भर्खरै :

भारतको चीन युद्ध, सीमा युद्ध (डाँडाकाँडा र खोलानाला)

राष्ट्रिय एकता
छद्म युद्धमा भएको भारतको हारले नौलो परिवर्तन ल्यायो । युद्धका कारण राजनीतिक तप्कामा आशा र प्रेरणाको लहर दौडियो । यसबाट राष्ट्रिय एकता र विजयको फल पाइने ठानिएको थियो ।
चिनियाँ आक्रमणका कारण भारतमा सुरुमा आश्चर्य र आक्रोश छायो । लगत्तै भारतले आक्रमणको तयारी गरिरहेको कुरा बिर्सियो । चीनसँग वार्ता गर्न भारत सरकारले अस्वीकार गरेको विषयलाई पनि बेवास्ता ग¥यो । उल्टो नेहरूले लोकसभामा भने, “चीनको कुनै दाबी थियो भने उनीहरूले त्यस विषयमा हामीसँग छलफल गरेको भए हुने थियो र शान्तिपूर्ण समाधानका उपाय अपनाएको भए हुने थियो ।” लोकसभामा चीनप्रति भारतको मैत्रीभाव हुँदाहुँदै पनि आक्रमण गरेकोमा खेद प्रकट भयो । साथै ‘भारतको पावन भूमिबाट आक्रान्तालाई खेद्ने भारतीय जनताको सङ्कल्प’ लिइयो । लोकसभामा चीनले धोका दिएको र आक्रमण गरेर भारत कब्जा गर्न खोजेकोमा सङ्कल्प प्रस्ताव पारित गरियो । भारत आफैँले चीनमाथि त्यस्तै आक्रमण गर्ने उद्घोष गरेको कुरा ओझेलिएको थियो । नेहरूले भने, “हामीले उनीहरूलाई पछाडि धकेल्नु र आक्रमण गर्नु एकदम न्यायपूर्ण छ ।”
भारतीय उच्च राजनीतिक तप्का र सहरिया जनताले युद्धलाई उत्साहसाथ हेरिरहेका थिए । चीनको विरोधमा सबै राजनीतिक दलले सभासम्मेलन गरिरहेका थिए । कम्युनिस्ट पार्टी पनि यसमा सहभागी भयो । सीमा विवादले भारतीय कम्युनिस्ट पार्टीको भित्री कलहलाई फुट्ने तहसम्म चर्काइदियो । पार्टी नेतृत्वले चीनको विरोध गर्दै नेहरूको पक्ष लियो । सेनामा भर्ती बढिरहेको थियो । विद्यार्थीहरू माओ र चाउका पुत्ला जलाइरहेका थिए । उनीहरू रगतको हस्ताक्षर सङ्कलन गरिरहेका थिए । कलकत्ता र दिल्लीका चिनियाँ पसलहरूमा आक्रमण भए । चिनियाँहरूमाथि हातपात भयो । जापानीहरूले हमलाकारीहरू मङ्गोल अनुहारबाट नझुकिऊन् भनेर आफ्ना गाडीमा सूर्यको चिह्न टाँसेर हिाँडिरहेका थिए । सरकारले चिनियाँ मूलका भारतीयहरूलाई शत्रुको रूपमा हेर्ने नियम लागू ग¥यो । हजारौँ यस्ता भारतीयलाई राजस्थानका क्याम्पहरूमा राखियो । पछि उनीहरूलाई देश निकाला गरेर चीन पठाइयो । राष्ट्रिय क्याडेट कोरमा भर्ती गर्ने गरी विश्वविद्यालयका विद्यार्थीहरूलाई उत्साहित गरियो । छात्राहरू कवाज खेल्न थाले । सांसद सदस्यहरूले हतियार लिएर फोटो खिचाए । पञ्जाब सरकारका मन्त्रीहरूले जङ्गी पोशाक लगाएर संसदमा जाने निर्णय गरे ।
भारतको ठुलो उद्योगी बिरला समूहले दिल्लीवासीलाई राइफल चलाउन सिकाउने उद्देश्यले सानो राइफल उत्पादन ग¥यो । राजधानीका बगैँचामा ट्रेन्चहरू खनिए र सरकारी अफिसहरूमा बालुवाका बोराहरू थुपारिए । वित्तमन्त्री मोरारजी देसाईले राष्ट्रिय प्रतिरक्षाका लागि पैसा, सुन र गरगहना दान गर्ने अभियान चलाए । युद्धका लागि आर्थिक कटौतीको आह्वान गरियो । युद्धसँग सम्बन्धित उद्योगहरूमा मजदुरहरूले अतिरिक्त काम गर्नुपर्ने घोषणा भयो । चीनविरोधी सङ्घर्षमा सारा भारतीयहरू एक राष्ट्रमा जोडिएको सरकारी बुझाइ थियो । नेहरूले त आक्रमण गरेर भारतभित्रको आपसी तिक्तता मेटाएको र देशवासीको प्राचीन सालिन अनुहार उघारेकोमा कविताको शैलीमा चीनलाई धन्यवादसमेत दिए । एक समाजवादी सांसदले सीमामा भारतीय जवानहरूको बलिदानले नयाँ देश जन्मिरहेको बताए ।
फाइदा बेफाइदा
नेहरूले गान्धीको नाम लिएर भारतीहरूको अहिंसावादी सोच नतोडिने, भारत हिंसात्मक नबन्नेजस्ता विचार दोहो¥याइरहे । उनले भारतीयहरू भद्र र युद्धविरोधी हुन्छन् भनी लोकसभामा तर्क गरे । साथै उनले विद्यमान परिस्थितिले भारतीयहरूलाई हिंस्रक बनाउनु हुँदैन भनेर संयमको कुरा गरे । उनको खण्डन गर्दै एक लेखकले हिन्दू सैन्यवादले भारतको विदेश नीति तय गरेको तर्क गरे । अझ अगाडि बढेर उनले चीनविरोधी विवाद हिन्दू सुरवीरताबाट प्रेरित भएको बताए । गान्धीले समेत भारतीय जनता ‘सदा रणकुशल’ भएको बताएका थिए । नेहरूका भावनाका कुराहरू एकातिर छँदै थिए । यता अखबारहरूमा विभिन्न विचार आइरहेका थिए । टाइम्स अफ इन्डियाले एउटा कार्टुन छाप्यो । शीर्षक ‘चीनसँगको युद्ध’ थियो । नेहरू र उनका मन्त्रीहरू आनन्दपूर्वक भित्तामा हेरिरहेका थिए । भित्तामा ‘भावनात्मक एकता, औद्योगिक शान्ति, सरकारमाथिको जनविश्वास आदि लेखिएका तालिकाहरू थिए । तल नेहरूको टिप्पणी थियो – “यस्तो गजब कहिल्यै भएको थिएन ।” नेहरू आफैले लोकसभामा भनेका थिए, “यो चुनौतीलाई फस्टाउने अवसरमा बदल्न सकिन्छ । हाम्रो सीमालाई छोपेको कालो बादललाई उज्यालो सूर्यमा फेर्न सकिन्छ । त्यो स्वतन्त्रताको मात्र नभएर देशको कल्याणको सूर्य पनि बन्न सक्छ ।”
युद्धबारे भारतीय समाजको सोच भिन्दाभिन्दै थियो । राजनीतिक तप्काको उत्साहलाई समुद्रको छालसँग तुलना गर्न सकिन्छ । समाजको गहिराइसँगै युद्धमा जनताको रूचि मन्द थियो । राजनीति बुझ्ने वर्गका लागि युद्ध टाढाको, रुमानी र आरामदायी थियो । सहरी जनताका लागि सर्कसजस्तै थियो । उनीहरू परेड खेल्ने, नारा लगाउने गरिरहेका थिए । गाउँमा युद्धको उतिसारो हल्ला थिएन । बरु स्थानीय कर्मचारीहरूले घरघरै चन्दा उठाएर गाउँले र गरिब दुःखीलाई दिक्क पारेको आरोप थियो । धनीहरूबीच दानदक्षिणाको चर्चा सेलाइसकेको थियो ।
भारतको दाँजोमा चीन शान्त थियो । भारतमा युद्धप्रतिको उत्तेजनालाई उछालिएको थियो । चीनमा भने लडाइँका कुरा थोरै भए । एक विदेशी पत्रकारले चीनको स्थितिबारे सारमा यसो लेखेका थिए – “पत्रपत्रिकामा सैन्त्न्दा पनि राजनीतिक कुरा छन् । बरु चीनका राजनीतिक सफलताका कुरा छन् । पाठकमा युद्धप्रति रूचि जगाउने कुनै कोसिस गरिएको छैन ।’ भारत सरकार भने सीमाका लडाइँहरूलाई अघोषित युद्ध मानिरहेको थियो । ‘प्राविधिकरूपमा युद्धमा नभए पनि भारत युद्धमा रहेको तर भारतले घोषणा नगरेसम्म युद्ध भइरहेको मान्न आवश्यक नभएको’ नेहरूको व्याख्या थियो । यसबीच सरकारले चीनसँग कुटनीतिक सम्बन्ध तोड्न मानेन र राष्ट्रसङ्घमा चीनको सदस्यतासम्बन्धी कुरा उठ्दा चीनकै पक्षमा उभियो । भारतको सक्रियतामा भने कमी आएको थियो ।
लोकसभा
सरकारले सङ्कटकाल घोषणा गरेको थियो । केन्द्र सरकार शक्तिशाली बन्दै थियो । जनअधिकारमा लगाम लाग्दै थियो । संसद्लाई पनि नियमित समत्न्दा १० दिनअघि डाकिएको थियो । नाम्काको पराजय भुलिएको थियो र एक प्रकारको ‘हारको उल्लास’ थियो । चीन जे जस्तो अवस्थामा भए पनि उसलाई हराउन सकिन्छ भन्ने भावना बढ्दै थियो । नेफाको शान्ति खलबल्याउने गरी भारतीय टुकडीहरू गस्ती गइरहेका थिए, बम पड्काइरहेका थिए । पत्रिकाहरूमा भारतीय सेना एकजुट भएर चिनियाँहरूको प्रतिकारका लागि तयारी गरिरहेका खबर छापिन्थे । चुलिँदो आत्मविश्वासका कारण नोभेम्बर ८ मा संसद खुल्दा यसअघिको आक्रोश सेलाइसकेको थियो ।
नेहरूलाई लोकसभामा धेरै कुरा भन्नु थियो । साथमा उनको आत्मविश्वास पनि बढेको थियो । उनले नाम्का चूमा चिनियाँभन्दा भारतीय सेनाको सङ्ख्या ठुलो रहेको गलत तथ्य दिए । ब्रिगेड ७ लाई फर्काउने विषयमा उनले यसो भने, “गल्ती नै भन्ने हो भने पनि हाम्रो एउटै गल्ती सेनालाई पायक नपर्ने ठाउँमा राख्नु हो । हामीले सेनालाई त्ययाँ बस्न भनेका थिएनौँ बरु हाम्रा जवानहरू जुनसुकै मूल्य चुकाउनु परे पनि त्यहाँबाट फर्किन मानेनन् ।” यसको अर्थ हुन्छ – स्थानीय अफिसरहरूले बारम्बार त्यहाँबाट फर्किन मागेको अनुमति नेहरूसम्म पुगेको थिएन । कौल, सेन र थापरले नेहरूलाई जवानहरू फर्किन मानिरहेका छैनन् भनेर मनाएको हुनुपर्छ ।
थागला डाँडामा सेनालाई पर्याप्त सामग्री नपुगेको खबर फैलिसकेको थियो । नेहरूले यसमा घरेलु हतियार कारखानामा भरपर्नुपर्दा त्यसो हुन गएको पुरानो तर्क दिए । एक युद्धकालीन नेताको रूपमा माथिल्लो र तल्लो सभामा उनका कुरा शान्तपूर्वक सुनियो । हतियारका कुरा गर्दा उनले “यहाँ हतियारका कुरा गर्नेलाई हतियारको बारेमा केही थाहा छैन” भनी झपारे । नेहरूको उत्साहलाई चर्चिलसँग दाँजियो । हतियारको विषयमा निर्णय भइसकेको थियो ।
हतियारको ओइरो
पाकिस्तानले १९५४ मै अमेरिकी सैन्य सहयोग लिइसकेको थियो । १९५९ पछि नेहरूलाई पनि उनका सल्लाहकारहरूले यस्तो सल्लाह दिएका थिए । धेरै समय नेहरूले यस विषयमा विमति राखे पनि अहिले दैनिक ८ उडानको दरले भारतमा अमेरिकी हतियार ओरालेको थियो । एउटा जेट विमानले २० टन हतियार ओसारेको थियो । त्यसमा स्वचालित राइफल, ग¥हौँ मोर्टार, अनेक बन्दुक थिए । बेलायतले सहयोग तीव्र पारेको थियो । नेहरूले केनेडी सरकारको प्रस्ताव स्वीकार गरेकै दिन बेलायती हतियारको पहिलो खेप दिल्ली ओर्लेको थियो । सरकारले सबै देशका सैन्य सहयोग लिइरहेको थियो । सन्तुलनका लागि सोभियत सङ्घसँग पनि अपिल गरिएको थियो । सकेसम्म थोरै आर्थिक भार हुने गरी सैन्य सहयोगको आग्रह गरिएको थियो । फ्रान्सले अलि महँगो भनेपछि फ्रान्ससँग भारतको ठाकठुक परेको थियो । अमेरिकाले हिसाब पछि मिलाउने भन्यो । हतियार भित्याउने सुरमा भारतले इजरायलबाट पनि हतियार मगायो । काश्मीर मामिलामा अरब देशहरूको सहानुभूति पाउन उसले इजरायलसँग कुटनीतिक सम्बन्ध राखेको थिएन । त्यसैले हतियार दिँदा जहाजमा इजराइली झन्डा नराख्न भारतले अनुरोध ग¥यो । इजरायलले “झन्डा नभए, हतियार पनि हुँदैन” भन्यो । पछि बम्बईमा इजरायली झन्डासहित आएका पानीजहाजले हतियार ओराल्यो ।
अमेरिकी हतियारको ओइरो लागिरहेको बेला सांसदहरूले सरकारलाई असंलग्न नीति अपनाएर देशको सुरक्षा खतरामा राखेको आरोप लगाउन सकेनन् । बरु केही सांसदले पश्चिमा देशलाई भारतले प्रजातन्त्रको पक्षमा विश्वयुद्ध लडिरहेको छु भनी चर्चिलको भाषामा “हतियार देऊ, हामी काम फत्ते गर्छौँ” भन्नुपर्ने विचार राखे । नेहरूले भने सहयोग सर्तरहित भएकोले यसले देशको असंलग्न स्थितिमा कुनै हेरफेर नहुने दोहो¥याए । तर, यो सैन्य सहयोगले भारतको स्वतन्त्र विदेश नीतिमा पछि रङ देखायो । (पाकिस्तानसँगको काश्मीर मुद्दामा नेहरूलाई छलफलको ढोका खोल्न लगाउन उनीहरूले हतियारको आपूर्ति बन्द गरेका थिए ।)
नौलो आशा
६ दिनसम्म लोकसभामा वादविवाद भयो । १ सय ६५ जना सांसदले बोले । विपक्षीले सरकारको विरोध जारी राखे । भारतले विश्वभरका ३९ देशको समर्थन पाएको थियो । यसको पनि आलोचना भयो । भारतले अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण भूमिका खेलेको तर किन यति थोरै समर्थन भनी प्रश्न उठ्यो । असंलग्न देश र एफ्रो एसियाली देशहरूप्रति आक्रोश पोखियो । हिन्दुस्तान टाइम्सले अमेरिका र उसको मित्र मण्डलीलाई भारतको सुरक्षा र स्वतन्त्रताप्रतिको जिम्मेवारीबोध देखाएकोलाई ‘महान मित्रता’ भनी प्रशंसा ग¥यो । आधारभूत विदेश नीतिबारे सोचमग्न हुँदै गर्दा भारतले फार्मोसा वा ताइवानको राष्ट्रवादी सरकारलाई हेर्ने दृष्टिकोण पनि बदल्यो । इन्डियन एक्सप्रेस पत्रिकाले चीनविरुद्ध भारतले दोस्रो मोर्चा खोल्नुपर्ने विचार राख्यो । यसको अर्थ भारतले चीनमाथि धावा बोल्न फार्मोसालाई उक्साउनुपर्ने पत्रिकाको सुझाव थियो । भारतले त्यसै दिशामा पाइला चाल्यो । राष्ट्रवादी सरकारका प्रतिनिधि कुराकानीका लागि दिल्ली आए । पेइचिङसँगको शत्रुतामा दुई देशबीच सहमति भयो । तर, फार्मोसाले म्याकमाहोन रेखालाई मान्यता नदिने विषयमा स्पष्ट कुरा राख्यो । त्यसैगरी लोकसभामा नेहरूले भारतीयहरूको शान्तिप्रियताबारे बारम्बार बोलेकोमा आलोचना भयो । वास्तवमा अहिंसाको कुरा गरेर नेहरू सैनिक हिसाबले भारत युद्धका लागि तयार थिएन भनी पुष्टि गर्न चाहन्थे । यसबाट सीमाको आफ्नो फितलो अवस्था ढाक्ने उनको मनसाय थियो । गान्धीलाई भन्दा पनि जापानीहरूसँग मिलेर बेलायतसँग लड्ने सुभाषचन्द्र बोसलाई सम्झिनुपर्ने बेला भएको आलोचकको भित्री आसय थियो ।
अक्टोबरको अन्तिमतिरबाट सरकारी विवरणहरूले ‘दुःखको दिन गयो, विजयको दिन’ आयो भनी जनमानसमा आशा जगाउन थाले । अखबारहरूले भारतीयहरू नेफामा अघि बढिरहेको विषयमा समाचार छाप्न थाले । सीमा क्षेत्र घुमेर आएका एक काङ्ग्रेस सांसदले सेनाका जवानहरू उत्साहित अवस्थामा रहेको बताए । साथै महात्मा गान्धी र नेहरूको नाम लिँदै जवानहरू उत्प्रेरित भइरहेको जानकारी गराए । नोभेम्बर १२ मा लालबहादुर शास्त्रीले एक आमसभामा भने, “अब भारत चिनियाँ हमलाकारीहरूलाई पछि धकेल्न सक्षम भएको छ र भारतको भूमिबाट आक्रमणकारीहरूलाई खेद्न सैनिक तयारी गरिरहेको छ ।” अक्टोबरको अन्त्य र नोभेम्बरको आरम्भमा चिनियाँहरू पश्चिमी सीमाबाट गरम नीतिअन्तर्गतका चौकीहरू हटाइरहेका थिए । एक ठाउँमा चीनले ट्याङ्क पनि प्रयोग गरेको खबर आएको थियो । तैपनि नेफामा आशाको किरण फैलिरहेको थियो । खासगरी वालोङको मोर्चामा भारतीयहरूले जित्ने विश्वास बढ्दै गइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *