भर्खरै :

कृषिमन्त्रीलाई खुलापत्र

 
माननीय कृषिमन्त्रीज्यू,
ज्वज्वलपा (नमस्कार) !
धेरै समयपछि तपाईँलाई यो पत्र लेख्दै छु । तपाईँसँग २०४५ सालमा भद्रगोल जेलमा बस्दा देशको राजनैतिक विषयमा हुने छलफल र फुर्सदको बेला चौरमा गएर दैनिकजसो भलिबल खेल्ने गरेको कुरा सायद यहाँले बिर्सनुभएको छैन । त्यतिबेला हामी पञ्चायती व्यवस्थाविरुद्ध लड्दै थियौँ । तपाईँले विद्यार्थी नेताको पहिचान बनाइसक्नुभएको थियो ।
समयले तीन दशक पार गरिसक्यो । तपाईँ माले, एमाले हुँदै नेकपाको केन्द्रीय सदस्य र अहिले कृषिमन्त्री हुनुभएको छ । तपाईँ मन्त्री हुनुअघि र मन्त्री भएपछि गरेका भाषण तथा दर्शनबारे लेख्नुभएका लेखहरूको भावना र तपाईँको व्यवहारमा आएको परिवर्तनलाई आज मैले नियालिरहेको छु । म जस्तै करोडौँ जनताले तपार्इँलाई हेरिरहेका होलान् । तपाईँको चर्काचर्का भाषण सुन्दा र लेखहरू हेर्दा लाग्थ्यो— ‘नेकपाभित्र सैद्धान्तिक बहस गर्ने केही युवा नेताहरू बाँकी छन् । ती नयाँ पुस्ताका नेताहरूले जनताको बहुदलीय जनवादको नाउँमा नेकपालाई पुँजीवादको फोहर पोखरीमा चुर्लुम्म डुबाउन दिने छैनन् । नेकपाभित्रै बसेर समाजवादी क्रान्तिको आवाजलाई उठाइरहनेछन् ।’ तर, होइन त्यो त मेरो भ्रम मात्रै रहेछ ¤
कामरेड,
तपाईँले यो व्यवस्थालाई दलाल पुँजीवादको संज्ञा दिँदै आउनुभएको छ । ‘हाम्रो जस्तो मुलुकमा दलाल पुँजीवादले पार्टीलाई कब्जामा लिने, समाजवादी पार्टीबाट समाजवादलाई नै अलग्याइदिने सम्भावना हरबखत रहन्छ’ भनी तपाईँले लेख्नुभएको मैले बिर्सेको छैन । तपाईँ अहिले केपी ओलीको मन्त्रिमण्डलमा कृषिमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । ७० प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित कृषिप्रधान देशमा कृषिमन्त्रीको जिम्मेवारी र कर्तव्यबारे मैले सम्झाइरहनु पर्दैन होला । तर, इमानदारीपूर्वक भन्नुहोस् त के तपाईँले आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ ? समाजवादउन्मुख व्यवहार गरिरहनुभएको छ ? यो पत्रमा कृषिकै बारेमा केन्द्रित भएर केही कुरा राख्ने कोसिस गर्दै छु ।
मैले भनिरहनुपर्दैन, कृषिप्रधान देशमा मल र सिँचाइको महत्वबारे । तर, नेपालमा अहिलेसम्म मल कारखाना खोल्ने न कुनै सुरसार छ नत सिँचाइको राम्रो बन्दोवस्त छ । २०७५÷७६ को बजेटमा स्वदेशमै मल कारखाना खोल्ने विषय उल्लेख थियो । अहिले त्यसलाई कसैले सम्झनेसम्म कोसिस गरेनन् । यो वर्ष मलको लागि रु. ११ अर्ब अनुदानको व्यवस्था गरियो । देशको लागि ११ अर्ब कुनै ठूलो कुरा होइन । बितेका १० वर्षमा नेपालले १ खर्ब २८ अर्बको मल आयात गरेको तथ्याङ्कले देखाएको छ । ८÷१० वर्षको अनुदानको रकमले स्वदेशमै मल कारखाना बन्नसक्छ । यसबारे कृषिमन्त्रीहरूले ध्यान दिएको देखिँदैन ।
मल नपाएर जनता विभिन्न सहकारी संस्थाहरू धाइरहेका छन् । जनताले मलको अभावमा गहुँ छर्न र आलु रोप्न पाइरहेका छैनन् । यही वर्ष किसानले मलविना धान रोप्नुप¥यो । १ बोरा मलको लागि दिनभरि लाइनमा बस्नुपरेको समाचार त पक्कै तपाईँले पनि पढ्नुभएकै होला । धान
रोप्ने बेला छर्नुुपर्ने मल धान काट्ने बेला पनि नपाउँदा धान उत्पादनमा कतिको ह्रास आयो ? तपार्इँ आफैलाई थाहा भएको कुरा हो । समयमा मल नपाएकाले कृषिमा लगानी – बालुवामा पानी भएको सबैले देखेकै छन् । आजभन्दा १५–१६ वर्ष अघिसम्म चामल निर्यात गर्ने देश आज महिनाको अर्बौँ रूपैयाँको चामल आयात गर्नुपर्ने देशमा कसरी परिणत भयो ? यसमा कसको दोष छ ? के तपाईँले कहिल्यै सोच्नुभएको छ ?
तपाईँले आफ्नो कमजोरी लुकाउन विभिन्न कुतर्क पनि पेश गर्नुभयो । एक भेटमा तपाईँले भन्नुभएको थियो, “केही सहकारीहरूले रसायनिक मल कालोबजारी गरेर बिक्री गर्ने गरेका छन् । मल कृषिमा मात्रै प्रयोग भइरहेको छैन, रक्सी बनाउने, प्लाइ बनाउने, रेजिन र रङ्गरोगन गर्ने उद्योगहरूले पनि दुरूपयोग गर्ने गरेका छन् । म त निराश भएँ ।” मन्त्रीज्यू, समाजमा सबै राम्रा मान्छेमात्रै हुँदैनन्, केही खराब व्यक्ति वा संस्थाहरूले तपाईँले भन्नुभएजस्तै मलको दुरूपयोग गरेका पनि हुन सक्छन् । तपाईँलाई त्यसको अनुगमन गर्ने र कारबाही गर्ने पूर्ण अधिकार छ । अनि तपार्इँ जस्तो निराश मन्त्रीबाट जनताले के आशा गर्ने ?
जनता मलको लागि टन्टलापुर घाममा बेहोस हुने गरी लाइन बसिरहँदा तपाईँले नै होइन, अब बङ्गलादेशबाट ५ लाख टन मल पैचोमा ल्याउने सहमति भयो, मलको समस्या छिट्टै समाधान हुन्छ भन्नुभएको ? सोझा जनता तपाईँको विश्वासमा अहिलेसम्म शान्तसित बसिरहेका छन् । त्यो सहमति अहिलेसम्म किन कार्यान्वयन भएन ? अब सुन्दै छु, बङ्गलादेश अहिले मल दिन तयार छैन । सायद त्यसैले होला अहिले मन्त्रिपरिषद्ले सरकार–सरकार वा प्रतिस्पर्धाबाट ल्याउने निर्णय गरेको । दुई सरकारबीच सहमतिमा मल ल्याउने मात्रै भनिएको भए के फरक पथ्र्यो ? खुला प्रतिस्पर्धा भनेर कसलाई खुशी पार्न खोजिएको हो ? प्रस्ट छ, तपाईँले सधँै प्रयोग गर्दै आएको त्यही दलाल पुँजीपति वर्गलाई !
पञ्चायतकाल र त्यसपछिका दिनहरूमा यतिको मलको हाहाकार सायदै भएको होला ! के यसबारे तपाईँले कहिल्यै समीक्षा गर्नुभएको छ ? सरकारसँग मल ल्याउने कबुल गरेका शैलुङ र होनिका कम्पनीले समयमा मल ल्याउन सकेनन् । कृषि सामग्री कम्पनीले तिनीहरूका करिब ५÷५ करोड रूपैयाँ धरौटी जफत गर्ने निर्णय ग¥यो । त्यसलाई तपाईँहरूले ठूलो सजाय गरेको जस्तो प्रचारप्रसार गर्नुभयो !
वास्तवमा त्यो सजाय नगण्य हो । ५० हजार मेट्रिक टन मल समयमा ल्याउन नसकेको कारण देशभर अन्न उत्पादनमा अर्बौँको क्षति भयो । ती कम्पनीहरूले देशको राष्ट्रिय उत्पादनमा क्षति पु¥याए । त्यसको क्षतिपूर्ति तिराउनुपर्ने होइन र ?
मलबारे अनुभवहीन ठेकेदारहरू शैलुङ र होनिका दुवै देशमा बदनाम कम्पनीहरू हुन् । ती कम्पनीहरूलाई छानीछानी स्वीकृति दिनु बुझिनसक्नु छ । यो वर्ष विगतका वर्षहरूमा मल ल्याउने १३ वटा अन्तर्राष्ट्रिय कम्पनीहरूले टेन्डर नै हालेनन् । आयात गर्ने मलमा स्वदेशीलाई १.५ प्रतिशत र विदेशीलाई ५ प्रतिशत कर लगाउने नीतिकै कारण विदेशी कम्पनीले टेन्डर नहालेको बताइन्छ । मल आयातको जिम्मा पनि आफ्नो मुठीमा पार्न तपाईँलाई यस्तो सल्लाह दिने पक्कै तपाईँकै पार्टी अध्यक्ष प्रचण्डको घरभेटी शारदाप्रसाद अधिकारीजस्ता ठेकेदारहरू हुनुपर्छ । नत्र करमा विभेद गर्नुपर्नाका कारण प्रस्ट हुनुपर्छ ।
राम्रो काम अरूबाट पनि त सिक्न सकिन्छ । बङ्गलादेशले आफ्नो लागि चाहिने मलको ३३ प्रतिशतमात्र उत्पादन गर्छ । तर, पनि त्यहाँ सरकारले कहिल्यै मलको अभाव हुन दिँदैन । किनभने, उसले झन्डै एक वर्षको लागि चाहिने मल गोदाममा भण्डार राख्छ । त्यसैगरी, भारतले पनि आफ्ना आवश्यकताको २५ प्रतिशतमात्रै उत्पादन गर्छ । उसको लागि चाहिने ६ महिनासम्मको भण्डार खाली गर्दैन । के हामीले आफ्नो देशमा मल कारखाना नबनाउन्जेल बङ्गलादेश र भारतले जस्तै कमसेकम ६ महिना वा १ वर्षको लागि भण्डार राख्नेतर्फ ध्यान दिनुपर्ने होइन ? राम्रो काम जहाँबाट सिकेपनि के फरक पर्छ ?
अझ भनौँ, साल्ट ट्रेडिङले ३० प्रतिशतमात्रै मल ल्याउने जिम्मेवारी पाएको छ भने कृषि सामाग्री कम्पनीले ७० प्रतिशत । ३० प्रतिशत ल्याउने साल्ट ट्रेडिङले मल ल्याइसकेको छ जबकी सरकारी स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनीले अहिलेसम्म ल्याउन सकेको छैन । मन्त्रीज्यू, तपाईँले मल ल्याउन यति समय लाग्छ, उति समय लाग्छ भनेर भन्नुभन्दा मल ल्याएर कृषि उत्पादनमा जोड दिनु राम्रो हुन्छ । कृषिमा आत्मनिर्भर बनाउने हो भने स्वदेशमै मल कारखाना खोल्नुको विकल्प छैन भन्नेमा तपाईँको ध्यान जाने नै छ ।
चैत्र—वैशाख महिनामा भारतमा दिनदिनै कोरोना सङ्क्रमण वृद्धि हुन थालेपछि मर्नुपरे आफ्नै देशमा गएर मर्छु भनेर सीमा नाकाबाट जबरजस्ती छिरेका नेपालीहरूको तस्बिर सम्झनुभएकै होला नि ¤ अहिले खेती गर्न मल छैन, सबै जग्गा बाँझा भए । खानका लागि अन्न छैन । रोजगारी केही छैन । भोकै मर्नुभन्दा रोगसँगै लडेर मर्नु जाति भनेर दैनिक सयौँको सङ्ख्यामा नेपाली पश्चिमाञ्चलका तराई सीमा नाका पार गरी भारत गएका कारुणिक दृश्यले के तपाईँको मनलाई अलिकति पनि छुँदैन ?
मन्त्रीज्यू, तपाईँको बोलीलाई होइन व्यवहारलाई हेरेर जनताले मूल्याङ्कन गर्नेछन् । तपाईँसँगको भेटमा पुँजीवादी व्यवस्थामा मन्त्री हुनु भाषण र लेख लेख्नु जति सजिलो रहेनछ नि होइन ? भनी प्रश्न गर्दा तपाईँको अनुहारमा पसिना छुटेको कसले देखेको छैन र ¤ त्यसैले त तपाईँ कुरा छोट्याउनुप¥यो अर्को पनि काम छ भन्दै हतार – हतार उठ्न खोज्नुभएको । देशभरिका करोडौँ किसानको समस्याभन्दा कृषिमन्त्रीको अर्को ठूलो के काम ? भनी तपाईँसँग प्रश्न गर्न मन लागेको थियो । तर, शिष्टताको कारण म चुप बसेँ !
हो, सामान्य नागरिकका लागि समय त्यति महत्वपूर्ण नभए पनि तपाईँजस्ता मन्त्रीको लागि अवश्य महत्वपूर्ण हुन्छ । त्यो हामीले बुझेकै छौँ । मुख्य कुरा प्राथमिकता केलाई दिने भन्ने हो । सायद हाम्रा केही प्रश्नहरूले तपाईँलाई निद्रा नलागेको हुनुपर्छ । भन्ने चलन छ नि, सत्य तितो हुन्छ तर सत्यको बाटोमा हिँड्ने कहिल्यै डराउनु पर्दैन । एक पुराना मित्रको हैसियतले म तपाईँलाई यो पत्र लेख्दै छु ।
पत्र लामो भयो । आजलाई यतिमै बिदा हुन्छु । समय मिले पछिल्ला दिनहरूमा फेरि लेख्ने कोसिस गर्नेछु ।
तपाईँको उही पुरानो मित्र
सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *