भर्खरै :

भारतीय एकाधिकार पुँजीबाट छिमेकीहरू प्रताडित छन्

भारतका केही उच्च ओहदामा बस्नेहरू नेपाललाई भारतविरुद्ध चीनले उक्साएको भन्ने आक्षेप लगाउने गर्छन् । नेपालले आप्mनो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा तयार गर्दा चीनको उक्साहट देख्यो विस्तारवादी भारतले । तराईको विकासमा पक्षपात देख्छन् भारतका नेताहरू । विगतका यस्ता अनेकन असमझदारीका सवालहरू छन् ‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तकमा, जुन आजको परिस्थितमा पनि सान्दर्भिक छ । यो पुस्तक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा २०३० को दशकमा लेखिएका रचनाहरूको सङ्गालो वि.सं. २०४२ असारमा काठमाडाँैको युवा अध्ययन गोष्ठीले पहिलो संस्करण प्रकाशित गरेको हो । दोस्रो संस्करण २०७२ मंसिर २२ गते नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ स्थापना दिवसको अवसरमा प्रकाशित भएको छ ।
‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तक ५ खण्डमा छ । खण्ड १ – ‘नेपाल–भारत सम्बन्ध शीर्षकमा के तराई एक उपेक्षित क्षेत्र हो ?’, ‘हिमेशिया’ र ‘मातृभूमि’ एउटै ड्याङका मूला, नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारीहरू एवम् सही समाधानका उपायहरू र नेपाल–भारत मैत्रीको एक उदाहरण ः कोशी योजना रहेका छन् । खण्ड २ मा भारत– एक अध्ययन शीर्षकमा भारतीय शिक्षा व्यवस्था– एक दृष्टि, भारतमा विदेशी पँुजी, के भारत साम्राज्यवादतिर लम्कँदै छ ?, ‘सिक्किमी प्रजातन्त्र– एक परीक्षण’ लाई खोतल्दा, भारतको पँुजीपतिवर्ग, भारतको सैनिक शक्ति, भारतका विभिन्न जन–जातिको स्थिति, भारतमा महिलाको स्थिति, भारतको स्वास्थ्य र उपचार सेवा, भारतको ऋण र आत्मनिर्भरता, भारतमा अपराधको स्थिति, भारतीय स्वतन्त्रताको रजत जयन्ती र त्यस पछिका वर्षहरू, काङ्ग्रेसको ‘समाजवाद’ र ‘गरिबी हटाऊ’ रहेका छन् ।
त्यसैगरी खण्ड ३ अन्तर्गत विविध शीर्षकमा नेपालमा चिनियाँ प्रभावको कारण, सिक्किमको विलयबारे भारतको संसद्भित्र र बाहिर सङ्घर्ष, मन्त्रिमण्डलको प्रतिनिधित्व र एक मीठो भेटघाटको तीतो टिप्पणी, परमानन्दको ‘तराईवाला नेपाल’ बारे चिरफार गर्दा, सुवास किरपेकरको द¥हो भारत–नेपाल सम्बन्धबारे, तिब्बत र भारत–चीन सीमा सङ्घर्ष र भारत र चीनको विकासको तुलनात्मक अध्ययन रहेका छन् । खण्ड ४ अन्तर्गत आजको सन्दर्भ शीर्षकमा समसामयिक सन्दर्भमा का. रोहित १) झुक्नुको अर्थ थप अत्याचारलाई आमन्त्रण गर्नु हो, २) निरन्तर झुकेको झुक्यै गर्दा हाम्रा समस्याहरू झन्–झन् थपिँदै गए, ३) ‘साम्प्रदायिक आन्दोलनको सूत्रधार भारतीय प्रतिक्रियावाद हो’, नेपालको संविधान ः एक ऐतिहासिक कदम, छिमेकीसँगको सम्बन्ध नबिगार, युवा–विद्यार्थीको विरोधपत्र र नाकाबन्दीको विरोधमा जनलेखक सङ्घको भारतीय प्रमलाई विरोधपत्र रहेका छन् । त्यसैगरी खण्ड ५ मा भारतका केही सान्दर्भिक तथ्याङ्क शीर्षकमा केही सान्दर्भिक तथ्याङ्क, भारतका प्रान्तहरूको क्षेत्रफल र जनसङ्ख्या, भारतको प्रान्तीय साक्षरता प्रतिशत, भारतमा अपराध, भारतमा विभिन्न देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतको कूल ग्रार्हस्थ उत्पादन, सार्क देशहरू र चीनको कूल गार्हस्थ उत्पादनको तुलनात्मक तथ्याङ्क, भारतले निर्यात गर्ने तयारी वस्तुहरू (प्रतिशतमा), भारतमा वैदेशिक व्यापार र भारतमा बोलिने भाषाहरू रहेका छन् ।
भारतीय शासकहरूले तराईलाई उपेक्षित क्षेत्रको रूपमा चित्रण गर्ने गर्छन् । भारतका एक पत्रिका ‘दिनमान’ ले ‘उद्योगधन्दा’ को ‘प्रतिनिधित्व’ पाउन तराई वञ्चित छ भनी लेखेको पुस्तकमा उल्लेख गरिएको छ । नेपालमा काठमाडौँ उपत्यका बाहेक भन्ने हो भने देशमा सबभन्दा बढी तराईले नै उद्योगधन्दाको प्रतिनिधित्व गरेको छ । विराटनगरको जुट मिल, चिनी र सलाई, स्टेनशील र नाइलन, जनकपुरको चुरोट कारखाना, वीरगन्जको चिनी, कृषि औजार, चुरोट, सलाई आदिको उद्योगधन्दा तराईमा नै थियो । वास्तवमा तराईलाई आर्थिकरूपमा नेपालको मेरुदण्ड भन्दा फरक पर्दैन । वर्तमान अवस्थामा आइपुग्दा पनि भारतीय शासकहरू तराईका केही आप्mना दलालहरूलाई उक्साएर मधेस आन्दोलनको बहानामा नेपाल टुक्राउने खेल खेलिरहेका छन् ।
सन् १९७६ जनवरी २६ को ‘हिमेशिया टाइम्स’ साप्ताहिकमा भारतको एक विश्वविद्यालयका राजनीतिक विज्ञानका एक रिडरको ‘भारत–नेपाल सम्बन्ध एक विश्लेषण–एक पर्यवेक्षक’ बारे पुस्तकमा बुँदागतरूपमा केलाइएको छ । सिक्किम नेपालको छिमेकी मात्र नभई त्यहाँ ७५ प्रतिशत जनसङ्ख्या नेपाली रहेको उल्लेख छ । सन् १९७४–७५ मा भारतले सिक्किम आप्mनो देशमा गाभेपछि सिक्किमी जनताले त्यसको विरोधमा सङ्घर्ष गरेका थिए । नेपाली जनताले सिक्किमी जनताको स्वतन्त्रता आन्दोलनमा साथ र समर्थन दिएका थिए । रिडरले आप्mनो लेखमा ‘तीव्र भारतविरोधी प्रतिक्रिया’ भनी अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति ठूला राष्ट्र अहङ्कारवादबाट प्रेरित भावना हो ।
नेपाल र भारतको सम्बन्धलाई ‘विषाक्त’ गर्ने तत्वहरू वास्तवमा भारतीय एकाधिकार पुँजी, साम्राज्यवादी शक्तिहरू र ठूलो राष्ट्र अहङ्कारवाद नै हो । नेपाली र भारतीय जनताको शोषणविरोधी सङ्घर्षले मात्रै ती तत्वहरूलाई सदाको निमित्त समूल नष्ट गर्न सकिनेछ ।
देश सानो होस् वा ठूलो, सार्वभौमसत्ता सम्पन्न राज्यहरू समान मानिन्छन् । नेपाललाई ‘केही विदेशी कूटनीतिज्ञ’ हरूबाट ‘बढाइचढाई’ कन ‘उक्साइएको’ भयबाट नेपाल–भारत सम्बन्ध नराम्रो भएको भन्नु विदेशमा नेपालको सार्वभौमिकता र स्वतन्त्रताबारे गलत तस्वीर दिनु हो । नेपाल–भारत सम्बन्धमा देखापरेको तीतोपनको जड सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत सन्धि हो भनी पुस्तकमा उल्लेख गरिएको छ ।
नेपाली र भारतीय जनताको सम्बन्ध इतिहास जत्तिकै प्राचीन छ । प्रकृतिले पनि यस सम्बन्धलाई दरिलो बनाइदिएको छ । यथार्थवादी दृष्टिकोणले दुई देशका जनतामाझको यो सम्बन्ध एकपक्षीय मात्रै हो । समस्याको राम्रो अध्ययन र त्यसको उचित समाधानको निम्ति दुवै पक्षलाई राम्रोसँग केलाउनु आवश्यक हुन्छ ।
नेपाली जनताले साम्राज्यवाद, उपनिवेशवाद र दुई महाशक्तिको प्रभुत्ववादको विरोध गर्छन् । नेपाली जनताको यस साम्राज्यवाद र उपनिवेशवादविरोधी भावनालाई ‘चीनको उक्साइ’ र भड्काइ भन्ने गलत समझदारीमा लिइयो । नेपाली जनताको साम्राज्यवादविरोधी देशभक्तिपूर्ण अभिव्यक्तिलाई ‘चीनको उक्साइ’ भन्नु नेपाली जनताको गौरवपूर्ण राष्ट्रिय भावना र साम्राज्यवादविरोधी परम्परालाई जानाजानै चोट पु¥याउने एक अशिष्टता तथा नेपाली एवम् चिनियाँ जनताको साम्राज्यवादविरोधी परम्परागत मैत्रीलाई धमिल्याउने एक दुष्प्रयास पनि थियो । भारतीय शासकहरूको यस्तो खालको दृष्टिकोणमा आज पनि कुनै फेरबदल भएको छैन ।
काशी योजनाबाट उत्पादन हुने बिजुलीबारे कुरो उल्टो छ । नेपालमा उत्पादन हुने बिजुली नेपालले भारतसँग उसकै मूल्य र निगाहामा किन्नुपर्छ । कोशी योजनाले नेपाललाई नभई भारतलाई बढी फाइदा छ । यो योजनाले भारतलाई बाढीबाट बचाएको छ, लाखौँ एकड जमिन सिँचाई गरेर उत्पादनमा ठूलो वृद्धि गरेको छ । यो नेपाली जनतालाई भारतीय पक्षको दान हो कि भारतको निम्ति नेपाली पक्षको त्याग ? कोशी नदी बगिरहेसम्म भारतीय पक्षले नेपाललाई थिचोमिचो गरेको र नेपाल ठगिएको कुरो प्रमाणित भइरहने छ । त्यस्तै शारदा बाँध टनकपुर बाँधलगायतका परियोजनाले नेपाल ठगिएको पनि स्पष्ट भइसकेको छ ।
उपनिवेशकालमा भारतमा बेलायतकै उपनिवेशवादी शिक्षा लादिएको थियो । भारत स्वतन्त्र भएपछि पनि बेलायती उपनिवेशवादी शिक्षाको हाँगा–बिँगा यथावत रह्यो । उपनिवेशवादी शिक्षा प्रणालीकै कारण भारतमा शिक्षाको स्तर खस्किएको छ । डिग्रीको प्रमाणपत्र सिनेमा हलमो टिकट जस्तै किनबेच गरिन थालियो । यो अवस्था भारतमा अहिले पनि विद्यमान छ ।
विदेशी कम्पनीहरू भारतको आर्थिक विकास हुने उद्योगहरूमा लगानी गरिरहेका छैनन् । विदेशी कम्पनीका मातृ कम्पनीहरू भारतमा आप्mना शाखाहरूबाट उत्पादित सामान भारतमै बेच्ने र बाहिर निर्यात नगर्ने सर्तमा आउँछन् । यसकारण, यस्ता कम्पनीहरूबाट भारतको निर्यात व्यापारलाई त्यतिको फाइदा भएको मानिँदैन । भारतीय एकाधिकार पँुजीले यसैको सिको गरेर आप्mनो प्रभावको विस्तार गरिरहेको छ ।
इतिहासमा हिन्दु साम्राज्य पूर्वमा दक्षिणपूर्वी एसियादेखि अफगानिस्तान, इरान रुस र अरब सागरसम्म फैलिएको थियो । त्यसको प्रभाव अरू पनि विभिन्न देशका जनताको भाषा र संस्कृतिमा छाएकै छ । भारतीय जनतामा पनि त्यो साम्राज्य विस्तारको भावना अहिलेसम्म हटिसकेको छैन । भारतका केही पानी जहाज र हवाईजहाजको नाम नै ‘सम्राट विक्रान्त’ अथवा ‘विश्व विजयी’ जस्ता नामाकरण भएको देखिन्छ । विभिन्न भागका मुख्य–मुख्य पदमा बसेका अधिकारीहरूको ठूलो राष्ट्र अहङ्कारवादको मनोभावनालाई यसले प्रतिविम्बित गर्छ । ऐतिहासिक र सांस्कृतिकरूपले भारतको माथिल्लो ओहदामा बस्नेहरू साम्राज्य विस्तारको भावनाले पीडित हुनु आश्चर्यको कुरो नभएको पुस्तकमा प्रस्ट्याइएको छ ।
कुनै पनि समाजको स्थिति बुभ्mन त्यस देशको उत्पादनका साधनहरूको मालिकत्व कसको हातमा छ भन्ने कुरा बुभ्mन आवश्यक छ । भारत पनि एक पुँजीवादी देशमा गनिन्छ । भारतीय पुँजीपतिवर्गको सम्पत्ति र नाफाबारे संसारमा चर्चा गरिन्छ । भारतमा एकातिर पुँजीपतिवर्गको सम्पत्ति र नाफाको दर बढ्दै गएको देखिन्छ भने अर्काेतिर कामदार जनताको जीवनस्तर झन्–झन् कष्टकर बन्दै गएको छ । भारतीय एकाधिकार पुँजीबाट जसरी नेपाललगायतका छिमेकी देशहरू प्रताडित छन् त्यसैगरी भारतीय कामदार जनता पनि उठ्नै नसक्ने गरी पिल्सिएका छन् । ‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तकमा नेपाल–भारत बीचको असमझदारी र भूmटो प्रचार स्पष्टरूपमा छर्लङ्गिने गरी उदाहरण, तथ्य तथ्याङ्कसहित उल्लेख गरिएको छ । नेपाल–भारत सम्बन्धका विभिन्न आयाम बुभ्mन चाहने पाठकहरूलाई पुस्तकले वैचारिक खुराक प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *