भर्खरै :

सक्वको म राजदास – ६७निकिता ख्रुश्चेभको सत्ता अवरोह

 
सन् १९७१ मा सोभियत सङ्घमा अध्ययन गर्दै गर्दा सोभियत नेता निकिता ख्रुश्चेभको बारेमा मैले एउटा डकुमेन्ट्री फिल्म देखेको थिएँ । सायद त्यो फिल्म निकिता ख्रुश्चेभको मृत्युपश्चात् देखाइएको हुनुपर्छ । सन् १९७१ सेप्टेम्बर ११ मा ख्रुश्चेभको मृत्यु भएको थियो । उक्त डकुमेन्ट्रीमा मैले अलि पुड्को मोटोघाटो ख्रुश्चेभ देखेको थिएँ । एउटा सानो चिटिक्क परेको सेतो रङ्गले पोतेको घर वरिपरि बनाइएको एउटा सुन्दर तलाउमा सेतो हलुको ज्याकेट लगाएर एउटा सानो डुङ्गामा बसी माछा मारिरहेको देखेको थिएँ ।
त्यो फिल्ममा ख्रुश्चेभलाई त्यस्तो अवस्थामा देखेपछि मलाई विश्व प्रसिद्ध उपन्यासकार अर्नेस्ट हेमिङ्गवे र अर्नेस्ट हेमिङ्गवेको कथा ‘द वल्ड मान एन्ड सी’ को आधारमा सन् १९५८ मा स्पेन्सर ट्रेसी (चित्रकार) ले कारेको चित्र याद आयो ।
‘द वल्ड मान एन्ड द सी’ मलाई त्यो स्पेन्सर ट्रेसीको चित्र र सोभियत नेता ख्रुश्चेभको चित्रण त्यो डकुमेन्ट्री फिल्ममा उस्तै उस्तै लाग्यो ।
विश्व चर्चित सोभियत नेताका अन्तिम दिनहरू देख्दा सुन्दा अलि दुःख लागे पनि ख्रुश्चेभपछि आएको सोभियत सरकारले ख्रुश्चेभप्रति कुनै अमानवीय दुव्र्यवहार नगरी न्याय नै गरेको देखिन्छ ।
सोभियत कम्युनिस्ट पार्टीका शक्तिशाली प्रथम सचिव तथा प्रधानमन्त्री निकिता ख्रुश्चेभलाई सन् १९६४ मा सत्ताच्युत गरेर लिओनिद इलिच्छ ब्रेझनेभले सोभियत सत्ता आफ्नो हात पारेका थिए ।
निकिता ख्रुश्चेभलाई सन् १९६४ मा सत्ताच्युत गरेको भए पनि त्योभन्दा पहिले सन् १९५७ मा ख्रुश्चेभलाई सत्ताबाट हटाउने प्रयास भएको थियो । यसमा सोभियत नेताहरू मोलोतोभ, कागानोभीच, मालेन्कोभको समूह मिलेर सत्ताबाट हटाउने प्रयास भएको थियो ।
सन् १९५३ मा सोभियत नेता स्तालिनको मृत्युलगत्तै मालेन्कोभ नियुक्त भएका थिए । तर, ख्रुश्चेभले मालेन्कोभलाई विस्तारै सत्ताबाट हटाउँदा सोभियत सत्ता आफ्नो हात पारेका थिए । यसैको प्रतिशोधमा मालेन्कोभको समूहले ख्रुश्चेभलाई सत्ताबाट हटाउन खोज्यो । तर, द्वितीय विश्वयुद्धका प्रख्यात प्रथम कमान्डर मार्सल झुकोभ र अर्का प्रभावशाली नेता मिकोयानले ख्रुश्चेभलाई सत्ताच्युत हुनबाट बचाएका थिए । सन् १९५७ को जून महिनामा भएको सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठकबाट मालेन्कोभ मोलोटोभ समूहलाई ‘एन्टी पार्टी ग्रुप’ भनी सोभियत कम्युनिस्ट पार्टीबाट हटाइयो ।
निकिता ख्रुश्चेभ सत्तामा टिकिरहन सफल भए पनि स्तालिनको मृत्युपश्चात् सन् १९६४ मा सत्तामा आएका उनले देशको राजनीतिक तथा आर्थिक विकासमा कुनै खास सन्तोषजनक नतिजा ल्याउन सकेनन् । यसैकारण उनको सत्ता पतन भएको थियो ।
ख्रुश्चेभका राजनीतिक तथा आर्थिक तनाव
आफू सत्तामा आएपछि ख्रुश्चेभले देशमा आर्थिक सुधार ल्याउने र विदेश नीतिमा पुँजीवादी देशहरूसँग मिलेर जाने नीति अपनाउन थाले ।
सन् १९५६ मा ख्रुश्चेभले सोभियत सङ्घमा मजदुरहरूको न्युनतम ज्याला निर्धारण गर्न नीति ल्याए । यसको ठूलो प्रतिवाद पार्टीभित्रकै नेताहरूबाट भयो । उक्त निर्धारित ज्यालादर ज्यादै कम भएको भनी ख्रुश्चेभ अवधारणाको विरोध भयो । सन् १९६१ मा ख्रुश्चेभले स्तालिनको फोटो भएको रसियन रुबल हटाएर दस गुणा कम मूल्य राखेर नयाँ रुसी रुबल निष्कासन गरे । त्यही समय सन् १९६१ मा ख्रुश्चेभ मास्को रेडस्क्वायरमा लेनिन समाधी स्थलमा सँगै राखिएको स्तालिनको शव हटाऐ र क्रमलीन पर्खालमा गाड्न लगाए । आफू सत्तामा आएपछि ख्रुश्चेभले गरेको सबभन्दा पहिलो काम नै स्तालिनको अवहेलना हो । रेड स्क्वायरस्थित लेनिन समाधिस्थल ‘मौजोलियम’ बाट स्तालिनको शव निकालिएकोमा कम्युनिस्ट पार्टीभित्रका धेरै नेताहरूलाई मनपरेको थिएन । ख्रुश्चेभका समर्थक लिओनिद ब्रेझनेभहरू पनि ख्रुश्चेभको यो कामले असन्तुष्ट थिए । स्तालिनप्रतिको अवहेलना नीतिले गर्दा नै दुई ठूला शक्तिशाली कम्युनिस्ट देशहरू चीन र सोभियत सङ्घबीच दरार उत्पन्न भएको थियो ।
यसरी देशभित्र र देशबाहिर निकिता ख्रुश्चेभको आफ्नै कारणले गर्दा लोकप्रियता गुमाउँदै गयो । उनको सत्ता आरोहणमा ‘क्युवा मिसाइल क्राइसिस’ र संयुक्त राष्ट्र सङ्घमा उनले मच्चाएको हङ्गामाले पनि ठूलो भूमिका खेल्यो । संयुक्त राज्य अमेरिकाबाट मकैको बीउ ल्याएर सोभियत सङ्घमा विशाल मकै खेती गरेर देशलाई समुन्नत दिशामा लाने उनको सपना चकनाचुर भएपछि निकिता ख्रुश्चेभ आफ्नो सत्ताबाट हात धुन पुगे ।
सन् १९६२ मा क्युवाको भूमिमा लगेर स्थापना भइसकेको आणविक क्षेप्यास्त्रहरू उठाएर ल्याउन बाध्य भएपछि सोभियत नेता ख्रुश्चेभको अन्तराष्ट्रिय छवि धमिलो हुन पुग्यो । संयुक्त राज्य अमेरिकासँग दुईपक्षीय गोप्य सम्झौता गरी आफूसँग केही सरसल्लाह र परामर्श नगरिकन क्षेप्यास्त्रहरू हटाएर लगेकोमा ख्रुश्चेभले क्युवाली क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको पनि चित्त दुखाएका थिए ।
सोभियत सङ्घमा ‘क्युवा क्षेप्यास्त्र काण्ड’ हुनुअगावै ख्रुश्चेभको आन्तरिक राजनीतिले विशेष गरेर स्तालिनको अवहेलनाले सोभियत विरोधीहरूको किल्ला डामिसकेको थियो ।
ख्रुश्चेभको स्तालिनविरोधी नीतिले गर्दा सन् १९५६ को मार्चमा जर्जियाको राजधानी तिबिलिसमा सोभियतविरोधी प्रदर्शन भएको थियो । सोभियत सर्वोच्चका कमान्डर जोसेफ स्तालिन जर्जियन थिए । सोभियत सङ्घको विघटनपछि तिबिलिसमा हालसम्म पनि स्तालिनको सालिक खडा रहेको छ ।
तिबिलिसमा भएको विद्रोहलाई ख्रुश्चेभले सोभियत सैनिक लगाएर निर्ममतापूर्वक दबाइएको थियो । त्यस्तै ख्रुश्चेभकै पालामा सन् १९५६ मा पोल्यान्ड र हङ्गेरीमा पनि ठूलो विद्रोह भएको थियो । देशभित्र र देशबाहिर भएको धेरै असन्तुष्टीका कारण निकिता ख्रुश्चेभले झन्झन् लोकप्रियता गुमाउँदै गए । सोभियत समाजभित्रै ख्रुश्चेभ एउटा बुद्धिमानी नेता हो भन्ने कुरामा धेरैको असहमति देखियो ।
यसकै आधारमा कम्युनिस्ट पार्टीभित्र ख्रुश्चेभका विरोधीहरूले ख्रुश्चेभले सत्ता त्याग्नुपर्ने आवाज उठाउन थाले । विशेष गरेर ‘क्युवाली क्षेप्यास्त्र काण्ड’ मा सोभियत सङ्घले संयुक्त राज्य अमेरिकाअगाडि घुँडा टेकेको भन्ने विश्वव्यापी चर्चा भयो । यसले सोभियत सङ्घकै साखमा आधार पु¥यायो भन्ने भावना सोभियत कम्युनिस्ट पार्टीको नेतृत्वमा जाग्यो ।
यसरी निकिता ख्रुश्चेभको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा धमिलिँदै गयो । सन् १९६० को सुरुका वर्षहरूमा उनको सत्ता आरोहणको सिलसिला गहिरिँदै जान थाल्यो ।
सन् १९५३ देखि १९६४ सम्मको ख्रुश्चेभको नेतृत्वमा सोभियत सङ्घले प्रक्षेपण गरेको आर्थिक विकासको नतिजा सन्तोषजनक नदेखिएको र सोभियत सङ्घ पश्चिम पुँजीवादी देशहरूभन्दा पछाडि परेको महसुस भएपछि ख्रुश्चेभका सहयात्रीहरूले ख्रुश्चेभ एक असक्षम नेता हो भन्ने निष्कर्ष निकाले । ख्रुश्चेभको नीतिले सोभियत सङ्घलाई अगाडि लानुको सट्टा पछाडि धकेल्ने काम ग¥यो । यसरी ख्रुश्चेभ आफ्नो पार्टीभित्रका सहकर्मीहरूबीच मात्र होइन सर्वसाधारण सोभियत जनतामाझ पनि अप्रिय हुँदै गए । सोभियत जनताले ख्रुश्चेभका विरोधी नेता ब्रेझनेभको समर्थन गर्न थाले । सन् १९६४ मा सोभियत नेता ख्रुश्चेभ सत्ताबाट हटाइए र लिओनिद इलिछ ब्रेझनेभको नेतृत्वमा नयाँ सोभियत सत्ताको उदय भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *