भर्खरै :

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने नेपाली उखान कुरा एउटा र काम अर्कै गर्ने मानिसहरूप्रति लक्षित छ । नेपाल सरकारको सन्दर्भमा आज यो उखान चरितार्थ भएको छ । केपी ओली नेतृत्वको र डब्बल नेकपाको यो सरकारले सुरुदेखि नै विकास र आर्थिक समृद्धिका कुरा बढाइचढाइ गरेको थियो । केपी ओलीका तत्कालीन अन्तर्वार्ता अहिले हेर्ने हो भने हाँसोको फोहोरा छुट्ने गर्छ । उनले आफ्नो नेतृत्वको सरकारले दुई वर्षभित्र जनताको आर्थिक विकासका लागि गर्न बाँकी रहेको कामबारे सोध्न पत्रकारसित प्रश्नसमेत बाँकी नहुने दाबी गरेका थिए । तर, सरकारले देशको आर्थिक उन्नतिका लागि केही गर्न सकेको छैन बरु उल्टो देशलाई घाटा हुने काण्डैकाण्डमा सरकार फसेको छ । त्यतिखेरका कुरा अहिले उनी स्वयम् र सरकारमाथि नै व्यङ्ग बनिरहेका छन् । त्यसको जिम्मेवार अरु कोही होइनन्, सरकार स्वयम् र सरकारको असफलता हो ।
आर्थिक समृद्धिका कुरा छोडौँ, सरकारले जनताको सामान्य जीवनयापनका लागि आवश्यक बन्दोबस्तसम्म गर्न सकेन । उदाहरणका लागि तराईका अधिकांश जनता किसान छन् । उनीहरूको आयस्रोत भनेको खेतीबाट आउने आम्दानी नै हो । तर किसानले कहिल्यै अन्न र कृषि उपजको यथोचित मूल्य पाउन सकेनन् । सरकारले समयमै कृषि उपजको यथोचित मूल्य तोक्न र कडाइका साथ त्यसलाई लागू गर्न अनुगमन गरेन । त्यस्तै कृषि उत्पादन वृद्धिका लागि जरूरी चिज भनेको किसानको मेहनतका अतिरिक्त उन्नत बीउबिजन, गुणस्तरीय रासायनिक मल र सिँचाइको व्यवस्था हुन् । यी तिनै कुरा समयमै बन्दोबस्त गर्नतिर सरकारको ध्यान पटक्कै गएको देखिएन । जनताको दबाबमा अलिकति ध्यान दिएको देखिए पनि समय बितेपछि मात्र भइरहेका छन् । पुराना सरकारले जस्तै वैदेशिक रोजगारका नाममा युवाहरूलाई विदेशमा बेचेर आएको रेमिट्यान्स नामको दलाली भागले नै देशको समृद्धि हुने सपना देख्यो र अहिले त्यसमा समेत नयाँ कोरोना भाइरसको महामारीले लात हानेको छ । तर, सरकारसित कुनै वैकल्पिक योजना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *