भर्खरै :

सन् २०२० लाई फर्केर हेर्दा

  • पुष १७, २०७७
  • – जीवन भण्डारी
  • समाचार

काठमाडौँ, १६ पुष ( अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० अरू वर्षहरूभन्दा धेरै फरक र पीडादायी भएर बितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोना भाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सबै क्षेत्रलाई प्रत्यक्ष मारमा पा¥यो भने वर्षभरी कोरोना नै केन्द्रबिन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरू भएका छन् । यस वर्षका मुख्य घटनाहरू यहाँ छोटकरीमा चर्चा गरिएको छ ।
कोरोना महामारी
यस वर्षको सबैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यो यस वर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ । कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाब किताब गरेर नै सम्भव छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ । कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोप पनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्यूनीकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई बिदाइ गरिँदैछ ।
ईयूबाट बोलायतको बहिर्गमन
लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली सङ्घबाट बेलायत बाहिरिएको छ । जनवरी ३१ मा बेलायत युरोपेली सङ्घबाट औपचारिकरूपमा बाहिरिएको हो । पछिल्लो तीन वर्षदेखि युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो । यूरोपेली सङ्घबाट बाहिरिएपछि अहिले ब्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।
ट्रम्पमय राजनीति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो । गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उहाँले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उहाँको दृष्टिकोणलगायतका कारणले उहाँ चर्चाको केन्द्रमा नै रहनुभयो । दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रूपमा उहाँलाई यस वर्षले टुङ्गो लगायो । उहाँलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित हुनुभयो । निर्वाचनपछि पनि उहाँले नतिजा अस्वीकार गरेर थप चर्चा बटुल्नुभयो । वर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो सदनमा पारित ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज ग¥यो ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता
अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गर्नुभएको थियो । त्यो घोषणा उहाँको कार्यकालको अन्त्यतिर मात्रै लागू भयो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ । तर, शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन ।
सलह आतङ्क
यस वर्षका विश्वव्यापी चर्चित घटनामध्ये सलह आतङ्क पनि एक हो । विशेष गरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउनेसम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक वर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पु¥याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरूको कृषिमा ठूलो क्षति गरेको छ ।
ठूला दुःखद घटना
यस वर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । खासगरी इरान र युक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए । लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो । अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे प¥यो । आगलागीको असर अन्य देशहरूमा पनि प¥यो । विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो ।
अल बिदा म्याराडोना
फूटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनुप¥यो । उहाँले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउनुभएको थियो । सन् २००० मा फिफाले मतदान गराउँदा अरर्जेन्टिनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन हुनुभएको थियो । खेल जगत्मा कतिपयले उहाँलाई फूटबलमयी खेलाडी र भगवानसमेतको संज्ञा दिने गरेका छन् । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए । उहाँको निधन भएपछि अर्जेन्टिनाले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको थियो ।
माथि उल्लेखित बाहेक पनि वर्ष सन् २०२० मा विश्वले अरू पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरूलाई गुमाएको छ । त्यसैगरी अरू धेरै दीर्घकालीन महत्व राख्ने घटनाहरू पनि भएका छन् । धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादमा बेला बेलामा चर्चामा रहेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *