भर्खरै :

टुँडिखेलमा भात खाने मान्छे

प्रिय मान्छे,
यतिञ्जेल त तिमी पनि पक्का भयौ सायद
यो सरकार
न तिम्रो भोक मार्न जन्मेको हो
न तिम्रो रोग फाँड्न बनेको हो ।
टुँडिखेलको डिलमा
घुँडामाथि कुइना अड्याएर
आकाशबाट झरेको पानी र
तिम्रो आँखाबाट झरेको पानी मिसाएर
गाँस निल्दै गर्दा
सँगै सरकारले ओढेको समृद्धिको पिताम्बरको रङ
पखालिँदै थियो ।
काम्दै थिए तिम्रा दुवै हात
जसले हालेका थिए
यो सरकारको पक्षमा स्वस्तिक छाप,
लरबराइरहेका थिए तिम्रा ओठ
जो चिच्याएको थियो केही थान समृद्धिका नारा ।
प्रिय मान्छे,
तिमीलाई थाहा छैन
कुन दिन तिम्रो निधारमा पनि दामिनेछ
पीसीआर पोजेटिभको दाम
अनि तिमी आउन पाउनेछैनौ टुँडिखेल,
थाप्न पाउनेछैनौ थालभरि भात
अनि भर्न सक्नेछैनौ भोको पेट ।
सरकार आफ्नो ब्रिफिङमा एकोहोरो बोलिरहनेहरू
‘सावधान ! सावधान !’
जनस्वास्थ्य सङ्कटमा
सरकारलाई सावधानी गर्नमै फुर्सद छैन
तिम्रो चिसो ओछ्यानमा
कसले ल्याइदेओस् तातो भात !
ओछ्यानमै
घुँडामाथि कुइना अड्याएर
तिमी सम्झनु
प्रधानमन्त्रीका चुनावी भाषण ।
प्रिय मान्छे,
सरकारले न तिम्रो भोकको कथा बुझ्न सक्यो
न तिम्रो रोगको कथा सुन्न सक्यो
सरकार बरु तिम्रो भोक र
रोगको भकुन्डो बनाएर
आफ्नो आयु बढाउन
म्याच खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *