भर्खरै :

भक्तपुर नगरपालिका, कडा रोग लागेका नगरवासीलाई स्वास्थ्य उपचार अनुदान दिनेसम्बन्धी निर्देशिका, २०७५: एक चर्चा

मानिसको लागि आवश्यक आधारभूत विषयवस्तुमा स्वास्थ्य पनि पर्दछ । निरोगी हुनु नै स्वस्थ हुनु हो । शारीरिक र मानसिकरूपमा अस्वस्थ नभएको मानिस नै स्वस्थ मानिस हो । स्वस्थ मानिसले मात्र राम्रोसँग जीविकोपार्जन गर्न सक्दछ । समाज र देशको लागि स्वस्थ मानिसले कार्य गर्न सक्दछ । अस्वस्थ मानिस देश र जनताको लागि भार हुन्छ । अस्वस्थ मानिसले समाज र देशको लागि योगदान गर्न सक्दैन ।
त्यसैले नेपालको संविधान, २०७२ को धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । जसअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहँुचको हक हुनेछ । साथै, प्रत्येक नागरिकलाई खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ । यस धाराले नेपालका संवैधानिकरूपमा नेपाली जनतालाई आधारभूत स्वास्थ्य सेवा सरकारले दिने उल्लेख छ । जुन सराहनीय व्यवस्था हो ।
२०७६ असोज ३ गतेदेखि ६ गतेसम्म भएको नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट पारित पार्टी कार्यक्रममा ‘स्वास्थ्य सेवा र शिक्षा निःशुल्क हुनेछ ।’ उल्लेख छ । नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा ‘आधारभूत स्वास्थ्य र सरसफाइ गर्ने’ उल्लेख छ । नेपाल मजदुर किसान पार्टी स्थानीय तह निर्वाचन, भक्तपुर नगरपालिकाको घोषणापत्र २०७४ मा ‘स्वीकृति प्राप्त २५ शøयाको ख्वप अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने र यसको विस्तार र विकास गर्ने’ उल्लेख छ । यही घोषणा पत्रअनुसार नै ख्वप अस्पतालको भवन निर्माण कार्य च्याह्मासिंहमा जारी छ । त्यस भवनसँगै पूर्वतर्फ छाती पुनःस्थापना केन्द्रको भवन निर्माण कार्य सकिसकेको छ । त्यस्तै त्यही घाषणापत्रमा ‘भक्तपुरलाई सफा, स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने’ उल्लेख छ । यसबाट नेमकिपाका घोषणापत्रमार्फत आफ्ना जनप्रतिनिधिहरू निर्वाचित भएमा स्वास्थ्यलाई प्राथमिकता दिने कुरा स्पष्ट छ । नेपालको संविधानले पनि स्वास्थ्यलाई प्राथमिकतामै राखेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू घोषणापत्रमा उल्लेखित प्रतिबद्धतालाई पूरा गर्न क्रियाशील छन् । नेमकिपा र नेमकिपाका उम्मेदवारहरूले भक्तपुरलाई स्वास्थ्य क्षेत्रमा पनि केन्द्रको रूपमा विकास गरिरहेका छन् । च्याह्मासिंहस्थित जनस्वास्थ्य केन्द्रमा विगतमा दैनिक पाँच सय बिरामी परीक्षण गर्न आउने गर्दथे । हाल विश्वव्यापी देखापरेको कोरोनाको कारण दैनिक परीक्षण गर्न आउने बिरामीहरूको सङ्ख्यामा कमी आएको देखिन्छ । त्यस्तै भक्तपुर नगरपालिकाभित्र वडा नं. २ र वडा नं. ५ मा सहरी जनस्वास्थ्य पनि भक्तपुर नगरपालिकाले चलाउँदै आएको छ । भक्तपुर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताल, इवामुरा अस्पताल, मध्यपुर अस्पतालले पनि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
भक्तपुर नगरपालिकाका विपन्न नागरिकहरूलाई कडा रोग लागेमा सजिलै र सहजरूपमा उपचार गर्न सकियोस् भन्ने अभिप्रायले कडा रोग लागेका नगरवासीलाई स्वास्थ्य उपचार दिनेसम्बन्धी निर्देशिका, २०७५ भक्तपुर नगरपालिकाले पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ र भक्तपुर नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ५ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको २०७५।०६।०२ मा बसेको कार्यपालिका बैठकबाट कडा रोग लागेका नगरवासीलाई स्वास्थ्य उपचार दिनेसम्बन्धी निर्देशिका, २०७५ पारित गरेको थियो ।
यस निर्देशिकाको दफा १(२) अनुसार कडा रोग भन्नाले क्यान्सर रोग लागेर किमो वा रेडियोथेरापी गराइरहेको अवस्था, मुटुसम्बन्धी रोग लागेर एनजिओप्लास्टी गर्नेदेखि मुटुसम्बन्धी अपरेसन गर्नुपर्ने अवस्था, मृगौलासम्बन्धी रोग लागी मृगौला फेर्न अपरेसन गर्नुपर्ने अवस्था वा मृगौला फेल भई डायलाइसिस गराइरहेको अवस्था र मस्तिष्कघाट रोग भन्ने बुझ्नुपर्नेछ । यस दफाले क्यान्सर, मुटुको अपरेसन, मृगौला परिवर्तन र मस्तिष्कघाटलाई कडा किसिमको रोगमा व्याख्या गरी भक्तपुर नगरपालिकाले अनुदान दिने व्यवस्था गरी कार्यान्वयनमा ल्याइसकेको छ । नगरपालिकाले भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका नागरिकलाई मात्र यो अनुदान दिने व्यवस्था गरेको छ । नगर बाहिरको नागरिकलाई नगरपालिकाले यो निर्देशिकाबमोजिम अनुदान दिइने छैन ।
यस निर्देशिकाको दफा १(४) अनुसारका अनुदानग्राहीहरूलाई एक रोगको लागि एक पटकमात्र रु. १०,००० स्वास्थ्य उपचार अनुदान उपलब्ध गराइनेछ । यसरी अनुदान लिनको लागि कडा रोग लागेको अनुदानग्राही वा निजको तर्फबाट नजिकका नातेदारले भक्तपुर नगरपालिकाबाट स्वास्थ्य उपचार अनुदान प्राप्त गर्न निवेदन, बिरामीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र अस्पतालमा भर्ना भई उपचार गराइरहेको कागज वा सम्बन्धित अस्पतालले रोग प्रमाणित गरेको कागज वा कडा रोग लागेको अन्य कुनै कागजको प्रतिलिपि पेश गरी सम्बन्धित वडा कार्यालयको सिफारिस लिनुपर्नेछ । उक्त सिफारिस वडाबाट प्राप्त गरिसकेपछि निवेदन, बिरामीको नागरिकताको प्रतिलिपि, निवेदकको नागरिकताको प्रतिलिपि, वडाको सिफारिस र अस्पतालमा भर्ना भई उपचार गराइरहेको कागज वा सम्बन्धित अस्पतालले रोग प्रमाणित गरेको कागज वा कडा रोग लागेको अन्य कुनै कागजको प्रतिलिपि राखी भक्तपुर नगरपालिकामा पेश गर्नुपर्दछ । यसरी निवेदन पेश हुनासाथ नगर प्रमुखबाट स्वास्थ्यउपचार अनुदानको लागि आर्थिक प्रशासनलाई तोक ओदश हुनेछ । नगर प्रमुखको तोक आदेश भएपछि आर्थिक प्रशासन शाखाले सम्बन्धित अनुदानग्राहीलाई स्वास्थ्य उपचार अनुदान उपलब्ध गराइनेछ । यसरी उपलब्ध गराइएको अनुदान रकम भक्तपुर नगर कार्यपालिकाको बैठकबाट अनुमोदन गरिनेछ ।
भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माणमा विशिष्ठता हासिल गरिरहेको छ । भक्तपुर नगर देशभरिकै शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको छ । त्यही गतिमा नगर स्वास्थ्य क्षेत्रमा हेल्थ हबको रूपमा विकास भइरहेको छ । यस निर्देशिकाले नगरका जनता आर्थिक अभावको कारणले अकालमै मृत्युको मुखमा जाने परिस्थितिलाई केही हदसम्म नियन्त्रण गर्नेछ । वर्तमान समयमा आर्थिकरूपमा सम्पन्न नागरिकले मात्र सुविधा सम्पन्न उपचार पाइरहेको परिप्रेक्ष्यमा भक्तपुर नगरपालिकाले संविधानले व्यवस्था गरेको स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्थालाई साकार पार्न खोजेको छ । नेपाल मजदुर किसान पार्टीको कार्यक्रम, पार्टीको स्थानीय घोषणापत्र र केन्द्रीय घोषणापत्रले निःशुल्क स्वास्थ्य व्यवस्थाको परिकल्पना गरेको छ । समाजवादी र साम्यवादी समाजमा निःशुल्क स्वास्थ सेवाको व्यवस्था हुने उल्लेख छ । यही उद्देश्यलाई केही हदसम्म साकार पार्ने लक्ष्य भक्तपुर नगरपालिकाले लिएको छ । यो निर्देशिकाले त्यही लक्ष्य पूरा गर्न खोजेको छ । साथै च्याह्मासिंहस्थित जनस्वास्थ्यले पनि दैनिकरूपमा विशेषज्ञ डाक्टरको सेवा दिइरहेको छ । पार्टीको आजुलाई कार्यान्वयन गर्न भक्तपुर नगरपालिका र निर्वाचित जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र परिष्कृत गर्दै लगेको पाइन्छ । यो प्रशंसनीय कार्य हो । ख्वप अस्पताल सञ्चालनमा आएपछि निश्चय नै भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अझ बढी सेवा गर्नेछ । हालसम्म यस निर्देशिकालाई टेकेर भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५।०७६ मा १६६ जना, आर्थिक वर्ष ०७६।०७७ मा १७१ जना र यस वर्ष हालसम्म ३० जनालाई आर्थिक अनुदान गरिसकेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *