भर्खरै :

मानव अङ्ग कुनै फलफूल होइन

‘कोरोनाको नाममा मानव अङ्ग चोरी’ आजकल सबभन्दा बढी भाइरल भइरहेको समाचार हो । कुनै पनि समाचार प्रसारण वा प्रकाशन गर्नुभन्दा पहिला त्यो समाचारको सत्यतथ्यबारे बुझ्नुपर्दछ । यसरी जथाभावी समाचार प्रकाशन वा प्रसारण गर्दा जनतामा एक किसिमको भ्रम पैदा हुन्छ । यसले गर्दा जनतामा आक्रोश बढ्छ । सत्यतथ्य समाचार लेख्नु एक पत्रकारको धर्म नै हो । समाजमा नकारात्मक वा असत्य समाचार वनमा डढेलो लागेजस्तै छिटो फैलिन्छ तर सकारात्मक वा सत्य कुरालाई सहजै लिन सकिंँदैन । त्यसैले हरेक समाचार सत्यतथ्यमा आधारित हुनुपर्दछ । नत्र, समाजमा नकारात्मक सन्देश जान्छ । अहिले कोरोनाको कहरमा युद्धमोर्चाको अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी वा डाक्टरलाई एउटा भ्रामक एवम् अकल्पनीय अङ्ग चोरीको रूपमा चित्रण गरिएको छ त्यो नकारात्मक, असत्य, तथ्यहीन र पित्त पत्रकारको पराकाष्ठा हो । कापी र कलम समाउन जान्दैमा कोही पनि पत्रकार हुनसक्दैन । असल पत्रकार त्यो हो जसमा कुनै विषयमा समाचार बनाउँदा त्यस विषयमा उसमा ज्ञान हुन्छ । स्वास्थ्यसम्बन्धी समाचार लेख्दा उसमा स्वास्थ्यसम्बन्धी ज्ञान हुनुपर्दछ । नत्र, अर्थको अनर्थ हुन जान्छ । आजकल यहाँ समाचार लेख्ने नाममा अस्वस्थ प्रतिस्पर्धा भएको देखिन्छ । कतिपय पत्रिका, अनलाइन पत्रिका, टीभी च्यानलहरू पैसाका लागि तथ्यहीन, भ्रामक समाचारहरू प्रसारण गर्दछन् । कतिले असत्य, भ्रामक भिडियो युट्युबमा राखेर समाजमा नकारात्मक सन्देश फैलाउँदै छ । जबसम्म यसरी सामाजिक सञ्जालमा भ्रामक भिडियो राख्नेलाई कडाभन्दा कडा कारबाही गरिँदैन तबसम्म यस्ता कार्य हुँदै गर्दछ ।
अहिलेमात्र होइन हरेक पटक डाक्टरलाई सजिलो आरोप लगाउने शब्द हो मानव अङ्ग चोरी भयो । के कुनै पनि मानिसको अङ्ग सजिलै निकालेर अरुलाई बिक्री गर्न सकिन्छ ? के स्वस्थानी कथामा जस्तै महादेवले दक्ष प्रजापतिको टाउको काटेर बोकाको टाउको जोडिदिएजस्तै र आफ्नै पुत्रको शिर काटेर हात्तीको टाउको जोडेर गणेश बनाएजस्तै सजिलो छ ? जसरी एक जना व्यक्तिको रगत अर्काे व्यक्तिलाई दिन रक्त समूह मिल्नुपर्छ । साथै क्रस म्याच (Cross Match) गरेरमात्र दिनुपर्दछ । त्यसरी नै कुनै पनि व्यक्तिको अङ्ग प्रत्यारोपण गर्नको लागि विभिन्न जाँच गरेर मिल्नुपर्दछ । नत्र, त्यो अङ्गलाई शरीरले अस्वीकार गर्दछ । जसरी हाम्रो शरीरभित्र एउटा सानो छेस्कोभित्र पस्दा हामीलाई दुख्छ र रातो भई पाक्न थाल्छ त्यसरी नै प्रत्यारोपण गरेको अङ्गविरुद्ध प्रतिरोधात्मक तत्व (Antibody) बनाई नष्ट गर्दछ । त्यसकारण अङ्ग प्रत्यारोपण गर्दा सकेसम्म नजिकको नाताको मात्र लिन पाउँछ भनी लेखिएको छ । त्यस्तै कुनै पनि अङ्ग निकालिसकेपछि धेरै समयसम्म भण्डार गर्न मिल्दैन र निकालिसकेपछि तुरून्तै प्रत्यारोपण गर्नुपर्छ ।
कुनै पनि मानव अङ्ग, फलफूलको रुखबाट फलफूल टपक्क टिपेर ल्याई बिक्रीको लागि पसलमा प्रदर्शनमा राखेजस्तै अस्पतालमा राखी जसलाई जुन अङ्ग चाहियो त्यो प्रत्यारोपण गर्न मिल्ने भए डाक्टरहरू होइन सुन तस्करी, घरजग्गा दलाली, भ्रष्टाचारीहरू मानव अङ्ग तस्करीमा लाग्थे । अनि कोही पनि धनी मानिस मर्नुपर्दैन होला । कोही गरिब मानिस आफ्नो शरीरमा भएका दुईवटा अङ्गमध्ये एक अङ्ग बेचेर गुजारा चलाउँथे होला । आर्थिक स्थितिको कारणले पढ्न नपाएकाहरू आफ्ना अङ्ग बिक्री गरेर पढ्थे होला । यसरी अङ्गहरूकै किनबेच हुन्थे र जुन प्याजभन्दा सस्तो हुन्थ्यो होला ।
यसरी भ्रामक, तथ्यहीन, असत्य समाचार प्रसारण गरेर, अहिले समाजमा नकारात्मक बुझाइले गर्दा अङ्ग प्रत्यारोपणलाई फलफूलको किनबेचजस्तै लिए । कति शिक्षित मानिसहरूले पनि यस्ता कुरालाई विश्वास गरे । त्यसकारण हरेक पत्रकारले सकारात्मक, सत्यतथ्य समाचारहरू प्रसारण गर्नुपर्दछ ।
जबसम्म कमिसनको लागि अस्पताल तोडफोड गर्ने गुण्डा र असत्य, तथ्यहीन, भ्रामक समाचार लेख्ने पित्त पत्रकारहरूलाई कानुनी कारबाही गरिँदैन तबसम्म यस्ता भ्रामक समाचार प्रसारण गरेर जनतामा नकारात्मक सन्देश फैलाइनेछ र समाजमा अस्थिरता पैदा गरिन्छ ।

2 responses to “मानव अङ्ग कुनै फलफूल होइन”

  1. पुण्य सुवाल says:

    यथार्थ समाजमा ल्याउनु भाे दाइ ।

  2. Saraswati silwal says:

    Bitter truth

Leave a Reply

Your email address will not be published. Required fields are marked *