भर्खरै :

इतिहासको पानाबाट निराशालाई फाल र साहसपूर्वक सङ्घर्षलाई अगाडि बढाऊ

केही महिना वा केही वर्ष जेलमा बसेपछि वा छुटेपछि हाम्रा केही साथीहरू निराश हुन्छन् । कोहीले आफू धेरै ठूलो हुँ भनेर घमण्ड गर्छन् । जेलबाट छुटेपछि केही साथीहरू सुस्ताउन थाल्छन् । मानौँ, ठूलो भारी बोकेर कोसौँ हिँडेका हुन् । तिनीहरूको आलोचना गर्दा तिनीहरू दुई वटा कुरा गर्छन्–पहिलो, “हिँड्दै पाइला मेटिँदै छ” र दोस्रो, “हामी सबै स्वेच्छाले आएका हौँ ।”
“हिँड्दै पाइला मेटिँदै छ” भन्ने भनाइ पूरै निराशावादी र प्रतिक्रियावादी हेराइ हो । हामीले पानीमा डुङ्गा खियाउँदा बहनाका दामहरू खोज्ने होइन, बरु डुङ्गा आफ्नो उद्देश्यतिर लम्किरहेको छ वा छैन भनेर हेर्नुपर्छ । अगाडि बढ्नमा बल पु¥याउनुपर्दछ । ‘पाइलाका दामहरू’ खोज्ने ती साथीहरू बहिरहेको नदी वा धारामा हिजोको पानी खाने असफल प्रयास गर्दछन् । नदीमा हिजो बगेको पानी कति त कसैको घैँटोमा बन्द भइसकेको हुन्छ । कति कसैको बाल्टिनमा कति फोहर मैलासँग धोइएर फालिइसकेको हुन्छ । त्यसको के पत्तो ¤ तर, हाम्रा हरेक पाइलामा इतिहास अगाडि बढ्छ भन्ने बुझ्नुपर्छ र बढिरहेन्छ । हरेक सङ्घर्षमा हामी डुङ्गामा नयाँ नयाँ सङ्घर्षका चिह्नहरू बढ्दै गएको देख्छौँ ।
दोस्रो, ती साथीहरूले भनेजस्तै जनताको सेवाको निम्ति सङ्घर्ष गर्ने “हामी सबै स्वेच्छाले आएका हौँ, करकापले होइनौं ।” ठीक हो हामी सबै स्वेच्छाले आएका हौँ । तर, के हामीहरूको माझमा विचारको एकता र इच्छाको एकता छैन त ? के हाम्रो (सङ्गठन) मा पार्टीको नियम र अनुशासनको परम्परा छैन त ? स्वेच्छाले आएको कुरोमात्रै अगाडि राख्नु त आफ्नो जिम्मेवारी पूरा नगर्नु र कर्तव्यबाट भाग्न खोज्ने दाउ र निहुँ हो । कर्तव्य र जिम्मेवारीबाट भाग्न खोज्नु त उदारतावाद हो । उदारतावाद एक पुँजीवादी विचारधारा हो । स्वेच्छाले भन्दैमा जनताको सेवा गर्दा वा पार्टीभित्र मनपरी गर्न भन्ने आवश्यक पाइन्न । त्यस्ता केही साथीहरू जेलभित्र वा बाहिर अरूले आफूलाई ‘आदर’ गरेकोमा मख्ख परेर हिँड्छन् । आफू ठूलो भएँ भन्ने घमण्डले हिँड्छन् । यदि त्यो आदर जनताबाट पाएको हो भने त्यो कुनै व्यक्तिलाई होइन बरु विचारधारालाई गरेको आदर हो । तिनीहरूले पाएको त्यो आदर सारा साथीहरूको त्याग, तपस्या र मिहिनेतको फल हो । यदि त्यसलाई कुनै साथीले केही महिना वा केही वर्षको जेल जीवनको ‘पुरस्कार’ सम्झन्छन् भने त्यो ठूलो भूल हुनेछ । उसले पाएको त्यो ‘आदर’ र ‘खुसामद’ उसले आफ्नो विचारधारा र गतिविधि बन्द गर्ना साथै हावामा उडेर गएको देख्नेछ । किनभने जेलमा बस्नाले नै ‘आदर’ पाउने भए धेरै धेरै जेलमा बसेका अपराधीहरू पनि त समाजमा छन् । त के तिनीहरूले आदर पाएका छन् त ? एकचोटि जेल परेपछि पार्टी छोड्ने पुराना ‘आदर’ को भरमा हल्लेर हिँड्ने, चिया पसल र खाने पसलमा गफ गरेर हिँड्ने गफाडीहरू त देशको हरेक गल्ली र गाउँमा थुप्रै पाइन्छन् । के जनताले तिनीहरूलाई ‘आदर’ र श्रद्धाले हेर्छन् ? के जनताले तिनीहरूलाई आफ्ना साथी सम्झेका हुन्छन् ? अहँ, तिनीहरूलाई जनताले वास्तवमा ‘बिग्रेका’ डर छेरुवा (सङ्गठन छोडुवा), ‘पार्टी छोडुवा’, भगुवा ‘लम्फु’ र ‘गफास्तक’ भनेर हेला र घृणा गर्छन् । यदि त्यो ‘आदर’, ‘खुसामद’ वर्ग शत्रु र अरू विरोधीहरूले गरेका हुन् भने त्यो झन् खराब हुन्छ । किनभने, अध्यक्ष माओ त्सेतुङले भन्नुभएको छ, पङ्क्तिभित्र फितला मन भएकाहरूलाई पुँजीपतिका मिठा कुराले वशमा पार्नु सम्भव छ । बन्दुक भिरेका शत्रुहरूले जित्न नसकेका र त्यस्ता शत्रुका अगाडि डट्ने बहादुर भन्न सुहाउने केही कम्युनिस्टहरू चासनी लाएको गोलीको सामना गर्न नसक्ने हुन्छन् । ती चासनी लाएका गोलीहरूद्वारा पराजित हुन्छन् । त्यस्तै हाम्रा केही साथीहरू वर्ग शत्रुको ‘आदर’ र ‘खुसामद’ जस्ता चिप्ला र चापलुसीहरूबाट बाटो बिराएका छन् । तिनीहरूलाई पहिले विरोध, डर धम्की र जेल सजायबाट जित्न सकिएको थिएन । तर, आज तिनीहरू अरूको ‘आदर’ र श्रद्धाजस्ता चिप्ला र चाप्लुसी कुराहरूबाट पराजित भएका छन् । हामीले यस्तो परिस्थितिबाट अवश्य सजग रहनुपर्छ ।
यस्तो कुरो नबुझेर हाम्रा केही साथीहरू अरूका चिप्ला र चापलुसीबाट घमण्डी भएका छन् । नयाँ कार्यकर्ताहरू बचाउ गर्ने सल्लाह, सोधपुछ र तालिमलाई ‘केटाकेटी सम्झिएको’ मुख फोर्छन् र घुर्की लगाउँछन् । यसको मतलब तिनीहरू नयाँ कार्यकर्ताहरूप्रति बेवास्ता गर्छन्, तिनीहरूलाई जोगाएर हेरचाह गर्न चाहँदैनन् । आफूले जाने जति सबैले जानेका हुन्छन् भनेर काममा हेलचक्राइँ गर्छन् र नयाँ साथीहरूको चिन्ता लिँदैनन् । तिनीहरू आफ्नो र आफ्नो घरको स्वार्थको मात्र पिर चिन्ता लिन्छन् । तिनीहरू जतिसक्छन्, उति वर्गसङ्घर्ष र राजनीतिबाट भाग्न खोज्छन् । अनुशासनदेखि तर्सन्छन् । तिनीहरू उदारतावादलाई अङ्गाल्छन् ।
तिनीहरूले आफूले क्रान्तिको निम्ति ठूलो योगदान दिएँ भनी सम्झन्छन् । आफू खप्पिस हुँ भनी धक्कु लगाउँछन् । ठूलो काममा आफू अयोग्य भए पनि साँचो कामलाई हेला गर्छन् । काममा लापरबाही गर्छन् र अध्ययनमा अल्छी गर्छन् ।
तिनीहरू अगाडि केही नभनी पछिल्तिर कुरा काट्छन् । मनको कुरा मनमै सडाएर रिसाएर हिँड्छन् । सामूहिक जीवनको सिद्धान्तप्रति बिलकुल ध्यान दिँदैनन् । आफ्नै इच्छाअनुसार हिँड्छन् र खाली ‘स्वतन्त्रता’ खोज्छन् र ‘मलाई पहिले’ भन्ने विचार राख्छन् ।
त्यस्तै, हाम्रा एकथरी साथीहरू गा¥हो काम अरूलाई पन्छाई सजिलो काममात्रै आफूलाई रोज्छन् । कामको कुरा गर्दा भने अस्वस्थ भएको कुरा गर्छन् । पैसा कमाउने र सोखका कुरा गर्दा भने जाँगर देखाउँछन् र चङ्गा हुन्छन् । जाँड रक्सी र चुरोटजस्ता अमल पदार्थलाई समेत स्वास्थ्यमा फाइदा गर्ने कुरा गर्छन् । फोहोर किताब र सिनेमा हेर्न, तल्ला स्तरका गीत सुन्ने लत र अल्छी बानीलाई छोड्दैनन् । जनताको निम्ति पैसा खर्च गर्न खल्ती छाम्छन् र त्यस्तो खराब लतमा भने पैसाको खोलो बगाउन पछि पर्दैनन् ।
अर्का एक थरी देश र जनताको सेवा गर्नुपर्ला भनेर एउटा थोत्रो घरको पिर लिएर हिँड्छन् । अरूको फर्सी आफूले झुन्ड्याएर बेफुर्सदी हुन्छन् । आफू जनविरोधी भएको पत्तै नपाई उही सडेको र कुहेको पुरानो मध्यम वर्गीय इज्जत थाम्न सुतुरमुर्गे काम गरी हिँड्छन् ।
स्रोतः कोपिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *