भर्खरै :

दसैँ औपचारिकतामा सीमित गर्न सरोकारवालाहरूसँग छलफल

भक्तपुर, असोज १८ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा दसैँको अवधिमा हुने खम्ये जात्रा र दसैँसँग सम्बन्धित विभिन्न जात्राका सरोकारवालाहरूसँग दसैँलाई औपचारिकतामा सीमित गर्ने विषयमा आइतबार छलफल गरियो ।
छलफलमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कोरोना सङ्क्रमितहरूको अवस्था भयावह बनिरहेको विषम परिस्थितिमा नजिकिँदै गरेको दसैँ भीडभाड कम हुने गरी औपचारिकतामा सीमित गर्न सरोकारावाला पक्षहरूसँग छलफल सुरू गरेको बताउनुभयो ।
यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण भक्तपुरका सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका जात्रा तथा पर्वहरू सामान्यरूपमा सुरक्षित ढङ्गले सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउँदै नगर प्रमुख प्रजापतिले नगरवासी स्वयम् सचेत रहे कोरोना नियन्त्रण सहज हुने बताउनुभयो ।
कोरोना महामारीबीच पनि भक्तपुर नगरपालिकाले नगरवासी सङ्क्रमितहरूलाई लक्षित गरी ७५ शय्याको सुविधा सम्पन्न आइसोलेसन स्थापना गरेको बताउँदै उहाँले नगरको सुरक्षा र सरसफाइलाई प्राथमिकता दिएर नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
छलफलमा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाभित्र कोरोना सङ्क्रमितहरूको पछिल्लो अवस्थाबारे अवगत गराउनुभयो । घना बस्ती भएको भक्तपुर नगरमा कोरोनाको जोखिम अझ धेरै भएको हुँदा कोरोना जोखिमका कारण यस वर्षका चाडपर्वहरू सुरक्षित ढङ्गले मनाउनुपर्ने बताउनुभयो ।
छलफलमा सरोकारवाला प्रतिनिधिहरूले दसैँमा कम भीडभाड हुने गरी जात्रालाई निर्धारित समयभन्दा छिटो सम्पन्न गर्नुपर्ने, जात्रा हुने स्थानहरूमा स्वयम्सेवक परिचालन गरी भाडभाड कम गर्नुपर्ने, भीड जम्मा हुने बाजागाजा बन्द गर्नुपर्ने, सचेतनामूलक माइकिङमार्फत नगरवासीहरूलाई सचेत रहन आग्रह गरिरहनुपर्ने धारणा व्यक्त गरे ।
छलफलमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ तथा नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरू, मुकुन्डो निर्माणकर्ता, कर्माचार्य, हाकुज्या (प्रजापति), शाही एवम् चित्रकारहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *