भर्खरै :

कक्षा १२ को परीक्षामा नक्कल: घातक गल्ती

कोरोना भाइरस महामारीको कारण अन्योलमा रहेको कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेबाट देशभर सञ्चालन गरियो । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सावधानीका सबै नियम पालना गरी सो परीक्षा लिइएको भनिए पनि सबै विद्यालयमा ती नियमको पूर्ण पालना भएको अवस्था छैन । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी विद्यार्थीलाई आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था गरिएको छ । तर, केही विद्यालय र विद्यार्थीले ‘होम सेन्टर’को गलत फाइदा उठाइरहेको देखियो । ‘आफ्नै विद्यार्थी’को नाममा विद्यालयहरूले परीक्षाको सामान्य मर्यादासमेत पालना नगरी नक्कल गर्न छुट दिएको घटना बाहिरिएको छ । परीक्षार्थीलाई मोबाइल, नोटकपी र पाठ्यपुस्तकबाट नक्कल गर्न दिइएका दृश्यहरू बाहिरिएका छन् ।
कक्षा १२ विद्यालय शिक्षाअन्तर्गत माध्यमिक तहको अन्तिम कक्षा हो । कक्षा १२ पछि विद्यार्थीहरू विश्वविद्यालय तहको पढाइमा प्रवेश गर्छन् । विभिन्न देशमा अध्ययनको लागि जाने विद्यार्थीको लागि कक्षा १२ को परीक्षाको नतिजाले अहम् महत्व राख्ने गर्दछ । सरकारले पनि विशेषतः कक्षा १२ पछि विदेशमा पढ्न जाने विद्यार्थीलाई ध्यानमा राखी जोखिम मोलेरै पनि परीक्षा सञ्चालन गरिरहेको छ । तर, महामारीको कारण गरिएको भिन्न बन्दोबस्तको दुरुपयोग गरी परीक्षामा नक्कल गर्ने÷गराउने प्रवृत्तिले भने राम्रो कुराको बीजारोपण भएको देखिँदैन ।
महामारीकै कारण सरकारले अघिल्लो वर्षको एसईई परीक्षा स्थगित गरी आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर विद्यार्थीलाई उत्तीर्ण गरेको थियो । केही विद्यालयले आफ्ना विद्यार्थीलाई अस्वाभाविकरूपमा बढी अङ्क दिंदा सामान्य अवस्थाको तुलनामा धेरै विद्यार्थीले अघिल्लो वर्ष विशिष्ट श्रेणीमा एसईई उत्तीर्ण गरेका थिए । यसरी अस्वाभाविक अङ्कको आधारमा विद्यार्थीहरूको मूल्याङ्कन हुँदा शिक्षाको गुणस्तरमाथि प्रश्न उठेको थियो । विद्यार्थीको वास्तविक क्षमताको आधारमा भन्दा शिक्षक र विद्यालयको आवश्यकताको आधारमा यसरी अङ्क दिंदा कति विद्यार्थीको भविष्यमा पर्नसक्ने खराब असरबारे पनि चर्चा भएको थियो ।
अहिले कक्षा १२ को परीक्षाको सन्दर्भमा भइरहेका कमी–कमजोरीले पनि नेपालको शिक्षाको गुणस्तरमाथि प्रश्न उठ्नु स्वाभाविक हो । त्यसले विद्यार्थीको प्रवृत्तिलाई मात्र विकृत बनाउने होइन, बरु असल विद्यार्थीको इमानदार मिहिनेतलाई समेत निरुत्साहित गर्ने पक्का छ । शिक्षाको आयाम शैक्षिक प्रमाणपत्रमा मात्र सीमित छैन । शिक्षा नैतिक मूल्य र व्यवहारसँग पनि गाँसिएको विषय हो । होम सेन्टरको नाममा शिक्षक र विद्यालय स्वयम्को संरक्षणमा नक्कल गर्दैै ‘राम्रो नतिजा’ ल्याउँदा ती विद्यार्थीहरूको भविष्य र नैतिक मूल्यमा कस्तो प्रभाव पार्ने हो ? के हामीले वास्तवमै हामीले सोचेजस्ता असल विद्यार्थी तयार पार्न सक्नेछौँ ? प्रश्न अङ्क र प्रतिशतको होइन, नैतिक मूल्य र आदर्शको हो ।
शिक्षामा हुने एउटा सानो गल्तीको परिणाम देशले धेरै समयसम्म भोग्नुपर्ने हुन्छ । कक्षा १२ को परीक्षामा महामारीको बहानामा भइरहेको कमजोरीले नेपाली समाजमा दीर्घकालसम्म असर गर्ने निश्चित छ । यसको निम्ति सरकार, शिक्षक, विद्यार्थी र अभिभावक सबैले जिम्मेवारीबोध गर्नुपर्छ । अङ्क, ग्रेड र प्रतिशतको लागि हुने गल्ती गरेर भविष्यमाथि खेलबाड गर्ने काम कसैबाट नहोस् । परीक्षामा कडाइ गरियोस्, नक्कललाई निरुत्साहित गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *