भर्खरै :

सरकारमा घुसेका ‘मूर्खहरू’ ले शिक्षामन्त्रीलाई नैतिकताको फाँसीको फन्दामा झुन्ड्याउने !

नेपाली काङ्ग्रेसको सरकारले हरेक निर्वाचन क्षेत्रबाट दुई–दुईसय नेपाली युवाहरूलाई विदेशको बहुराष्ट्रिय कम्पनीहरूमा श्रमिक बनाउन सुरु गरेको थियो । देशलाई रसातलमा पु¥याउने षड्यन्त्र वा त्यो निर्णय कुन देशको गुप्तचर विभागको हो चिन्तनको विषय हो । राजा–महाराजाहरूको युगमा विषकन्यामार्फत राजा, मन्त्री र सेनापतिलाई हातमा लिइन्थ्यो, तिनीहरूको बीचमा फाटो ल्याइन्थ्यो वा हत्या गरिन्थ्यो र राज्य शत्रुदेशको हातमा जान्थ्यो ।
पुँजीवादी व्यवस्थामा पैसाले ठूला–बडा (सरकारका सल्लाहकार, सांसद, सचिव, मन्त्री, न्यायाधीश र प्रधानमन्त्रीहरूका नातागोता, गुप्तचर विभाग, प्रहरी र प्रधानसेनापतिहरू) लाई हातमा लिनेगर्छ । भनिन्छ, पुँजीवादी व्यवस्थामा हरेक विषय आर्थिक परिस्थितिले निर्णय गर्छ ।
नेपालमा केही उद्योगपति र व्यापारीहरूलाई बहुराष्ट्रिय कम्पनीहरूसँग मेल गराउँदा ७० लाख युवाहरू विदेश पठाइए । त्यसको निम्ति झन्डै एक लाख म्यानपावर कम्पनी (विदेशमा रोजगार दिने) हरूले हरेक जिल्ला, नगर, वडा र गाउँ–गाउँमा युवाहरू खोज्ने, पठाउन सम्झाउने र घर–जग्गा धितो राखी पैसा दिने साहु–महाजन, बैङ्क र सहकारीसँग ‘लिखितम’ मिलाइदिने आदि ‘नव गल्लावाला’ तयार गरियो । त्यसको परिणाम निम्न छन्–
१) धेरै–धेरै युवाहरूको घर–खेत जालीफटाहाहरूको हातमा पुग्यो, बैङ्कपतिहरूको हातमा पुग्यो,
२) निर्माण, खेतीपाती र अन्य कामधन्दामा लाग्ने युवाहरू नपाएर भारतबाट श्रमिकहरू ल्याइए र निर्माणको काम विदेशीको हातमा गयो,
३) घर–जग्गाको व्यापारले अनुत्पादक क्षेत्रमा पुँजी लगानी गरियो र समाजमा ठूलो अपराधको सङ्ख्या बढ्यो,
४) देशको कृषि अर्थतन्त्र ध्वस्त भयो र भारतीय खाद्यान्न, फलफुल आदिको आयातले वर्षको खर्बौँ रूपैयाँ विदेश गयो,
५) मजदुरहरूको अभावमा अनेकौँ उद्योगधन्दा बन्द भए वा सुके, विदेशी सामानको आयातले आउने रेमिट्यान्सको ठूलो भाग भारत पुग्यो र,
६) विदेश जाने युवाहरू कति मरे, कति घाइते भए र कति सरुवा रोग लिएर फर्के । सामाजिक नैतिकता र बन्दोबस्त ध्वस्त भयो । तर, रेमिट्यान्सले देश चलेको हल्ला गरियो । रगत बेचेर आएको नेपाली युवाहरूको डलर कता गयो ? ती सबै विदेशमै पुगे –
क) खाद्यान्न, फलफुल, अन्य दैनिक उपभोगका सामान, टिपर, ट्रक, मोटर, मोटरसाइकल, पेट्रोलियम पदार्थ (ग्यास), औषधी उपचारका साधन र सामान, भान्सा र कोठामा प्रयोग हुने बढीभन्दा बढी सामानको मूल्य भारतमा डलरको रूपमा जान्छ ।
ख) भारतीय श्रमिकहरूले वर्षमा अर्बौँ होइन खर्बौँ लाने समाचारपत्रहरूमा छापिएकै विषय हो ।
ग) भारत र पश्चिमी देशहरूमा हजारौँ हजार विद्यार्थी पढ्न जान्छन् । बेलायतको एउटा विश्वविद्यालयमा मात्र २५–२५ लाख तिरेर झन्डै १०० जना नेपाली विद्यार्थी पढ्छन् । (कान्तिपुर, १६ असोज २०७७) । अन्य देशका विश्वविद्यालयहरूको विद्यार्थी सङ्ख्या र डलरको हिसाब गर्ने हो भने आएको रेमिट्यान्स सबै विदेशमै पुग्छ । विदेशिएका ७० लाख नेपालीले देशमै उत्पादन गरेमात्र देश र जनता समृद्धितिर लाग्ने सम्भावना हुन्छ ।
यसकारण, सरकार र शासक दलका अर्थशास्त्रीहरू पुराना भए तथा विश्वविद्यालयमा पढाइने अर्थशास्त्रले साम्राज्यवादी र नवउपनिवेशवादीकै सेवा हुनेछ । सांसद नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेलहरूले देशलाई परनिर्भर बनाउने शिक्षा नीति अपनाउँदै छन् ।

One response to “सरकारमा घुसेका ‘मूर्खहरू’ ले शिक्षामन्त्रीलाई नैतिकताको फाँसीको फन्दामा झुन्ड्याउने !”

  1. प्रमोद न्यौपाने says:

    महत्त्वपूर्ण बिषयको लेखन सम्प्रेषण गरि पड्ने र बुज्ने अबसर मजदुर अन्लाईन ले दियको हुदा हार्दिक आभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *