भर्खरै :

वार्ता, वार्ता फेरि वार्ता

मिल्नुपर्ने काम तर नेपाल र भारतबीच कुरो मिलेको छ काम मिलेको छैन । काम नमिली कुरोमात्र मिल्नुको खासै औचित्य छैन । यसो भन्नुको तात्पर्य कुरो मिल्नु नकारात्मक हो भन्न खोजिएको पनि होइन । कुरो मिल्नु पनि काम मिल्नुको पूर्वाधार भन्ने हो । यो भूमिका हो नेपाल–भारत सम्बन्धबारे विद्यमानमा भएका सक्रियताको सन्दर्भको पृष्ठभूमिमाथि छलफल गर्न । भर्खरै भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपाल आए र फर्किसके पनि । उनी नेपाल–भारतबीच गठित परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकका लागि आएका हुन् । दुई छिमेकी देशबीच उत्पन्न हुनसक्ने विविधखाले समस्या समाधान गर्न सजिलो होस् भनी भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि यो संयन्त्र बनेको हो । तर, यसले काम गर्न भने पाएको थिएन । त्यसो त नेपाल–भारतबीच लामो समयदेखि सीमा, सुरक्षादेखि सामान्य विषयमा अनेक कचमच परिरहन्छन् । सीमासम्बन्धी समस्या अलि जटिल हुनेरहेछ । यसको समाधानका लागि सन् १९८१ मा नेपाल–भारत संयुक्त प्राविधिकस्तरीय सीमा समिति बनेर त्यसले सन् २००७ सम्म काम ग¥यो । तर, त्यसले काम सम्पन्न गर्न सकेन । त्यो त्यसै हरायो । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि यो सचिवस्तरीय संयन्त्र बनेको हो । यो संयन्त्र पनि काम गर्न सफल भएको छैन । यो लामो गन्थन उल्लेख गर्नुको अर्थ कुरो मिल्छ काम मिल्दैन भन्ने कुरा सजिलोसँग अवगत होस् भनी हो ।
कामै हुनुप¥यो कुराले मात्र भएन
अब जाऊँ मूल मुद्दामा । भारत र चीनबीच सन् १९६० को दसकमा लिम्पियाधुरा नजिकै सीमा युद्ध हुँदा केही भारतीय फौज भाग्ने सिलसिलामा नेपाली भूमि कालापानीमा बस्यो । त्यहाँ नेपालको सुरक्षा अङ्गको उपस्थिति नभएको कारण उनीहरू बसे । त्यसरी भाग्दै आउँदा आपत्का निम्ति बसेको ठाउँ कालापानीमात्र होइन सुगौली सन्धिले नेपालमा पारेको लिपुलेक र लिम्पियाधुरासमेत कब्जा गरी सन् १९६२ देखि कब्जा गर्दै आएको सो क्षेत्रलाई गएको कार्तिकमा एउटा नक्सा प्रकाशित गरी आफ्नो भनी दाबी ग¥यो र मानसरोवर जाने सडक समेत बनायो भारतले । नेपालले त्यसको विरोध ग¥यो । यो घटनापछि नेपाल–भारत सम्बन्ध एकदमै चिसियो । दुई देशबीच वार्तासम्म पनि हुननसकेको अवस्था रह्यो लामो समयसम्म । नेपालले द्विपक्षीय वार्ताको प्रस्ताव गरिरह्यो । भारतले उपेक्षा गरिरहेको अवस्थामा भारतको गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल, स्थलसेना अध्यक्ष नरवणे नेपाल आए, उच्चस्तरीय भेटघाट र वार्ता भए । भारत अब वार्ताबाटै सबै समस्याको समाधान गर्ने भन्न लागेको छ । विदेश सचिव श्रृङ्गलाको आगमनपछि फेरि दुई देशबीच रहेका यावत समस्या वार्ताद्वारा नै सम्बोधन गर्ने भन्न लागेको छ भारत पनि । हाम्रा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त यो सीमा समस्या समाधान गर्न अब प्रधानमन्त्रीस्तरीय वार्ता हुने कुरा सार्वजनिक गरेका छन् । तर प्रधानमन्त्रीस्तरीय वार्ता कहिले हुने खुलाएका छैनन् । काम हुनुप¥यो कुराले मात्र भएन ।
चाँडो टुङ्ग्याउनु बुद्धिमानी
‘जति लामो डोरी बाटे पनि गाँठो एउटै’ भन्ने नेपाली उखानझैँ वास्तवमा भारतसँग समस्या समाधान गर्ने उपाय भनेको प्रधानमन्त्रीस्तरीय वार्ता नै हो । यो गुह्य वास्तवमा नेपाल–भारत दुवैले पुग्दो बुझेका छन् । सकेसम्म चाँडो वार्ताको जोहो गरी अन्तिम रूप दिए नेपाल–भारत मैत्री नचाहने तत्वले काखी बजाउन पाउने छैनन् । स्वयं भारतका विदेशसचिव श्रृङ्गलाले काठमाडाँैको भ्रमणमा भने, “सीमा विवादलगायतका विषय उच्चस्तरीय राजनीतिक वार्तामार्फत टुङ्ग्याउनुपर्छ ।” अब कुरा छ्याङ्ग्गै भएन र ? हुन त भारतका विदेशमन्त्री एस. जयशङ्करले नेपाली परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पठाएको भारत भ्रमणको निम्तो पनि दिए श्रृङ्गलाले । यी सबै औपचारिकतामात्र हुन् । मुद्दाको मुद्दा मोदी–ओलीले झोसेको मुद्दा होइन राजा महेन्द्र र पण्डित जवाहरलाल नेहरूका पालादेखिको हो । अझ सुस्ता त त्यसभन्दा पनि अघिदेखिको हो । यो मुद्दा छिन्न जति जति ढिला हुँदै जान्छ उति उति सिङ जुरो पलाउँदै जान्छ । यो दक्षिणपूर्व एसियाको वायुमण्डलमा धेरैथरी हावा बगिरहेको छ । यो तथ्य प्रधानमन्त्री मोदीलाई राम्ररी थाहा छ । यसर्थ पनि दुई मुलुकका प्रधानमन्त्री भेटी तत्काल त्यहीँ नै टुङ्ग्याउनु बुद्धिमानी हुने निर्विवाद छ । तसर्थ यसलाई सर्वोच्च प्राथमिकता दिऊँ, समस्या नराखौँ ।
एउटै पाटोमा राखेका
नेपाल–भारत सम्बन्ध कहिले खिरिलो र कहिले फितलो हुने गरेको छ । प्रकृतिले नेपाल र भारतलाई एउटै पाटोमा बास, एउटै मूलको पानी खाऊ, एउटै प्रकृति जलवायुमा बस् भन्ने आदेश दिएको छ । प्रकृतिको त्यो चाँजोपाँजो धेरै हजार वर्षदेखिको हो । नेपालको पानी धमिलो भयो भने विहार, उत्तरप्रदेश, उत्तराञ्चल र दिल्लीसम्मको पानी धमिलिन्छ । हावा त्यही प्रकृतिको छ, सुख्खा वा वृष्टिमा पनि ठूलो अन्तर छैन । सांस्कृतिक सम्बन्ध अझ बाक्लो छ । पशुपतिनाथ र विश्वनाथ एउटै दम्पत्तिका सन्तान हुन् कि ? मुक्तिनाथ र बद्रीनाथ–केदारनाथ एउटै लाम्टो चुसेर हुर्केका भन्नेहरूको सङ्ख्या पनि सानो छैन । यी कुरामा कति दम छ, यथातथ्य के हो त्यो आफ्नै ठाउँमा छ । तर, नेपाल र भारतलाई दक्षिण एसियाको एउटै काख दिएको छ प्रकृतिले । हाम्रा शासकहरू यो तथ्य आत्मसात गर्न यदाकदा तयार हुँदैनन् त्यहीँ समस्याको रूपमा खडा हुन्छ । भारतीय शासकहरूमा कहिलेकाहीँ ठूल्दाजुवादको अहम् बढ्छ । त्यो अहिले भ्रातृत्व, सद्भाव एवं सहकार्यमा बादल लाग्छ । ठूलोको मन पनि ठूलै हुनुपर्छ । तनमात्र ठूलो भएर हुँदैन । भारत त्यत्रो विशालकाय छ आफैमा । अब सुदूरपश्चिम दार्चुलाको र दक्षिणतर्फ सुस्ताको अलिकति जमिन द्विपक्षीय मैत्री, भ्रातृत्व एवं सहजीकरणजस्ता ठूला कुरामा क्षति पुग्ने उनाचो त गर्नु भएन नि ? नेपाल र भारतको विशाल छाती सम्झेर वार्ता गरौँ, कालापानी र सुस्ताका अतिक्रमित क्षेत्रबाट सरक्क फर्कनु नै मित्रताको ठोस सबूत हुन्छ । यी काम नै आजको पहिलो खाँचो हो । साँच्चै मित्र भएरै बसौँ । यसका लागि दुई प्रधानमन्त्री अविलम्ब भेटौँ र वार्ता गरौँ ।
२०७७ मंसिर १५

Leave a Reply

Your email address will not be published. Required fields are marked *