भर्खरै :

न्हू दँ’, ‘भिन्तुना’ र सामयिक चर्चा

‘न्हू दँ’ को ‘भिन्तुना’
कोरोना कहरका बीच हामी तिहार, न्हू दँ नेपाल संवत् ११४१ मनाइरहेका छौँ । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना र न्हू दँ ११४१ को भिन्तुना !
चाडपर्व वरपर नेपाली समाजमा संस्कृति, सम्पदा, साहित्य, भाषाबारे छलफल तथा बहस हुने गर्दछ । विशेषगरी दसैँ–तिहार वरपर संस्कृतिका नाममा आइरहेका विकृति, लोप हुँदै गइरहेको मौलिकता, सम्पदाको विनाशबारे चिन्ता व्यक्त गरिन्छ । तिहारको ‘म्हः पूजा’ को दिनदेखि नेपाल संवत्अन्तर्गत नयाँ वर्ष सुरु हुन्छ । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने, व्यापक प्रचलनमा ल्याउने, वैज्ञानिकता प्रदान गर्नेबारे पनि लामो छलफल चलेको थियो र जारी छ । यही सेरोफेरोमा नेपाल भाषा एउटा समृद्ध भाषा भएर पनि सङ्कटमा पर्दै गइरहेको सम्बन्धमा बारे ‘न्हू दँ’ सँगै गर्मागर्मी बहसहरू हुने गर्दछन् । हिजोआजको चर्को बहसको विषय भनेको विकासको नाउँमा भइरहेको विनाश तथा रैथानेहरूको उठिबास नै हो । राज्य स्वयम्ले गरिरहेको सांस्कृतिक संहार तथा जातीय दमनका कारण विष्फोटक स्थिति तयार भइरहेको पनि त्यत्तिकै सोचनीय एवम् संवेदनशील विषय हो । यी विषयमा पनि यो वर्षको ‘न्हू दँ’ कार्यक्रममा छलफल चल्यो । ललितपुरको खोकना र बुङ्गमतिका किसानहरूले आपूmमाथि सरकारले गरिरहेको दमन तथा उठिबास गर्ने योजनाका विरुद्ध प्रदर्शनी गरेर ‘न्हू दँ’ मनाए ।
‘न्हू दँ’ र हनुमानहरू !
‘न्हू दँ’ का क्रममा कति मानिस आफूलाई भाषासेवी, संस्कृतिप्रेमी, नेवार समुदायको नेता भनेर प्रस्तुत गर्दछन् । त्यसमा तछाड–मछाड गर्छन् । तर, ‘न्हू दँ’ अघिल्लो दिनसम्म र भोलिपल्टदेखि ‘न्हू दँ’ विरोधी गतिविधिमा लाग्दछन् । ‘न्हू दँ’ को भावनालाई सत्ताले बक्सिस् दिएको बुटले कुल्चिदिन्छन् । सयौँ वर्षदेखिका बस्ती उठाउने कार्यमा सङ्लग्न नेता, मन्त्री या अधिकारीको चम्चा भएर हिँड्छन् । आफै कि त भूमाफिया छन् या तिनलाई पोस्न तल्लिन हुन्छन् । सम्पदा मासेर व्यापारिक कम्प्लेक्स बनाउने काममा सङ्लग्न हुन्छन् या त्यस्ता सामाजिक अपराधीहरूलाई काँधमा बोक्दै हिँड्छन् । भाषा संरक्षण तथा विकास, जातीय अधिकारको नारा दिन्छन् तर साम्प्रदायिक भावना तथा जातीय अहङ्कार पाल्ने ठूला टाउकेलाई नै ढोग्न पुग्छन् र लम्पसार पर्छन् । आफ्नै समुदायभित्रका सच्चा जनसेवक, समाज सुधारक तथा राजनीतिक अगुवाको तेजोबध गर्न पुग्छन् । त्यस्ता हनुमानहरूकै कारण जनताले दुःख पाइरहेको र प्रतिक्रियावादी सत्ताले खेल्ने मौका पाएको छर्लङ्ग छ । ती हनुमानहरूलाई दूधमा परेका झिङ्गालाई झैँ फाल्ने क्षमता जनतामा जबसम्म हुँदैन तबसम्म समाज आशा गरिएबमोजिम सफा नहुने निश्चित छ ।
भिन्तुना कि खोकना ?
खोकना र बुङ्गमती नेवार समुदायको पुराना बस्ती हुन् । किसान बाहुल्य र कृषिजन्य उत्पादनका निम्ति प्रसिद्ध । काठमाडौँ उपत्यकाको उत्पत्ति र विकाससँग सन्निकट सम्बन्ध रहेका प्राचीन बस्ती । मौलिक कला–संस्कृति, पराम्परागत ज्ञान–सीपले सम्पन्न ललितपुरका लोभलाग्दा स्थान । आज यी प्राचीन सभ्यताका धरोहर सङ्कटमा छन् । विनाशको डिलमा उभिएका छन् । शासकहरूको पक्षपात, दुष्टमति र बदलाको भावका कारण ठूलो पीडामा छन् । त्यहाँका मानिस आँसुमा डुबेका छन् । आक्रोशित छन् । पूर्खाले सुम्पेको चिनो जोगाउन सङ्घर्षरत छन् । फास्ट ट्राक, स्मार्ट सिटी, बाग्मती कोरिडोर, बाहिरी चक्रपथ आदि भौतिक निर्माण नाउँका भूतले सताउँदै छ त्यहाँका सोझा–सीधा जनतालाई । सयौँ वर्ष पुराना बस्ती उठाएर, मठमन्दिर भत्काएर सडक निर्माण तथा विभिन्न भौतिक निर्माण गर्न खोजिँदै छ । ‘फास्ट ट्राक’ निर्माणको नाउँमा किसानहरूको जग्गा–जमीन खोसिँदै छ । शासकहरू किसानलाई विचल्लीमा पारेर अनि तिनका बालबच्चालाई भोकभोकै मारेर समृद्धिको सपना देखाउँदै छन् ।
संहारमा समृद्धि देख्ने घातक रोग शासकलाई लागेको छ । खोकना र बुङ्गमती त उदाहरण मात्र हुन् । त्यही दूर्गति, त्यही ब्यथा यतिखेर काठमाडौँ उपत्यकाका शोषित–पीडित जनताले भोगिरहेका छन् । सिङ्गो काठमाडौँ उपत्यकालाई खोकना बनाइदिने षड्यन्त्र रचिइँदै छ । विनाशलीला मच्चाइँदै छ । यो अस्तव्यस्त उपत्यका, काकाकूल सहरलाई फेरि ‘स्मार्ट सिटी’ बनाउने आत्मघाती योजना अगाडि ल्याएर ‘टाइम बममाथिको बस्ती’ बनाइँदै छ । भूमाफियाहरूको दबाब र प्रभावमा परेर शासकहरूले यो प्रस्ताव अघि सारेको प्रस्ट छ । सरकारी, सार्वजनिक जग्गा खान पल्केका र गरिब किसानका जग्गा लुटेर मोटाएका ठूला–ठूला जग्गा अपराधीहरू उपत्यकालाई छिटोभन्दा छिटो ध्वस्त बनाउने कुकर्म गर्दै छन् । ‘स्मार्ट सिटी’ काठमाडौँ उपत्यका मात्र होइन देशै बर्बाद पार्ने र देशलाई कहिल्यै माथि उठ्न नदिने एवम् सम्हाल्न असम्भव बनाइदिने षड्यन्त्र हो । ‘स्मार्ट सिटी’ देश कमजोर बनाउने अघोषित योजना हो भन्दा फरक नपर्ला र ‘स्मार्ट सिटी’ उपत्यकाका बहुसङ्ख्यक कामगरी खाने जनताविरुद्ध उठाइएको तरबार हो ।
त्यस्तो जघन्य अपराधका योजनाकार अभियन्तालाई प्रमुख अतिथि, अतिथि बनाएर अनि तिनकै जयजयकार गरेर मनाइने न्हू दँ के आफैमाथि व्यङ्ग्य होइन ? गलपासो होइन ? ध्वंस, अन्तरध्वंसको आमन्त्रण होइन ? के तिनलाई भिन्तुना दिन र तीबाट भिन्तुना लिन सुहाउँछ ? त्यसो गर्न नैतिकताले दिन्छ ? भिन्तुना भन्दै सिङ्गो उपत्यकालाई खोकना बनाउन ‘लाइसेन्स’ दिनु के उचित हुन्छ ?
‘न्हू दँ’ को ‘भिन्तुना’ ! खोइ अझै चेतना ?
किसानमारा तथा सांस्कृतिक संहारकहरूको पुच्छर समाएर हिँड्नेहरूको ‘न्हू दँ’ को ‘भिन्तुना’ छलछाम बाहेक अरू केही हुन सक्दैन । काठमाडौँको मुटुमा अवस्थित कमलपोखरीमा छायादेवी कम्प्लेक्स निर्माण गर्ने र उद्घाटन गर्नेहरू ‘न्हू दँ’ को ‘भिन्तुना’ भन्दै जनतालाई फकाउँदै हिँड्छन् । सडक विस्तारको नाउँमा गरिबका बस्ती, घर, सम्पदा ध्वस्त पार्नेहरू भिन्तुना दिन घर – घरमा पुग्छन् ! त्यस खालका पात्र एवम् प्रवृत्तिको पूजा गर्ने वा भक्त बन्ने अनि ‘भिन्तुना’ दिने ? त्यो कसरी ‘भिन्तुना’ बन्छ ? त्यस्तो ‘भिन्तुना’ गुलियो पोतिएको विष बाहेक अरू के होला ? त्यस्तो ‘भिन्तुना’ मा विश्वास गर्न अस्वीकार गरेको दिनदेखि मात्र जनता ठगिइने छैनन् । बेवकूफ बनाइने छैनन् । नत्र, ‘भिन्तुना’ आत्मघाती गोली बन्नेछ । ‘भिन्तुना’ त ठगहरूको सूत्र बन्दै छ । ‘भिन्तुना’ दिँदै सम्पदा समाप्त पार्ने ! ‘भिन्तुना’ दिँदै दाजुभाइबीच बेमेल गराउने र करोडौँ – करोडको सम्पत्ति खोस्ने । तिनको ‘मत’ खोस्ने ! तिनमाथि नै शासन गर्ने, शोषण गर्ने तथा दमन गर्ने ! षड्यन्त्रकारीहरूको ‘भिन्तुना’ देखि टाढा बस्नेलाई ‘विकासविरोधी’, ‘आधुनिकताविरोधी’, ‘कुवाका भ्यागुता’ र सङ्कीर्ण भनी होहल्ला गर्ने र ‘भिन्तुना’ त आज भेद नीति बनेको छ । बहुसङ्ख्यक कामगरी खाने जनताले जब यो यथार्थ बोध गर्नेछन् तबमात्र यहाँको सामाजिक तथा राजनीतिक विकृति क्रमशः घट्दै जानेछ । त्यो खालको चेतना जागरण र एकता नै आजको आवश्यकता हो । तब हनुमानहरू लखेट्न सम्भव हुनेछ । खोइ अझैसम्म यो चेतना किन आएन ?
सांस्कृतिक हमला
सांस्कृतिक सम्पन्नता गौरवको विषय हो । कला, संस्कृति, सम्पदा पूर्खाले सुम्पेका अमूल्य नीधि हुन् । आज त्यही अपार वैभवको विनाश हुँदै छ । सम्पदाहरू खतराको सूचीमा पर्दै छन् । संस्कृति नाश हुँदै छ । संस्कृतिमाथि घरभित्र र बाहिरबाट बमवर्सा हुँदै छ । विदेशी सांस्कृतिक हमलाले भयावह रूप लिँदै छ । इतिहासमा सांस्कृतिक अतिक्रमणले यति विकराल रूप लिएको सायद पहिलो पटक होला ! विदेशी शक्ति नियोजित ढङ्गमा आइरहेका छन् भने नेपाली शासकहरू प्रतिकार गर्नुको सट्टा दलाली गर्दै छन् । आत्मसमर्पण गर्दै छन् । ठाउँ–ठाउँमा भारतीय एकाधिकार पुँजी र संरा अमेरिकी साम्राज्यवाद विभिन्न संरचना निर्माणका नाउँमा कब्जा जमाउँदै छन् र आफ्नो हितअनुकूल प्रयोग गर्दै छन् । जासुसी कार्य तथा विवादास्पद गतिविधि तीव्र पार्दै छन् । रणनीतिक महत्वका ठाउँमा महादेवको मूर्ती, शिव पार्वतीको मूर्ती, ठूलो त्रिशुल, बाबाको आश्रम या ध्यान केन्द्र भन्दै रणनीतिक महत्वका स्थान कब्जा गर्दै शङ्कास्पद गतिविधि गर्दै छन् । लोभलालचमा फसाई धर्म परिवर्तन गराउँदै छन् । ‘योग शिविर’ को नाउँमा भारतीय एकाधिकार पुँजीका मालिक नचाउने या पोस्ने क्रियाकलाप हुँदै छ । राज्यका संवेदनशील निकायका मुख्य–मुख्य मान्छेलाई प्रभावमा राख्ने कार्य हुँदै छन् ।
कतिपय प्रचार माध्यमहरू समेत सांस्कृतिक हमलाका निम्ति जिम्मेवार बनिरहेको र प्रयोग भइरहेको कसैबाट लुकेको छैन । विश्वविद्यालयका प्राध्यापक, पत्रकार, लेखक, विद्वानहरूले समेत सांस्कृतिक हमलाको प्रतिकारमा यथोचित भूमिका निर्वाह नगरेको खण्डमा समाजले नोक्सानी ब्यहोर्नु अस्वाभाविक होइन ।
सांस्कृतिक अतिक्रमण विस्तारवादी, उपनिवेशवादी तथा साम्राज्यवादीहरूको पहिलो पाइला हो । राजनीतिक या सैन्य हमलाको पृष्ठभूमि त्यसैले तयार गर्दछ भन्ने शिक्षा इतिहासबाट लिन सकिन्छ । छिमेकी देश भारतमा हिन्दू कट्टरवादी र फासीवादी मोदी सरकार रहेको बेला नेपाल र नेपालीले यथोचित ध्यान पु¥याउनुपर्ने अनिवार्य आवश्यकता नै हो ।
महत्वपूर्ण चाडपर्व मनाइरहँदा यी कुरामा कमसेकम संवेदनशील समुदायले ध्यान पु¥याउन सके हितकर हुनेछ । न्हू दँको खुसियालीमा समेत यी कुरा नभुलेमा समाज केही उज्यालो बन्नेछ । समाजको भविष्य बर्बाद हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *