कार्यक्रम थियो । साँझ जनकमिसार परिषद्को बैठक थियो ।
“भाषणहरू सकिएपछि परिषद्को बैठकमा ठीक समयमै पुग्न सकिएला भन्ने आस छ,” लेनिनले भने ।
“हजुरमा यति धेरै तागत कहाँबाट आउँछ, भ्लादीमिर इल्यीच ?” प्रश्न गर्दै गीलले लेनिनलाई बोल्शाया सेर्पुखोभ्स्काया सडकनिरको भूतपूर्व मिखेल्सन कारखानामा पु¥याए । लेनिन यहाँ पहिले पनि आएका थिए । मजदुरहरू हालै काठैकाठले बनाइएको एउटा ठुलो भवनमा जम्मा भइसकेका थिए । त्यहाँ हातेबम बनाउने ज्यासल थियो । कोही बसेका थिए । कोही भित्तामा टाँसिएर गल्लीमा उभिएका थिए । सबैको मुहारमा गम्भीरता र एकाग्रताको भाव थियो ।
लेनिनले आफ्नो भाषणमा गृहयुद्ध र श्वेत गार्डहरूविरुद्धको सङ्र्घषको चर्चा गरे ।
यस ज्यासलका मजदुरहरूले श्वेत गार्डविरुद्ध लड्न नै हातेबम तयार गर्थे । खाँचो परेमा उनीहरू मोर्चामा जान पनि तत्पर रहन्थे ।
लेनिनले मजदुरहरू कुनै पनि हालतमा आफ्ना कारखाना र आफ्नो सत्ता पुँजीपतिहरूलाई फिर्ता दिन तयार छैनन् भन्ने अनुभव गरे ।
“यही हो साथी गील, मेरो शक्तिको स्रोत । मजदुर वर्ग नै हुन् हामीमा यत्तिका तागत भरिदिने ब्याटरी ।”
बैठक सकियो । मजदुरहरूले घेरिँदै लेनिन ज्यासलबाट बाहिरिए । गीलले कार स्टार्ट गरिहाले । उनी सतर्क थिए । मानिसहरूको यति ठुलो भीड । त्यसमाथि यस्तो अशान्त समय । ड्रात्र गीललाई उरित्स्कीको हत्याबारे थाहा थियो । तर, मानिसहरूले उनलाई छोडेकै थिएनन् । चारैतिरबाट प्रश्नमाथि प्रश्न सोधिरहेका थिए । लेनिनको जवानी मानौँ फर्केको थियो । उनी उत्साहपूर्वक एक–एक प्रश्नको जवाफ दिइरहेका थिए । अचानक कतैबाट ड्याम–ड्याम आवाज आयो । लौन, के हो ? गोली चलेको हो त ? लेनिनले केही बुझ्नै सकेनन् । बायाँ हातमा केही चीज लागेको थियो । पहिलो गोली हातबाट फोक्सो चिर्दै निस्कियो । यही घाउ सबैभन्दा खतरनाक सिद्ध भयो । उनी लड्खडाए । त्यसैबेला फेरि गोली चल्यो । घाँटीमा असह्य पीडा हुनथाल्यो । लेनिन पछारिन थाले । तेस्रो गोलीले ओभरकोट छेड्यो ।
“लेनिनमाथि हमला भयो ।” भीड हतास स्वरमा चिच्यायो ।
दुब्लो, लामो अनुहार र कालो आँखा भएकी एक महिला पेस्तोल भुइँमा फालेर फाँटतिर भागी । मानिसहरू प्रतिक्रान्तिकारी हत्यारालाई पक्रिन दौडिए । “भ्लादीमिर इल्यीच ¤ साथी लेनिन ¤” गीलले पुकारे ।
“लौ घर हिँड,” निला ओठले भ्लादीमिर इल्यीचले भने ।
मजदुरहरूले उनलाई उठाएर कारमा बस्न मद्दत गरे । केही क्षणअघिको कोलाहल एकाएक डरलाग्दो शून्यतामा फेरियो । लेनिनको घिटिकघिटिक चलिरहेको सास सबैले सुनिरहेझैँ प्रतीत हुन्थ्यो ।
कार बेगिँदै क्रेमिलनतिर लाग्यो । “भ्लादीमिर इल्यीच, हामीले हजुरलाई उचालेर लैजान्छौँ,” घर पुगेपछि गीलले भने ।

तर, लेनिन राजी भएनन् । पीडा धेरै बढेको थियो । रगतले सर्ट लछप्पै भिजेको थियो । तैपनि गील र मजदुरहरूको सहारा नलिई उनी आफैँ सिँढी उक्लिन थाले । बिस्तारै चुपचाप तेस्रो तला गए । उफ ¤ यी सिँढीहरू पनि कति लामा, अग्ला र कठिन हुन् । डरले आत्तिँदै मरिया इल्यीनिच्ना उनीतिर दौडिन् ।
“लौन, भोलोद्या ¤ ए भोलोद्या ¤” उनी चिच्याइन् । “पीर मान्नुपर्ने केही छैन । अलिकति घाइते भएको छु । ठीक हुनेछु ।” लेनिनले एकदम मुस्किलले भने । “मन्याशा नआत्तिनू । नाद्यालाई नतर्साऊ ।”
क्रुप्सकाया घरमा थिइनन् । उनी कामबाट फर्केकी थिइनन् ।
उता बैठकमा सबै जनकमिसार भेला भइसकेका थिए । लेनिनले नै नौ बजेको समय तोकेका थिए । ढिलो आउने बानी लेनिनलाई मन पर्दैनथ्यो भन्ने सबैलाई थाहा थियो । पहिलोचोटि, एकचोटिमात्र जनकमिसार परिषद्का अध्यक्ष आफँै ढिलो भए ।
चारखाने बुट्टासितको कम्मलले ढाकिएको बिस्तारामा लेनिनलाई सावधानीपूर्वक सुताइयो । उनी कमजोर भएका थिए । अनुहार सेतो भएको थियो ।
फ्ल्याटका ढोकाहरू खुला थिए । डरले अन्योलग्रस्त भएका साथीहरूको हुल जम्मा भएको थियो । डाक्टरहरू पनि आए ।
“डाक्टर, लेनिनलाई कुनै खतरा त छैन नि ?” साथीहरूले आशापूर्ण स्वरमा सोधे ।
“खतरा ? एकदम खतरा छ ।…”
एक–एक मिनेट, एक–एक युगजस्तै घर्किरहेको थियो । त्यसैबेला क्रुप्सकाया पनि कामबाट फर्किन् । ढोकाहरू किन खुल्लै छन् ? घरमा यत्तिका मान्छे किन ओइरिएका होलान् ? कसैले सहानुभूतिपूर्वक उनको काँध थप्थप्पाए । उनले बुझिन् र यतिमात्र सोधिन्, “जिउँदै छन् ?” लेनिनको कोठाबाट ऐयाआत्थुको आवाज आयो । उनले तन्किएर अगाडि हेरिन् र आँखा पुछेर कोठाभित्र गइन् । लेनिनले उनलाई देखे र भने –
“नआत्तिनू नाद्या । क्रान्तिकारीहरूलाई जतिबेला पनि यस्तो हुनसक्छ । सानो घाउ हो । छिट्टै सन्चो हुनेछ… ।”
अनि आँखा बन्द गरे । उनको नाडीको चाल सुस्तिएको थियो । स्थिति लगातार बिग्रिँदै थियो ।
अनुवाद ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *