भर्खरै :

बेपत्ता नागरिकहरूको स्थिति के ?

काठमाडौँ, १५ भदौ । माओवादीले थालेको ‘जनयुद्ध’ अन्त्य भएकै १५ वर्ष भयो । यस अवधिसम्ममा नेका, एमाले, माओवादीको नेतृत्वमा पटक–पटक सरकार गठन भयो । कहिले संयुक्त त कहिले एउटै पार्टीको सरकार बन्यो । तर, अहिलेसम्म ‘जनयुद्ध’ ताका सरकार र माओवादीको तर्फबाट बेपत्ता भएका नागरिकहरू पत्ता लागेका छैनन् । बेपत्ता नागरिकहरूको स्थिति के हो ? सरकारले सार्वजनिक गरेको छैन । जीवित छन् या छैनन् ? सरकारलाई वास्ता छैन । जीवित छन् भने कहाँ, के गरिरहेका छन्, मृत्यु भइसकेका छन् भने कसले, कहाँ, किन मारिए, त्यसको जानकारी पनि छैन । यही कारण बेपत्ता नागरिकका पीडितहरू अहिले प्रताडित छन्, मरेको या जीवित यकिन गर्न नसकेर गर्नुपर्ने व्यवहार या संस्कार उनीहरूले गर्न सकिरहेका छैनन् । बर्दियाका बेपत्ता पीडित नागरिकहरूले हालै ‘खै मेरा बाबा’, ‘खै मेरा छोरा’, ‘खै मेरा श्रीमान्’, को प्लेकार्ड बोकी नाराबाजी गरे, प्रदर्शन गरे, सरकारको ध्यानाकर्षण गरे ।
बेपत्ता पीडित नागरिकहरूले बेलाबखत बेपत्ताहरूको वास्तविक स्थिति थाहा पाउन सरकारको ध्यानाकर्षण गरे । तर, अहिलेसम्म कुनै पनि सरकारले वास्तविकता सार्वजनिक गरेका छैनन् । तिनीहरू साँच्चै मरे या जीवित छन् ? मरेको सम्झी संस्कार गरे भोलि फर्के भने अर्काे नमज्जा हुन्छ । विदेशमा लागेर मरे भनी संस्कार गरेपछि जीवित भएर फर्केका उदाहरण यहाँ नभएका होइनन् । डाक्टरले मरिसके भनेर घोषित गरेका बिरामीहरू फेरि जीवित भएका उदाहरण पनि छन् ।
त्यसबेला सरकारसँग कुनै दलले कहाँ सभा राखे र सभामा क–कसले के बोले भन्नेसमेतको रेकर्ड हुन्थ्यो । त्यो बहुदलीय व्यवस्था स्थापना भएपछि मात्र होइन पञ्चायत कालमा पनि थियो । कहिले कुन सभा, जुलुस, धर्ना, घेराबन्दीमा को–को पक्राउ परे भन्ने कुराको तिथिमितिसमेत हुन्थ्यो । सरकारका गुप्तचरहरूले यी सबैको रेकर्ड राख्थे । माओवादीको ‘जनयुद्ध’ मा त त्यो रेकर्ड झन् हुन्थ्यो । जिल्ला–जिल्लाका जिल्ला प्रशासन कार्यालय र गुप्तचर विभागसित सम्बन्धित सबै निकायहरूमा त्यसबेला भए गरेका या पक्राउ परेका, छोडेका सबैको रेकर्ड हुन्थ्यो । त्यसको आधारमा गृह मन्त्रालय या केन्द्रीय गुप्तचर विभागले खोजीनीति गरे थाहा हुन्छ । अतः खोजीनीति गरेर वास्तविकता थाहा भए बेपत्ता नागरिकका पीडित सदस्यहरूको मन शान्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *