भर्खरै :

मापदण्ड पालना नगर्दा उपत्यकामा कोरोनाको जोखिम

काठमाडौँ, १८ असोज । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको मापदण्ड पालना नगर्दा अरू देशमा झैँ नेपालमा पनि कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै छ । जिल्ला प्रशासन र नेपाल सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनमा आएको छ छैन सोको अनुगमन नभएकोले पनि सङ्क्रमितको सङ्ख्या बढेको हो । पसल, उद्योग, बैङ्क, यातायात आदि स्थानमा सर्वसाधारणले मापदण्ड पालना गरेका छैनन् । यसबारे सम्बन्धित संस्था या निकायले वास्ता गरेको देखिँदैन । सबैले सबै ठाउँमा मापदण्ड पालना गरेका भए यति सङ्ख्यामा कोरोना सङ्क्रमित हुने थिएन । सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भए लकडाउन जरुरी हुने थिएन । तर, सङ्क्रमित सङ्ख्या बढ्दै गएमा खुला गरिएको निषेध फेरि कडाइ गर्नुपर्ने स्थिति आउन सकिन्छ । अतः सबैलाई कानुनको घेरामा ल्याउनु जरुरी छ, यसमा सबै पक्षको ध्यान जानुपर्छ ।
काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन ।
यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ ।
कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा कार्यालय बन्द थियो । गत असारदेखि कार्यालय खुलेसँगै अनुमतिपत्र वितरण र नवीकरण हुँदै आएको छ । केही समयपहिले भीड बढेको भन्दै अनुमतिपत्र वितरणसमेत केही समय रोकिएको थियो ।
कार्यालयमा अहिले नवीकरणका लागि झन्डै चार सय सेवाग्राही आइरहेका छन् । उपत्यकाका कतिपय यातायात कार्यालयले सेवाग्राहीको भीड कम गर्न जोर र बिजोर नम्बर गरी सेवा दिएका छन् । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा विगत वर्षदेखि छाप्न बाँकी अनुमतिपत्र छापिसकेको छ । बन्दाबन्दीपछि असारमा झन्डै दुई लाख अनुमतिपत्र छापिएर आएको थियो । धेरै अनुमतिपत्र एकैपटक वितरण गर्नुपरेकाले पनि कार्यालयमा भीड बढेको हो ।
कोभिडका कारण विद्यालय, कलेजलगायत विभिन्न कार्यालय बन्द भएकाले कार्यालयमा सेवाग्राहीको भीड बढेको देखिन्छ । सामान्य अवस्थामा फुर्सद नपाएका सेवाग्राही अहिले आइरहेका छन् ।
यातायात कार्यालयजस्तै काठमाडौँ उपत्यकाका सेवा प्रदायक विभिन्न संस्थामा सेवाग्राहीको भीड कम हुन सकेको छैन । सामान्य अवस्थामा बढी भीडभाड हुने कार्यालयमा यातायात कार्यालयबाहेक मालपोत कार्यालय, नापी कार्यालय आदि रहेका छन् ।
अहिले दसैँ नजिकिँदै छ । दसैँमा साथीभाइ, नाताकुटुम्ब तथा घर परिवारका सदस्यहरूबीच भेटघाट हुन्छ, शुभकामना आदानप्रदान हुन्छ, भोजभत्तेर हुन्छ । जमघट हुन नहुने भने तापनि भेटघाट हुन्छ । यसले गर्दा कोरोना सङ्क्रमित अझ बढ्न सक्ने आकलन गर्न सकिन्छ । एकातिर सरकार र जिल्ला प्रशासन कार्यालयले चित्तबुझ्दो अनुगमन गरिरहेका छैनन् भने अर्काेतिर उपत्यका छिर्ने नाकामा पनि कडाइ गरेका छैनन् । उपत्यकाबाट बाहिर जाने र बाहिरबाट उपत्यका छिर्ने काम खुलमखुला भइरहेका छन् । कुनै राति पसेका छन् भने कुनै तरकारी, दूधको गाडीमा बसेर उपत्यका छिरिरहेका छन् । यसले गर्दा काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको हो ।
सर्वसाधारणलाई सङ्क्रमित रोगबाट बचाउने काम राज्यको हो । स्थानीय तह या जिल्ला–जिल्लामा रहेका अस्पताल र स्वास्थ्य केन्द्रहरूमा आवश्यक स्वास्थ्य सामग्री र उपकरणहरू पु¥याउनुपर्छ । आवश्यक स्वास्थ्य सेवा सामग्री र उपकरणहरू भएन भने स्वास्थ्यकर्मी या चिकित्सकहरूले चाहेर पनि समयमा उपचार गर्नसक्दैनन् । समयमा राहत पु¥याउन सकिएन भने रोगीको मृत्यु हुनसक्छ या रोगीले थप शारीरिक र मानसिक पीडा सहनुपर्ने हुन्छ । अतः रोग अझ फैलिन नदिन र रोगबाट पीडित व्यक्तिको समयमै निदान गर्न सरकार, सरोकारवाला निकाय र सर्वसाधारण जनता सचेत र चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *