भर्खरै :

एउटा अर्को जनआन्दोलनको माग

 (रौतहटको सदरमुकाम गौरको दालमील चौरमा विद्यार्थी, शिक्षक र कर्मचारीको भेट हुन्छ । औपचारिक शिष्टाचारपछि देशको स्थितिबारे सङ्क्षिप्त भलाकुसारी हुन्छ ।)
विद्यार्थी: काठमाडौँ थःवहीस्थित सार्वजनिक कमल पोखरी मासेर १२ तलाको व्यापारिक भवन बनाइयो रे ! राजधानीको सार्वजनिक सम्पत्ति संरक्षण गर्न नसकेको सरकारले देशको अन्य भागको सार्वजनिक सम्पत्ति कसरी संरक्षण गर्ला ?
शिक्षक: काठमाडौँमा मात्रै होइन, भक्तपुर, ललितपुरलगायत देशभरिकै पोखरी, चौर, जङ्गल कति मासिए कति ! सरकार समर्थक केही लोभीहरूले लुटेरै खाइरहेका छन् । उनीहरूले सार्वजनिक पनि गर्दैनन् ।
कर्मचारी: विकासको लागि सडक बनाइन्छ । सडकको दायाँ बायाँको सरकारी जग्गा त्यस्ता लोभीहरूबाट कब्जा हुन्छ । सुरुमा छाप्रो बनाइन्छ, पछि भवन ठड्याइन्छ । सार्वजनिक जग्गामा बनाइएका त्यस्ता घरहरूलाई अहिले सरकारबाट दर्ता गर्न मिल्ने कानुन बनाइयो ।
विद्यार्थी: संवत् २०२१ सालको नक्सामा सार्वजनिक जनिएका पोखरी, ढुङ्गेधारा, पाटी, सत्तल आदि समेत कसरी व्यक्तिको नाममा दर्ता गरियो ? के यसका दोषी कर्मचारीहरूलाई कार्वाई हुनु पर्दैन ? के जनताको सम्पत्ति सरकारले भागबण्डा गरेरै सिध्याउने भयो ?
शिक्षक: हो, सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा दर्ता गरिदिने कर्मचारीहरूमाथि नै कारबाही हुनु जरुरी छ । कर्मचारीलाई कडा कारबाही नहुँदा अहिले पैसा खाँदै सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा दर्ता बढेको हो ।
कर्मचारी: सचिवदेखि तल कार्यालय सहयोगीसम्म केही कर्मचारी भ्रष्टाचारी हुँदा कर्मचारी संयन्त्र नै बदनाम भयो । त्यस्ता कर्मचारीलाई कारबाही नगरी सरुवा वा जगेडामा राख्ने काम पञ्चायतकालदेखि नै हुँदै आएको हो ।
विद्यार्थी: पञ्चायतको गलत काम अहिले पनि चालु हुने भए यो कस्तो सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो ? सरकारमा गएका पार्टीहरू कति निर्लज हुन् ?
शिक्षक: शोषक वर्गले सर्वसाधारण जनतालाई छलछाम गर्दै आएको यही हो । प्रम केपी ओलीले भनिसके त प्रदेश भनेको सङ्घको प्रशासनिक इकाइ हो । उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण नभएको लोकतान्त्रिक गणतन्त्र पुँजीपति वा शोषक वर्गकै बपौती हो ?
कर्मचारी: नेकाले पञ्चायतकै बाटो लियो भने एमाले र माओवादीले नेकाको बाटो लिए । निर्वाचनमा एमाले, माओवादी र नेकालाई नै मत दिनेहरू अहिले सरकारमा गएका पार्टीहरू र प्रमुख प्रतिपक्षी पार्टीलाई बत्ती बालेर खोज्नुपर्ने तर्क गर्दै छन् ।
विद्यार्थी: सरकारका पूर्वअधिकारीहरू कोही लिम्पियाधुराविनाको नेपालको नक्सा बनाउने हुन् भने कोही त्यसैलाई समर्थन गरी प्रमुख जिल्ला अधिकारीदेखि सचिव भएर निवृत्तिभरण भत्ता पाएका हुन् । उनीहरू नै अहिले सीमाविद् र सीमा अभियन्ता दावी गर्छन् ।
शिक्षक: हामीले पढाएकाहरू नै प्रमुख जिल्ला अधिकारीदेखि सचिवसम्म भएका धेरै छन् । ती कसैले पनि लिम्पियाधुरासम्म नेपालको भूभाग भएको दावी गरेनन् । अहिले नेपालको नयाँ नक्सा जारी भयो तर भूमि फिर्ता भएको छैन । भूमी फिर्ता लिनेबारे कुनै कर्मचारी बोलिरहेका छैनन् ।
कर्मचारी: नेपालको कतिपय पूर्व र वर्तमान सचिवहरू क्रान्तिपछि चीन तिब्बतमा पसेको जस्ता गलत बुझाइ राख्छन् । प्राचीन समयदेखि नै तिब्बत चीनको अभिन्न अङ्ग भएको उनीहरू बुझ् पचाउँछन् । यसको अर्थ नेपालको कर्मचारीतन्त्रमा भारतको प्रभाव बढेको हो ।
विद्यार्थी:  नेपालको राजनीति र अर्थतन्त्रमा भारतको प्रभाव भएको हुँदा कर्मचारीतन्त्रमा पनि त्यो प्रभाव पर्नु स्वाभाविक हो । भारतीय विस्तारवाद र एकाधिकार पुँजीबाट नेपालको राजनीति र अर्थतन्त्रलाई मुक्त गर्न अहिलेसम्मका सरकारहरू असफल नै भए ।
शिक्षक: कतिपय पूर्वसचिव भक्तपुरको पार्टी भन्छन् । यो नेपाल मजदुर किसान पार्टीलाई सङ्केत गरेको हुनुपर्छ । तर, एमालेलाई झापाको पार्टी, माओवादीलाई गोरखाको पार्टी, नेकालाई विराटनगर वा बैतडीको पार्टी, राप्रपालाई धनकुटा वा मकवानपुरको पार्टी भन्दैनन् ।
कर्मचारी: यसलाई बडाराष्ट्र अहङ्कारवाद भन्नु उपयुक्त हुनेछ । गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका कब्जा गरेपछि खस बडाराष्ट्र अहङ्कारवाद बढ्दो छ ।
विद्यार्थी: बहुदल पुनः स्थापनाको तीस वर्षयता सरकारमा गएको नेकाले देशको सन्तुलित विकास नगरी काठमाडौँमा जनसङ्ख्या केन्द्रित ग¥यो । परिणाम यहाँको सांस्कृतिक सम्पदा विनाश बढ्दो छ । यो गलत कामलाई एमाले र माओवादीको सरकारले निरन्तरता दिए । त्यसैले पहिलो दोषीे नेका, त्यसपछि एमाले र माओवादी हुन् ।
शिक्षक: काठमाडौँकै नक्साल भगवतीनेर १२ तलाको होटल भवन बनाउन दिइयो । सो भवन निर्माणको लागि ठूलठूला मेसिन प्रयोग हुँदा भूकम्प गएको जस्तो कम्पन भयो । स्थानीय जनता रोए, कराए तर सरकारले टेरेन । कतिले त्यहाँबाट घर बेचेर अन्त जानुप¥यो ।
कर्मचारी: यस्तो स्थिति काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्र वरिपरी बस्ने जनताको पनि छ । काठमाडौँ उपत्यकामा डाइङ कपडा रङ्गाउने र पकाउने उद्योग खोल्न नपाउने कानुनी व्यवस्था छ । तर, घरेलु उद्योगको लागि स्थापना भएको भक्तपुर साना उद्योग क्षेत्रमा टेक्सटायल, डाइङ, रङ्गरोगन, प्लास्टिकजस्ता ध्वनी, धुवाँ र रसायन प्रदूषण फाल्ने उद्योगहरू सञ्चालित छन् । टेक्स्टाइल मेसिन सञ्चालन हुँदा वरिपरी भूकम्पकै धक्का महसुुस हुन्छ । यस्तो गलत काम गराउन सरकारका मुख्य – मुख्य पदाधिकारीहरूको मिलिमतो रहेको देखिन्छ ।
विद्यार्थी: देशको स्थितिले अब फेरि जनताको आन्दोलनको माग भइरहेको देखाउँछ । यी सबै बेथितिलाई जनआन्दोलनले मात्र ठेगान लगाउनेछ ।
शिक्षक: साँझ पनि भयो, बाँकी अर्को भेटमा छलफल गरौँला ! अहिलेलाई छुटौँ !
(पर्दा खस्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *