भर्खरै :

अन्योलमा शैक्षिक संस्था

काठमाडौँ । कोभिड–१९ रोक्न सरकारले घोषणा गरेको लकडाउनसँगै चैतबाट बन्द भएका देशभरका शिक्षण संस्थाहरू अझै खुल्नसकेका छैनन् । शिक्षण संस्थाहरू कहिलेदेखि खुल्ने अझै अन्योल र अनिश्चित छ । भदौ १ गतेदेखि विद्यालयहरू चरणबद्धरूपमा सञ्चालन गर्ने सरकारको तयारी पनि पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै अझ अनिश्चित बनेको छ । न सरकारले शिक्षण संस्थालाई यसै गर भन्न सकेको छ, न शिक्षण संस्थाहरूले नै यसै गर्छौैं भन्न सकेका छन् । अन्योलको कारण झन्डै पाँच महिनादेखि विद्यार्थीहरूले विद्यालयको अनुहार देख्न पाएका छैनन् ।
केही विद्यालयहरूले सञ्चालनमा ल्याएका अनलाइन कक्षा पनि अहिले अधिकांशले बन्द गरेका छन् । अनलाइन कक्षाको शिक्षण विधि प्रभावकारी नभएको भन्दै त्यस्ता कक्षा बन्द गरिएको छ । तथापि निजी विद्यालयहरूले भने अनलाइन कक्षाको शिक्षण शुल्क अभिभावकसँग उठाउने वा नउठाउने भन्ने अलमलको कारण बन्द गरेको देखिन्छ ।
सरकारले अनलाइन कक्षाको शुल्क नउठाउन विद्यालयहरूलाई सूचना गरेको थियो । काठमाडौं उपत्यकालगायत केही सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन सम्भव भए पनि देशभर अधिकांश स्थानमा यो कक्षा सम्भव छैन । तीव्रगतिको इन्टरनेट, कम्प्युटर, सुविधासम्पन्न मोबाइल आदि सामान भएमात्र सम्भव हुने अनलाइन कक्षा विद्युत्समेत नपुगेका ग्रामीण बस्तीमा सम्भव हुने कुरै भएन । सहरी क्षेत्रमा पनि अनलाइन कक्षाले सकारात्मक कम, नकारात्मक प्रभाव बढी भएको भन्ने अनुभवसँगै यसप्रतिको आकर्षण विद्यार्थी, शिक्षक र अभिभावकमा घट्दै गएको देखिन्छ । टीभी र रेडियोमार्फतको कक्षा पनि पछिल्लो दिनमा क्रमशः ऊर्जाहीन बन्दै गएको छ । यद्यपि यस्ता वैकल्पिक शिक्षण विधिलाई सरकारी निकायले प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।
कक्षा ११ र १२ को परीक्षाको विषयमा शिक्षा मन्त्रालयले अझै ठोस निर्णय दिन सकेको छैन । शुक्रबार गोरखापत्र दैनिकमा राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी विद्यार्थीको भौतिक उपस्थितिसहित कक्षा ११ को परीक्षा नलिन विद्यालयहरूलाई आग्रह गरेको छ । सूचनामा भनिएको छ, “कोभिड–१९ को सङ्क्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्न÷नगराउन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।”
विश्वविद्यालयमा पनि कक्षा सञ्चालन र परीक्षा सञ्चालनसम्बन्धी अन्योल छ । त्रिभुवन विश्वविद्यालयले भदौ महिनादेखि सबै तहका बाँकी परीक्षा लिने घोषणा गरे पनि पछिल्लो अवस्थाले त्यसको कार्यान्वयन चुनौतीपूर्ण बनेको छ । त्रिविका परीक्षा सञ्चालन विधिलाई लिएर विद्यार्थीहरूले विमति राख्दै विरोध गरिरहेका छन् । त्रिविको अनलाइन कक्षाले पनि सबै विद्यार्थीलाई समेट्न सकेको छैन ।
विद्यालय सञ्चालनको अन्योलसँगै विशेषतः निजी विद्यालयका शिक्षकशिक्षिकाहरू समस्यामा परेका छन् । अभिभावकसँग शुल्क नउठाएको भन्दै सञ्चालकले शिक्षकशिक्षिकाहरूलाई तलब नदिंदा उनीहरूको दैनिक गुजारामा समेत समस्या भएको दुःखेसो पोखेका छन् । सानो पुँजीमा सञ्चालनमा रहेका निजी विद्यालयहरू पनि अहिले समस्यामा छ । शिक्षकलाई तलब, घरभाडा, बैड्ढको कर्जा तिर्न हम्मेहम्मे परेको सञ्चालकहरू बताउँछन् ।
सरकारले यस्तो अवस्थाको निराकरणको लागि विज्ञहरूसँग गर्नुपर्ने परामर्शलाई प्राथमिकता दिएको छैन । शिक्षा मन्त्रालय र शिक्षा विभागमा पदाधिकारी र कर्मचारीहरू नै सर्वज्ञाता बन्न खोज्दा आज शिक्षा क्षेत्रमा देखिएको अन्योलको कुनै समाधान निस्कन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *