भर्खरै :

निर्मला पन्तले अब न्याय नपाउने नै भयो त ?

कञ्चनपुर भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मलाको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । हत्यालगत्तै विरोधमा उत्रिएका नागरिकले प्रहरीको कमजोरीले निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको भन्दै आलोचना गरेका थिए । आन्दोलन चर्केपछि सरकारले कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरेको थियो । उनीहरू ८ कार्तिक २०७५ मा बर्खास्तमा परेका थिए । निर्मलाको बलात्कारपछि हत्या हुँदा कञ्चनपुर जिल्ला प्रहरी प्रमुखमा एसपी विष्ट थिए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्तमा परेका विष्ट र भट्ट दुवै जनालाई २६ महिनापछि पुनर्बहाली गर्ने निर्णय गरेको छ । योसँगै निर्मला बलात्कार प्रकरणमा प्रहरीमाथि लागेको आरोपबाट सबै प्रहरी अधिकारी मुक्त भएका छन् । निर्मला प्रकरणमा अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अङ्गुर जिसी लगायत निरीक्षकहरू एकिन्द्रबहादुर खड्का, ज्ञानबहादुर सेठी, प्रहरी नायव निरीक्षक (सई) हरिसिंह धामी, रामसिंह धामी, प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका थिए । गत १६ साउनमा प्रहरीमाथि लगाइएको आरोप निराधार रहेको भन्दै कञ्चनपुर जिल्ला अदालतले उनीहरूलाई सफाइ दिएको थियो । सफाइ लगत्तै उनीहरू काममा फर्किसकेका छन । एसपी विष्ट र निरीक्षक भट्ट भने बर्खास्तमा परेका कारण अदालतले सफाइ दिए पनि उनीहरूले पुर्नबहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिन पुगेका थिए ।
निर्मला हत्या अनुसन्धानमा प्रहरीले करिब दुई सय जना बढीको डीएनए परीक्षण गरिसकेको छ । तर, कसैको डीएनए पनि नमुनासित मेल खाएन । निर्मला प्रकरणमा अब डीएनएबाट अपराधी पत्ता लगाउन नसक्ने र डीएनए सङ्कलनमै त्रुटि रहेको निष्कर्ष डीएनए विज्ञहरूले गरिसकेका छन् । निर्मलाको हत्यारालाई अझैसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । अब अपराधी वा अपराधीहरू स्वयम्ले पोल नखोलेसम्म वा आत्मसमर्पण नगरेसम्म हत्यारा पक्राउ पर्ने सम्भावना छैन । प्रहरी र स्वास्थ्य प्राविधिकहरूले प्रमाण सङ्कलनमा जानीनजानी गरेको त्रुटीका कारण अन्ततः बलात्कारपछि हत्या गरिएकी चेली निर्मला पन्तले न्याय नपाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *