भर्खरै :

पर्वतकी ‘महारानी’

रुसी उपन्यास अन्ना केरेनिनाकी मुख्य पात्र अन्नाले रेल स्टेसनमा आत्महत्या गरे पछि उनका प्रेमी भ्रोन्स्की विरक्तिन्छन् । अनि उनी आफ्ना सबै जायजेथा त्यागेर क्रिमिया युद्धतिर लाग्छन् । युद्धै–युद्धको इतिहास बोकेको रुसका उपन्यासका पात्रहरूले जीवनको उच्चता युद्धमा देख्ने गर्छन् । अन्नासँगको विछोड पछि भ्रोन्स्कीले आफ्नो जीवनको उच्चता युद्धमा होमिनुमा देखे । नेपाली उपन्यासहरूमा जीवनको सार खोज्न पात्रहरू कहाँ जान्छन् होला त रु पूर्वीय दर्शनमा आधारित नेपाली समाजले जीवनको उच्चता खोज्ने ठाउँ आध्यामिक चर्या हो । त्यसकारण अनेकन आरोह–अवरोह पछि नेपाली उपन्यासका पात्रहरू आध्यात्मिक शान्तिको खोजीमा निस्कने गरेका धेरै उदाहरण छन् । अमर न्यौपानेको ‘सेतो धरती’ की मूल पात्रले जीवनका हजार आरोह–अवरोहपछि देवघाटमा आध्यामिक शान्तिको खोजी गरिरहेकी हुन्छिन् । कृष्ण धराबासीको ‘राधा’ उपन्यासमा राधाको नियति पनि उस्तै छ ।
यो वर्ष ‘मदन पुरस्कार’ बाट पुरस्कृत चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ पनि त्यही कोटीको उपन्यासमा दरिएको छ । जुम्ला र वरपरका राज्यहरूले पर्वत राज्यलाई कमजोर बनाई हमला गर्ने योजनालाई विफल बनाउन निर्णायक भूमिका खेलेकी महारानी विश्वप्रभा आफ्नो लागि बन्दै गरेको दरबारको निर्माण कार्य पनि पूरा हुन नपाउँदै खुसुक्क आध्यात्मिक सुखको खोजीमा वृन्दा वन हानिन्छिन् । आफ्नो ‘पति’ भद्री वमको हत्याको निम्ति आफू पनि दोषी रहेको र आफ्नो पे्रमी मले वमसँग विवाह गर्न नसकिने भएपछि उनले आध्यात्मलाई आफ्नो बाँकी जीवनको सहारा मानी सन्यासी बन्छिन् । यस कोटीका उपन्यासले नेपाली समाजको जराजरामा पसेको पूर्वीय दर्शनको प्रभावलाई प्रकाशित गरे पनि यस्ता साहित्यले जीवनको निस्सारतातिर पाठकलाई डो¥याइरहेको हुन्छ ।
जुम्ला, कास्कीकोट, लमजुङभन्दा कमजोर र सानो राज्य देउपुरबाट पर्वतकी युवराज मले वमसँग विवाह गराउन डोली भित्र्याएकी विश्वप्रभा पर्वत दरबारभित्रको आन्तरिक खिचातानीकी शिकार हुन्छिन् । मले वमका पिता राजा घनश्यामकी जेठी रानी जुम्लाकी कन्याको माइतीमै पुत्रलाभ हुन्छ । तर, जुम्लामा राजा घनश्यामको छोरा९भद्री वम०को जन्म हुनुअगावै पर्वतमा अर्की रानी लमजुङकी कन्या गुलवदनबाट छोरो मले वमको जन्म भइसक्छ । गर्भले भद्री जेठो भए पनि जन्मले मले वम जेठो हुन्छ । भद्रीको लालनपोषण जुम्लामा नै हुन्छ । उनकी आमाको पनि माइतीमै निधन हुन्छ । गर्भले जेठो हुने हो वा जन्मले जेठो भन्ने विवादको त्यो अवस्थालाई त्यत्तिबेला बाइसे–चौबीसे राज्यमा शक्तिशाली जुम्ला राज्यले अर्को बलियो राज्य पर्वतमाथि हमला गर्ने बहाना बनाउन खोजेको हुन्छ । पर्वत राजा घनश्यामले आफ्नी बहिनीलाई गरेको अपमानको बदला लिन जुम्ली राजाले भान्जो भद्री वमको काँधमा तीर राखेर पर्वतमा हान्न खोजेका हुन्छन् । सके भद्रीलाई सिङ्गो पर्वतको राजा बनाउने, नसके पर्वतलाई आधा गरी आधा राज्यको राजा बनाउने, त्यही पनि नसके पर्वत राज्यलाई कमजोर बनाएर हमला गर्ने जुम्लाको योजनाकै वरिपरि ‘महारानी’ उपन्यास घुमेको छ ।
दाजुभाइबीच अंशबन्डा गरेजस्तो देशको भूगोल बन्डा गर्दा राज्य कमजोर भएको अनुभव भएको पर्वतका भारदारहरू राजाका दुई छोरा मले वम र भद्री वमबीच राज्यको वन्डा गर्ने जुम्लाको दोस्रो प्रस्ताव मान्न कदापि तयार हुँदैनन् । शास्त्रादिको आधारमा जन्मले जेठो मले वम नै भावी राजा हुने कुरामा पनि भारदारहरू एकमत थिए । तर, पर्वतभन्दा बलियो राज्य जुम्लाको आड पाएको भद्रीलाई कसरी मनाउने भन्ने चुनौती सिङ्गो पर्वतको लागि पिलो बनेको थियो । सके राजा, नभए आधा राज्य लिने भद्रीको योजनामा पर्वत सहमत नभएपछि नयाँ पासोको रूपमा भद्रीले युवा राजा मले वमकी प्रिया विश्वप्रभा आफूलाई दिनुपर्ने प्रस्ताव अघि सार्छन् । खासमा विश्वप्रभाप्रति भद्रीको कुनै खास रुचि थिएन । तथापि, आधा राज्य हत्याउने आफ्नो लक्ष्य पूरा गर्न नयाँ चालको रूपमा आफ्ना सल्लाहकारको सल्लाहमा त्यस्तो प्रस्ताव अघि सारेका हुन्छन् ।
ज्योतिषीले भनेअनुसार विवाहको लागि उमेर नपुगेकोले मात्र विश्वप्रभा र मले वमको विवाह भइसकेको थिएन । तर, दुवैले एक अर्कालाई गहिरो प्रेम गरिसकेका थिए । मले वमले विश्वप्रभा माग्दा दिन नमान्ने सोची भद्री र उनका सहयोगीहरूले त्यस्तो योजना बुनेका थिए । मले वमसँग विवाह गर्न देउपुरबाट ल्याइएकी विश्वप्रभासँग आफ्नो विवाह हुनुपर्ने भद्रीको माग अस्वाभाविक थियो । तर, पर्वत राज्यको भूअखण्डता जोगाउन विश्वप्रभालाई भद्रीसँग विवाह गराउनुको अर्को विकल्प भारदारहरूले देखेनन् । अन्ततः विश्वप्रभालाई भद्रीसँग विवाह गर्न मनाइन्छ ।
भद्रीको लागि यो प्रस्ताव एउटा चाल थियो । भद्रीकी खास प्रेमिका त जुम्लामा थिइन्–नलिनी । तर, आफ्नो अपेक्षाविपरीत विश्वप्रभा आफूसँग विवाह गर्न तयार भए पछि भद्री वचनले हार्छन् । पर्वतको गद्दीमा उनको दाबी कमजोर बन्छ । विश्वप्रभासँग विवाहपछि पनि भद्रीले जुम्लाको सहयोगमा पर्वतमाथि हमलाको लागि षड्यन्त्र बुन्न छोडेको हुँदैन । भद्रीसँग विवाह गरे पनि विश्वप्रभाको पे्रम भने मले वमप्रति नै हुन्छ ।

नेपाल इतिहासको लेखन काठमाडौँ उपत्यका र गोरखा दरबारकै वरपर घुम्ने गरेको छ । अझै पनि काठमाडौँ उपत्यकाभन्दा पश्चिम बाइसे चौबीसे राज्य तथा पूर्वका सेन राज्य, किराँत राज्य, तामाङ राज्यहरूबारे निकै थोरैमात्र अध्ययन र लेखन भएको पाइन्छ । इतिहासको त्यो पाटो पढ्ने चाहने पाठकको लागि प्रामाणिक कृति भेटाउन गाह्रो छ । यस्तो खडेरीमा बाइसे चौबीसे राज्यको इतिहासका विद्वान चन्द्रप्रकाश बानियाँले त्यो भेगको इतिहासलाई आख्यानमा प्रस्तुत गर्नु कदरयोग्य कदम हो ।

जुम्लाले वरपरका अन्य राज्यहरू प्युठान, मुसीकोट, रुकुमकोट, गलकोट आदिलाई साथ लिई पर्वतमाथि हमला गर्ने योजना विश्वप्रभाको गुप्ती सूचनाबाट पर्वतले असफल बनाउँछ । भद्री वम र जुम्लाका प्रतिनिधि कमल जैसीको पर्वतमा हत्या हुन्छ । यसरी सिङ्गो पर्वत राज्य जोगाउन आफ्नो जीवन, प्रेम र चाहना त्याग गर्ने विश्वप्रभालाई पर्वत दरबारले उच्च सम्मान गर्छ । उनको लागि अलगै दरबार बनाई राजा मले वमका सल्लाहकारको रूपमा रहने बन्दोबस्त हुन्छ । तर, विश्वप्रभालाई यी सबै कुराले कति पनि आकर्षण गर्नसक्दैन । उनी आध्यामिक बाटोमा खुुसुक्क विलुप्त हुन्छिन् ।
नेपाल इतिहासको लेखन काठमाडौँ उपत्यका र गोरखा दरबारकै वरपर घुम्ने गरेको छ । अझै पनि काठमाडौँ उपत्यकाभन्दा पश्चिम बाइसे चौबीसे राज्य तथा पूर्वका सेन राज्य, किराँत राज्य, तामाङ राज्यहरूबारे निकै थोरैमात्र अध्ययन र लेखन भएको पाइन्छ । इतिहासको त्यो पाटो पढ्ने चाहने पाठकको लागि प्रामाणिक कृति भेटाउन गाह्रो छ । यस्तो खडेरीमा बाइसे चौबीसे राज्यको इतिहासका विद्वान चन्द्रप्रकाश बानियाँले त्यो भेगको इतिहासलाई आख्यानमा प्रस्तुत गर्नु कदरयोग्य कदम हो । ऐतिहासिक उपन्यासको नाममा काठमाडौँ उपत्यका, शाह दरबार, राणा दरबारका इतिहासमा आधारित उपन्यास र कथा पढ्ने बानी परेका नेपाली पाठकको लागि बानियाँको यो कृतिले नयाँ स्वाद दिनेछ । त्यस्तै जनश्रुति, लोककथा, किंवदन्ती, लोकोक्तिको रूपमा बाँचेका पश्चिम र पूर्वी भेगको इतिहासलाई आगामी दिनमा प्रकाशमा ल्याउन यो कृतिले अभिप्रेरित गर्नेछ ।
इतिहासमा आधारित उपन्यास भएकोले ‘महारानी’ का कतिपय पात्रका आफ्नै सीमितता भएको पाठकलाई अनुभव हुन्छ । जस्तै, सुमान्त बानियाँ नामको पात्रको विकास उपन्यासको सुरुमा जस्तो तेजका साथ गरिएको हो, उपन्यासको उत्तर्राद्र्धमा उनको तेज त्यत्ति तेजिलो हुन सकेको देखिंदैन । विश्वप्रभासँगै पर्वत दरबारमा डोली भित्र्याएकी खाँचीकी राजकुमारी उपन्यासमा त्यत्तिकै विलुप्त भएकी छिन् । उनको कुनै भूमिका नै नहुनु अस्वाभाविक छ । मले वमकी उनी औपचारिक रानी हुन् । तथापि, विश्वप्रभाको तुलनामा उनी झन्डै भूमिका शून्य भएकी छिन् ।
विश्वप्रभाको त्याग चन्द्रगुप्तकी प्रेमिका करभिकाको समर्पण र समझदारी झल्काउने खालको छ । तर, लेखकले विश्वप्रभालाई आदर्शै आदर्श भरिएको पात्र बनाएका छैनन् । विश्वप्रभाले आफ्ना निजी चाहना र स्वार्थ अभिव्यक्त गरेकी छिन् । उनीभित्रका रिसराग र चाहनालाई आदर्शले छोप्ने अस्वाभाविक प्रयास लेखकले गरेका छैनन् । उपन्यासमा पर्वतकै पुरानो बोलीचाली भाषालाई संवादमा प्रयोग गरिएको छ । यसले उपन्यासको पठन सुरुचिपूर्ण बनाएको छ ।
हाल पर्वत जिल्लाको सदरमुकाम बेनीको दोविल्लामा रहेको शिवालय र सोही क्षेत्रको कुरिलाखर्कको महारानीस्थानमा पुजिने देवी महारानीबीच सम्बन्ध भएको सर्वसाधारणको भनाइलाई ३६८ पृष्ठको यो उपन्यासले ऐतिहासिक कस्सीमा घोटेर पुष्टि गरेको छ । इतिहास र साहित्यको सङ्गम यो उपन्यासको अध्ययनले गोरखाले आक्रमण गर्नुअघि बाइसे चौबीस राज्यको राजनीति, सामाजिक सम्बन्ध, न्याय प्रणाली आदिबारे बुझ्न अध्येताहरूलाई मद्दत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *