भर्खरै :

जयराम बासुकलाको सम्झना

भक्तपुर, साउन २४ गते ।
नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता जयराम बासुकलाको निधनको १६ औं वर्ष पुगेको दिन शनिबार श्रद्धाञ्जली सभा भयो । सभा जयराम स्मृति अक्षय कोषको आयोजनामा भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले साँस्कृतिकस्तर उठेका जयराम बासुकलाले सिद्धान्तको मामिलामा वर्गशत्रुसँग कहिले पनि सम्झौता गर्नुभएन भन्नुभयो । देश र जनताको जीवनभर निस्वार्थ सेवा गर्नुभएका जयराम बासुकलाको त्याग र समर्पन नयाँ पुस्ताका लागि प्रेरणा हुन्छ भन्नुभयो । सरकारमा गएका नेका, एमाले, माओवादीलगायतका पार्टीहरूले पञ्चायतकै पदचिन्हमा हिडेकै कारण देशमा भ्रष्टाचार र विभिन्न काण्डहरू भएका हुन भन्नुहुँदै जनताको सहभागितामा हुने विकास आयोजना दिगो र टिकाउ हुन्छ ।
उहाँले भन्नुभयो– राजनीतिमा अपराधीकरण रोक्न चुनावमा पैसा बाँड्ने, भोज भतेर खुवाउने, गुण्डा परिचालन गरी बुथ कब्जा गर्ने, जोताहा किसानलाई मोहीयानी हक नदिने, ठूलठूला ठेकेदार, उद्योगी र व्यापारी, म्यानपावर कम्पनीका सञ्चालकहरूलाई उम्मेदवार हुन नपाउने प्रावधान राख्नु आवश्यक छ । विदेशीका सन्तानलाई वंशजको नागरिकता दिनु हुँदैन भन्नुहुँदै सचिव सुवालले विदेशीको इसारामा बनाइने कानुनको विपक्षमा नेपाल मजदुर किसान पार्टी उभिएको छ भन्नुभयो ।
देश र जनताको जीवनभर निस्वार्थ सेवा गर्नुभएका जयराम बासुकलाको त्याग र समर्पन नयाँ पुस्ताका लागि प्रेरणा हुन्छ
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सृजना साँय्जूले कामदार जनताको पक्षमा निस्वार्थ सेवा गर्नु भएका जयराम बासुकलाको प्रेरणाबाट नयाँ पुस्ताले सिक्ने छ भन्नुभयो । समाज परिवर्तन गर्ने उहाँको उद्देश्य पुरा गर्न पार्टी कार्यकर्ता निस्वार्थ रुपमा लाग्नुपर्छ भन्नुहुँदै गणतन्त्रमा पनि पञ्चकै शैली दोहोरिरहेको छ भन्नुभयो । कृषिमा निर्भर अर्थतन्त्रको विकास नगरि रेमिट्यान्सको भरमा सरकार सञ्चालन गर्ने पुँजीवादी सोच नै गलत छ । पैसाको पछि लाग्ने पुँजीवादको विरोधमा जयराम बासुकला लागेको हो भन्नुभयो ।
जयराम स्मृति अक्षय कोषका अध्यक्ष रामचन्द्र बासीको सभापतित्वमा भएको सो सभामा नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले भूमाफियाको चंगुलमा परी वागेश्वरीको भंगेरी डाँडामा डोजर चलाउँदा खानेपानीमा हिलो मिसिएको, बन विनास गरेको विषयमा स्थानीयको विरोध छ भन्नुहुँदै विकासको नाममा ठेकेदारी कामले भ्रष्टाचार बढिरहेको छ । घरदैलोमा गएर जनताको निस्वार्थ रुपमा काम गर्ने जयराम बासुकलाको पे्ररणाबाट सिक्दै भ्रष्टाचारी र कमीसनखोरको विरोधमा कार्यकर्ताहरू लाग्नु पर्छ भन्नुभयो ।
सभामा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण वडा नं. ९ समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी, वडा अध्यक्ष गणेश त्यात, कोषका सचिव चन्द्रबहादुर थुयाजू, सदस्य राजेन्द्र साखकर्मीलगायतले जयराम बासुकलाको योगदानकोबारेमा बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *