भर्खरै :

सक्वको म राजदास – ५२, विवाहमा सोभियत इन्साइक्लोपेडिया उपहार

 
५० वर्ष अघिको कुरा हो, आजको जस्तो सञ्चार प्रविधिको विकास भएको थिएन । केही कुरा भन्न र सुन्न चिट्ठी पत्रकै भरमा थियो । काठमाडौँबाट रुसमा एउटा पत्र आउन दुई हप्ता लाग्थ्यो । सोभियत रुसबाट चिट्ठी पत्रहरू नेपाल पुग्न दुई हप्ता नै लाग्थ्यो ।
आफूले बिहे गर्ने निधो गरेपछि मैले बुबालाई सम्झाउने प्रयास गर्दै एक पत्र लेखेँ, “भालेन्टिना एक शिक्षित व्यक्ति हुन्, इन्जिनियर बन्दै छिन् । बिहे गरेर हामी नेपालमै फर्कन्छौँ र हाम्रो विषयमा केही चिन्ता लिनु पर्दैन ।” चिट्ठीमा भालेन्टिनाको एउटा फोटो पनि थियो । सोभियत महिलासँग विवाह गर्न बुबा मुमाको स्वीकृति चाहिने भएको हुँदा मैले ढिलो नगरिकन परराष्ट्र मन्त्रालयमार्फत मेरो त्यहाँ कसैसँग विवाह छैन र मेरा छोराले सोभियत सङ्घमा रुसी केटीसँग बिहे गरेमा हाम्रो केही आपत्ति छैन भनी एक पत्र पठाइदिन अनुरोध गरेँ ।
पक्कै पनि मेरो पत्रले बुबा मुमाको मनमा गहिरो पिर प¥यो होला । मलाई त्यो थाहा थियो र धेरै गा¥हो प¥यो होला मैले सोधेको कुरा गर्न । तर, के गर्नु नगरी नहुने भएकोले मनमा जतिसुकै पिर गाथाहरू भए पनि आवश्यक सबै कागज पत्रहरू बुबाले पठाउनुभयो ।
बिहे गर्ने स्वीकृति पाउँदा भालेन्टिनासँग सो कागजपत्रहरू आउँदा हामी धेरै खुसी भयौँ । भालेन्टिनाले हाम्रो बिहे हुने खुसीमा बुबाको लागि एउटा इलेक्ट्रिक दारी काट्ने मेसिन र एउटा रुसी ट्रान्जिस्टर किनेर पोस्ट अफिसबाट पार्सल गरी पठाइन् । त्यसबेला रुसमा इलेक्ट्रिक सेभर धेरै प्रचलनमा थियो । प्रायः सबैले दारी जुङ्गा खौरन यसै मेसिनहरू प्रयोग गर्थे । तर, नेपालको लागि त्यस्तो मेसिन धेरै अनौठो र विलाशिताको वस्तु थियो ।
भालेन्टिनाको व्यवहारदेखि मेरो परिवारमा अवश्य खुसीयाली छायो होला भनी मैले सम्झँे र घरमा बरोबर पत्रहरू लेख्दै गरेँ । भालेन्टिना पनि मलाई चिट्ठीमा उनको कुरा लेख्न लगाउँथिन् र बुबा मुमालाई केही चिन्ता नलिनुस् भनेर लेख्न लगाउँथिन् । यसरी हाम्रो बिहे हुनुअगाडि नै मेरो परिवारसँग नेपालमा हाम्रो सम्बन्ध गाँस्न पुग्यो । बुबालाई जस्तै हाम्रो बिहे हुने कुरा पक्का भएपछि मलाई पनि भालेन्टिनाले एक उपहार दिइन् । उनले मलाई दुई वर्षअघि आफ्नो पर्समा लुकाइराखेको ५० रुवलको एउटा नोट निकालेर देखाइन् र भनिन्, “राज यो ५० रुवल मलाई मेरी आमाले हाम्रो बिहे हुने बेलामा मलाई लुगाफाटो र सेतो हील भएको जुत्ता किन्नलाई भनेर दिएकी हुन् ।” रुसमा बिहेको बेलामा सेतो गाउन (लामो लुगा) र दुलही केटीले सेतो जुत्ता लाउने प्रचलन पहिलेदेखिको हो ।
भालेन्टिनाले भनिन्, “राज म सेतो गाउन लाउन चाहन्न, साधारण लुगामा म जान्छु तर एउटा सेतो जुत्ता र एउटा सुनको औँठी मलाई किन्दिनु र म तिमीलाई पनि आँैठी किन्दिन्छु । तर, यो ५० रुवल म तिमीलाई उपहार दिन चाहन्छु ।” मेरो आमाको तर्फबाट भनी उनले मेरो हातमा दुई वर्षदेखि सम्हाली राखेको ५० रुवलको नोट मेरो हातमा थम्याइ दिइन् ।
मलाई धेरै अप्ठेरो लाग्यो, त्यो पैसा नलिन पनि मिलेन । भालेन्टिना आफ्नो स्कूल सकाएर मस्कोमा पढ्न आउँदा हाम्रो भेट भएको थियो । हामी दुई भिन्ना भिन्नै इन्स्टिच्युटमा पढ्ने भए तापनि बस्ने ठाउँ ‘सोकल’ भन्ने एक विद्यार्थी सहरसँगै थियो । हाम्रो चिनापर्ची भएको वर्ष दिन नबित्दै भालेन्टिनाले मसँग बिहे गरेर नेपाल आउने सोच बनाइसकेकी थिइन् । उनले बिस्तारै बिस्तारै आफ्नो जालोमा फसाउँदै थिइन् । कहिलेकाहीँ उनी मलाई ठट्टा गर्दै भन्थिन्, “राज, मैले तिमीलाई बिरालोले मुसालाई जस्तै नचाउँदै खेलाउँदै छु हगि ।” वास्तवमा भालेन्टिनासँग भन्दा पहिले मेरो उनकै एक साथी ल्युडमिलासँग सम्बन्ध जोडिएको थियो । भालेन्टिना र ल्युडमिला अन्य दुई जना रुसी केटीहरूसँग उनीहरू पढ्ने ‘मेन्डेलीफ’ इन्स्टिच्युटको छात्रावासमा एउटै कोठामा बस्थिन् । ल्युडमिलालाई भेट्न म बरोबर उनीहरूका छात्रावास जान्थेँ र त्यहाँ जान्दा जान्दै भालेन्टिनासँग परिचय भएको थियो । एक वर्षको पढाइ सकिएपछि ल्युडमिला आफ्नो पढाइ छाडेर मस्कोबाट आफ्नो गाउँ गइन् र कहिल्यै पनि फर्केर आइनन् । मलाई केही खबर पनि गरिनन् । त्यसकारण मेरो ल्युडमिलासँग सबै सम्बन्ध टुटियो र भालेन्टिना साथी बन्न आइन् ।
एकचोटि हाम्रो बिहे हुनुअगावै भालेन्टिनाले मलाई आफन्तहरूसँग भेटाउन भनी आफ्नो सहर पेञ्जा लिएर गएकी थिइन् । पेञ्जा सहर मस्कोबाट ५००–६०० किलोमिटर टाढा दक्षिण पूर्वमा पर्छ । पेञ्जाबाट फर्किने बेलामा भालेन्टिनालाई ५० रुवल हाम्रो बिहेको कोसेली भनेर दिएकी थिइन् । त्यही ५० रुवल भालेन्टिनाले मलाई उनको आमाको तर्फबाट भनी उपहार दिन चाहेकी थिइन् । मैले अस्वीकार गर्ने कुरो पनि भएन । त्यसकारण मैले भनेँ, “ठीक छ भ्वाल्या, यसको लागि धेरै धन्यवाद ¤ तर, पैसा तिमीसँगै राखिछोड्नु, मसँग भयो भने यताउति पर्न सक्छ । तिमी सम्हाली राख, पछि यो पैसाले हामी केही गरौँला ।
मैले उनको उपहार स्वीकारेकोमा उनी धेरै खुसी भइन् । भोलिपल्ट एउटा पुस्तक बजारमा गएर एक चाङ ५१ भोलुमको ‘सोभियत इन्साइक्लोपेडिया’ किनेर ल्याइन् र भनिन्, “राज, लौ तिमीलाई हाम्रो बिहेको उपहार ।”
५१ भोलुमको मोटा मोटा पुस्तकहरू हाम्रो कोठामा राख्ने ठाउँ नै नभएर होस्टेलको पुस्तकालयको एउटा कुनामा केही दिनको लागि थुपा¥यौँ । पछि एक एक हप्तामा ५–५ वटा गर्दै पोस्ट अफिसमा गएर नेपाल साँखुमा पार्सल गरेर हामीले ती सबै पुस्तकहरू ‘ड बीग सोभियत इन्साइल्क्लोपेडिया’ पठायौँ ।
यी पुस्तकहरू धेरै अमूल्य छन् । सोभियत सङ्घ र विश्वकै सम्पूर्ण ज्ञान गुणले भरिएको यो ‘बृहत् सोभियत इन्साइक्लोपेडिया’ अहिले पनि मेरो कोठामा सजिएका छन् । भालेन्टिना र निर्नलाको नामबाट तीन वर्षपहिले स्थापना गरेको ‘निभा पुस्तकालय’ मा यो मेरो लागि भनेर दिएको भालेन्टिनाको एक अनुपम उपहार सजाएर राखेको छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *